पृष्ठभूमि
श्रद्धाद्वारा दिइने भएकाले श्राद्ध भनिएको हो । जीवित व्यक्तिलाई होइन मृतक पितृहरूलाई श्रद्धापूर्वक दिनुलाई श्राद्ध भनिन्छ । जीवनभर आफ्ना आमाबुबा वा आफन्तीसमेतको श्रद्धा वा सम्मान नगर्नेले मरेपछि आडम्बर प्रदर्शनका लागि श्राद्ध गर्नुको औचित्य हुँदैन । जसले श्राद्ध नै गर्दैन उसले श्राद्ध किन गर्ने ? भनेर प्रश्न गरिरहनुको पनि कुनै सार्थकता छैन ।
जसले जीवनभर आमाबुबा वा आफन्तीको समेत श्रद्धा र सम्मान गरिरह्यो त्यही व्यक्तिले गरेको श्राद्धबाट मृत पितृहरू सन्तुष्ट हुन्छन् । हामीले गर्दै आएका कतिपय कर्महरूको शास्त्रीय र आर्ष परम्पराको वास्तविक जानकारी हुन नसक्ता हाम्रा कर्महरूलाई रूढिवादी ठानेर ‘श्राद्धमा बिरालो बाँध्ने प्रचलन’ भन्ने आरोप लगाउने गरिन्छ ।
हाम्रा अग्रजहरूले गरेका संस्कारहरूका बारेमा हामीले अग्रजहरू जीवित छँदै तिनको रहस्य बुझ्ने प्रयत्न गरेनौँ भने निश्चय नै हामी र हाम्रा सन्ततिसमेत ‘श्राद्धमा बिरालो बाँध्ने’ आरोप लाग्नबाट मुक्त हुने छैनन् । तसर्थ सबै सांस्कृतिक परम्पराहरूजस्तै हामीले किन श्राद्ध गर्नुपर्दो रहेछ ? भन्ने बारेमा पनि प्रारम्भिक जानकारी हासिल गर्ने दिशातर्पm हाम्रो ध्यान आकृष्ट हुनु जरुरी छ ।
श्राद्ध किन गर्ने ?
नेपाल र भारतमा मात्र होइन जर्मनी, अमेरिका, जापान, फ्रान्स, अफ्रिका, इङल्यान्ड, इटाली, स्कटल्यान्ड, हङकङ आदि देशहरूमा समेत प्रकारान्तरले श्राद्ध गर्ने वा स्मृतिदिवस मनाउने प्रचलन छ ।
त्यसैगरी हिन्दु संस्कृतिमा मात्र होइन बौद्ध, जैन, शिख, इस्लाम र क्रिस्चियन संस्कृतिमा समेत आआफ्नै किसिमले मृतकप्रति श्रद्धा प्रकट गरेर श्राद्ध गर्ने प्रावधान छ ।
त्यसैले विश्व परिवेशलाई हेरेर मृतक व्यक्तिप्रति श्रद्धा व्यक्त गर्ने पवित्र कार्यमा अश्रद्धा प्रकट गर्नु उपयुक्त देखिँदैन ।
महर्षि जावालिका अनुसार असोज महिनाको पितृपक्षमा श्राद्ध गर्नाले पुत्र, आयु, आरोग्य, अतुल ऐश्वर्य र इच्छाएका वस्तुहरू प्राप्त हुन्छन् । श्राद्धबाट तृप्त भएका पितृहरूले श्राद्धकर्तालाई दीर्घायु, सन्तान, धन, विद्या, सुख, राज्य, स्वर्ग र मोक्षसमेत प्रदान गर्छन् ।
श्राद्धकर्ममा संलग्न रहने दाजुभाइ, छोरा, नाति, छोरीको छोरा आदि सबैले परम गति प्राप्त गर्दछन् । आफ्नो सामथ्र्यअनुसार विधिपूर्वक श्राद्ध गर्ने व्यक्तिले ब्रह्मादेखि तृणपर्यन्त सम्पूर्ण प्राणीहरूलाई तृप्त गर्दछ । त्यसैले मरेका तिथिमा एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा पार्वण श्राद्ध र विभिन्न तीर्थहरूमा तीर्थश्राद्ध पनि गर्ने प्रचलन रहेको हो ।
के नैमित्तिक श्राद्धप्रति पनि जनआस्था घट्तै गएको हो ?
