गुल्मीमै कोरोना परीक्षण हुने बिषयले गुल्मेली खुसी थिए। किनकी गुल्मीका क्वारेन्टाइन भारतबाट आएकाहरुले भरिए। पिसिआर रिर्पोट करिव महिना दिन आउँदैन्थ्यो। गाउँ–गाउँमा आरडिटी नगर्नुस् भनेर राजनैतिक अगुल्टो बालिएको थियो। दुई परीक्षणको ठीक बेठिक छुट्याउन स्थानीय तह सक्दैनथे। त्यसैले जिल्लामै कोरोना परीक्षण गर्ने प्रयोगशाला सञ्चालनको बिषय उब्जियो।
जसले सोच्यो राम्रो गर्नकै लागि थियो। स्थानीय तह सदरमुकाममा भेला भए, साथमा साथ थपे।
लाग्थ्यो, प्रयोगशाला निर्माण हुन एक साता पनि लामो भयो। तर त्यो हलको कुरा थियो। बाहिर आएपछिका कानेखुसीले अर्कै तरंग चल्थ्यो।
कार्यदल र प्रतिवेदन बन्यो। हलमा तालीमा पनि बजे। फेरि त्यही ताली बजाउनेहरु, बाहिर आएर मेसिनलाई दलगत रंग भर्थे।
सर्वदलीय भेलामा नेता ज्यूहरुले पोखेका नागरिकमैत्री भावना र रात परेपछि दलगत रुपमा खेलिएका षडयन्त्र कोरोनाभन्दा खतरनाक थिए। मेसिनको विषयमा केन्द्रमा योगराज कडेलले प्रयत्न गरिरहेका थिए।
जिल्लामा गणेश श्रीपाली संयोजक रहेको कार्यदलले काम गरिरहेको थियो।
त्यही बीचमा ‘सर्पले सर्पाकै खुट्टा देख्छ’ भन्ने नेपाली उखान चरितार्थ भयो। दलले दलकै खुट्टा देखे। नेकपाले योगराजलाई कांग्रेस देखे, कांग्रेसले गणेशलाई नेकपा।
नेता ज्यूहरुले छातीमा हात राखेर कसम खाने हिम्मत गर्छन् भन्ने दलगत मनोविज्ञान निकै चल्यो। तैपनि दुई नगरले १५÷१५ लाख र १० गाउँपालिकाले १०-१० लाख उठाउने सहमति गरे।
मेसिनको बिषयमा खरिद गर्न टेण्डर समेत आह्वान भयो। केही समय तै चुप मै चुप चल्यो।
त्यतिकैमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले मेसिन प्रदान गर्ने दाता खोजे। त्यही विषयले पनि सञ्जाल भरियो। कसैले नारा भने, आउनेमै शंका गरे। अन्तिममा आयो पनि।
यो विषय जिल्लाका नागरिकको लागि खुसी र अवसर रह्यो, जनप्रतिनिधिको कर्तव्य। जिल्लाका स्थानीय तहको प्रयोगशाला सञ्चालनको प्रयत्नमा ज्ञवालीको कदम थप इट्टा थियो।
सबैभन्दा महङ्गो मेसिन दाता मार्फत आउँदा जिल्लाको बजेट जोगिएकोमा गर्व गर्नुपर्ने थियो। यो कामलाई नेकपाले पनि एउटा जनप्रतिनिधिले ल्याएको भनेर भनेनन्। कांग्रेसले पनि कोरोनासँगभन्दा चुनावसँग बढी जोडे।
ज्ञवालीले ल्याएको मेसिन कम्युनिष्टको लागि मात्र थिएन। गुल्मीमा कोहीभन्दा कोही कम छैनन्। विषयान्तर र प्रचार चुनावमा भन्दा विपद्मा बढी गर्छन्, नेता ज्युहरु।
प्रयोगशालाको चर्चामा सुरु भएको करिव तीन महिना पुगे। परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले पिसिआर मेसिन हस्तान्तण गरेकै महिना दिनभन्दा बढि भए।
यी प्रश्नहरुका उत्तर कोसँग छन् ? १, मेसिन पहिले नै चेक किन भएन ? २, मेसिन सञ्चालनको प्रक्रिया र उपकरण खरिदको विषयमा मेयरलाई सोध्ने नेकपाका नेता कोको हुन ? ३, प्रयोगशाला सञ्चालन गर्ने ठाउँको काम कुन–कुन नेकपाको नेताले गएर हेरे।
कमरेड ! कोठाबाट स्टाटस लेख्ने र मन्त्री आउँदासँगै उभिएर क्यामेरामा मुन्टो देखाएर मात्रै पुग्दैन।
प्रयोगशाला सञ्चालनको बिषय प्रतिपक्षका बीच चुनौतिपूर्ण थियो भने कमजोर प्रयत्न जिल्ला तहमा किन भए। सदरमुकाममा बस्ने नेकपाका जिल्ला सचिवालय र जिल्ला कमिटीका नेताको हुल केका लागि र कसका लागि थियो ?
