युवा उद्यमी भन्नाले २० वर्ष देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुबाट सञ्चालित उद्योग, व्यवसाय वा उनीहरुबाट सिर्जना गरिएको नयाँ व्यवसायिक रणनीतिक योजनालाई बुझाउँदछ।
यस्तो व्यवसायिक रणनीति, उद्योग व्पवसायले व्यक्ति स्वयंको रोजगारीका आवश्यकता मात्रै पूरा नगरेर सम्रग रुपमा त्यही समाज र राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा बेरोजगार भएर बसेका युवाको आवश्यकतालाई क्रमिक रुपमा पूरा गर्ने सामथ्र्य राख्ने गर्दछ।
नेपालको सन्दर्भमा युवा उद्यमी भनेर १६—४० वर्ष उमेर समूह भित्रका युवाहरुबाट सञ्चालित उद्योग व्यवसाय वा उनीहरुबाट सिर्जना गरिएको व्यवसाय सञ्चालन सम्बन्धि योजना वा रणनीतिलाई बुझिन्छ भनी राष्ट्रिय तथ्यांक विभागले परिभाषित गरेको छ।
नेपालको राष्टिय युवा नीतिको पछिल्लो तथ्यांकअनुसार देशमा अहिले ४० लाख युवा उद्यमीले उद्यमशिलताको विकास प्रवद्र्धन तथा नयाँ नयाँ नयाँ व्यवसायिक रणनीति तथा कार्ययोजनाको बारेमा कार्यक्रम गरिरहेका छन्। विशेष गरी युवा उद्यमीहरु वस्तुको उत्पादनमूलक गतिविधिमा उत्पादन लागत कसरी गर्न सकिन्छ भनेर आफ्नो ध्यान केन्द्रित गरेका छन्।
नेपालमा सफल भएका युवा उद्यमीका योजनाहरुमा ईसेवा, सेलपेहरुलाई लिन सकिन्छ।
तर, प्रस्तुत लेखमा बुटवलमा रहेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका युवा व्यवसायी/उद्यमीका चुनौति र सम्भावनाका क्षेत्रहरु के के रहेका छन् भन्नेमा चर्चा गर्ने प्रयास गरेको छु।
बुटवल पहिल्यैदेखि नै नेपालको आर्थिक शहरका रुपमा परिचित छ। यहाँ १६ औ शताब्दीदेखि नै आर्थिक गतिविधिहरुलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन भइरहेको पाइन्छ।
अहिले बुटवल ५ नम्बर प्रदेशको अस्थायी राजधानीका रुपमा स्थापित भएपछि यहाँको आर्थिक गतिविधिमा थप चहलपहल बढेको छ। प्रदेशको अस्थायी राजधानी तोकिनुभन्दा पहिलेदेखि नै बुटवलमा नयाँ युवा उद्यमीहरुको बौद्धिक र आर्थिक क्षमताले प्राथमिकता पाएको थियो। राजधानी तोकिएपछि थप सम्भावनाहरु थपिए, र त्यसले युवा उद्यमीहरु उत्पादन गर्न भूमिका खेलेको छ।
यद्दपि वर्तमान समयमा विश्वव्यापी महामारी कोभिड १९ का कारणले युवा उद्यमी बुटवलमा आफ्नो व्यवसायिक रणनीति योजना र आर्थिक लगानी गर्ने वा नगर्ने भन्ने विषयमा सोंचमग्न भएको अनुसन्धानमा सहभागी नयाँ युवा उद्यमीले बताएका छन्।
बुटवलमा युवा उद्यमीको वर्तमान अवस्था बुटवल नेपालको आर्थिक शहर भएकोले प्रत्येक आर्थिक वर्षमा थप ३०० देखि ५०० साना तथा ठूलो लगानी गरेका युवा व्यवसायीहरु थपिएको बुटवलमा रहेका व्यवसायिक फर्म तथा उद्योगका साझा संस्थाहरुका वार्षिक प्रतिवेदनबाट जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैगरि प्रत्येक वर्ष व्यवसायिक फर्म तथा उद्योगहरु बिक्री गर्ने तथा बन्द गर्नेको संस्थालाई व्याख्या गर्दा युवा उद्यमीहरुको संस्था रहेको पाईन्छ।
यस अध्ययनमा विशेषगरी निम्नलिखित प्रश्नावलीको आधारमा बुटवलमा युवा उद्यमीको चुनौती र सम्भावनाका बारेमा स्थलगत प्रतिवेदन तयार पारिएको छ।
१. युवा उद्यमीको जनसाख्यिकीय अवस्था
२. व्यवसाय/उद्यममा कति वर्षदेखि सहभागिता हुनुहुन्छ ?