मत्स्यपुराणअनुसार नित्य, नैमित्तिक र काम्य गरी श्राद्ध तीन प्रकारका हुन्छन् । सधैँ सन्ध्या गरे जस्तै देव, ऋषि र पितृलाई तर्पण दिनुलाई नित्यश्राद्ध भनिन्छ र यो श्राद्ध नगर्दा दोष लाग्छ ।
मृतकको क्रियाकर्म, वार्षिक श्राद्ध, एकोद्दिष्ट श्राद्ध, पार्वण श्राद्ध, तीर्थ श्राद्ध आदिलाई नैमित्तिक श्राद्ध भनिन्छ र यी श्राद्ध नगर्दा पनि दोषको भागी हुनुपर्छ ।
त्यस्तै विवाह आदि संस्कार गर्दा गरिने नान्दी श्राद्ध वा वृद्धि श्राद्धलाई काम्य श्राद्ध भनिन्छ र यस किसिमका श्राद्धहरू नगर्दा कुनै किसिमको पापको भागी हुनुपर्दैन । यमस्मृतिमा भने वृद्धि श्राद्ध र पार्वण श्राद्धलाईश्राद्धका दुई प्रकार ठानेर श्राद्धलाई पाँच प्रकारमा विभाजन गरिएको पाइन्छ ।
उपर्युक्त तीन प्रकारका श्राद्धमध्ये वर्तमान समयमा नित्य श्राद्ध र काम्य श्राद्धको प्रायः लोप हुँदै गएको छ भने नैमित्तिक श्राद्ध पनि श्रद्धापूर्वक गर्ने व्यक्तिहरूको सङ्ख्यामा क्रमशः ह्रास आउन थालेको छ ।
यसरी नैमित्तिक श्राद्धमा समेत जनआस्था घट्तै जानुमा भौतिकवादी व्यस्त जीवनपद्धति, नवपुस्ता क्रमशः विदेशतर्फ नै बसाइसराइ गर्दै जानु र पण्डित–पुरोहितहरूद्वारा श्राद्धकर्मको वास्तविक रहस्य जनमानसमा सम्प्रेषण गर्न नसक्नुलाई नै मुख्य कारण मान्न सकिन्छ ।
के पितृलोकको अस्तित्व छ ?
“पितृणां लोकमपि गच्छन्तु ये मृताः” (अथर्ववेद १२।२।४५) अर्थात् जो मरेका छन् तिनीहरू पितृलोक जाऊन् भन्ने कामना गरिएको हुन्छ । साथै मृत्युपश्चात् पितृयोनिमा प्रविष्ट हुन सकून् भन्ने इच्छा पनि हामीले राखेका हुन्छौँ ।
अन्तरिक्षभन्दा र चन्द्रलोकभन्दा माथिल्लो भागमा पितृलोक रहेको हुन्छ । मनुष्यलोकबाट चर्मचक्षुद्वारा पितृलोक देख्न सकिँदैन । पितृहरूको तृप्तिको कामनाले ब्राह्मणहरूलाई भोजन गराएर श्राद्धकर्ता स्वर्गलोक पुग्न सक्छन् ।
त्यसैले वैदिक सनातन पद्धतिले अन्तरिक्ष र चन्द्रलोकभन्दा माथिल्लो भागमा विद्यमान पितृलोकको अस्तित्वलाई स्वीकार्दै आएको हो र आधुनिक विज्ञानले खोज गर्दै जाँदा कुनै दिन पितृलोकको अस्तित्वलाई पनि पत्ता नलगाउला भन्न सकिँदैन ।
श्राद्धमा पिण्डदान किन गरिन्छ ?
