अहिले कोरोना भाइरसको संक्रमणले महामारी छ। यसबीचमा सामान्यतया कमै सुनिने एउटा जडिबुटी चर्चामा छ। यसको नाम गुडुची हो । यसलाई भारततिर गिलोय भन्छन् । नेपालको गाऊँतिर भने गुर्जो पनि भन्छन् । यसले रोगप्रतिरोध क्षमता बढाउँछ भनेर आयुर्वेदका विज्ञहरुले भन्ने गरेका छन्। यसबारे स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेदविज्ञको धारणालाई समर्थन गरेको छ। यसको महत्वबारे यहाँ वार्तालाप शैलीमा प्रस्तुत गरिएको छ।
आजभन्दा ५ हजार वर्ष अगाडिको कुरा हो, म पहाडमा हुर्किदै थिएँ। असाध्यै राम्री पनि थिएँ। लहलह झाङ्गिएकी, सलक्क परेर नागबेली जसरी एउटा रुखबाट अर्को रुखमा जाने मेरो स्वभाव थियो । त्यसैले होला एकजना ऋषिले मलाई देख्नेबित्तिकै मोहित भइहाल्नुभयो । मलाई कसैसँग पनि त्यति धेरै बोल्न मन लाग्दैनथ्यो तर उहाँलाई देखेपछि भने बोलुँबोलुँ भयो ।
मैले सोच्दै के थिएँ, उहाँले नै मलाई बोलाउनुभयो – हैन कति राम्री हौ तिमी !
अष्ट चक्रले युक्त भएकी कलकलाउँदी भन्दै मलाई छुन खोज्नुभयो,मैले त्यसको प्रतिकार गरेँ । उहाँले मलाई श्राप दिन्छु भन्नुभयो । त्यस्तो तपस्वी बाट यस्तो कुरा सुनेपछि मैले भने– मलाई श्राप नदिनुहोस् ऋषिवर ।
त्यसपछि उहाँले मेरो पातलाई मुसार्नुभयो, मेरा सबै अङ्ग–प्रत्यङ्ग नियाल्नुभयो र भन्नुभयो – तिमी एक्काइसौ शताब्दीमा प्रख्यात हुनेछौ । मतर्फ हेरेर उहाँ मुसुक्क हाँस्नुभयो।
म भने अलमलमा परें । एक्काइसौ शताब्दी आउन त धेरै पो छ त ! सोधें, किन र ऋषिवर त्यत्तिका लामो समयपछि ?
यो जान्नु भन्दा अघि तिम्रो उत्पत्तिको विषयमा जान्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो । सृष्टिलाई चलायमान बनाउन जब मनुष्यजातिको जन्म भयो तब ब्रम्हाजीले यो जातिलाई बचाउन आयुर्वेदको पनि रचना गर्नुभयो । भनिन्छ, त्यसमा एकलाख श्लोक थिए, जसमा कसरी मनुष्यजातिलाई रोग लाग्छ ? कस्ता–कस्ता रोग लाग्छन् र ती रोगको निराकरण कसरी गर्ने भन्ने विषयमा सम्पूर्ण व्याख्या गरिएको छ ।
उहाँले भन्नुभएको थियो–आयुर्वेद एउटा चिकित्सा पद्धति मात्रै नभएर जीवन जिउने कलाको विज्ञान पनि हो । म पनि त्यसमा वर्णन गरिएका विभिन्न वनस्पतिहरुको संगालोलाई केलाउँदै चिन्दै र भोलि मनुष्यजातिलाई पीडा नहोस् र सहजै चिन्न सकुन् भनी त्यसको बारेमा सम्पूर्ण वर्णन गर्ने शास्त्रको निर्माणमा लागेको छु, त्यसैक्रममा तिमीसँग भेट हुँदा म अत्यन्तै खुसीले भावविह्वल भएको छु । चक्रिका, तिमी राम्री मात्रै होइन अत्यन्तै सुन्दर पनि छौ ।’
यस्तो प्रसंशा गरेको देखेर भित्रभित्रै म खुशी भएकी थिएँ तर, एक्काइसौ शताब्दीमा प्रख्यात हुने कुरा सुन्न हतार थियो ।
भनेँ–‘ऋषिवर एक्काइसौ शताब्दीमा प्रख्यात हुने कुरा भने बुझ्न सकिन कृपया यसबारेमा व्याख्या गरिदिनुभए मेरो मन शान्त हुनेथियो ।’
उहाँले भन्नुभयो–‘गुडुची, एक्काइसौ शताब्दीतिर मनुष्यजातिमा अपनत्व हराउँनेछ, एकले अर्कोलाई विश्वास गर्न छाड्नेछन्, पूजापाठ गर्ने ज्ञानको खोजी गर्नेहरुलाई दुत्कारिनेछ, मानिसहरु नैतिक रुपले विचलन हुँदै जानेछन्, राजसिक तथा तामसिक गुणले भरिएका मनुष्यहरुको शासन व्यवस्था हुनेछ प्रजाहरु पनि त्यस्तै प्रकृतिका हुनेछन् । देश, जल, वायु, काल, विकृत भएर जानेछन् फलस्वरूप पृथ्वी हायलकायल हुनेछिन्, जिवाणुहरु यत्रतत्र छरिनेछन्, ठूलो जनधनको क्षति हुनेछ, त्यस्तो अवस्थामा मनुष्यजातिको रक्षा गर्न तिमी नै अगाडि आउनेछौ ।
