जनआन्दोलन (२०६२/०६३)को बलमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पाँचौं कार्यकालका लागि प्रधानमन्त्री बनेपछिको कुरा हो। पुनःस्थापित संसद्ले राजाका अधिकार कटौती गरेको थियो र वयोवृद्ध प्रधानमन्त्री कोइरालाको काँधमा राष्ट्राध्यक्षको समेत जिम्मेवारी आइपरेको थियो।
१० वर्ष लामो सशस्त्र विद्रोहको अन्त्य गर्दै माओवादीसँग शान्ति सम्झौतामा हस्ताक्षर भएपछि मुलुकले संविधानसभा निर्वाचन र गणतन्त्रतर्फको यात्रा तय गरिरहँदा प्रधानमन्त्री कोइराला सारथिको भूमिकामा हुनुहुन्थ्यो। वृद्ध उमेर र कमजोर स्वास्थ्यका कारण उहाँसँग अत्यन्त कम समय थियो।
हत्तपत्त मिडियालाई अन्तर्वार्ता दिन नरुचाउने गिरिजाप्रसाद कोइराला दुई दशक (२०४६-२०६४)सम्म नेपाली प्रेसमा सर्वाधिक चर्चा र आलोचना खेप्ने नेता हुनुहुन्थ्यो।
२०५१ मा संसद् विघटन गरी मुलुकलाई मध्यावधि निर्वाचनतर्फ धकेल्नु र २०५६ को आमनिर्वाचनपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई बलपूर्वक सत्ताच्युत गर्नुलाई उहाँको राजनीतिक जीवनकै सर्वाधिक अलोकप्रिय निर्णयका रूपमा लिने गरिन्छ।

राणा, पञ्चायत र निरंकुश राजतन्त्र विरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहनुभएका उहाँ बिरामी भएर अस्पताल भर्ना हुँदा होस् वा आरामका लागि गृहनगर विराटनगर पुग्दा सधैं राजनीतिमै क्रियाशील रहनुभयो। त्यसैले पनि कोइरालाको जीवनीमा आधारित रहेर म एउटा डकुमेन्ट्री बनाउन चाहन्थें।
लामो प्रयास पनि गरें, तर अन्तर्वार्ताका लागि समय पाएको थिइनँ। यस्तैमा एक दिन सानेपास्थित कांग्रेस कार्यालयमा नेताहरू सुशील कोइराला र डा. रामवरण यादवले सभापति कोइरालासँग मलाई भेटाउँदै भन्नुभयो, “गिरिजा दाजु! उहाँ तपाईंको बारेमा वृत्तचित्र बनाउन चाहनुहुन्छ। जसरी भए पनि अन्तर्वार्ताका लागि समय मिलाइदिनुपर्यो।” चुरोटको धूवाँ उडाउँदै गिरिजाबाबुले स्वकीय सचिव बालकृष्ण दाहाललाई भन्नुभयो, “ल बालु! समय मिलाएर उहाँलाई खबर गर्नू।”
दिन बित्दै गए, तर अन्तर्वार्ताका लागि समय जुरेन। यसैबीचमा मैले कोइरालाका निकट सहयोगी र पार्टीका नेतासँग उहाँका बारेमा जानकारी लिने कामलाई निरन्तरता दिइरहें।
एक दिन तत्कालीन कोषाध्यक्ष रामकृष्ण ताम्राकारसँग सभापतिको बारेमा वृत्तचित्र बनाउन चाहेको बताएँ। २०६४ असार १४ गते ताम्राकारले फोन गर्नुभयो, “ल! गिरिजा दाजुले कुरा गर्छु भन्नुभएको छ। बालकृष्णलाई फोन गरेर समय मिलाउनू।” उहाँसँग ‘हुन्छ’ भनें, तर भर लागेन। सुशील कोइराला र डा. यादवले भन्दा नभएको काम कसरी सम्भव होला भन्ने लागिरह्यो। तैपनि दाहाललाई फोन गरें। उहाँले असार १६ गते ३ बजेको समय दिनुभयो।
त्यस दिन प्रधानमन्त्री निवास बालुवाटारको मन्त्रिपरिषद् बैठक हलमा अन्तर्वार्ताको तयारी पूरा भएको सूचना पाएपछि ठीक ३ बजे प्रधानमन्त्री कोइराला लिफ्टबाट ओर्लिएर हलमा प्रवेश गर्नुभयो। पहिलो दिन आफ्नो जन्म र बाल्यकालबारे साढे दुई घण्टासम्म लगातार बोल्नुभयो।
उहाँको जीवनीमा आधारित त्यो अन्तर्वार्ता शृंखला कान्तिपुर टेलिभिजनमा २०६४ असार १८ देखि हरेक सोमबार राति साढे ९ बजे प्रसारण हुन थाल्यो। कार्यक्रम प्रसारण भएका दिन संयोगले उहाँको जन्म दिन परेको थियो।
‘आफ्नो इतिहास, आफ्नै वृत्तान्त’ नामक त्यो कार्यक्रमका लागि स्टुडियोमा ओपनिङ रेकर्ड गर्नुपर्ने। जीवनमै पहिलो पटक साथीको कोट र मेकअपको अनुभव लिएँ। एक/सवा मिनेटको ओपनिङ रेकर्ड गर्न तीन-चार टेक लिनुपर्यो।

नमस्कार!