३. कति जनालाई कति समयमा रोजगारी दिनुभयो ?
४. व्यवसायमा लाग्न कसरी प्रेरित हुनु भयो ?
५. व्यवसाय, उद्यमको लागि सुरुवाती पूजीँ कहाँबाट प्राप्त गर्नुभयो ?
६. व्यवसायिक शिक्षा, तालिम कहाँबाट लिनुभयो ?
७. उद्यम दर्ता प्रक्रियामा के कस्ता समस्याहरु तथा सरलताहरु छन् ?
८. दर्ता प्रक्रिया खर्चिलो छ वा छैन ?
९.उद्यम/व्यवसायमा पारिवारिक साथ र सहयोग छ वा छैन ?
१०. सरकारका तर्फबाट व्यवसायमा के कस्ता सहयोग पाउनुभएको छ ?
११. तपाईको उद्यममा के कस्ता समस्याहरु रहेका छन् ?
१२. के कारणले युवा उद्यमशीलताको विकास भएको छ ?
१३. बुटवलमा कुन कुन उद्यम/व्यवसायमा सम्भावनाहरु देख्नुभएको छ ?
उल्लेखित प्रश्नावलीहरु बुटवलमा सञ्चालित सबै प्रकारका व्यवसाय वा उद्यम सञ्चालन गरेर बसेका युवाहरुलाई प्रतिनिधिमूलक हिसाबले समावेश गर्ने प्रयास गरिएको छ।
जसअनुसार दुग्ध व्यवसाय, मोटर पाटर्स/ग्यारेज, वस्तु उत्पादन, व्यवसायिक रणनीति योजनाकार, ब्युटीपार्लर, सैलुन, सेवामुलक उद्यम (इरिक्सा, ट्याक्सी, भ्यान, मोबाईल, कम्प्युटर बिक्री तथा मर्मत पुस्तक तथा स्टेशनरी, होटल, तथा रेष्टुरेन्ट, पर्यटन) लाई लिईएको छ।
प्रत्येक युवा उद्यमशीलताको प्रतिनिधित्व गराउने उद्देश्यले सबै क्षेत्रका एक–एक जना युवालाई समावेश गर्दा अध्ययनमा २० जनालाई मात्रै समेटिएको छ।
अध्ययनमा सहभागीले भोगेका समस्याहरु
बुटवलमा गरिएको अनुसन्धानमा सहभागी युवा उद्यमीले बनाएका समस्याहरुलाई निम्नलिखित रुपमा प्रस्तुत गरिएको छ।
१. लगानीको अभाव
अध्ययनमा छनौट गरिएका २० जना युवाहरुमध्ये १४ जना युवा उद्यमीहरुले आफ्नो उद्यमशिलताको विकास र विस्तारका लागि आवश्यक पर्ने प्राप्त लगानी गर्न नसकेको बताएका छन्।
विशेषगरी बैंक तथा वित्तिय संस्थामा युवा उद्यमीको भन्दा प्रौढ व्यवसायीको सिधा सम्पर्क रहने र त्यसको असर उनीहरुले भोग्नु परेको पाइयो। अध्ययनमा समावेश गरिएका होटल तथा रेष्टुरेन्ट, पर्यटन व्यवसाय, अटोमोबाईलका क्षेत्रमा युवा उद्यमी व्यवसायीलाई कर्जा प्रभाव गर्नमा बैंक तथा वित्तिय संस्थाहरु सजिलै तयार नहुने गरेको पाईन्छ।
पछिल्लो समयमा बुटवललाई आर्थिकसँगै औद्योगिक शहर बनाउने योजना अगाडि सारेको भएतापनि व्यवसायमा आउन चाहने युवा उद्यमीलाई पहिल्यैदेखि शहरमा स्थापित भइसकेका फर्म तथा व्यवसायिक ग्रुपले लगानीकर्तालाई युवाले व्यवसाय गर्न नसक्ने कृत्रिम डर पैदा गराइदिने र बुटवलमा युवा व्यवसायी वा उद्यमीलाई निरुत्साहित गर्ने वातावरण सिर्जना गरिएको पाइयो।
२. प्रशासनिक जटिलता
बुटवलमा सञ्चालित अधिकांश सबै पेशा व्यवसाय तथा उद्योगले कुनै न कुनै प्रकारको प्रशासनिक जटिलताको अनुभव गरेका छन्। प्रस्तुत अध्ययनमा समावेश गरेका शतप्रतिशत युवाहरुले प्रशासनिक जटिलता व्यहोरेको बताएका छन्।
