निजामती कर्मचारीका रूपमा नियुक्ती भएको एक वर्ष मै सेवाकालीन तालिममा सहभागी हुन पाउने अवसर आयो । निजामती कर्मचारीको वृत्तीका लागि सेवाकालीन तालीम निकै महत्वपूर्ण मानिन्छ । सोही तालिमको अवसरमा अध्ययन अवलोकन भ्रमण समेत हुने परम्परा अनुसार हामी तालिमको २५ औँ दिनमा अर्थात जेठ ५ गते 'मिनी रारा' को उपनाम प्राप्त गरेको कुपिण्डे दहको यात्रामा जाने तय भयो । तालीमका अन्य आयामहरू भन्दा भ्रमणको पक्षलाई यस यात्रा संस्मरणमा बढी जोड दिएको छु ।
जेठ ६ गते शनिवार अवलोकन भ्रमण जाने पूर्व निर्धारित कार्यक्रम थियो । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्म कैद हुने जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गरेपछि जेठ ६ गते देखि १० गते सम्म नेपल बन्दको घोषणा गरियो । सोही कारण हाम्रो कार्यसूची परिवर्तन भई शुक्रवार नै हामी भ्रमण जाने निधो भयो । यद्यपी नेपाल बन्द भने फिर्ता भएको थियो । 'विहान ७ बजे तुलसीपुरबाट हिड्ने हो साथिहरू समयमै आउनु है', व्यवस्थापन तर्फ खटिरहनुभएका उच्च अदालत तुलसीपुरका ना.सु. हरिकृष्ण राम्जाले मुसुक्क मुस्कुराउँदै भन्नुभयो । सबै साथिहरू उत्साहित मुद्रामा देखिए । कोही हुन्छ भै हाल्छ नी भन्न भ्याए भने कोही घोराहीबाट आउने साथीहरूलाई समय के हुने हो भन्दै चिन्ता थपे । दुई जना मात्र साथिहरू घोराहीबाट आउने हुनुहुन्थ्यो ।
विहान ६ बजे नै उच्च अदालत तुलसीपुरको गेटमा पुग्दा जिल्ला सरकारी वकील कार्यालय बाँकेका खरिदार ललित बहादुर के.सी र म मात्रै भयौँ । हामी उच्च सरकारी वकील कार्यालयमा सँगै बसेकाले पनि हामी सँगै नै थियौँ । विहान हामी निष्किसक्दा सम्म साथिहरू आएकै थिएनन् । हामीहरूलाई घुमाउन लैजाने बस भने लागि सकेको थियो । बसको गुरूलाई मैले सोधे कोही आउनुभएको छैन ? गरूले केही सरहरू आउनुभएको छ भन्दै हुनुहुन्थ्यो । हामी बसको अघिल्लतिर उभिएर फोटो खिच्दै गर्दा साथिहरू जम्मा हुँदै जानुभयो ।
मलाई गाडी लाग्ने समस्या छ । त्यस करण क्याविनमा बस्नुपर्छ भनेर पहिला नै बसी सकेको थिए । क्याविनमा बाँके जिल्ला अदालत नायव सुव्वा रामप्रसाद धमाला, दाङ जिल्ला अदालतका तामेलदार विशाल हमाल, सूर्य प्रसाद आचार्य लगायत उच्च अदालतका शाखाअधिकृत सरहरू पनि हुनुहुन्थ्यो । सबै साथीहरू बसमा बसिसकेपछी यात्र सुरू भयो । तुलसीपुरको बसपार्कमा पुग्दा व्यानर र साउण्ड बक्स छुटेका कारण केही बेर रोकिएर हामी कुपिण्डे दहको यात्रमा निस्कियौँ । यात्राको नेतृत्व उच्च अदालत तुलसीपुरमा कार्यरत शाखा अधिकृत भूपाल भण्डारी र ब्यवस्थापनको पाटो ना.सु हरिकृष्ण राम्जाले हेरिरहनुभएको थियो ।
पश्चिम तर्फको मेरो यात्रा पहिलो थियो । मनमा उमंग थियो । उत्साह भरिएको थियो । गर्मीको सिजन भए पनि विहानको चिसो चिसो वातावरणमा गाडी बसपार्कबाट छुटेपछि विस्तरै तुलसीपुर ओझेलमा पर्न थाल्यो । वनक्षेत्रको विचमा रहेको राजमार्ग हुँदै हामी हुइकी रहेका थियौँ । बसमा गीत बजिरहेको थियो, 'जता हेर्यो त्यतै हुन्न मन आत्यो छ भेटै हुन्न बग्यो बग्यो गन्नकी यो जोवान मायालाई दिमकी बन्दकी .....'