ऐतिहासिक व्यक्तित्व गिरिजाप्रसाद कोइरालाको कथा उहाँबाटै प्रस्तुत गर्न पाउँदा कान्तिपुर टेलिभिजन आज गौरवान्वित छ। पाँच पटकसम्म मुलुकको सरकार हाँकेका, नेपालको इतिहासमा कोरिएका अनेकौं घटनाका पात्र कोइरालाको संघर्षमय जीवनका स्मरणीय घटनाले नेपाली राजनीति र समाजका लागि गहनतम शिक्षा दिन सक्छ। यसलाई प्रस्तुत गर्न पाउनुलाई हामीले अवसर, चुनौती र जिम्मेवारीका रूपमा लिएका छौं। यो कथा उहाँबाटै प्रस्तुत हुनु नै सर्वोत्तम हुने हामीले ठान्यौं र जसलाई कोइरालाले स्विकार्नुभयो। यो जीवनी प्रसारणका क्रममा नेपाली राजनीतिका तमाम पक्ष उजागर हुने र नेपाली इतिहासको एक कालखण्ड र एक व्यक्तित्वको इतिहासलाई अक्षरमा राख्न मद्दत मिल्ने हाम्रो विश्वास छ। अन्तर्वार्तामा आधारित यो आत्मकथा शृंखलाबद्ध रूपमा छायांकन हुने र हरेक सोमबार राति साढे ९ बजे प्रस्तुत गरिनेछ। साथै, यसको प्रमुख अंश हरेक आइतबार निस्कने नेपाल साप्ताहिकमा पनि प्रकाशन हुनेछ।
यसको शुरूआतका लागि हामीले आजको दिनलाई छानेका छौं किनभने आज उहाँको जन्मदिन हो। उहाँ आज ८३ वर्ष पूरा गरी ८४ वर्षमा लाग्नुभएको छ। प्रधानमन्त्री कोइरालाको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै प्रस्तुत छ कार्यक्रम- ‘आफ्नो इतिहास, आफ्नै वृत्तान्त’।
६ महिना लगातार प्रसारण भएको झन्डै २५ घण्टा लामो सो अन्तर्वार्ता शृंखलाका क्रममा मैले एक दिन पनि कोट लगाइनँ। दुई घण्टाभन्दा लामा ११ वटा अन्तर्वार्ता गर्दा समेत शर्ट र पाइन्टमै काम चलाएँ। ती दिन सम्झिंदा आफैं छक्क पर्छु। हरे मेरो केटाकेटीपन! सधैं दौरा, सुरुवाल र कोटमा चिटिक्क भएर क्यामेराअघि आउने प्रधानमन्त्री कोइरालाको हातमा सेतो, सफा रुमाल कहिल्यै छुट्दैनथ्यो।
विराटनगरको त्यो अन्तर्वार्ता
पहिलो अन्तर्वार्ता प्रसारण भएको केही दिनपछि कांग्रेसका नेता नरहरि आचार्यले कार्यक्रम निकै राम्रो भएको प्रतिक्रिया दिंदै आफूले पनि गिरिजाबाबुको जीवनी तयार गर्न खोजेको तर एक पटक अन्तर्वार्ता रेकर्ड गरेपछि काम अघि बढ्न नसकेको पुरानो प्रसंग सुनाउनुभयो।
आचार्यको यो भनाइले अन्तर्वार्ताका लागि थप समय नमिल्ने हो कि भन्ने डर मलाई पनि लाग्न थाल्यो, तर धेरै कुराहरू हाम्रा अनुकूल भए। मैले २५ घण्टा लामो अन्तर्वार्ता लिन पाएँ। हरेक पटक अन्तर्वार्ता सकिएर ‘क्यामेरा अफ’ गरिएपछि चिया ‘सेसन’ चल्थ्यो। चिया सेसन पूरै अनौपचारिक हुन्थ्यो।
राष्ट्रप्रमुख र प्रधानमन्त्रीको हैसियतले औपचारिक रूपमा प्रेसलाई भन्न नमिल्ने राजनीतिका जटिल विषयमा पनि उहाँ बोल्ने गर्नुहुन्थ्यो। मैले शुरूका एक-दुई सेसनमा त्यस्ता केही कुराहरू टिप्ने प्रयास पनि गरेको थिएँ, तर कोइरालाले अप्ठ्यारो महसूस गर्दै ‘फेरि तिमी टिप्न थाल्यौ हैन?’ भनेर सोधेपछि कलम र डायरी निकाल्न छाडिदिएँ।
बालुवाटारमा शनिबार दिउँसो २ देखि ३ बजेको समय अन्तर्वार्ताका लागि छुट्याइएको थियो। अन्तर्वार्ता रेकर्डका लागि कहिले दुई वटा, कहिले तीन वटा क्यामेरा तथा कहिलेकाहीं ‘ओबी भ्यान’ (आउटडोर ब्रोडकास्टिङ भ्यान) प्रयोग गरिन्थ्यो भने सम्पूर्ण कामका लागि ६ देखि १२ जनासम्मको हाम्रो समूह बालुवाटारमा पुग्ने गर्थ्यो।
कुराकानीको शुरूमै जुन प्रसंग याद छ, त्यो भन्दै जाने र त्यसमा केही कुरा स्पष्ट पार्नुपरे मात्र सोध्ने वा थप कुरा गर्ने सहमति भएको थियो।