उनीहरुले आफ्नो उद्यमीशीलता दर्ता गर्दा, कर तिर्दा, आफ्नो उत्पादनको प्याटेन्ट राईट लिएर लगानी स्वीकृति गराउने क्रममा योजनाको चोरी तथा अन्यलाई बिक्री हुुने गरेको समस्या भोगेका छन्।
उद्यमीशीलताको विकासका लागि संरचना तयार पार्दा, भन्सार छुट्याउँदा तथा कर चुक्ता आदि गतिविधिमा राज्यको प्रशासनिक संयन्त्रबाट आफुहरु निकै नै पिडित बनेको र जसका कारणले आफुहरुको उत्पादन लागत बढ्ने र पुराना व्यवसायिक, उद्यमीसँग प्रतिस्पर्धा गर्न नसकेको बताएका छन्।
युवा उद्यमीले नयाँ उद्यमीशीलता सम्बन्धि गतिविधि गर्न चाहेमा त्यससँग सम्बन्धित राज्यको प्रशासनिक संयन्त्रले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रक्रियामा व्यक्तिगत स्वार्थका मागहरु गरेर युवालाई उद्यमीशिलतामा लाग्न प्रोत्साहित गर्नुको सट्टा निरुत्साहित गर्ने गरेको होटल, पर्यटन तथा ईरिक्सा चालक तथा उद्यमीहरुले बताएका छन्।
सन् २०१८ मा विश्व बैंक अन्तराष्ट्रिय श्रम संगठनले गरेको नेपालमा युवा व्यवसायिका चुनौतीका विषय अनुसन्धानमा पनि प्रशासनिक जटिलतालाई प्रमुख समस्या मानेको थियो भने जसअनुसार नेपालका ७८ प्रतिशत युवा आफै उद्यमीशिलताको विकासमा नलाग्नुको प्रमुख कारणमा यसैलाई उल्लेखित गरेको थियो ।
३.व्यवसायिक ज्ञान, तालिम तथा शिक्षाको कमी
बुटवलमा केही गरौ भनेर आउने युवाहरुलाई वस्तु तथा सेवा उत्पादनका कुन कुन क्षेत्रमा लगानी गर्दा के कस्ता व्यवसायिक सीप ज्ञानको आवश्यकता पर्दछ र त्यो कुन संस्थाबाट सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सूचना प्रणालीबाट पनि बञ्चित रहेका छन।
बुटवलमा ईरिक्सा सञ्चालन गर्दै आएका एक चालकले आफुले रिक्सा चलाउँदाको पहिलो महिनाको आम्दानी दण्ड र जरिवाना तिर्न मात्रै खर्च भएको बताए। उनका अनुसार आफुलाई दण्ड जरिवानाबारे कुनै पनि संस्था र दण्ड जरिवाना काट्ने निकायले नदिएको बताए। उनका अनुसार अहिले बुटवलमा ३००० भन्दा बढिको संख्यामा रिक्सा चालकहरु रहेकोमा अधिकाशंले यो समस्या व्यहोरिरहेका छन्।
त्यसैगरी सौन्र्दय सम्बन्धि कार्य गर्ने युवा उद्यमी ब्यूटी पार्लर तथा पुष्प एवम नर्सरी व्यवसायीका प्रतिनिधिले आफुहरुलाई सौन्दर्यकला तथा विविध विषयका बारेमा नयाँ र सरल तरिकाले तालिम तथा ज्ञान प्रदान गर्ने कुनै पनि प्राविधिक शिक्षालय नभएको बताएका छन्।
पछिल्लो समयमा बुटवल र यस आसपासमा हस्पिटालिटि व्यवस्थापन विषयको अध्यापन गराउने शिक्षालयको विस्तार भएकाले होटल तथा पर्यटन व्यवसायिलाई भने दक्ष जनशक्तिको अभाव रहेको छैन। अध्ययनमा सहभागी सम्पूर्ण सहभागीहरुले बुटवलमा युवा उद्यमशिलताको विकास शिशु अवस्थामा रहेकाले यसको विस्तारका लागि बुटवलमा प्राविधिक विश्वविद्यालको आबश्यकता रहेको बताएका छन्।
