मेरा पनि आँखामा थिए धेरै सपना, बरिलै जिन्दगीको बाटोमा ।
संसार जित्छु भनेर गरेकी थेँ अठोट, बरिलै आफैसँग हारे म ।।
पछिल्लो समय युट्युबबाट सार्वजनिक भएको चर्चित गीत हो यो। प्रकाश सपुतले सिर्जना गरेको यो गीत देवी घर्तीले गाएकी छिन्। गीतको लय, भाव र अभिनय गर्ने कलाकारको कलाका कारण मार्मिक छ यो गीत। केकी अधिकारीको अभिनयले अरु वास्तविकता झल्किएको देखिन्छ।
गीतको कथामा केकी एउटा कार्यक्रममा बिजेता बन्छिन्। उनी घर जाने गाडी कुर्छिन्। गाडी नपाएपछि पुरस्कार दिन बोलाईएका प्रमुख अतिथिकै मोटरसाइकल चढ्छिन्। पुरस्कार दिँदा नै असहज व्यवहार देखाएका ती व्यक्तिले उनलाई जंगलमा लगेर बलात्कार गर्छन्। अनि हत्या गर्छन्। त्यसको उजुरी दिँदा ती व्यक्तिलाई प्रहरीले उन्मुक्ति दिन्छन्।
अनि ती युवती आएर ती व्यक्तिकै हत्या गरेको दृश्य देखाइन्छ यो गीतमा। आफुमाथि परेको बज्रपातको न्याय दिने शक्ति भएकाहरु पनि पीडककै पक्षमा उभिएपछि उनी आत्माको रुपमा आएर हत्या गर्छिन्।
गीतका रुपमा आएको यो एउटा कला मात्रै रहेन। यो कलात्मक प्रस्तुतिले नेपाली समाजमा शक्तिमा रहेकाहरुले महिलाप्रति गर्ने व्यवहार र दृष्टिकोणको प्रतिनिधित्व गरेको छ। यो लेखमा यस्तै केही घटनाक्रमहरुबारे चर्चा गर्ने प्रयास गरेकी छु।
हामी शासनव्यवस्था बदल्यौं। विकासका दृष्टिले पनि केही अघि बढिरहेकै छौं। शैक्षिक चेतनास्तरमा पनि धेरथोर परिवर्तन आउँदैछ। काठमाडौंको चौघेरामा रहेको सिंहदरबार गाउँगाउँमा पुगेको छ।
देशले महिला राष्ट्रपति पायो। कठीन संघर्ष गरेका महिला सभामुख भैसके। कैयौं मन्त्री भैसके। सरकारी क्षेत्रबाट पनि उच्चस्तरमा पुगिरहेका छन्। न्यायाधीशहरु महिला छन्।
तर समाजको वास्तविक धरातल माथि उठ्न सकिरहेको छैन। महिलाप्रतिको दृष्टिकोण र व्यवहारमा सुधार आउन सकेको छैन।
संसार जित्ने साहस लिएर अघि बढेका महिलाका पाइला दुइचार कदम हिडेपछि कहिले बाटो बन्द हुन्छ त कहिले हिड्ने पाइतला नै चुडिएका छन्।
यस्ता केही प्रतिनिधिमूलक घटना छन् जसले देशलाई नै हल्लाए। देशव्यापी चर्चा र समर्थन पाए। ती घटनाक्रममा पीडित देखिएका महिलाले नै न्याय पाउन सकेनन्।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ वर्ष बितिसक्यो। तर उनले अझै न्याय पाउन सकेकी छैनन्। उनको परिवार न्यायको लागि भौतारिरहे तर उनीहरुले अनेक बहानामा न्याय पाएका छैनन्। सायद उनका हत्याराहरु कानुनी लेखाजोखा गर्ने तराजु नै किन्न सक्ने हैसियत राखे कि। उनका हत्यारा खुलेयाम हिडिरहदाँ उनीजस्ता कलिला बालिका धेरैले यो नियति भोगिरहनु परेको छ।
निर्मला पन्तको घटना त बाहिर आयो। देशभर जनउभार सिर्जना भयो। तर उनीजस्ता धेरै पीडित हाम्रो समाजमा छन्। जो बोल्न सकिरहेका छैनन्। न्याय पाउन सकेका छैनन्। बलात्कारपछि हत्या भैरहेको छ। अमानवीय व्यवहार भइरहेको छ।
बलात्कृत भएर बाँच्नेहरु पनि मरेसरह नै जीवन भोगिरहेका छन्। गल्ती गर्नेहरुले केही समय सजाय भोग्छन् अनि खुलेयाम सडकमा हात हल्लाउदै हिडिरहेका दृश्य हामीहरुले नै देखिरहेका छौं।
जो निर्दोष थियो, समाजले उसैलाई दोषी ठहर गरिरहेको छ। नराम्रो दृष्टिले हेर्छ। दोषीलाई सजाय दिएर मात्र समस्याको समाधान हुदैन, पिडितलाई पुन:स्थापना गराउन सक्नुपर्छ। तर यो पाटोको व्यवहारिक कार्यान्वयन भइरहेको छैन। जसले भोग्यो उसैलाई मात्र पीडाको पोको थुपारिएको छ।