तीन-चार पटक अन्तर्वार्ता लिइसकेपछि भने कोइरालालाई एकोहोरो बोले जस्तो लागेछ, त्यसैले उहाँ ‘म एकोहोरो बोलिरहेको छु, मान्छेले मन पराएका छन् कि छैनन्?’ भनेर वेलावेला सोध्ने गर्नुहुन्थ्यो। मैले एकदमै राम्रो प्रतिक्रिया आएको जानकारी दिएपछि उहाँले ‘सबै प्रसंग जोडेर एउटा किताब निकाल्दा राम्रै हुन्छ, होइन?’ भन्ने जिज्ञासा पनि राख्नुभएको थियो।
रेकर्डिङकै क्रममा २०६४ साउन १९ गते हामी विराटनगर पुग्यौं, तर भोलिपल्ट बिहान कोइराला निवास पुग्दा परिस्थिति अर्कै भइसकेको थियो। गिरिजाबाबुलाई रातिदेखि नै बिसन्चो भएको रहेछ र डाक्टरले तत्काल काठमाडौं लैजान सल्लाह दिएका रहेछन्।
नभन्दै केही क्षणमै गिरिजाबाबु एक जना डाक्टर र प्रहरी निरीक्षक महेन्द्र मरासिनी सहित निवासबाट बाहिरिनुभयो। मरासिनीको हातमा अक्सिजनको सानो सिलिन्डर थियो। हामी सँगसँगै एउटै प्लेनमा काठमाडौं आयौं। बाटोभरि कुनै कुरा भएन। काठमाडौं विमानस्थलबाट मोटर चढेर बालुवाटार जाने क्रममा गिरिजाबाबुले बोलाएर भन्नुभयो, “ल! यस पटक मलाई सन्चो भएन। बालुवाटारमा फेरि कुरा गरौंला, चिन्ता नलिनू।”
मलाई कम्तीमा एक पटक विराटनगरस्थित कोइराला निवासमै उहाँको अन्तर्वार्ता लिनुपर्छ भन्ने लागेको थियो, त्यसैले कोइरालाका सहयोगीहरूलाई अर्को पटक जसरी पनि समय मिलाउन अनुरोध गरें।
२०६४ कात्तिक १ गते उहाँका निजी सुरक्षा अधिकारी महेन्द्र मरासिनीले फोनबाट गिरिजाबाबु भोलि विराटनगर जाने निधो भएकाले विराटनगरका लागि टिकट मिलाउन सकेमा अन्तर्वार्ताका लागि समय मिल्ने जानकारी दिनुभयो। दशैंको मुखमा प्लेन टिकट पाउन सहज थिएन। तैपनि टिकटको जोहो भयो र अष्टमीका दिन कोइराला निवास विराटनगरमा गिरिजाबाबुको अन्तर्वार्ता लिइयो।
भारतमा हंगामा
प्रधानमन्त्रीको जीवनीमा आधारित कार्यक्रम निकै लोकप्रिय भएकाले दिनमा पाँच पटक पुनः प्रसारण हुन थाल्यो। २०६४ पुस ताकाको कुरा हो। प्रधानमन्त्रीले भारत प्रवासबाट सशस्त्र क्रान्ति सञ्चालन गर्दा पैसाको अभावले जहाज अपहरण, नक्कली नोट छाप्ने, सुन र युरेनियम तस्करी गर्नेहरूसँग सम्पर्क भएको विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेपाल र भारतमा तीव्र प्रतिक्रिया उत्पन्न भयो।
भारतीय मिडियाहरूमा उहाँले भारतीय कानून विपरीतका काम गरेकाले उहाँलाई कारबाही हुनुपर्छ भन्ने मुद्दा उछालिएको थियो। त्यही वेला, २०६४ पुस २६ गते प्रधानमन्त्री कोइरालाले छोरी सुजातालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभयो।
२०६४ माघ ३ बिहानैदेखि तारन्तार फोन आउन थाल्यो। त्यसरी फोन गर्ने मेरा शुभचिन्तकहरू भन्दै थिए, “जगतजी, गिरिजाबाबुले नक्कली नोट छापेको भन्ने विषयलाई भारतीय सञ्चारमाध्यमले निकै उछालेका छन्। सीएनएन आईबीएन, जी टीभी लगायतका च्यानलहरूले बडो हाइलाइट गरेर समाचार दिइरहेका छन्। इन्डियन एक्सप्रेसमा युवराज घिमिरेको बाइलाइनमा समाचार छापिएको छ।”
‘टेप देऊ, मागे जति पाउँछौ’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूले धमाधम फोन गर्न थाले। उनीहरू भन्दै थिए, “हैन के बजाउनुभयो। हंगामा छ त। ल त्यो टेप दिनुस्, राम्रो पारिश्रमिक पाइहाल्नुहुन्छ। त्यो तपाईंका लागि निकै आकर्षक रकम हुनेछ।” त्यसरी फोन गर्ने हरेकलाई म भनिरहेको थिएँ, “हुन्छ, तपाईंलाई दिन्छु। अफिस पुगेर खबर गर्छु।” मलाई लाग्यो- अहिले मसँग मागेका छन्, मैले दिन्नँ भनिदिएँ भने उनीहरूले सीधै टेलिभिजनसँग किन्न सक्छन्। त्यसले झनै ठूलो संकट आउन सक्छ।