४. अपूर्ण प्रतिस्पर्धा
वर्तमान समयमा हरेक उत्पादित वस्तु तथा सेवामा पूर्ण प्रतिस्पर्धाको वातावरण तयार गरिनुपर्ने विश्वव्यापी मान्यता भएतापनि बुटवलमा केही उत्पादनमा अहिले पनि युवा उद्यमीलाई प्रतिस्पर्धा गर्न कठिन वातावरणको सिर्जना राज्य पक्षबाट नै भएको पाइयो।
विशेषगरी सरकारी कार्यालयमा आवश्यक पर्ने इन्धन यातायात, प्राविधिक पक्ष जस्तै इन्टरनेट कम्प्युटर आदिको खरिद बिक्री प्रक्रियामा युवा उद्यमीले प्रतिस्पर्धा गर्न नसक्ने खालका प्रावधान राखी कार्टेलिङका आधारमा सेटिङमा पूराना व्यवसायीलाई दिने प्रचलन हावी रहेको छ।
अध्ययनमा समावेश गरेका दुग्ध व्यवसायी, ब्युटी पार्लर, ग्यारेज आदि उद्यम गरेर बसेका युवाहरुले राज्यका तर्फबाट हरेक कुरामा पूर्ण प्रतिस्पर्धाको वातावरण तयार पार्न सकेको खण्डमा आफुहरुले वर्तमान समयमा प्रौढ व्यवसायीले उपलब्ध गराएको सेवा सुविधा २५ देखि ४० प्रतिशत सम्म कममा उपलब्ध गराउन सक्ने वातावरण बनाउने बनाएका छन्।
विशेष गरी अटोमोबाईल तथा ग्यारेज व्यवसायमा आफ्नो उद्यमशिलता विकास गर्न चाहने नेपाली युवा उद्यमीले दोस्रो मुलुकबाट आएका श्रमिकसँग कम पारिश्रमिक र लागतमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न परेकोले प्रत्येक वर्ष १ देखि १५ वटा ग्यारेजहरु बन्द हुने गरेको तथा स्थानान्तरण भई सैनामैना, पाल्पा, अर्घाखाँची, गुल्मीतिर व्यवसाय लैजाने गरेको बताएका छन्।
५.बिमा दाबीको भुक्तानी असहज
आफ्नो लगानीको जोखिम बहन गर्नका लागि गरिने निर्जिवन जीवन बिमा कार्यक्रममा आफुहरुले सहभागिता जनाउँदा ब्यूटी पार्लर, दुग्ध व्यवसाय, फर्निचर व्यवसाय, अटो मोबाईल उद्यमीहरुले बिमा पोलिसी सजिलै पाउने तर बिमा गरेर पनि उद्योगले कुनै क्षति भोगेको समयमा सजिलैसँग भुक्तानी नपाएको गुनासो गरेका छन्।
बीमा कार्यक्रममा सरल र सहज तरिकाले प्रवेश पाएपनि त्यसबाट पाउनुुपर्ने सुविधामा निकै जटिल व्यवस्था भएकाले यसमा नयाँ पुस्ताका व्यवसायीहरुले आशातित रुपमा रुचि नराखेको पाईन्छ भने समान प्रकृतिका कार्यक्रममा बीमा कम्पनीअनुसार फरक फरक कानुनी व्यवस्थाले गर्दा आफुहरुले उपयुक्त निर्जिवन बिमा कम्पनी नपाएको कुरा अध्ययनमा सहभागी अटो रिक्सा चालकले बताएका छन्।
बिमा कम्पनीहरुले सानो लगानीमा सञ्चालित उद्यमको बिमा पोलिसी जारी गर्नमा खासै रुचि नराख्ने तथा राखिहालेमा पनि सेवा शुल्क अधिक लिने जस्ता समस्याहरु युवा उद्यमीले व्यर्होन बाध्य छन्।
६.जनशक्तिको अभाव
अटोमोबाईल्स, फर्निचर, दुग्ध उत्पादन व्यवसाय, पुष्प व्यवसाय, नर्सरी व्यवसाय सञ्चालन गरेका युवा उद्यमीले जनशक्तिको अभाव भोगिरहेका छन्।
