४ सेप्टेम्बर २०१५ मा १ अमेरिकी डलर बराबर नेपाली रुपैयाँको विनिमय दर १०५ रुपैयाँ ६१ पैसा थियो। त्यसको पाँच वर्षपछि ४ सेप्टेम्बर २०२० मा हालसम्मकै सबैभन्दा तल्लो बिन्दु १ सय १७ रुपैयाँ ८६ पैसा पुग्यो।
यस हिसाबले ५ वर्षको अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अवमूल्यनमा वृद्धि भएको छ। नेपालको अर्थतन्त्रका परिसूचक नकारात्मक भएर वा नेपाली रुपैयाँ आफ्नै कारणले कमजोर भएर अवमूल्यन भएको होइन।
नेपाली रुपैयाँ कमजोर हुनुमा नेपाल आफै कारण छैन भन्दा अचम्म लाग्न सक्छ यर्थाथ यही हो। नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच विगत लामो समयदेखि स्थीर विनिमय दर प्रणाली कायम भएको छ। अर्थात् १ सय भारतीय रुपैयाँको खरीद दर १ सय ६० नेपाली रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा कायम छ। भारुबाहेकका जति पनि विदेशी मुद्रा छन्।
ती सँग नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैयाँमा आउने उतारचढावका आधारमा तय हुन्छ। त्यसमा नेपालको मौद्रिक निकायले कुनै हस्तक्षेप गर्न पाउँदैन। यस्तो अवस्थामा नेपाली रुपैयाँ जति कमजोर हुादा पनि त्यसको दोष नेपाली अर्थतन्त्र र वित्तिय मौद्रिक अधिकारीले लिनुपर्दैन।
अपवादमा बलियो हुँदा पनि अर्थतन्त्र राम्रो भएर वा मुलुकका नीति निर्माताले हस्तक्षेप गरेर त्यस्तो भएको हुदैन।
विनिमदर परिचय
कुनै एक देशको मुद्रा खरीद गर्न अर्को देशको मुद्रा कति खर्च गनुपर्छ त्यो नै विनिमय दर हो। जस्तो हिजो एक अमेरिकी डलर खरीद गर्न १ सय १७ रुपैयाँ ८२ पैसा तिनुपर्यो।
त्यो नै अमेरिकी डलर र नेपाली रुपैयाँबीचको विनिमय दर हो। सामान्यतया कुनै पनि मुद्राको मूल्य अन्तर्राष्ट्रिय बजारमा त्यसको माग र आपूर्तिको अवस्थाले निर्धारण गर्छ।
बजारमा कुनै मुद्राको माग कम छ भने मूल्य घट्छ बढी छ भने मूल्य बढ्छ। त्यसरी कुनै मुद्राको माग कम बढी वा बढी हुनुमा सम्बन्धित देशको अर्थतन्त्र कस्तो छ।
सो देशसँग विदेशी मुद्राको सञ्चिति र बहुमुल्य धातु कति छ जस्ता विषयमा निर्भर हुन्छ। बजारमा माग र आपूतिका आधारमा दुई मुद्राबीचको विनिमय दर निर्धारण हुने विधिलाई अस्थीर विनिमय दर भनिन्छ। संसारका धेरैजसो मुलुकले यही प्रणाली अवलम्बन गरेका छन्।
पेग्ड वा स्थीर विनिमय दर के हो ?