त्यसपछि कान्तिपुर टेलिभिजनका समाचार उपप्रमुख सोहन श्रेष्ठलाई फोन गरें, “दाइ, धेरैले भिजुअल चाहियो भनेर फोन गरिरहेका छन्। कसै गरी त्यो टेप बाहिरियो भने ठूलो समस्या हुन्छ। त्यसैले विवाद मत्थर नहुन्जेल अभिलेखालय (आर्काइभ)मा भएका टेप मैले आफैंसँग राख्नुपर्ने भयो। तपाईंको सहयोग चाहियो।” सोहन दाइले आर्काइभमा फोन गरेर ‘जगतले मागेका टेप उनलाई दिनु’ भनिदिनुभयो।
अनि आर्काइभबाट तीन वटा टेप झिकेर अफिसबाट म सीधै एक आफन्तकहाँ गएँ। एउटा दराजमा ती टेप राखें। साँचो बोकेर अफिस फर्किएँ। टेप माग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका साथीहरूलाई अफिसको नियमले नमिल्ने रहेछ भनिदिएँ। त्यो यूट्यूबको जमाना थिएन। टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्ता अनलाइनमा राख्ने चलन थिएन। मैले टेप लुकाइदिएकाले कसैले चाहेर पनि प्रधानमन्त्रीको अन्तर्वार्ता देखाउन सकेनन्।
२०६४ माघ ४ गते धुम्बाराहीबाट मोटरसाइकलमा डेरा (बिजुलीबजार)तिर जाँदै थिएँ। पत्रकार शीतल कोइरालाको फोन आयो। उहाँले भन्नुभयो, “भारतीय टेलिभिजन च्यानलहरूले गिरिजाबाबुको अन्तर्वार्तालाई एकदमै उछाले। दिदी (सुजाता कोइराला)ले एक पटक तपाईंसँग भेटेर कुरा गर्न खोज्नुभएको छ।” त्यसको केही समयपछि विना विभागीय मन्त्री कोइरालाको फोन आयो, “जगतजी, त्यो टेपको दुरुपयोग होला नि।”
‘कोइरालाको मृत्यु’!
२०६४ माघ ७ गते दिनभरि प्रधानमन्त्री कोइरालाको मृत्युको हल्ला चल्यो। १० वर्षसम्म नेपाली कांग्रेस र कोइराला ‘बिट’ हेरेका कारण धेरैले मलाई पनि फोन गरे। माघ ८ गते दिनभरि पनि सनसनी फैलियो। म जवाफ दिंदादिंदै हैरान भएँ। बेलुका प्रधानमन्त्री स्वस्थ हुनुहुन्छ भन्ने व्यहोरा सहित डाक्टरहरूको वक्तव्य आयो। तर पनि मानिसहरू पत्याउन तयार भएनन्।
हुन नसकेको १२औं अन्तर्वार्ता
अनेक प्रयास गर्दा पनि कोइरालाको १२औं अन्तर्वार्ता लिन सकिनँ। ६ महीनासम्म निकै लोकप्रिय भएको कार्यक्रम बन्द हुने अवस्थामा पुग्यो। लामो छलफलपछि हामी (कान्तिपुर टेलिभिजन) केही कार्यक्रम पुनः प्रसारण गर्ने, सम्भव भए अन्तर्वार्ता लिने, नभए कार्यक्रम नै बन्द गर्ने निष्कर्षमा पुग्यौं ।
यसबीच एकाबिहानै मोटरसाइकल चढेर म कांग्रेसका बौद्धिक नेता चक्रप्रसाद बाँस्तोलाको निवास खुमलटार पुगे। शुरूमा त नराम्ररी रिसाउनुभयो। “पत्रकार भएँ भन्दैमा जे पनि गर्ने? हैन तिमीहरूले पढ्नु पनि पर्दैन?” म चूपचाप थिएँ। उहाँ भन्न थाल्नुभयो, “एउटा व्यावसायिक पत्रकारका रूपमा तिमीले जे गर्यौ, ठीक गर्यौ। गिरिजाबाबुले किन त्यस्तो बोल्नुभयो? राष्ट्रप्रमुख जस्तो व्यक्तिले बोल्न नहुने कुरा बोल्नुभयो। अहिले आएर बूढालाई अप्ठ्यारो पर्यो।”
चक्र दाइले सुनाउनुभयो, “भारतीयहरूले कडा आपत्ति जनाइरहेका छन्। मलाई बोलाएर के गर्ने चक्रजी भन्नुभएको थियो, ‘कार्यक्रम बन्द गरिदिनुस्’ भनें।”
चक्र दाइबाट थाहा पाएँ- ती दिन प्रधानमन्त्री र भारतबीच दूरी बढेको रहेछ। खास गरी संघीयताको मुद्दामा भारतले कोइरालालाई अप्ठ्यारोमा पारेको रहेछ।
कोइराला सकेसम्म संघीयतामा नजाने र जानै परे प्रदेशहरूको सीमांकन उत्तर-दक्षिण हुने गरी गर्नुपर्ने पक्षमा हुनुहुन्थ्यो। भारतीयहरूले भने ‘एक मधेश एक प्रदेश’ को मुद्दालाई प्राथमिकतामा राखेका थिए। जुन कोइरालालाई पटक्कै मन परेको थिएन।