जब प्राणीले स्थूल शरीर छाड्छ तब जीवात्माले विभिन्न १७ तत्त्वहरूले बनेको सूक्ष्म शरीर धारण गर्छ । हाम्रो स्थूल शरीर पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रिय, पाँच प्राण, पाँच महाभूत, मन, बुद्धि, चित्त, अहङ्कार, अविद्या, काम र कर्म गरी २७ तत्त्वले बनेको हुन्छ ।
तीमध्ये पञ्चमहाभूत र पञ्च कर्मेन्द्रियलाई छाडेर बाँकी १७ तत्त्वले सूक्ष्म शरीरको निर्माण हुन्छ ।
जब प्राणी मर्छ तब अत्यन्त सूक्ष्म शरीर धारण गर्ने भएका कारण उसले स्थूल शरीरले झै हरेक चीजको उपभोग गर्ने चाहना राख्छ तर उपभोग गर्न भने ऊ असमर्थ हुन्छ ।
परलोकमा भएका प्राणीको त्यस किसिमको उपभोग गर्ने चाहनाको पूर्ति हुन सकोस् भनेर पिण्डदान दिने गरिएको हो ।
मृत्यु भएका स्थानदेखि शवदाहसम्म मात्र होइन मृतकका सन्ततिहरू जीवित रहँदासम्म पिण्डदानको शृङ्खला चलिरहन्छ । मरेका ठाउँमा दिइने पहिलो पिण्डलाई शव पिण्ड भनिन्छ र त्यो भूमिदेवताको सन्तुष्टिका लागि दिइन्छ ।
ढोकामा दिइने दोस्रो पिण्डको नाम पान्थ पिण्ड हो जुन वास्तुदेवताको सन्तुष्टिका लागि दिने गरिन्छ । शवयात्राका क्रममा चौबाटामा दिइने तेस्रो पिण्डलाई खेचर पिण्ड भनिन्छ र त्यो पिण्ड भूतहरूको सन्तुष्टिका लागि दिइन्छ ।
विश्राम स्थलमा दिइने चौथो पिण्डको नाम भूत पिण्ड हो जुन दशओटै दिशाहरूको सन्तुष्टिका लागि दिइन्छ । त्यस्तै चिता स्थानमा दिइने पाँचौँ पिण्डलाई साधक पिण्ड भनिन्छ र त्यो पिण्ड पितृहरूको सन्तुष्टिका लागि दिने गरिन्छ ।
मृत्यु भएको पहिलो दिनदेखि दश दिनसम्म गरिने विधिलाई दशगात्रविधि भनिन्छ । पहिलो दिनदेखि दशौँ दिनसम्म क्रमशः शिर; कान, आँखा र नाक; घाँटी, हात र छाती; नाभि, लिङ्ग र मलद्वार; घुँडा, जाँघ र पाउ; मर्म, नाडी, दाँत, बल, वीर्य र ओज तथा भोकको पूर्ति गर्ने दशओटा पिण्ड दिइन्छ ।
यसबाट मृतकले भोगायतन शरीर प्राप्त गर्दछ भन्ने विश्वास गरिन्छ । दश दिनभित्रै अस्थि सञ्चयन गर्दा मृतकको सन्तुष्टिका लागि प्रेत नामक पिण्ड दिइन्छ । यी सोह्रओटै पिण्डलाई मलिन षोडशी भनिन्छ भने एघारौँ दिनका दिनदिइने सोह्र पिण्डलाई मध्यम षोडशी भनिन्छ ।
त्यसपछि वार्षिकश्राद्धसम्म दिइने सोह्रपिण्डलाई उत्तम षोडशी भनिन्छ र उत्तम षोडशीले मृतकलाई प्रेतबाट पितृको कोटिमा पुर्याउँछ भन्ने विश्वास छ । वर्तमानमा एघारौँ दिनका दिन वा त्यसदिन फुर्सद नभएका खण्डमा बाह्रौँ दिनका दिन वर्षदिनका सबै पिण्डहरू खिचेर उत्तम षोडशी गर्ने प्रचलन रहेको छ तापनि वर्षदिनसम्म मृतक पितृ नबनी प्रेत नै रहिरहने र प्रेतका रूपमा विशेषतः आफ्ना छोराबुहारीहरूले केकसो गरिरहेका छन् ? भनेर अदृश्य रूपमै निरीक्षण गरिहने भएकाले वर्षदिनसम्म शुद्धताका साथ आशौच (बरखी) बार्ने गरिएको हो ।
आशौच सकिएपछि पनि वर्षवर्षमा मरेका तिथिमा एकोद्दिष्ट श्राद्धका रूपमा र सोह्र श्राद्धमा सन्ततिहरूले बाँचुन्जेल पिण्डदान दिइरहनुपर्ने शास्त्रीय विधान छ ।
के श्राद्धबाट पितृलोकका पितृहरू मात्र तृप्त हुन्छन् ?