विनिमय दर निर्धारणको अर्को विधि पनि छ। कुनै एक देशले आफ्नो मुद्राको विनिमय दर अर्को कुनै मुद्रासँग आवद्ध गर्ने नीति पनि अवलम्बन गर्छन्, जसलाई करेन्सी पेग वा स्थीर विनिमय दर प्रणाली भनिन्छ।
यस्तो विनिमय दर प्रणालीले दुई मुलुकको मुद्राको सटहीमा उताचढाव हुन नदिई हुनाले यस्तो प्रणालीमा दुई देशबीच लगानी तथा व्यवसाय गर्नेले लामो समयको योजनासहित काम गर्न सक्छन्।
सन् १८७० देखि पहिलो विश्व युद्ध अघि संसारका सबै मुद्राबीच स्थीर विनिमय दर कायम थियो। विश्वका सबै मुद्रा सुनसँग आवद्ध हुन्थे र सुनको मूल्यसँगै सम्बन्धित देशको मुद्राको सम्बन्धनका आधारमा विनिमय दर तय हुन्थ्यो।
गोल्ड स्ट्यान्डर्ड भनिने त्यो प्रणाली पहिलो विश्वयुद्धसँगै कमजोर भयो। दोस्रो विश्वयुद्धको अन्त्य सँगै ब्रेटवुड सम्मेलनमार्फत पुनः स्थीर विनिमय दर प्रणाली लागू गर्न विश्वका नेताहरु सहमत भए।
यसपटक भने सुनसँग होईन, अमेरिकी डलरसँग अन्य मुद्रालाई पेग गरियो। सुनको मूल्य प्रति औँस ३५ अमेरिकी डलर हुने आधार तय गरी मुद्रालाई पेग गरिएको थियो। सन् १९७१ सम्म कायम यो पेग प्रणाली सुनको मूल्य प्रतिऔँँस ३५ अमेरिकी डलरमा कायमम हुन नसकेपछि धरायसी भयो।
र, धेरै मुलूकले फ्लोटिङ विनिमय प्रणाली लागू गरिसकेपछि सन् १९८५ पछि औपचारिक रुपमा पेग्ड विनिमय प्रणालीको अन्त्य भयो। संसारका एकचौथाइजति मुलुकले अझै पनि एक आपसमा पेग प्रणाली अवलम्बन गर्ने गरेका छन्। उदाहरणका लागि भारतीय रुपैयाँ १ सय बराबर नेपाली रुपैयाँ १ सय ६० हुनेगरी विनिमय दर तोकिएको छ।
भुटानको नेगुल्ट्रम र भारुको मूल्य भने बराबरी हुने गरी पेग गरिएको छ। ब्रुनाई डलर सिंगापुर डलर सँग बराबरी मूल्यमा पेग्ड छ। एक अमेरिकी डलर बराबर ७ दशमलव ८ हङकङ डलर हुने गरी हङकङले पेग गरेको छ।
कतार र साउदी अरेबियाले एक अमेरिकी डलर बराबर क्रमश: ३ दशमलव ६४ र ३ दशमलव ७५ बाट विनिमय दर तलमाथि नहुने गरी अमेरिकी डलरसँग आ—आफ्नो रियललाई पेग गरेका छन्।
भारुसँगको स्थीर विनिमय दरको प्रभाव
अहिले साना अर्थतन्त्रले व्यापार तथा लगानीका दृष्टिले आफुसँग अत्यन्तै निकट मुलुकको मुद्रासँग आफ्नो मुद्रालाई पेग गर्ने गरेका छन्। यसरी गरिने पेगले सानो र कमजोर अर्थतन्त्र भएको मुलुकलाई फाईदा हुन्छ भन्ने मान्यता छ।
पहिले स्थीर विनिमय दरले व्यापार र लगानीलाई सहज बनाउँछ। नेपाल र भारतबीच स्थीर विनिमय दर भएका कारण नेपालले भारतबाट सामान आयात गर्दा वा भारत तर्फ वस्तु निर्यात गर्दा विनिमय दर तलमाथि हुँदैन।
त्यस्तो हुँदा दुई मुलुकबीचको आयात निर्यात विनिमय दर जाखिम हुन्न जसले लगानी र व्यापार गर्नेहरुलाई दीर्घकालीन योजनाका साथ काम गर्न सजिलो हुन्छ। भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्दा कति नाफ आर्जन गर्न सकिन्छ पहिल्यै आँकलन हुन्छ र सन् १९९० मा उदारीकरण सुरु भएपछि ठुलो मात्रामा भारतीय लगानीकर्ता नेपाल आएका थिए।