हालचालैका केही घटनाक्रमहरु हेरौं-काठमाडौंमै करीब दुई साता अघि एक २२ वर्षे युवतीलाई एसिड प्रहार भयो। आफूभन्दा २० वर्ष कान्छी केटी अरु मान्छेसँग हिड्यो भन्दैमा एसिड प्रहार गरे। उसलाई प्रहरीले समाएर के सजाय दिन्छ ? के त्यो सजायले ती युवतीको अनुहारमा पहिलेको चमक आउला र ? उनि जस्ता कैयौ युवतीहरुमा (विशेषत: तराई क्षेत्रमा) एसिड प्रहार भएका छन्।
केही समय पहिले मुस्कान खातुन यस्तै घटनाको शिकार बनिन्। यसको शिकार भएर मानसिक तनाव झेलिरहेकाहरुलाई मुस्कान दिन लागिपरेकी उनकै मुस्कान गायब पार्न खोज्दैथिए कतिपयले। एकोहोरो प्रेम गरेर त्यसको बदलामा प्रेम नपाउँदा एसिड प्रहार गरेर कुरुप बनाउन तल्लिन हुन्छन् केही सनकी व्यक्तिहरु ।
के साँचो प्रेम गर्नेहरुले त्यस्तो गर्न सक्थे होला र ? प्रेम वा विवाह एकजनाको चाहनाले मात्रै हुने कुरा हो ? नाइनास्ती गर्न नै नपाइने हो र ? जसले जे भन्यो त्यो मान्नै पर्ने हो र ?
अर्को एउटा अनौठो र चर्चित घटना छ-केही दिन अगाडि पूर्व डिआइजी रञ्जन कोइराला जेलबाहिर हात हल्लाउदै निस्किए। ठूलै अपराधीलाई समाएर प्रशंशनीय काम गरेसरह हात हल्लाउदै गरेको तस्विर देख्दा अनौठो लाग्यो।
उनी आफ्नै श्रीमतीलाई मारेर जेल परेर साढे ८ वर्ष जेल बसेर रिहा हुँदा पनि ठूलै कर्म गरेझै हात हल्लाउदै आए। आफुलाई सेलिब्रेटीसरह ठानेर उनले त्यसो गरे। ठूलो युद्ध जितेर आएझैं गरे। उनमा कुनै हिनताबोध झल्किएन। उनलाई लिन अर्की एक महिला गएको देखियो।
पैसा र पावरले जे पनि गर्दो रहेछ। कानुन त कागजमा मात्रै सीमित रहेछ भन्ने कुरा यी र यस्ता घटनाले देखाइरहेको छ। यसरी जेलबाट निस्कदा अपराधीले खुशीयाली हैन कि हिनताबोध हुने वातावरण चाहिएको छ हामीलाई। न्यायमूर्तिहरुबाट त्यस्तो अपेक्षा छ।
हो, हामी एक्काइसौ सदीमा छौं। पछिल्लो समय महिलाहरु पुरुषको प्रतिस्पर्धी बन्दै उच्च तहमा पुगेर काम गरिरहेका छन्। तर ती महिलाहरु हातका औलामा गन्न मिल्ने छन्। धेरै महिलाहरु अझै पनि शारीरिक र मानसिक तनाव भोग्दै आएका छन्। फरक यत्ति हो, कसैको बाहिर आउँछ कसैको आउदैन। धेरै घटनाहरु मनमनै गुम्सिरहेका देखिन्छन्। किनकी जसले बाहिर देखाउँछ, समाजको दृष्टिमा नै नराम्रो बन्ने अवस्था छ। त्यसैले धेरै महिला तनाब झेल्दै जीवन बिताउन बाध्य छन्।
महिलालाई जेमा पनि आरक्षण जेमा पनि विशेष सुविधा छ भनेर तर्क गर्नेहरुले महिलालाई विभेद भएको छ भन्न डराउँछन्। बर्षौदेखि दमनमा परेकाहरुलाई केही समयलाई सुविधा दिदाँ विरोध गर्नेहरुले घरमा हुने विभेद अन्त्य गर्न सघाउ पुर्याहए कति राम्रो हुन्थ्यो।
हामीले जहिले पनि यो पुरानो पुस्ताका कारण भएको हो भनेर गाली गरेर हुदैन। नयाँ पुस्ताले त धेरै बुझेको छ। अघिल्लो पुस्ताले भन्दा धेरै कुरा सिक्ने मौका पाएको छ।
यो पुस्ताले पनि त त्यसरी व्यवहारमा समानता देखाइरहेको छैन। एकाध घटनाबाहेक घरमा दिदीबहिनीले घरायसी काम गर्दा दाजुभाइ के गरिरहेका छन्? दिदीबहिनी घरबाहिर हिड्दा निर्धक्क भएर हिड्नको लागि ती दाजुभाइले वातावरण बनाएका छन् कि आफै अरुका दिदीबहिनी जिस्काउँदै हिडिरहेका छन्?