जव हामी दाङ जिल्लाको पश्चिमी क्षेत्रको अन्तिम बजार हापुरे बजार हुँदै दाङ जिल्लाको पल्लो गाउँ बगाले गाउँ पुग्यौँ । मन प्रफुल्ल भयो । परम्परागत घरहरू । टिनले छाएका । मनमोहक । ती गाउँका रमाइला घरका दृष्यहरू मनभरी कैद गर्दै दाङ जिल्ला छोडियो । अव हाम्रो यात्रा सल्यान तर्फ अघि बढ्दै थियो । सल्यानको काल्चे निकै मनमोहक रहेछ । काल्चेमा हरिया पाखापखेरामा चलेको चिसो हावा खान केही बरे बस रोकियो । सोही अवसरको उपयोग गर्दै केही साथीहरू हल्का हुन कुना कप्चरा तिर लम्कीए । केही साथीहरू फोटोहरू कैद गरे । म भने दुबै काममा सरिक भएँ । केही क्षणको बसाई पछी हामी सुर्खेतको बोटेचौर तर्फ हानियौँ । पहाडी बाटो । ठूलो साउण्मा दोहोरी गीत । साथीहरूका मिठामिठा 'ननभेज' गफ । तिव्र गतिको बसको कुदाई डरसँगै मिसिएको मजा छुट्टै थियो । हिडिरहेको बाटोबाट केही ओरालो झरेर गुर्वाकोट गाउपालिका वडा न ९ मा पर्ने बोटेचौरमा बस अडियो । जहाँ विहानको खाना खाने गन्तव्य थियो । भर्खर विकास हुँदै गरेको बोटेचौर निकै मनमोहक रहेछ । राप्ती नदी देख्न सकिने यो बजार सानो तर निकै सुन्दर देखिन्थ्यो । हामी खाना खाइ सकेपछि अव कुपिण्डे दह जानका लागि बस चड्यौँ । बस सुर्खेतबाट सल्यान तिर लाग्यो । भेरी नदिको किनार हुँदै भण्डै ३० किलोमिटर कच्ची र पहाडी सागुरोबाटो हुँदै बस अघि बढी रहर्यो ।मेरा लागि यी सवै नयाँ गन्तव्य थिए । बनगाड गाउँपालिकामा रहेको कुपिण्डे दह पुग्न बालुवीबाट हामी तलतिर लाग्यौँ ।
सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी जस्ता साविकका गाविसको मध्ये भागमा हरियाली रुख विरुवाको बीचमा सुन्दर निलो पानीको दह । कुपिण्डे दह पुग्दा प्राकृतिक रूपमै आनन्दको महसुस भयो । निकै सफा निलो पानी । दहको किनारमा बराहको मन्दिर ।सवै कुराले ताल निकै मनमोहक । भौतिक रूपमा भरिएको थकान एकैछिनमा दुर भयो । साथीहरूका मुखबाट आहा ! शब्द निष्किरहेका थिए ।"यो बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि आउने गर्छन हजुर", एक माझीले हामीलाई बताउँदै थिए । ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने भै नसकेको रहेछ ।
सल्यानको मुख्य पर्यटकीय सम्पदाको रूपमा रहेको कुपिण्डे दह साविकको कुपिण्डे गाविसमा पर्दो रहेछ । जिल्ला सदरमुकाम खंलगादेखि १४ किलो मिटर पश्चिममा चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिएको कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । हामी पनि मोहित भै हाल्यौँ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेछ । मिनि रारा तालको रूपमा रहेको यो दह त्यसैले गर्दा पर्यटनका लागि उत्तम गन्तव्य बनेको महसुस भयो । उत्तर–दक्षिणतर्फ फैलिएको कुपिण्डे दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्दो रहेछ । दाङको तुलसिपुरदेखि सल्यान खलंगासम्म ६५ किलोमिटर कालोपत्रे सडक र बाँकी एक घण्टाको कच्ची सडकको यात्रा पछि दहमा पुगिँदो रहेछ ।