उनीहरुका अनुसार प्रौढ उद्यमीहरुले दोस्रो मुलुकबाट जनशक्ति ल्याएर आफ्ना उत्पादन गतिविधि बढाउने र नयाँ नेपाली युवाहरुलाई सीप हस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न रुचि नराख्नाले आफुहरुले दक्ष जनशक्तिको अभावमा गुणस्तरीय सेवा तथा वस्तु उत्पादन बजारमा उपलब्ध गराउन कठिनाई व्यहोरेको बताएका छन्।
अध्ययनमा सहभागी युवा उद्यमीहरुले बुटवलमा सञ्चालित प्रौढ उद्योगहरुले बाह्य मुलुकका श्रमिकहरुलाई प्रयोग गर्ने र यसले नेपाली युवाहरुमा प्राविधिक ज्ञानको हस्तान्तरण नहुँदा आफुहरुको लगानी जोखिममा परेको बताएका छन्।
युवा उद्यमीका सम्भावनाहरु
वर्तमान समयमा समुदाय, राष्ट्र, अन्तर्राष्ट्रिय स्तरका उपभोक्ताहरुलाई उनिहरुले चाहेका सबै प्रकारका वस्तु तथा सेवाहरु सरल, सहज र सस्तो तवरबाट उपलब्ध गराउने क्षमता युवा उद्यमीहरु सँग मात्रै रहेको छ ।
किनकी उनीहरुले आफ्ना सम्पूर्ण सेवा, सुविधा तथा उत्पादनहरुलाई प्रविधिको सहायताले तीस सेकेण्डमा नै संसारभर उपलब्ध गराउन सक्ने क्षमता राख्दछ। प्रस्तुत अध्ययनमा बुटवलमा युवा उद्यमीका सम्भाव्य क्षेत्रहरु निम्नलिखित रहेको पाईयो।
१. ब्यूटी पार्लर तथा सैलुन व्यवसाय
बुटवलको जनसंख्या दिन प्रतिदिन बढिरहेको छ। त्यसैगरी आफ्नो सौन्र्दयतामा कमी आउन नदिनेको संख्या पनि बढिरहेको छ।
शहरमा फेसनमा रमाउन चाहने युवायुवती तथा प्रौढको चाहनालाई पूरा गराउने एक मात्र माध्यम ब्यूटी पार्लर तथा सैलुन व्यवसाय भएकोले यी उद्यमसँग सम्बन्धित कच्चापदार्थ उत्पादन गर्ने उद्योग तथा स्वयम् ती व्यवसायमा युवा पुस्ताले बौद्धिकता र आर्थिक लगानी गरी नयाँ विश्व परिवेश अनुसार सेवालाई परिवर्तन गर्न सकेमा आम्दानीको बलियो सम्भावना क्षेत्र हुनेमा कुनै शंका छैन।
पछिल्लो तथ्यांकअनुसार बुटवलमा ५०० भन्दा बढी सैलुनमा बाह्य मुलुकका नागरिकले काम गरिरहेका छन्। जसलाई वर्तमान महामारीले अन्यौल बनाएको सन्दर्भमा नेपाली युवालाई यसमा आर्कषित गर्ने प्रचुर सम्भावना रहेको छ। जसमा तीनवटै तहका सरकारको ठोस रणनीतिक योजना आउनुपर्छ। यो क्षेत्रमा युवा उद्यमीको सम्भावना रहेकोले बैंक तथा वित्तिय संस्थाले सरल सहज तवरले कर्जा प्रवाह गर्नुपर्छ।
ब्यूटी पार्लर तथा सैलुन व्यवसायमा बुटवलमा ठूलो सम्भावना रहेको छ। यसलाई सही तरिकाले सम्बोधन गर्न सकिएको अवस्थामा वार्षिक रुपमा बाहिरिने अर्बौको नेपाली पूजीँलाई सामाजिक आर्थिक पूर्वाधारका क्षेत्रमा लगानी गरी ११ प्रतिशतको दरमा रहेको आन्तरिक बेरोजगारी न्यूनीकरण गर्न सक्ने सम्भावना पनि रहेको पाईयो।
२. पुष्प तथा नर्सरी व्यवसाय
अन्य कुराहरु यथावत रहेको समयमा बुटवलको पुष्प तथा नर्सरी व्यवसायको कुल मागको ९५ प्रतिशत हिस्सा बाह्य मुलुकबाट आउने पुष्प तथा नर्सरीका बिरुवाले ओगटेको पाईयो।