प्राणीले आफ्नो मुक्ति वा मोक्ष प्राप्त नहुँदासम्म कुनै न कुनै शरीर धारण गरिरहेकै हुन्छ । जब प्राणीले स्थूल शरीरको परित्याग गरी सूक्ष्म शरीर धारण गर्छ तब उसले आफ्नो कर्मअनुसारको लोक प्राप्त गरेर जहाँ रहेको भए पनि उसले श्राद्धको फल प्राप्त गर्दछ ।
पृथ्वीलोक, अन्तरिक्ष लोक वा द्युलोक जहाँ भए पनि पितृलाईश्राद्धमा दिइएको कव्यद्वारा तृप्ति मिल्दछ । देवयोनि, नारकीय योनि, तिर्यग् योनि र मनुष्य योनिमा रहेका भए पनि आफ्ना छोराबुहारीहरूले मात्र होइन आफन्तीले दिएको श्राद्ध मृतकलाई प्राप्त हुन्छ । पितृलोकका पितृहरू मात्र होइन जुनसुकै ठाउँमा रहेको भए पनि श्राद्धद्वारा पितृहरू तृप्त हुन्छन् ।
श्राद्धको अन्नले सबै जुनिमा तृप्ति सम्भव छ ?
श्राद्धमा पितृका लागि भनेर जेजस्तो दान दिइन्छ त्यसले हामी सबै जुनसुकै योनिमा जन्म लिन पुगे पनि तृप्त गर्दछ भन्ने यजुर्वेद (१८।६४) को दृष्टिकोण रहेको छ ।
श्राद्धमा राम्रोसँग दिइएका वस्तुले, पितृहरूका लागि अनन्त कालसमम अक्षय तृप्ति प्रदान गर्दछ । हाम्रा पितृहरू शुद्धकर्मका कारण देवता बनेका छन् भने हामीले श्राद्धमा दिएको अन्न अमृतमा परिणत हुन्छ; गन्धर्व बनेका छन् भने श्राद्धको अन्न भोगका रूपमा प्राप्त हुन्छ; पशु बनेका छन् भने तृण अर्थात् घाँसका रूपमा परिणत हुन्छ; वायुभक्षी नागयोनिमा पुगेको भए वायु रूपमा; राक्षस बनेका छन् भने अभक्ष्य पदार्थका रूपमा; दानव बनेका छन् भने मासुका रूपमा; प्रेत बनेका छन् भने रगतका रूपमा र मान्छे बनेका छन् भने श्राद्धमा दिइएको अन्न भोगका रूपमा परिणत भएर हाम्रा पितृहरूलाई तृप्त गर्दछ ।
के पुत्रले मात्र पितृलाई तार्न सक्छ ?