आफुले अरुका दिदीबहिनीलाई नराम्रो व्यवहार गरिरहँदा, जिस्काउँदा आफ्ना दिदीबहिनीमाथि पनि त्यस्तै व्यवहार भएको त छैन भनेर सौचौं न।
समाजको सबैभन्दा सानो अंग परिवार हो।
छोराछोरीलाई सुखसयल त सबैले दिन खोज्छौ तर राम्रो संस्कार पनि दिऔ। सानोमा छोरालाई बल, बन्दुक, साइकल दिने र छोरीलाई भाडाकुटी र पुतलीहरु, मेकअपका सामानहरु मात्र दिने चलन हटाउँ। उनीहरुलाई म छोरा हुँ, म मेरी दिदीबहिनीभन्दा फरक छु र बलवान् छु, उनी कमजोर छिन् भन्ने भावनाको विकास हुन नदिउँ।
छोरालाई भान्सामा छिर्न नदिने र छोरीलाई बाहिर जान नदिने प्रचलन हटाउँ। छोरीलाई सानैदेखि रुन्चे नबनाउँ। छोरालाई जस्तै बलियो बनाउँ शारीरिक र मानसिक दुवै हिसाबले। छोरीलाई घरबाट निस्कन रोक नलगाउँ बरु छोरालाई दिदीबहिनी वा नारीको सम्मान गर्न सिकाउ।
छोरीलाई रीतिरिवाज र संस्कार भन्दै सफलताका पथमा अगाडि बढ्न खोजेका पाइला नरोकौ, बरु छोरालाई पनि रितिरिवाज र संस्कार भन्दै महिला र पुरुष समान हुन् एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने शिक्षा दिउँ। सानैदेखि महिला र पुरुष समान हुन् भन्ने शिक्षा दियौं भने हुर्किदै जाँदा पनि त्यही छाप बस्छ। छोरीको बाटो रोक्ने होइन कि छोरालाई पनि असल बाटोमा हिंड्न सिकाऔ।
हामी काठमाडौं या केही शहरहरुका अनेक उदाहरण दिएर महिलाको अधिकार यसरी पाएका छन् भनेर चर्चा गर्न सकौंला। कैयौं कथा कहानी पनि लेख्न सकौला। तर त्यहाँ भित्र लुकेका मैलोलाई पखाल्न सकिरहेका छैनौं। हाम्रा गाउँका झुपडीमा संघर्ष गर्दै गरेका मुनाहरुका कथा त हामीले थाहै पाएका छैनौं होला। जसले भोट पनि गाउँका शासकलाई सोधेर मतपेटिकामा खसाल्छन्। उनीहरुलाई न्यायको अनुभूति दिलाउने वातावरण चाहिएको छ।
अन्त्यमा, महिलाहरुले सहने र पुरुषहरुले दबाउने प्रचलनको अन्त्य गरौं। माथिको गीतले भनेजस्तै महिलाका आखाँमा पनि हजारौ सपना हुन्छन्। संसार जित्ने साहस र हिम्मत हुन्छ। त्यसलाई बल प्रयोग गरेर कुल्चने काम नगरौ।
शक्ति र सत्ताको भरमा निर्दोषको भावनामाथि खेल्ने प्रयास नगरौं। निर्दोषलाई न्याय दिउँ। अपराधीलाई सजाय दिउँ। सजाय यस्तो दिउँ कि त्यस्तो अपराध अर्को ब्यक्तिले गर्न प्रयास नगरोस्। अनि केही समयको सजाय भोगेर हात हल्लाउदै सेलिब्रेटीजस्तो हुन नखोजोस्।
निर्दोष हुँदाहुदै पनि अन्यायमा परेकाहरुको पुनर्स्थापना गर्न सकियोस्। उनीहरुलाई समाजले दोषी करार नगरोस्। नारी पुरुष बराबरीको भावना विकास गर्न सकियोस्। नारीपुरुषको सहकार्यबाट सभ्य र समुन्नत समाजको निर्माण हुने हुँदा यसमा सबैले आ-आफ्नो ठाउँबाट योगदान दिन सकौं।