त्यसको प्रमुख कारणमध्ये विनिमय दरको स्थायित्व पनि एक हो। नेपालमा द्वन्द्व नभएको भए र विद्युत् आपूर्ति नियमित भएको भए त्यो काम निरन्तर बढ्थ्यो। किनभने नेपालमा ज्याला सस्तो थियो, व्यवसायको लागत पनि कम थियो। नेपालबाट शून्य भन्सारमै भारतर्फ निकासीको सुविधा थियो।
दुईतिहाई व्यापार भएको र लगानीको पनि सबैभन्दा ठुलो हिस्सा भएको मुलुक भारतसँग मुद्रासँग पेगिङ गर्दा नेपाललाई फाईदा नै हुन्छ।
यसमा चीनको उदाहरण पनि लिन सकिन्छ। यसरी मुद्राको पेगिङका माध्यमबाट सबैभन्दा बढी लाभ लिने मुलुक चीन हो। सन् २००५ सम्म चिनिँया युआन अमेरिकी डलरसँग पेग थियो।
त्यस अवधिमा अमेरिकी डलरसँगको पेगिङका कारण चीनमा लगानी गर्दा अमेरिकीका मात्रै होईन। संसारभरिका लगानीकर्तालाई विनिमय दरको जोखिम रहेन।
अन्तर्राष्ट्रिय व्यापार मूलतः अमेरिकी डलरमै हुन्छ। त्यस्तो हुँदा चीनमा ठुलो मात्रामा लगानी आयो।
चीनले दुई दशकसम्म लगातार दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्यो। अझ चिनियाँ अर्थतन्त्र बलियो चिनिँया बलियो बन्दै जाँदा पनि पेगिङका कारण चिनियाँ युआन बलियो हुन पाएन।
त्यसको थप फाईदा निर्यात मुलुक चीनले प्राप्त गर्यो। त्यस्तै, बलियो अर्थतन्त्रसँगको पेगिङले मौद्रिक तथा वित्तीय स्थायित्व हासिल गर्न पनि सजिलो हुन्छ ।
उदाहरणका लागि नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकले अन्तर्राष्ट्रिय क्षेत्रमा हुने उतारचढावलाई सहजै सामना गर्न कठिन हुँन सक्छ। त्यस्तो हुदा स्वतन्त्र विनिमय दर प्रणाली चलाउँदा मुद्राको उतारचढाव छिटो छिटो हुदा त्यसबाट अस्थीरता आउन सक्छ। मुद्रा पेग गर्दा त्यस्तो स्थितिमा ठूलो अर्थतन्त्रले सेफ गार्डको काम गरिदिन्छ।
त्यस्तै, मूल्यवृद्धि र ब्याजदरलाई स्थीर राख्न समेत करेन्सी पेगले मद्दत गर्छ। यसले सानो मुलुकको केन्द्रिय बंैकलाई मौद्रिक नीति सञ्चालनमा पनि सजिलो हुन्छ।
नेपालमा विगत २ वर्षमा मूल्यवृद्धि क्रमशः ४ दशमलव १ प्रतिशत र ४ दशमलव ६ प्रतिशतमा सीमित छ। विगत लामो समयदेखि दोहोरो अकंको मूल्य वृद्धि भइरहेको छ।
नेपालमा यसरी आश्चर्यजनक रुपमा कम मूल्य वृद्धि हुनु भनेको भारतको मूल्य वृद्धिदर कमजोर हुनुले पनि हो। भारतमा गत २ वर्षमा क्रमश ३ दशमलव ४ र ४ दशमलव ५ प्रतिशत मूल्यवृद्धि भएको थियो।
यसैबीच करेन्सी पेगका घाटा पनि छन्। त्यसमध्ये सबैभन्दा नकारात्मक प्रभाव भनेको विदेशी मुलुकको प्रभाव विस्तार हो। जुन मुलुकसँग मुद्रा पेग गरिन्छ, सानो मुलुकमा त्यसको प्रभाव विभिन्न तरिकाले बढ्छ।
ब्याजदर तथा मुद्रास्फीति सानो मुलुकको नियन्त्रणमा हुदैन। जुन मुलुकसँग पेग गरियो, त्यससँगको व्यापार तथा लगानी दुबै अत्याधिक बढ्दै जान्छ। जस्तो नेपालको व्यापार र लगानी भारतसँग अत्याधिक छ। लामो समयसम्म पेग गरिएका मुद्राको मूल्य समायोजन गरिएन भने मुद्रा अधिमूल्यन भई व्यापार अप्रतिस्पर्धा हुन सक्छ।
विनिमय दर परिमार्जन वा शंशोधन कति आवश्यक ?