‘पुम्’ नामक नरकबाट बचाउने भएका कारण पुत्र भनिएको हो । “जीवतो वाक्यकरणान्मृताहे भूरिभोजनात्, गयायां पिण्डदानाच्च त्रिभिः पुत्रस्य पुत्रता” अर्थात् आमाबुवा जीवित छँदा उहाँहरूको आज्ञा पालना गर्नाले; मरेपछि औध्र्वदेहिक (क्रिया) संस्कार गर्नाले र गया आदि तीर्थमा गएर पिण्डदान गर्नाले पुत्रको धर्म निर्वाह हुन्छ । एउटै मार्गबाट पुत्र र मूत्र उत्पन्न हुने भएकाले जसले पुत्रको धर्म निर्वाह गर्छ त्यसलाई पुत्र भनिन्छ भने जसले पुत्रको धर्मलाई वहन गर्न सक्तैन त्यसलाई मूत्रसमान मानिन्छ ।
आफूलाई मूत्रसमान ठान्नेहरूले आमाबुवा जीवत छँदा उनीहरूको आज्ञा मान्दैनन् भने मरेपछि पनि क्रिया र पिण्डदानसमेत दिँदैनन् । यदि कुनै व्यक्तिले जीवनभर निष्ठापूर्वक ब्रह्मचर्य व्रतको पालना गरेर साधना गरी दशमद्वारबाट प्राण निकालेर अपुनरावृत्ति मार्गमा जान्छ भने त्यस्तो व्यक्तिले आफै मुक्ति प्राप्त गर्ने भएकाले त्यस्ता व्यक्तिलाई कसैले तारिदिनुपर्दैन तर सन्तान उत्पादन गर्ने क्रियाकलापका कारण दशमद्वारबाट प्राण निकाल्न सक्ने क्षमता क्षीण हुन्छ । त्यसको दायित्व पुत्रले वहन गर्नुपर्ने भएका कारण पितृलाई तार्न पुत्र मात्र सक्षम छ भन्ने परम्परा स्थापित भएको हो ।
श्राद्धका प्रमुख चार अङ्ग
हवन, तर्पण, पिण्डदान र ब्राह्मणभोजन गरी श्राद्धका प्रमुख चार अङ्ग रहेका हुन्छन् । यी चारै अङ्गका बारेमा अथर्ववेदमा केही सन्दर्भहरू उल्लेख गरिएको पाइन्छ ।
अग्निमा गरिएको हवनले बुवा, हजुरबुवा आदिलाई पोषण गर्दछ । तर्पणद्वारा प्रदान गरिएको सम्पूर्ण जलधाराले पितृहरू तृप्त हुन सकून् र स्वर्गलोकमा महजस्तै बनेर पितृहरूलाई सन्तुष्ट गर्न सकून् भन्ने कामना गरिएको हुन्छ ।
वेदमन्त्रद्वारा शुद्ध गरिएको र घिउ आदि मिसाएर पवित्र बनाइएको पितृयज्ञसम्बन्धी जुन भातका वा खीरका पिण्ड छन् ती अनवनेजन, प्रत्यवनेजन आदि श्राद्धकर्मद्वारा जलमा प्रविष्ट गरिन्छ र त्यही पिण्डरूप चरुलाई ग्रहण गरेर पितृलाई परमात्माहरूको लोकमा जान अनुरोध गरिन्छ ।
अन्तमा ब्राह्मणभोजनद्वारा पितृहरूलाई सम्पूर्ण लोकमा विजय प्राप्त गरेर स्वर्गलोकमा पुग्न सकून् भन्ने अपेक्षा श्राद्धकर्ताले राखेका हुन्छन् । वर्तमान समयमा श्राद्धका यी चारओटै अङ्गको पूर्णतया पालना गर्न न यजमानले नै धैर्य धारण गर्न सकेका छन् न त पुरोहितले नै पर्याप्त समय दिएर यिनलाई विधिपूर्वक सम्पन्न गर्न चासो दिएका छन् । तसर्थ श्राद्धका यी चारै अङ्गलाई धैर्यपूर्वक पालना गर्ने दिशामा यजमान र पुरोहित दुवै अत्यन्त सचेत हुनु आवश्यक छ ।
के श्राद्धमा ब्राह्मणभोजन अनिवार्य छ ?