दहमा पुगे पछि समूहिक फोटो सेसन चल्यो । मलाई क्यामेरा देखेपछि खसखस भै हाल्ने । लामो समय पत्रकारिता गरेको र फोटोहरू खिचेको अनुभवले पनि म फोटो खिच्च तम्सिए । आफूले फोटो खिच्दा फोटोमा आफु छुट्ने पुरानै समस्या त्याहाँ पनि नदोहोरिने कुरै भएन । अर्कोलाई खिच्न दियो चित्त नबुझ्ने ।
दहमा डुगाँ पनि चल्दा रहेछन् । साथीहरू दह अवलोकनका लागि किनारमा पुगेर डुगाँ चड्ने भनेपछि डुगाँ सयर गर्ने निधो भयो । हामीलाई डुंगामा घुमाउन एकजना भाई तम्सिए । कति वर्षको भयौ भाई धमला सरले साध्नुहुँदा मुसुक्क मुस्कुराउँदै १८ बर्ष मात्र भने । भाइको नाम भने याद भएन । जनजाति वर्णका थिए उनी । गजवको कुरा त के भने उनले विहे गरिसकेका रहेछन । र भन्दै थिए मेरो छोरा पनि छ । हामी एकछिन पत्याएनौ पनि । त्यो भाई निसङकोच एउटा केटी साथी पनि छ भन्दै थिए । उनले रमाइलोको लागि भनेका होलान् सायद ।
साथीहरू आफ्नै पारामा रमाइरहेका थिए । कोही टिकटकका लागि छोटा भिडियो बनाउने, कोही फोटो खिच्ने, कोही डुंगा चड्ने लगायतका कार्य गर्दा झन्डै अढाइ घण्टा हामी दहमै रमायौँ । "ल अव निष्कनु पर्छ है" राम्जा सरले मुस्कान सहितको अनुरोध गर्नुभयो ।
हामी दहको पश्चिम तर्फको जंगलबाट निश्कन लाग्यौँ । निकै उकालो । स्वास फुलेर मरिएला जस्तो भएको थियो । साथीहरू सोही बाटोबाट निस्कन झन्डै आधा घण्टा लगाए । त्यतिन्जेल हामी माथीको चौतारोमा हावा खाँदै गफ गर्यौँ । साथीहरू नाच्नु परो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । तर विडम्बना स्पिकरले काम गरेन । हामी नाच्न पाएनौँ ।सबै साथीहरू जम्मा भएपछि हाम्रो यात्रा सल्यान सदरमुकाम खलंगाका लागि अगाढी बढ्यो ।
कुपिण्डे दहबाट झन्डै २२ किलोमिटरको जोखिम पूर्ण यात्रामा हामी सरिक भएका थियौँ । म क्याविनबाट पछाढी आइ तल्लो पाखो अर्थात देव्रे साइड तर्फ बसेको थिएँ । बाटो निकै सागुरो र कच्ची । तलपट्टी छागोँ जस्तै निकै गहिरो । त्यस्तैमा अगाडीबाट मोटरसाइकल आयो । साइड दिने ठाउँ छैन । तर पनि बस निकै छेउमा पेलियो । जिरिङ्ग शरीरभरी काडाँ उठे । यति नै हो क्यारे भन्ने लाग्यो । यस्तै यस्तै अनुभुतिहरू गर्दै हामी जोखिमपूर्ण २ घण्टाको बाटो हुँदै खलंगा बजार आयौँ । सल्यान जिल्ला अदालत तथा जिल्ला सरकारी वकील कार्यालय सल्यानको अवलोकनका लागि हामी केही समय त्याहाँ भुल्ने कार्यसूची थियो । सागुरो र उकालो बाटो हुँदै उच्च स्थानमा रहेको सल्यान जिल्ला अदालत परिसरमा पुग्यौँ । निकै रमणीय चिसो हावा चल्ने अल्गो डाडामा रहेको भवन पुरानो भए पनि निकै सुन्दर रहेछ । पछाडी पट्टीबाट खलंगा बजार समेत देखिने । सल्यान जिल्ला अदालतका स्रेस्तेदार (उप-सचिव) श्रीमान हेमन्त ज्ञवालीको आतिथ्यता निकै भावनात्मक थियो । हामीलाई फलफुल सहितको स्वागतले प्रफुलित बनायो । खलंगावजारको सीरमा रहेको अदालत परिसरबाट खलंगा बजारको दृष्य अवलोकन गर्दा साथीहरू उत्साहित थिए ।