मेसिनमा केही प्राविधिक जटिलता आएका होलान्। तर संरचना निर्माण गर्न प्रदिप ज्ञवालीले रोकेका त होइनन होला नि। अझै पनि कांग्रेस नेता ज्यूहरुको स्टाटसमा कमेन्ट लेखेर समय बर्बाद नगर्नुस्। मन्त्रीलाई र पत्रकारलाई मेसिन भए सबै संरचना दुई दिनमा बन्छ भनेर गलत सूचना किन दिने ?
बल्ल भित्ता र भुईँ फोर्न थालिएको छ। सदरमुकाम बसेर माँखो नमार्ने तर केन्द्रका मन्त्रीहरुलाई गलत सूचना मात्रै दिएर चाकडी गर्ने कमरेडहरुलाई कारबाही किन नगर्ने ? मेसिन फर्किएकोमा कांग्रेसलाई कारण चाहिएको छैन। प्रयोगशाला सञ्चालन भए नागरिकले सेवा पाउनभन्दा त्यसको जस अर्कैले लिन्छन् भन्ने मनोभावसँग चुनावी जोड घटाउ गरिरहेको छ।
किनकी पिसिआर मेसिन प्रदिप ज्ञवालीले ल्याएका न हुन्। यहाँ सत्ता पक्षले गरेको प्रयत्नमा प्रतिपक्षले सहयोग गरे आकाश खस्छ।
मेसिन र मन्त्री जोडेर गरिएको कुप्रचार दुर्भाग्य हो। तर प्रयोगशाला निर्माणको विषयले गति लिएन।
त्यसको कारण जिल्लाको नेतृत्वको जाँगर हो। प्रयोगशाला सञ्चालनको विषय रेसुंगा नगरको जिम्मा लगाएर मात्रै पनि पुग्दैन।
नगरभित्रको मानसिकता पनि सवैले राम्रोसँग बुझेका छन्। सरकारी अड्डा र दलगत रुपमा हुने सहयोग र चासो महत्वपूर्ण विषय हो। अरु स्थानीय तहले पनि १० लाखको चेक रेडी छ, भनेर मात्रै पनि पुग्दैन।
आम नागरिकमा मन्त्रीले ल्याएको मेसिनले नै कोरोना परीक्षण गर्छ भन्ने भ्रम थियो।
मुख्य मेसिनसंगै आवश्यक पर्ने अन्य उपकरण खरिदको बिषयमा अहिलेसम्म प्रयत्न भएन। जसका कारण अझै पनि प्रयोगशाला सञ्चालनको मिति तय गर्न मुस्किल परेको छ।
अर्को कुरा कोरोना त पक्कै कांग्रेस र कम्युनिष्ट छैन होला नि ? कोरोना कहरले देश थला परेको छ।
प्रयोगशालाको सञ्चालनको बिषय ज्यादै महत्वपूर्ण भएकाले दलगत स्वार्थबाट टाढा राखेर सबैको प्रयत्नमा छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्छ। परिस्थिति निकै प्रतिकुल बनेको अवस्थामा परीक्षण गरेर के कारणले ज्यान गयो भन्न नपाउने समेत स्थितिलाई अवमूल्यन नगरौ।