फागुनको अन्तिम सातासम्म म काठमाडौंमा थिए। करीब १५ दिनको मेरो परीक्षा थियो। कोरोनाको उद्गमस्थल चीन थियो। बाँकी विश्वमा यसको उति प्रभाव देखिइसकेको थिएन।
काठमाडौंमा मज्जाले सार्वजनिक बस चढेर हामी यताउता हिड्थ्यौ। कलेजमा आधुनिक मिडियाको विषयमा बहस चल्थ्यो हामी साथीहरुमाझ। मार्शल म्याक्लुहानको मिडियम इज म्यासेजमा चर्चा हुन्थ्यो।
टेलिभिजनको उदयपछि रेडियो र छापा माध्यमको अस्तित्वमाथि शंका उठेका कुराहरू हाम्रा चर्चाका विषय हुन्थे। वर्तमान मिडिया, अनलाइन माध्यमको प्रभाव, विकासका सिद्धान्तहरुमा खुलेर बहस भएका थिए।
प्रत्यक्ष सञ्चारबाट शुरु भएको सञ्चार अब भर्चुअल पद्धतिबाट, भिडियो कन्फ्रेन्सबाट हुन थालेका उदारणहरु संकलन गर्दै छलफल हुन्थ्यो। तर छिट्टै यो विधि सबै तह, तप्का, क्षेत्रमा यति व्यापक रुपमा प्रयोग हुनेछ भन्ने त हामी कल्पना पनि गरेका थिएनौ। हामी होस्टलमा बस्थ्यौ। परीक्षा सकिएपछि नजिकै रहेको आइ कम्लेक्समा लागेको चलचित्र आमा हेर्न जादा बल्ल झसंग भयौ।
पोखराका साथी सुष्मा र सरितासँग फिल्म हेर्दै गर्दा पहिलो पटक कोरोना भाइरसको डर लाग्यो। हल खाली खाली थियो। तरपनि डराइडराई फिल्म हेर्यौं।
अर्कोदिन म वनस्थली जानु थियो। बहिनीको फोन आयो, उनले आउँदा मास्क र सेनेटाइजर ल्याउनु, यहाँ पाइएन भनेर खबर गरिन्। मैले बाटोमा पर्ने प्राय:जसो मेडिकलमा सोधे तर कतै पाइएन। त्यसपछि कोरोनाबारे सोच्न थालेँ।
हाम्रोमा अब कुनै सामानको माग बढ्नेवाला छ भनेपछि पहिल्यै लुकाइन्छ ताकि पछि महंगोमा बेच्न सकियोस्। उपभोक्ता हक र हितका बारेमा कुनै चासो छैन।
मलाई बुटवल फर्किन हतार थियो, म नाइट बसमै फर्किदै थिएँ। सबैजना सतर्क भैसकेको अवस्था थियो। प्रायको मुखमा मास्क थियो। मैले पनि घर फर्किने भनेपछि धेरै दौडधुप गरेर मास्क किनिसकेकी थिएँ।
मास्क लगाउने कोशिस गरेँ तर असहज महसुस भैरहेको थियो। काठमाडौंमा सजगता शुरु भैसकेपनि बुटवलमा यस्तो केही थिएन। सबै सामान्य थियो। चीनको वुहानमा भएका केही नेपालीहरूको अनुरोध पछि उनीहरु नेपाल ल्याइए र क्वारेन्टिनमा राखिए।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण शुरु हुने त्रास फैलिरहेको थियो। देश, काल, परिस्थितिअनुसार नयाँ नयाँ शब्दहरु प्रचलनमा आउँछन्, तिनीहरु व्यापक प्रयोग गरिएपछि जनजिब्रोकै भाषा बन्छन् भन्ने भाषाविज्ञानको नियम छ। सोही अनुरूप क्वारेन्टिन, आइसोलेसन, कोरोना, मास्क, सेनेटाइजर, स्वाब,कन्ट्याक्ट ट्रेसिङ, लकडाउन लगायतका शब्दहरु नेपाली जनजिब्रोमा झुण्डिइसके।