१०औं पटकको अन्तर्वार्तासम्म आइपुग्दा दरबार हत्याकाण्ड, नयाँ राजा ज्ञानेन्द्रसँग बिग्रँदै गएको सम्बन्धको प्रसंग तथा होलेरी काण्डपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेका सन्दर्भहरू रेकर्ड भइसकेका थिए।
म त्यसपछिका घटनाक्रमबारे सोधेर जतिसक्दो छिटो अन्तर्वार्ता सक्नुपर्छ भन्ने पक्षमा थिएँ। चैतमा तय भएको संविधानसभा निर्वाचनका कारण कोइरालाको समय पाउन गाह्रो हुने र जीवनी रेकर्डको काम अधूरै रहने सम्भावनाका कारण म चिन्तित थिएँ।
११औं पटकको अन्तर्वार्ता (२०६४ मंसीर २२) शुरू गर्दा होलेरीपछिको घटनाक्रमबारे जिज्ञासा राखेको थिएँ, तर गिरिजाबाबुले ‘छोड यो सब! आज म प्रवासमा बस्दा भोग्नुपरेको दुःखका बारेमा बताउँछु’ भनेर व्यापारीको तस्करीको सामान ‘आफ्नो हो’ भनेर छुटाएको प्रसंग, प्रयोगशालामा लगेर युरेनियम परीक्षण गरेको तथा पैसाको अभाव हुँदा नक्कली नोट छाप्ने समूहसँगको भेटको प्रसंग सुनाउनुभयो। यी प्रसंगहरू प्रसारण भएपछि राजनीतिक वृत्तमा विवाद पैदा भयो। परिणामतः अन्तर्वार्ताको क्रम पनि रोकियो।
अन्तर्वार्ताका क्रममा उहाँ बारम्बार यो प्रसंग अहिले नदिने भनेर सम्झाउनुहुन्थ्यो। त्यसरी नदिने भनिएका प्रसंगहरू प्रसारण गरिएको थिएन। त्यो दिन नक्कली नोट, विमान अपहरण, सुन तथा युरेनियम सम्बन्धी प्रसंगहरू अहिले नदिने भनिएका थिएनन् र स्वाभाविक रूपमा प्रसारण भएका थिए।
यो घटनाक्रमपछि पनि मैले अन्तर्वार्ताका लागि पटक पटक प्रयास गरें। अन्तर्वार्ता रेकर्ड गर्ने तर प्रसारण नगर्ने वा विशेषज्ञ टोलीको सुझाव अनुसार विवाद नहुने विषय मात्र प्रसारण गर्ने कुरा भयो।
प्रसारण नगर्ने गरी गिरिजाबाबु जीवनी रेकर्ड गर्न राजी भएको खबर मसम्म आइपुग्यो, तर मुलुकको बिग्रँदो राजनीतिक वातावरण र उहाँको अस्वस्थ अवस्थाका कारण पूरै जीवनी रेकर्ड गर्ने काम पूरा हुन सकेन। कोइरालाले देखेका-भोगेका सबै ऐतिहासिक घटनाहरूलाई भिडिओ क्यामेरामा कैद गर्न सकेको भए भावी पुस्ताका लागि उहाँको ६ दशक लामो राजनीतिक अनुभव प्रेरणाको स्रोत बन्न सक्थ्यो।

किताबको तयारी
गिरिजाबाबुको निधन (२०६६ चैत ७)पछि आफूले लिएका सबै अन्तर्वार्ता हेरें। “म एकोहोरो बोलिरहेको छु। मान्छेले के भनेका छन्, मन पराएका छन् कि छैनन्?” भनेर सोधेको दृश्य फेरि अघिपछि गरेर हेरें। मैले भनेको रहेछु, “हजुरको अन्तर्वार्ता यति वेला नेपाली टेलिभिजनहरूमा सर्वाधिक हेरिएको कार्यक्रम हो, गिरिजाबाबु।” उहाँले भन्नुभएको रहेछ, “ठीक छ, अहिले बजाउन मिल्ने दिनू। बाँकी प्रसंग पछि पुस्तकमा राख्दा हुन्छ।”
गिरिजाबाबुको त्यो वचनले मलाई आफ्नो जिम्मेवारी अझै बाँकी छ भनेर पुस्तक तयार पार्न घचघच्यायो। सबैभन्दा पहिला अन्तर्वार्ताका विवादास्पद अंक रेकर्ड भएका सबै टेप कान्तिपुर टेलिभिजनको आर्काइभमा बुझाइदिएँ। उहाँ जीवित हुँदासम्म टेपको दुरुपयोग हुन दिइनँ। हिजोआज जस्तो डिजिटल मिडिया र यूट्यूब प्रविधिको अत्यधिक प्रयोग नभएकाले उहाँको भनाइ भाइरल हुन पाएन।
गिरिजाबाबुको आत्मकथा प्रकाशित गर्ने मुख्य जिम्मेवारी कसरी निर्वाह गर्ने भन्ने चिन्ता हुन थाल्यो। त्यस कामका लागि मलाई आडभरोसा दिन सक्ने, इमानदार सम्पादक र प्रकाशक को हुन सक्ला भनेर सोच्न थालें।
