चितवनको भरतपुर सेन्ट्रल अस्पताल भरतपुरमा विगत साढे दुई वर्षदेखि कार्यरत सिम्रन तिवारीलाई कोरोना संक्रमण भएको छ। सिम्रनले आफैले फेसबुकमा लामो स्टाटस लेखेर आफ्ना अनुभूतिहरु ब्यक्त गरेकी छिन् । उनले फेसबुकमा श्यर गरेको अनुभूति जस्ताको तस्तै :
काम गर्दैगर्दा कोरोना संक्रमित भएछु, स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद। म एक नर्स हुँ। म आफ्नो पेशामा गर्व गर्छु।
मलाई थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेको होइन जस्तोसुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेशा अंगालेको हुँ। आफ्ना व्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केही वर्ष भैसकेछ। काम गर्दैगर्दा यो अवस्था आउँछ होला भन्ने सोचेका थिएनौं।
तर एक्कासी संसारलाइ नै तर्साउने गरी कोरोना भाइरस फैलियो। कयौं देशहरुमा हजारौं नागरिकको ज्यान गयो। विस्तारै अवस्था जटिल बन्दै गयो। विस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाले। तर कहिल्यै हतोत्साहित नभइ निरन्तर आफ्नो कर्ममा लागिरहेँ। मैले सोंचे कि म एकजना नर्सले गाह्रो हुने भयो म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला। यस्तै सोंचेर अग्रजहरुको सल्लाह सुझावलाई ग्रहण गर्दै काममा लागिरहेँ!
घरमा बुवाआमा, भाइ बहिनीलाइ आफैले सम्झाएँ। 'म आफु ममा मात्र सिमित छैन बाबाममी मैले समाजका लागि काम गर्नुपर्छ म यतिखेर घरमा काम नगरी बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुदैन नआतिनु म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु' भनेर घरपरिवारलाइ सम्झाउँदै आफ्नो कर्ममा लागिरहेँ।
कैयौं रात बाबाममी निदाउनुभएको छैन, कतै छोरी संक्रमित त हुनेहोइन भन्ने चिन्ताले। भोलि समाजले के भन्ला छिछि र दुरदुर गर्ला भन्ने चिन्तामा हुनुहुन्थ्यो। केही दिन अगाडि अस्पतालमा उपचार गरिरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुनेँ।
उहाँहरुलाइ सधै हामीले रेखदेख गरिरहेका हुन्थ्यौ। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु। पछि आफुलाई सम्हालेँ। त्यसपछि हामीलाइ छुट्टै ठाउँमा राखियो। त्यसको पर्सिपल्ट म लगायत हामी साथीहरुको कोरोना परीक्षणका लागि स्वाब लगियो। हाम्रो रिपोर्ट पनि पोजेटिभ आयो। एकछिन तनाबमा रहेँ। कसरी घर भन्ने होला अब के हुने हो भन्ने भयो।
म आफुलाई सम्हालेँ। म आज कमजोर महसुस गरे भनेँ मेरो परिवारलाई चिन्ता हुन्छ। समाजलाई चिन्ता पर्छ। मैले मनोबल दरो बनाउनुपर्छ भन्ने सोंचेर अहिले आफ्नो मनोबल उँचो बनाएर मैले यो रोगलाइ परास्त गर्छु भन्ने आत्म विश्वास लिएको छु। परास्त गर्छुपनि।
आज मलाई गर्व छ म आत्तिएकी छैन। किनकी म बिरामीको सेवा गर्दा, मेरो कर्तव्य पूरा गर्दा म संक्रमित भएकी हुँ। हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस्। हामीले यो रोग रहरले सारेका हैनौं। आफ्नो जिम्मेवारी पूरा गर्दा सरेको हो। पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यो?
सबैको सोंच सकारात्मक बनोस्। संक्रमित नर्स डाक्टर सुरक्षाकर्मीलगायत आम नागरिकलाइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन, डाक्टर, नर्स, परिवार, साथीभाइ, आफन्तजन, समाजका सबै नागरिकहरु प्रति अस्पतालको बेडबाट धन्यवाद व्यक्त गर्दछु।
सन्चो भएपछि उही मनोबलका साथ हजारौ बिरामीको सेवा गर्नेछु। मलाइ नर्स हुनुमा गर्ब छ।
बाबामामु नआत्तिनु हजुरको छोरी झन मनोबल दरो बनाएर यो कोरोना रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे। म हारेको छैन, झन ममा मनोबल दह्रो भएको छ।