झण्डै पौने १ घण्टाको बसाई पछि हामी तुलसीपुरका लागि बाटो लाग्यौँ । केही तल झरेपछी श्रीनगर बजार जहाँ सितलपाटी पनि भनिने ठाउँ आयो । राप्ती राजमार्गमा पर्ने हुँदा खलंगा बजार ओझेलमा परेको महसुस भयो । श्रीनगर बजारमा खाजा खाइवरी हामी तुलसीपुरका लागि हिड्यौँ । समय भएमा छाँयाक्षेत्र पश्ने कुरो थियो । तर समयअभावले हामी छायाँ क्षेत्रलाई बाटो बाटै नियाल्यौँ ।
बस हुइकिरहेको थियो । साझ पर्दै थियो ।सूर्यले विस्तारै हामीलाई विदाई गर्दै थियो । बाटोमा अन्ताक्षरी खेल र विच विचमा हुइकी रहेको गाडीको चालसँगै साथीहरूको नाचले यात्र निकै मोहक भैरहेको थियो । साथीहरू नाच्दा नाच्दै थाकी सकेपछि अव अन्ताक्षरी खेल्ने कुरा भयो । बसमा रहेका दुई जना बहिनीहरू (जो हाम्रो टीमभन्दा बाहिरका थिए) उनीहरू निकै सिपालु रहेछन् । रूपन्देही जिल्ला अदालतका दामेलदार ओम बहादुर जिसी सरको गायकीले निकै रौनकता थपेको थियो । मेरो गला सुकिसकेको थियो । यस्तै यस्तै रमाइलोसँगै हामी यात्रा गरिरहेका थियौँ । बाहिर चकनाचुर अधेरो भै सकेको थियो । गाडी भित्र दोहोरी, अन्ताक्षरी, गीत, हुटिङ आदिले माहोल बनेकै थियो । निरन्तरको झन्डै ३ घण्टाको यात्रा पछि हामी कपुरकोट आइपुग्यौँ ।
कपुरकोट तरकारीका लागि निकै प्रख्यात स्थान रहेछ । हामी केही समय गाडीबाट झरेर अवलोकन गर्ने सोच बनायौँ । बाहिर निकै अध्यारो भै सकेको थियो । बजार राम्रोसँग घुम्न त पाइन तर तरकारी बजार क्षेत्र भने अवलोकन गर्न पाइयो । तुलसीपुर बजार मात्र नभएर तल्लो बेल्टमा तरकारी यही क्षेत्रबाट तरकारी जाने कुरा त्याहाँबाट बुझियो । यो ठाउँ तरकारी पकेट क्षेत्रका रूपमा पनि विकास हुँदै गएको पनि बुझ्न सकिन्थ्यो ।
समग्रमा यत्रा निकै रमणीय, फलदायी र उद्देश्य केन्द्रित नै रह्यो । कुपिण्डे तहको संरक्षण भएकै देखियो । अन्य ब्यवस्था पनि ठिकै देखियो तर हस्पिटालिटी क्षेत्र भने निकै कमजोर रहेछ । आरामदायी होटलहरूको त के कुरा सामान्य प्रकारका होटलहरू समेत रहेनछन् । कुपिण्डे दह क्षेत्रमा मात्र नभई आसपासका क्षेत्रमा पनि त्यो प्रकारको सुविधा भएको पाइएन । अर्को बाटोको समस्या पनि उस्तै रहेछ । बाटोलाई थप ब्यवस्थित बनाउन सकेमा पनि आन्तरिक पर्याटनको केन्द्र बन्न सक्ने क्षेत्रका रूपममा विकास हुँदै जानेमा कुनै शंका छैन । त्याहाँको विकासका लागि स्थानीयलाई नै सकृय बनाउनु पर्ने आवश्यकता समेत देखियो ।
एक दिवसीय अवलोकन भ्रमण यात्रामा उच्च अदालत तुलसीपुरका उपसचिव तथा शाखा अधिकृत सरहरू सहित हरिबहादुर रामजा, ताजुब भुषाल, एकराज कोइराला, प्रेम बहादुर राना, रुपन्देही जिल्ला अदालतका इन्दिरा कुमारी खड्का, हन्ना पुन मगर, नन्द लाल गिरी, लोग बहादुर थारु, लालवहादुर रोकाय, पूर्ण बहादुर सुनार, ललित बहादुर के.सी, खगेन्द्र बि.क., भूमिराम पौडेल,भक्तबहादुर बि.क.,सूर्य बहादुर शाही, राधिका के.सी., योगेन्द्र खड्का, ओम बहादुर के. सी., टिकाराम पुन, भिम बहादुर थापा, सविता खड्का सहित ३६ जना कर्मचारी सहभागी थियौँ ।
मितिः२०८०/०४/२५
(पूर्व पत्रकार समेत रहेका लेखक हाल उच्च सरकारी वकील कार्यालय बुटवलमा कार्यरत छन्)