मेरो अन्तर्मनले त्यो कामका लागि अग्रज पत्रकार राजेन्द्र दाहाल उपयुक्त हुने ठान्यो। ती दिनमा उहाँ राष्ट्रपति डा. रामवरण यादवको प्रेस सल्लाहकार हुनुहुन्थ्यो।
मैले पुस्तकको सम्पादक बसिदिन आग्रह गर्दा उहाँ सहजै तयार हुनुभएन, बरु जिज्ञासा राख्नुभयो- किन चाहियो सम्पादक? खासमा, गिरिजाबाबुको अन्तर्वार्ता लिने, सम्पादन गर्ने, प्रसारण गर्ने र पत्रिकामा छाप्ने/छपाउने सबै काम म स्वयंले नै गरिसकेको स्थितिमा अर्को कोही सम्पादकको किन जरूरी पर्यो भन्ने उहाँको चासो थियो।
त्यस्ता सबै शंका-प्रश्न निवारण गरेपछि उहाँले मेरो आग्रह स्वीकार गर्नुभयो र काम अघि बढ्यो। त्यसपछि मैले आफ्नो टाउकामा रहेको भारी बिसाएको महसूस गर्दै आनन्दको सास फेरें। प्रा. कृष्ण खनालले भूमिका लेखिदिनुभयो।
पुस्तकको सम्पादकका रूपमा राजेन्द्र दाइले सर्वप्रथम किताबको स्वामित्व (कपिराइट)को विषयमा स्पष्टता खोज्नुभयो र गिरिजाबाबुकी छोरी (उपप्रधानमन्त्री सुजाता कोइराला)सँग त्यसबारे कुरा गरेर टुंगो लगाऊ भन्नुभयो।
यस अनुसार मैले सुजाता दिदीलाई भेटेर कुरा राखें। उहाँले भन्नुभयो, “तपाईंले यति मिहिनेत गरेर लेख्नुभएको छ। कपिराइट तपाईं लिनुस्। फरम्याट बनाएर ल्याउनुस्, म सही गरिदिन्छु।”
यस्तैमा, एक दिन दिदीका सहयोगी हरि ढुंगानाको फोन आयो, “जगत, दिदीले भोलि बिहान ७ः३० बजे मण्डिखाटार (दिदीको निवास)मा बोलाउनुभएको छ।”
पुसको महीना बिहानै मोटरसाइकल चढेर पुगें। दिदीले भन्नुभयो, “मैले सानोबुबाको नाममा प्रतिष्ठान खोल्ने निर्णय गरें, २०६७ चैत ७ गते उहाँको प्रथम वार्षिकीको अवसर पारेर राष्ट्रपति रामवरण यादवबाट उद्घाटन गराउने तयारी छ। उहाँको किताब पनि त्यहीं विमोचन गर्दा राम्रो हुन्छ। तयारी गर्नुस्।”
मैले यो कुरा सम्पादक राजेन्द्र दाहाललाई भेटेर सुनाएँ। राजेन्द्र दाइले फेरि पनि ‘कपिराइट’ कै कुरा सम्झाउनुभयो। ‘कपिराइट’ को टुंगो नलगाई अगाडि बढ्न नमिल्ने अडान उहाँले दोहोर्याउनुभयो।
त्यसपछि जगदम्बा प्रकाशनका सम्पादक दीपक अर्यालले बनाइदिएको ‘कपिराइट’ सम्झौता लिएर म तत्कालै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको कार्यकक्ष (नारायणहिटी दरबार) पुगें। दिदीले त्यसमा हस्ताक्षर गरिदिनुभयो। यसरी ‘कपिराइट’ को अन्योल टुंगियो। गिरिजाबाबुले अन्तर्वार्तामा भनेका सबै कुरा किताबमा राख्ने या नराख्ने भन्ने विषयको विवाद निरूपण हुन भने बाँकी नै थियो।
पुस्तककै विषयमा छलफल
गिरिजाबाबुको पहिलो वार्षिकीका दिन, (२०६७ चैत ७ गते) उहाँको नामको प्रतिष्ठान उद्घाटनसँगै पुस्तक पनि सार्वजनिक गर्ने अन्तिम टुंगो लाग्यो। यो २०६७ माघ १० को कुरा हो। तर किताबका बारेमा सुजाता दिदीको अडान या विचारबारे के गर्ने भन्ने प्रश्नको निकास भेटिएको थिएन।
उहाँ किताबबाट अन्तर्वार्ताका कतिपय विषय-प्रसंग हटाउनुपर्ने ठान्नुहुन्थ्यो, जबकि हामी फरक मत राख्थ्यौं। यस विषयमा उहाँ र मबीच दुई-तीन पटक कुरा भयो, तर एकअर्कामा हामी सहमत हुन सकेनौं।
म ‘प्रसारण र छापिई पनि सकेको सामग्री भएकाले किताबमा सबै प्रसंग समावेश गर्नु राम्रो हुन्छ’ भन्थें भने दिदीको कथन- ‘विवादास्पद बनेका घटना र प्रसंगहरू किताबमा फेरि पनि दोहोर्याएर छाप्नु उचित हुँदैन, विवादास्पद कुरोलाई बारम्बार किन दोहोर्याउने?’ भन्ने थियो।