जसरी विधिपूर्वक मन्त्रद्वारा अग्निमा गरिएको हवनले वायुमण्डललाई स्वच्छ बनाउँछ त्यसैगरी ब्राह्मण पनि अग्निदेव उत्पन्न भएको ब्रह्माकै मुखबाट उत्पन्न भएका कारण अग्नि स्थानीय मानिन्छ ।
तसर्थ अग्नि र ब्राह्मणको तात्त्विक रूपमा समानता सिद्ध हुन्छ । भौतिक अग्निमा हवन गर्नु र ब्राह्मणको जठराग्निमा हवन गर्नु दुवै समान मानिन्छ । जसरी अग्निमा गरिएको हवनका माध्यमबाट देवता सन्तुष्ट हुनाका साथै वातावरण पनि शुद्ध हुन्छ त्यसैगरी ब्राह्मणको जठराग्निमा गरिएको भोजनरूपी हवनबाट पितृहरू तृप्त हुन्छन् ।
मनुस्मृति (१।९५) मा उल्लेख भएअनुसार अग्निका माध्यमबाट स्वर्गवासी देवताले हव्यलाई खान्छन् भने पितृहरूले कव्यलाई खान्छन् । त्यसैले श्राद्धमा भोजन गराउनाले पितृहरू तृप्त हुन्छन् भन्ने परम्परा चल्दै आएको हो । श्राद्धमा खाइएको अन्नको सार भोक्ता ब्राह्मणलाई प्राप्त नभएर पितृहरूलाई प्राप्त हुन्छ किनभने भोक्ता ब्राह्मण त श्राद्धमा एउटा माध्यम मात्र बनेको हुन्छ ।
के श्रद्धापूर्वक गरिने सबै कर्म श्राद्ध हुन् ?
श्रद्धापूर्वक गरिने कर्मलाईश्राद्ध भनिए तापनि श्रद्धापूर्वक गरिने सर्ब कर्मलाईश्राद्ध भनेर हामीले स्वीकार्न सक्तैनौँ । मृत पितृहरूका लागि गरिने औध्र्वदेहिक कर्मलाई मात्र श्राद्ध भनिन्छ ।
त्यसैले जीवित अवस्थामा आमाबुवा, गुरुजन र दीनदुःखीलाईश्रद्धापूर्वक सेवा गर्दैमा त्यसलाईश्राद्ध भन्न सकिँदैन । श्रद्धापूर्वक गरिने भए तापनि जीवित आमाबुवालाई, गुरुजनलाई र दीनदुःखीलाई सेवा गर्न खोज्दा ‘हामीले तपाईंहरूको श्राद्ध गर्छौं’ भन्न सक्तैनौँ ।
त्यसैले श्राद्धमा ब्राह्मण बोलाएर ब्राह्मणलाई पोस्नुभन्दा श्राद्ध गर्दा लाग्ने खर्च दीनदुःखीहरूलाई सहयोग गर्नु नै श्राद्ध हो भन्न रुचाउनेहरूले मरेका पितृहरूलाई बाहेक अन्यत्र श्राद्ध शब्दको प्रयोग गर्नबाट आपूmलाई बचाउनु आवश्यक छ ।
पितृहरूलाई हामीले किन देख्न सक्तैनौँ ?
स्थूल शरीर भएका हामीले सूक्ष्म शरीर भएका पितृहरूलाईचर्मचक्षुले देख्न सक्तैनौँ । “पश्यन्ति ज्ञानचक्षुषः” (गीता १५।२०) अर्थात् ज्ञानचक्षु भएका व्यक्तिले चाहिँ पितृहरूलाई देख्न पनि सक्छन् ।
“पिता तव मया दृष्टो ब्राह्मणादिषु राघव” (पद्मपुराण ३३।७४।११०) अर्थात् हे रामचन्द्र ! मैले निमन्त्रणा गरिएका ब्राह्मणका शरीरमा तपाईंका पिताजीको दर्शन गरेँ भनेर सीताले रामलाई जवाफ दिएकी थिइन् ।
त्यसैगरी भीष्मले पनि आफ्ना पिता शान्तनुलाई पिण्डदान दिन खोज्दा शान्तनुको दाहिने हातको दर्शन गरेका थिए तर उनले शास्त्रीय मर्यादाको पालना गरेर शान्तनुको हातमा पिण्डदान नगरी कुशको मोटकमाथि पिण्डदान गरेका थिए ।
तसर्थ सबै श्राद्धकर्ताले पितृहरूको साक्षात् दर्शन गर्न नसक्ने भएका कारण ब्राह्मणमै पितृहरूको दर्शन गर्न सक्ने सम्भावना वैदिक सनातन परम्परामा कायमै रहेको छ । त्यसका लागि ब्राह्मण अत्यन्त निष्ठावान् र शुद्ध वचन उच्चारण गर्न सक्ने हुनुपर्छ ।
सोह्र श्राद्धको आवश्यकता किन ?