अमृत समान तिम्रो पान गर्नेहरुलाइ जीवनदान दिनेछौ, त्यसैले तिम्रो नाम शास्त्रमा अमृता रहन गएको हो । मनुष्यजाति शारीरिक र मानसिक रोगबाट पिडीत हुँदा कुशल वैद्यहरुलाई चिकित्सा गर्न कठिनाई हुनेछैन तर आगन्तुक व्याधिलाइ परास्त गर्न कठिन हुनेछ आगन्तुक व्याधिको स्वरुप र काल समयमै यकिन हुन नसक्दा अकालमै धेरैको प्राण जोखिममा पर्नेछ, त्यस्तो बेलामा तिम्रो साथ पाएर मनुष्यजाति हर्षले गदगद हुनेछन्, स्वजन र आस्थावान व्यक्तिहरुले तिम्रो प्रयोग गर्न हिच्किचाउने छैनन्, तर, जसलाई तिम्रो महत्व थाहा हुँदैन र तिमीलाई सेवन गर्न पनि मान्दैनन् भने ती दुर्जनलाइ समयले नै पाठ सिकाउनेछ।’
आफैले आफैलाइ चिन्नुपनि अचम्मको अनुभव हुदोरहेछ ऋषिवर ।
ऋषिवर मुस्कुराउदै भन्नुभयो–‘त्यतिमात्र होइन तिम्रा अन्य गुणहरु पनि छन् ।’
म मन्त्रमुग्ध भइ ऋषिवरका कुरा सुनिरहेकै थिएँ ।
‘गुडति रक्षति इति गुडुची’ अर्थात्, तिमीले रोगबाट शरीरलाइ रक्षा गर्ने सामथ्र्य राख्छौ ।
छिन्नरुहा, वत्सादनी, तन्त्रिका, कुण्डलिनी, चक्रलक्षणिका तिम्रा पर्याय नामहरु हुन् ।
स्वादमा तितो हुनु, पित्तको शमन गर्नु तिम्रो मूख्य गुण हो ।
मैले भने– ऋषिवर एक्काइसौ शताब्दिमा मेरो उपादयताको बारेमा अझै प्रष्ट हुन सकिन।
उहाँले फेरि भन्नुभयो–‘हे चक्रलक्षिणि, माथि नै भनिसके मनुष्यहरुको कुकर्मको कारणले पृथ्वीमा अनेक किसिमका जीवाणुजन्य संक्रमण हुनेछन् । मनुष्यहरु त्राहिमाम हुनेछन् त्यस्तो बेलामा जसले सात्विक आहार विहार, दिनचर्या र ब्रम्हचर्यको पालना गरी योग्य वैद्यको सल्लाहमा जस–जसले तिम्रो रसपान गर्नेछन् तिनीहरु ती जीवाणुजन्य संक्रमणबाट मुक्त हुनेछन्। आचार्य चरकले पनि त्यहि कुरा वताउनुभएको छ अमृते ।’
ऋषिवर मलाई जथाभावि रुपमा प्रयोग गरे र मेरो अस्तित्व नै संकटमा परे म कसो गरु ?
उहाँले भन्नुभयो–‘चक्रिके, तिमी जति दयालु छौ तिमी त्यति नै जिवनदायिनी पनि छौ, तिमीमा एउटा अचम्मको गुण छ, तिमी जस्तो ठाउँमा पनि जिवित रहन सक्छौ, तिमीलाई हुर्काउन चाहनेले धेरै मिहिनेत गर्नु पर्दैन सजिलै जस्तोसुकै ठाउँमा हुर्काउन बढाउन सक्छन्।
कस्तो अवस्थामा मलाइ कसरी प्रयोग गर्दा मनुष्यजातिलाइ फाइदा पुग्छ ऋषिवर ?
‘सुन गुडुची, एक्काइसौं शताब्दीका मनुष्यसँग समय हुँदैन, समय हुनेहरु पनि तामस गुणको कारणले आलस्ययुक्त जीवनयापन गरिरहनेछन् । जसले गर्दा तिम्रो यौवनकालमै रसपान गर्न तिनीहरु असमर्थ हुनेछन्, त्यसैले तिम्रो शरीरबाट तिमीलाइ असर नगर्ने गरी टिप्ने छन् र छायाँमा सुकाउनेछन् । त्यसपछि कुटेर धुलो बनाउनेछन् ।
त्यो धुलो लाई काढाँको रुपमा, चियाको रुपमा, एक्सट्राट (सत्व) निकाली विभिन्न औषधीको रुपमा तिम्रो प्रयोग गर्नेछन्’–उहाँले बताउनुभयो।
ऋषिवर म तपाईंप्रति कृतज्ञ छु मेरो बारेमा जानकारी दिने कष्ट उठाउनुभयो ।
‘अमृते धन्यवादकी पात्र त तिमी हौ, तिमीलाइ खोज्न म धेरै भौतारिएँ, तिम्रो बारेमा ब्रम्हाजीले लेख्नुभएको त थियो तर तिमीलाई पहिल्याउन कठिन थियो । म तिमीलाइ पछ्याउदै यहाँसम्म आइपुगेको हुँ अब जान्छु’–उहाँले जाने कुरा गरेपछि मैले भनेँ–ऋषिवर जानुभन्दा अघि मेरो शाखाको (डाँठ) एकप्याला स्वरस पिएर मलाइ धन्य बनाइदिनुहोस्।’
मेरो स्वरस पान गरी उहाँ जानुभयो ।
५००० वर्ष अगाडिको त्यो कुरा आज तपाईंहरूलाई सुनाउन पाउँदा म खुशी छु । कोभिड १९ सँगको लडाइँमा म तपाईंहरूसँगै छु, कुनैपनि बेला तपाईंलाई मन लागेजसरी मेरो रसपान गर्न तपाईं स्वतन्त्र हुनुहुन्छ।
उहीँ गुडुची !
(पाण्डे पतन्जली आयुर्वेद मेडिकल कलेज धुलिखेल काठमाडौंमा आयुर्वेद चिकित्सा अध्ययनरत छन्।)