यसमा मैले सम्पादक र अरूहरू समेत बसेर छलफल गरौं र टुंगोमा पुगौं भनेर मध्यम मार्ग प्रस्ताव गरें। उहाँले पनि त्यसलाई स्वीकार गर्नुभयो। तर त्यसपछि पनि भेट्दा, कुरा हुँदा आफूले भनेका प्रसंग किताबबाट हटाउन उहाँले दबाब दिइरहनुभयो। एक पटक त ‘मैले भनेको नमान्ने हो भने कपिराइटको सम्झौता भंग गरिदिन्छु’ भन्न पनि भ्याउनुभयो।
त्यति वेला सबै जना भेटेर छलफल गरेर यो कुरा टुंग्याउने भनी भएको सहमति सम्झाएपछि उहाँ मत्थर हुनुभएको थियो। तर त्यस्तो बैठक उहाँले निकै ढिलो गरेर २०६७ फागुन २७ गते मण्डिखाटारमा राख्नुभयो।
त्यसमा हाम्रा तर्फबाट राजेन्द्र दाइ र म थियौं भने सुजाता दिदीले पुरुषोत्तम बस्नेत, आनन्द ढुंगाना, राकेश हमाल र मानबहादुर विश्वकर्मालाई बोलाउनुभएको रहेछ। छलफल लामै चल्यो। धेरै त सुजाता दिदी र राजेन्द्र दाइ नै बोल्नुभयो। सो छलफलको बान्की यस्तो थियो-
सुजाता : इतिहासमा कति यस्ता घटना हुन्छन्। सबै बाहिर आउँदैनन्, ल्याइँदैन। त्यसतर्फ विचार गर्नुपर्छ।
राजेन्द्र : म्याडमले भनेको कुरा ठीक हो। तर अहिले छापिन लागेको किताबका अधिकांश अंश यसअघि नै नेपाल साप्ताहिकमा छापिएका छन्, कान्तिपुर टेलिभिजनमा प्रसारण भइसकेका छन्। सार्वजनिक भइसकेका विषय किताबमा नछाप्दा इतिहासलाई ‘चिट’ गरेको ठहरिन्छ। एउटा सम्पादकको रूपमा यहाँनेर मलाई गाह्रो छ।
सुजाता : क्रान्तिकालका कति यस्ता घटना छन्, जुन त्यति वेलाको बाध्यात्मक परिस्थितिमा ठूलो उद्देश्यका लागि गरिएका हुन्। अहिलेको सन्दर्भमा ती विषय राख्नु सान्दर्भिक हुँदैन।
राजेन्द्र : तर यो प्रसंग अलग भयो। यहाँ हटाउने भनिएका विषय र प्रसंग त पहिले नै धेरैले पढिसकेको, हेरिसकेको र सम्भवत: रेकर्ड गरेर समेत राखेका विषय हुन्। तिनलाई हटाउँदा एकातिर राम्रो हुँदैन, अर्कातिर हामीले केही जित्दैनौं।
अन्त्यमा राजेन्द्र दाइले भन्नुभयो, “तसर्थ, अब कसरी मिलाउने भन्नेतिर जाऔं। विवादास्पद भनिएका विषय सबैले पढौं। पुरुषोत्तम बस्नेत दाइहरू यहीं हुनुहुन्छ। उहाँहरूले पनि भन्नुपर्यो- कहाँ के कुरा नराख्ने, के हटाउने?”
तर भलादमी स्वभावका पुरुषोत्तम दाइले पनि दिदीले भने जस्तो पहिले नै पत्रिकामा छापिइसकेका कुरा हटाएर पुस्तक निकालौं भन्न के सक्नुहुन्थ्यो?
उहाँले राजेन्द्र दाइ र मलाई देखाएर भन्नुभयो, “तपाईंहरू आफैं जिम्मेवार र जानकार पनि हुनुहुन्छ। के गर्दा राम्रो हुन्छ, सुजाताजीले भनेको कुरा पनि सम्बोधन हुने गरी मिलाएर निकाल्नुहोस् न।”
यति भनेर उहाँले कुरा टुंग्याउनुभयो। आनन्द ढुंगानाले पनि करीब त्यही कुरा दोहोर्याउनुभयो। अन्ततः हामीले नै मिलाएर छाप्ने टुंगो लाग्यो।
यति गरेर मण्डिखाटारबाट निस्कनै लाग्दा दिदीले भन्नुभयो, “किताब कुनै हालतमा चैत ४ गतेभित्र तयार हुनुपर्छ, हाम्रो कार्यक्रमको एउटा महत्त्वपूर्ण आकर्षण यही हुनेछ।”
मण्डिखाटारबाट फर्केपछि राजेन्द्र दाइले ‘सिम्बोलिक’ रूपमा केही सामान्य प्रसंग र हरफहरू हटाएर पुस्तक छपाइका लागि प्रेस पठाउन जगदम्बा प्रकाशनका सम्पादक दीपक अर्याललाई निर्देशन दिनुभयो। त्यति वेला हटाइएका प्रसंग र हरफहरू यस संस्करणमा समेटिएका छन्।
पुस्तक आफैंले लगभग सबै तयार पारिसकेपछि पनि मैले राजेन्द्र दाइलाई सम्पादक बसिदिन आग्रह गर्नुको मुख्य कारण- एक्लै यस्ता दबाब झेल्न कठिन पर्ने देखेर पनि हो। नभन्दै त्यस्तै भयो। पुस्तकको विषयवस्तु जोगाएर प्रकाशित गर्न राजेन्द्र दाइको उपस्थितिले सोचे अनुरूप नै मद्दत गर्यो।
विमोचन हुन नसकेको पुस्तक