प्रत्येक महिनाको औँसी तिथिलाई पितृहरूको तिथि र पितृहरूको भोजन गर्ने दिन मानिन्छ भने प्रत्येक वर्षको आश्विन कृष्णपक्षलाई पितृपक्ष ठानेर सोह्र दिनसम्म पितृहरूको महापर्व मनाइन्छ ।
मनुष्यको एक महिना पितृहरूका लागि एक अहोरात्र मानिने र औँसीका दिनलाई पितृहरूको हाम्रो दैनिक भोजनकालजस्तै ठानिएको हो । पर्वमा वा पक्षभर हुने श्राद्ध भएका कारण आश्विन कृष्णपक्षमा गरिने श्राद्धलाई पार्वण श्राद्ध भनिएको हो तापनि मरेका एघारौँ दिनमा समेत पार्वण श्राद्ध गर्ने शास्त्रीय मतान्तर रहेका कारण सोह्र श्राद्धलाई मात्र पार्वण श्राद्ध मान्न सकिँदैन ।
यतिबेला प्रत्येकका घरघरमा अदृश्य रूपमा पितृहरूको सामूहिक मेला आयोजना भएको हुन्छ । यस अवधिमा आफन्तीहरूले नबोलाए पनि पितृहरू पितृलोकबाट पृथ्वीलोकका आफन्तीका घरघरमा आएका हुन्छन् ।
यतिबेला गरिएको श्राद्धले स्वर्गीय फल प्राप्त हुन्छ भने पितृहरूको उद्देश्यले गरिएको दानको फल अक्षय हुन्छ । सोह्र दिनसम्म गरिने श्राद्ध भएकाले पार्वण श्राद्ध नेपाली समाजमा सोह्र श्राद्धका नामले प्रसिद्ध हुन पुगेको हो । त्यसैले सोह्रै दिन श्राद्ध गर्न नसकिए पनि आआफ्ना तिथिमा मात्र श्राद्ध गर्ने कर्ताले यसअवधिमा जूठो ठानिएका अभक्ष्य पदार्थहरू ग्रहण गर्नु हुँदैन भन्ने प्रचलन हाम्रो समाजमा अद्यावधि कायमै छ ।
योग्य ब्राह्मण नभेटिए के गर्ने ?
देवकार्य गराउने ब्राह्मणको परीक्षा नलिए पनि पितृकार्य गराउने ब्राह्मणको परीक्षण गर्न महाभारत, मनुस्मृति आदि ग्रन्थहरूले निर्देश गरेका छन् तर उक्त ग्रन्थहरूमा चर्चा गरिएअनुसारका योग्यतम ब्राह्मण–पुरोहितहरू वर्तमान समयमा भेट्टाउन निकै मुस्किल छ ।
यस परिस्थितिमा श्राद्ध नै नगर्दा दोषको भागी हुनुपर्ने भएका कारण कस्ता ब्राह्मणद्वारा श्राद्ध गराउन उपयुक्त होला ? भन्ने बारेमा विचारविमर्श हुनु आवश्यक छ ।
श्राद्धमा पुरोहित मात्र होइन यजमान पनि उत्तिकै पवित्र र योग्य हुनुपर्छ । यथासम्भव ज्ञाननिष्ठ, सदाचारी र कुलीन ब्राह्मण खोज्नुपर्छ । श्राद्धकर्ता यजमान पनि जल्दीबाजी गर्ने र क्रोधी हुनु हुँदैन । यदि श्राद्धमा योग्य ब्राह्मण नै उपलब्ध भएनन् र यजमान पनि सबै श्राद्ध सामग्री जुटाउन असमर्थ भए भने “वार्यपि श्रद्धया दत्तमक्षयायोपकल्पते” (मनुस्मृति ३।२०१) अर्थात् श्रद्धापूर्वक जल मात्र प्रदान गर्नाले पनि पितृहरूले अनन्त तृप्तिको अनुभूति गर्छन् ।
तीन पुस्तासम्मको मात्र श्राद्ध किन ?