बुटवलमा पनि सेनेटाइजर र मास्कको कृत्रिम अभाव सिर्जना भइसकेको थियो। आवश्यक खाद्यान्न संकलन गरेर राख्न शुरु भएको थियो। चैत्रको ६ गतेदेखि हुने भनिएको एसइइ परीक्षा अघिल्लो दिन एकाएक स्थगित भएपछि जनमानसमा सन्त्रास बढ्यो।
नभन्दै चैत्रको १०गतेदेखि लकडाउन भयो। कहिले नसुनिएको लकडाउनको अनुभूति गर्न पाइयो। लकडाउन हुनुभन्दा एकदिन अगाडि गुल्मीको तम्घास गएकीले मेरो पहिलो लकडाउनको अवधि त्यहीँ नै बित्यो।
मलाई त यो ठूलो अवसर सावित भैदियो। जन्मठाउँमा समय बिताउन अरुबेला बिदा मिलाएर आउनुपर्ने, निश्चित दिन मात्र बस्न पाइने, योजना अनुसार चल्नुपर्नेमा अहिले त्यस्तो भएन।
मानिसहरु शहरबजारबाट गाउँतिर झर्दै थिए। ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट बाहिरिए। शहर भन्दा गाउँ सुरक्षित लागेरै होला, आपतविपतमा आफ्नै जन्मठाउँ सम्झेरै होला गाउँहरु भरिए।
कतै जाने, हिड्ने परिस्थिति थिएन। घरमै बस्न मन पराउने र किताबमै डुब्ने म जस्ती किताबको किरीलाई समय कसरी कटाउने भन्ने त तनाव भएन। किताबहरु पढेँ, बुबा आमा भाइ बहिनी र छोरासँग बसेर बुबाको जमानाका फिल्म हेर्दा तीनपुस्ते अनुभूतिहरु पनि पोखिए। शहरबजारमा सामाजिक दुरी राख्नुपर्ने अनिवार्यता भएपनि गाउँमा भने साँझ बिहान सामान्य जस्तै थियो।
कोरोना संक्रमणको डर देखाउदै गरिएको लकडाउनले प्रतिदिन काम गरेर जीविका चलाउनेको लागि सारै जटिल परिस्थिति सिर्जना गरेको छ। राहतका काम पनि प्रभावकारी नभएका जनगुनासाहरु सुनिएका छन्।
यस समयमा शिक्षाक्षेत्र, यातायात, पर्यटन, होटल व्यवसाय धराशायी बनेका छन्। चरम आर्थिक अभाव, मानसिक उदासीपनका कारण आत्महत्याको दर अत्यधिक बढेको छ।
बालबालिकाहरुमा समेत मानसिक समस्याहरु देखिन थालेका छन्। जतिबेलासुकै घरमै बसिरहने परिस्थितिका कारण मोबाइल, टेलिभिजन बच्चाहरुका सहारा बनेका छन्।
अनलाइन क्लासहरु शिक्षा प्राप्त गर्ने माध्यम बनेका छन्। हरेक सिक्काका दुई पाटा भएझै कोरोना कालका केही सकारात्मक पक्ष पनि छन्। जेसुकै होस् व्यक्तिको लागि परिवार महत्वपूर्ण हुन्छ भन्ने कुरा सिकायो।
जतिबेलासुकै व्यस्त जीवन बिताउनेहरुलाई परिवारसँग समय बिताउने अवसर जुटाइदियो। खाली जमिनहरुमा उत्पादनको पहल थालियो।
जीवन क्षणिक हुन्छ, सोचेजस्तो समय हुदैन भन्ने जीवनबोध सिकायो। प्रकृतिको ताण्डवलाई जित्न मानिसलाई हम्मे हम्मे पर्छ तर मानिस आपतविपददेखि भाग्दैन।