२०६७ चैत ३ गते दीपकजीले आफ्नै कुरा दुई कपी दिनुभयो। त्यो क्षण मेरो खुशीको सीमा थिएन। चैत ४ गते अफिसको काम सकेर दिदीलाई पुस्तक दिन मण्डिखाटार गएँ।
म दिदीसँगै हुँदा राजेन्द्र दाइको फोन आयो, “फाउन्डेशन उद्घाटनका वेला राष्ट्रपतिले पुस्तक विमोचन गर्ने कार्यक्रम अहिलेसम्मको कार्यसूचीमा छैन। कार्यक्रमको लिस्ट दिने बेला विमोचन हुने पुस्तक समेत राष्ट्रपति कार्यालय पठाउनुपर्ने हुन्छ। पुस्तक नपाई अहिले यहाँ सेड्युलमा राख्न मिलेन। म आफैं सम्पादक रहेको किताब, कार्यसूचीमा नराखी एकाएक विमोचन गराउँदा मैले दबाब दिए जस्तो देखिन्छ। त्यसैले तिमीले सुजाता म्याडमलाई भनेर मिलाउनू।”
त्यो कुरा मैले दिदीलाई सुनाएँ। उहाँले भन्नुभयो, “तपाईं ठिक्क पारेर कार्यक्रमस्थलमा ल्याउनुहोला, म विमोचन गराइहाल्छु नि।”
त्यति कुरा भएपछि म डेरातिर फर्किएँ। जगदम्बा प्रकाशनका तर्फबाट पुस्तक विमोचनको निम्ता बाँडिसकिएको थियो। मैले आफ्ना खास साथीभाइ र शुभचिन्तकलाई राति नै फोन गरेर निम्ता गरें।
२०६७ चैत ७ गते म प्रज्ञा-प्रतिष्ठान पुग्दा प्रायः अतिथिहरू आइसकेका थिए। दीपकजी पहिल्यै पुस्तक लिएर पुगिसक्नुभएको थियो।
विमोचनका लागि ठिक्क पारिएका दुई प्रति पुस्तक दिंदै उहाँले भन्नुभयो, “ल सर, यो विमोचनका लागि दिनु। भित्र विमोचन हुनासाथ फोन गर्नुहोला, हामी बाहिर बिक्री शुरू गर्छौं।” मञ्च अगाडि दिदी अतिथि स्वागतमा व्यस्त हुनुहुन्थ्यो। पुस्तक दिएँ। “ल यो विमोचन गराउनुहोला,” दिदीले डा. शम्भुराम सिम्खडालाई पुस्तक दिनुभयो। “कार्यक्रममा त पुस्तक विमोचनको सेड्युल छैन, के गर्ने? गराइदिने हो?” डा. सिम्खडाले सोध्नुभयो।
अनि दिदीले भन्नुभयो, “अ गराइदिने।” ‘ल त ल’ भन्दै सिम्खडा मञ्चतर्फ उक्लिनुभयो। अनि म खचाखच भरिएको हलतिर लागें। म पुस्तक विमोचनको प्रतीक्षामा थिएँ।
यही बीचमा गिरिजाप्रसाद कोइराला फाउन्डेशनको उद्घाटन र उद्घाटन मन्तव्य दिएर राष्ट्रपति डा. रामवरण यादव हलबाट बाहिर आई गिरिजाबाबुको फोटो प्रदर्शनी हेर्न थाल्नुभयो।
त्यसपछि उहाँ शीतल निवासतिर लाग्नुभयो। किताब विमोचन भएन। त्यतिका साथी बोलाएको थिएँ। छाँगाबाट खसे झैं भए। के गर्ने, के भन्ने सोच्नै सकिनँ।
जुरुक्क उठेर हिंडें। बाहिर दीपकजीहरू किताब बिक्री गर्दै हुनुहुन्थ्यो। कसैसँग केही नबोली सरासर डेरातिर लागें। सिरक ओडेर मस्तले सुतिदिएँ। तनाव पनि निश्चित बिन्दुसम्म हुँदो रहेछ। सीमा नाघेपछि मानिस मस्तले निदाउन सक्छ भन्ने शिक्षा मलाई त्यही घटनाले दिएको हो।
‘कर्म गर, फलको आश नगर’ भन्ने गीताको सारलाई मैले सधैं आत्मसात् गर्दै आएको छु र आगामी दिनमा पनि म त्यही पथमा अग्रसर रहने विश्वास मेरा पाठकहरूलाई दिलाउन चाहन्छु।
पुस्तक प्रकाशन र त्यसपछि भोग्नुपरेको यो अनावश्यक तनावबारे मैले त्यति बेला सम्पादक राजेन्द्र दाहाल बाहेक कसैसँग शेयर गरिनँ। त्यो कठिन परीक्षाको घडीमा मलाई सधैं आड, भरोसा र व्यावसायिक पथमा अघि बढ्न दिनुभएको हौसलाका लागि राजेन्द्र दाइप्रति नतमस्तक छु।
गिरिजाबाबुको पूरै जीवनी रेकर्ड गर्ने मेरो प्रयास पूरा हुन सकेन। जे जति रेकर्ड गर्न सकियो त्यसबाट नेपालको प्रजातान्त्रिक आन्दोलनका कैयौं महत्त्वपूर्ण घटनाबारे जान्न र बुझ्न मद्दत पुग्ने विश्वास लिएको छु।
(गिरिजाप्रसाद कोइरालाको आत्मकथा आफ्नै कुराको दोस्रो संस्करणको भूमिकाबाट।)