अमेरिकी डलर बलियो हुँदै जाँदा वा नेपाली रुपँया धेरै नै कमजोर हुन थालेपछि मुलुकको आर्थिक र मौद्रिक वृत्तमा नेरु — भारु स्थीर विनिमय दर परिमार्जनको मुद्दा उठ्ने गर्छ।
भारुसँग विदेशी मुद्राको सम्बन्धका कारण नेपाली मुद्राको मुल्य तय हुने गरेका कारण हामी भारतसँग किन बाँधिने भन्ने किसिमको राष्ट्रवादी विचार पनि त्यसैवेला उठ्ने गर्छन्।
त्यस्ता विचार अखबारी लेख र भाषणमा सीमित हुने गरेका छन्। वास्तवमा नेपाली रुपैयाँ भारतीय रुपैयाँ विनिमय दर परिमार्जन गर्नुपर्छ वा पर्दैन। यस बारेमा नेपाली पक्षको धारणा मोडेल कस्तो रहने भन्न्ने विषयमा आवश्यक छलफल भएको पाइदैन।
विनिमय दर समायोजनमा अवमूल्यन र अधिमूल्यन दुई वटा नमूना रहने गर्दछ। जसको समूचित प्रयोग गर्न नजानेमा घरेलु अर्थतन्त्र धराशासी हुने जोखिम उच्च रहन्छ।
वर्तमान समयमा नेपालको विदेशी विनिमय सञ्चिती १५ खर्ब रुपैयाँ भन्दा बढी छ। चालु खाता र भुत्तान सन्तुलनको अवस्था आशातित गतिमा रहेका छन। यस्तो परिस्थितिमा पनि नेपाली रुपैयाँ उच्च रुपमा अवमूल्यन भईरहनु उचित नभएको कुरा नेपाली अर्थशास्त्रीले बताएका छन्।
उनीहरुका अध्ययन अनुसन्धानले देशमा मूल्य वृद्धि, ब्याजदर लगायत मौद्रिक र वितिय सूचांक आयात हुने किसिमको विनिमय दर खारेज गर्नु पर्ने निष्कर्ष निकालेको पाईन्छ।
बंगलादेश, श्रीलंका जस्ता मुलुकहरुले स्वतन्त्र विनिमय दर प्रणाली अपनाएका छन्। यसै प्रकारको अर्थतन्त्र नेपालले नेरुको फेलोटिङ विनिमय दर चलाउदा यसका लाभ र असरको बारेमा प्रप्यात छलफल आवश्यक छ।
अन्त्यमा, नेपाली अर्थतन्त्रमा कस्तो प्रकारको विनिमय दर अपनाउँदा देशको अर्थतन्त्रमा हानिभन्दा फाईदा हुने गर्दछ त्यसमा ध्यान दिनु पर्छ।
नेपालले सधैभरि भारु सँग स्थीर विनिमय दर चलाउने तथा, भारतको अर्थतन्त्र सँगै निर्भर गराउनु हुदैन।
नेपालले आफ्नो अर्थतन्त्रलाई एब शशक्त एवम् प्रभावकारी आर्थिक देशका रुपमा आफुलाई स्थापित गराउन सक्नु पर्दछ।
सन्दर्भ सामग्री
- Akpan, Q.E. & Atan A.J. (2012). Effects of exchange rate movements on economic growth in Nigeria. CBN Journal of applied Statics Vol 2 (8 – 14).
- Khatiwada, Y. R. (200), Monetary Policy : Macroeconomy Part iii. Nepal Rastra Bank.
- MOF(2019/20) Economic Survey Fiscal Year : 2019/20.
- Thapa N.B. (2002), An Econometric Analysis of The impact of real effective exchange rate an economic activity of Nepal.