विकल्प खोजी गर्छ भन्ने प्रमाणित गरेको छ। यस कालखण्डमा समाज देश र विश्वपरिवेशमा पारेको प्रभावको बारेमा त अध्ययन अनुसन्धान होला। पहिलो चरणको लकडाउनले कोरोना प्रकोप घट्ला भनेको यतिबेला झन् रौद्र रूपमा प्रस्तुत भएको छ।
अहिले फेरि लकडाउन भएको छ, घरघर टोलटोलमा संक्रमित भेटिएका छन्। यो स्वरूप देख्दा हामी कोही पनि अछुतो रहन्छौ जस्तो लाग्दैन। हाम्रो जस्तो सीमित स्वास्थ्यकर्मी, सीमित स्रोत साधन भएको देशले संक्रमण बढ्दै जाँदा सबैलाई सेवा पुर्याउन सक्ला जस्तो मलाई लाग्दैन।
कुनै पनि रोगको निराकरणमा हाम्रो मानसिकता अचुक औषधी बन्न सक्छ। हामी मानसिक रुपमा सबल बनेर कोरोना प्रतिकारमा उत्रनैपर्छ। मेरो लण्डनमा रहेका नन्द, ज्वाइ, भान्जा-भान्जी सबैले कोरोना सहजै जितेको कुराले पनि कोरोनाबाट डराउन पर्दैन, तर सजग चाहिँ हुनुपर्छ भन्ने बुझेकी छु।
मलाई यसकालमा सबभन्दा पीडाबोध भएको घटनाचाहि गुल्मी पुर्कोटका शिक्षक बोमबहादुर कुँवरलाई कोरोना संक्रमण पश्चात गरिएको व्यवहार र उनको दाहसंस्कारमा देखाइएको अमानवीयता हो।
यस्ता तमाम दुःखद घटनाहरु छन्। पाल्पाका बाबुराम थापा कोरोना संक्रमित नभइकन पनि संक्रमितको व्यवहार पाए। लकडाउनका कारण थुप्रै मानिसहरुले सास्ती भोग्नुपर्यो।
पेटमा, काखमा बच्चा बोकेर रातदिन हिडेर देश भित्रन खोज्दा उनीहरुले भोगेका पीडाका व्यथा मुटु चिथोर्ने खालका छन्। रोग निरोधको प्रमुख विकल्प ठानिएको लकडाउन थपिइरहदा हुनेखानेहरुलाई त समस्या नहोला तर हुँदा खानेहरूको भोकले कस्तो स्वरुप लिने होला?
एउटा आमाको रुपमा मेरो सामू त्यस्तै प्रकारका चुनौती छन्। बच्चाहरुलाई यो समयमा मानसिक रुपमा कसरी सबल बनाउने, त्रासबाट कसरी बचाउने, पढाइ कसरी अगाडि बढाउने लगायतका कुरा।
गृहिणीका रुपमा त्यस्तै चूनौती छन्। एउटा शिक्षकका रुपमा विद्यार्थीहरुका जिज्ञासा समाधान गराइदिने व्यक्ति बन्नुपरेको छ। लामो समयसम्म आफू कार्यरत संस्थाहरु बन्द हुँदाको पीडा त छदैछ।
समयसँगै आएको अनिश्चितताको उत्तर कसैसँग छैन। न हामी आफ्नो इच्छाअनुसार जन्मेका हौ न हाम्रो जीवन हाम्रो वशमा छ। जीवन अनिश्चित छ। मरेर जाँदा सबै खाली हात नै जाने हो। जस्तो कर्म गर्छौ त्यस अनुसारको फल प्राप्त हुन्छ। यस्तो संकटको घडी मानव समुदायले कहिलेसम्म भोग्नुपर्छ थाहा छैन।
कहरको यस समयलाई व्यक्तिगत लाभ लिने मौकाको रुपमा नलिई सबैले आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नुपर्छ। मै खाऊँ मै लाऊँको भावना नराखी 'लोका समस्ता सुखिनो भवन्तु'को भावना राख्नुपर्छ।