नेपाल फ्लोरीकल्चर एसोसिएसनका अनुसार रुपन्देहीको बेलहिया नाका प्रयोग गरेर वार्षिक दुई अर्ब बराबरका यी उत्पादनहरु आयात हुने गरेकोमा ६५ प्रतिशत रुपन्देहीमा खपत हुने गरेको रुपन्देहीमा नै यस व्यवसायको राम्रो सम्भावना रहेको छ भन्ने प्रमाणित भएको छ।
यसकारण यस व्यवसायमा युवा पुस्ताको ज्ञान, सीप, पुजीँलाई समुचित तरिकाले प्रयोग गर्न सकिने प्रचुर सम्भावना रहेको छ। जन्मदेखि मृत्युसम्मका अनेक गतिविधिमा यस क्षेत्रका उत्पादनको माग सदावहार रुपमा हुने हुनाले युवा उद्यमीका लागि कम लगानीमा अधिक फाईदा लिन सकिने दीर्घकालिन स्रोतका रुपमा यसको सम्भाव्यता रहिरहेको छ।
३. अटो मोबाईल क्षेत्र
नेपालमा नै नमूना अटोभिलेज भनेर चर्चामा आएको बुटवल मैनाबगरमा रहेको बुटवल अटोभिलेजमा ९० प्रतिशत प्राविधिक जनशक्ति बाह्य मुलुकका रहेका छन्। वर्तमान समयमा देशमा यससम्बन्धि अध्ययन गरेको जनशक्ति धेरै रहेको परिवेशमा बुटवलका युवा उद्यमीहरुले हामैै्र देशमा रहेका बेरोजगार युवालाई यसमा सहभागी गराउन सक्ने गतिलो आधार सिर्जना गर्नका लागि सक्षम छन्।
विश्वव्यापी महामारीले गर्दा मैनाबगर अटोभिलेजमा काम गर्ने थुपै्र बाह्य मुलुकका नागरिकहरु आफ्नो देशमा फिर्ता भएको अवस्थामा यहाँका युवा उद्यमी व्यवसायीले नेपाली युवालाई रोजगारीका अवसर प्रदान गरी वर्षेनी बाहिरिने पूजीँ रोक्न सक्ने प्रशस्त सम्भावना रहेको छ।
अटो मोबाईलका क्षेत्रमा युवा उद्यमीको सम्भावना देखिएकाले स्थानीय सरकारले सबै व्यवसायिक फार्ममा अनिवार्य रुपमा नेपाली श्रमिकको प्रयोग गर्नु पर्ने बाध्यकारी व्यवस्था गरि कर छुटको प्राबधान गरेमा नेपालीको रोजगारी र आम्दानीको स्तर बढ्नेछ।
४. होटल तथा पर्यटन व्यवसाय
बुटवल आफैमा ऐतिहासिक, पुरातात्विक महत्व बोकेको शहर भएकोले यहाँ पर्यटन व्यवसायको सम्भावना अधिक मात्रामा रहेको छ। पर्यटन व्यवसायको पुरक व्यवसायको रुपमा रहेको होटल व्यवसायमा पछिल्लो समयमा युवा पुस्ताले लगानी गरिरहेको एक सम्भाव्य क्षेत्र हो।
बुटवलका फुलबारी, रामापिथेकस पार्क, हिलपार्क, पिस पार्क, कृत्रिम मिनी फेवाताल, जितगढी किल्ला, सिद्धबाबा मन्दिर, आदि पर्यटकीय स्थलहरु प्रस्तावित केबलकार यातायातले पनि बुटवलमा युवा उद्यमीको लगानीलाई होटल तथा पर्यटनका क्षेत्रमा अनेकौं सम्भावना रहेको देखिन्छ।
माथि उल्लेख गरिएका बाहेक विविध क्षेत्रमा युवा उद्यमीको सम्भावना बुटवलमा रहेको छ।
अन्त्यमा मुलुकलाई समृद्द बनाउनको लागी युवा जनशक्तिलाई स्वदेशमा नै लगानीयोग्य वातावरणको निर्माण गरी उद्यमशीलताको विकास सँगसँगै आत्म निर्भर अर्थतन्त्रको विकास गर्ने अभियानमा हामी सबै आ–आफ्नो क्षेत्र तथा स्थानबाट लागिपरौं। भ्रष्टाचार गरेर जीवन सिर्गानुभन्दा आफ्नो बुद्धिको प्रयोग गरेर नयाँ–नयाँ अनुसन्धान गरी सभ्य समाजको निर्माण गर्न सकेको अवस्थामा मात्रै मानवीय जीवनको औचित्यता पुष्टि हुनेछ। धन्यवाद।