अथर्ववेद (१८।२।४९) मा पिता, पितामह र प्रपितामह अर्थात् बुवा, हजुरबुवा र बूढा हजुरबुवालाई हामीले श्राद्धकर्मद्वारा तृप्त गर्दछौँ भन्ने कुरा उल्लेख गरिएको छ । मनुस्मृति (९।१८६) ले पनि ‘त्रयाणामुदकं कार्यं त्रिषु पिण्डः प्रवर्तते’ अर्थात् पिता, पितामह र प्रपितामह तीन पुस्तालाई मात्र तर्पण र पिण्ड दिइन्छ, चौथोमा श्राद्धकर्ता यजमान हुन्छ र पाँचौँको कुनै सम्भावना रहँदैन भनेर तीन पुस्तालाई नै बढ्ता जोड दिएको छ ।
वेद आदि शास्त्रमा वसु, आदित्य र रुद्र तीन देवतालाई पिता, पितामह र प्रपितामहको पोषक प्रतिनिधि मानिन्छ । त्यसैले विवाह संस्कारमा पनि वरवधू दुवैका तीन पुस्ताको नाम लिइन्छ भने हाम्रो व्यवहारमा समेत धेरैजसो लिखतमा तीन पुस्ताकै नाम उल्लेख गरिन्छ । वैदिक र स्मार्त प्रमाण तथा लोकव्यवहारलाई समेत दृष्टिगत गर्दा तीन पुस्ताको मात्र श्राद्ध गर्नु युक्तिसङ्गत देखिन्छ ।
श्राद्धको सामान्य क्रम
सामान्यतया जुनसुकै श्राद्धमा अवलम्बन गर्ने क्रम यसप्रकार छ: १. आचमन, प्राणायाम गरी दीप बालेर विघ्नहर्ता गणेशको स्मरण गर्ने, २. देवता, ऋषि र पितृलाई तर्पण गर्ने, ३. कुशबटुको स्थापना गर्ने, ४. कुशबटुस्वरूपका पितृब्राह्मणलाई निमन्त्रणा र प्रार्थना गर्ने ५. पादार्घ (खुट्टा धुने जल) दिने, ६. कर्मपात्र बनाउने, ७. कर्मपात्रको जलले श्राद्ध गर्ने ठाउँसहित श्राद्ध सामग्री र आफूलाई पनि सेचन गर्ने, ८. प्रतिज्ञासङ्कल्प गर्ने, ९. आत्मशुद्धिका लागि ‘देवताभ्यः पितृभ्यश्च...’ मन्त्र तीनपटक उच्चारण गरी पितृको स्मरण गर्ने, १०. दिग्बन्धन गर्ने, ११. नीवीबन्धन गर्ने, १२. दिग्रक्षण गर्ने, १३. विष्णुको स्मरण गर्ने, १४. पितृब्राह्मणलाई बस्न आसन दिने, १५. कुशब्राह्मणको अनुमति लिएर हस्तार्घपात्र बनाउने, १६. कुशब्राह्मणको पूजा गर्ने, १७. भूस्वामीलाई सङ्कल्पपूर्वक अन्नदान गर्ने, १८. कुशब्राह्मणलाई भोजन गराउने र पुरोहितलाई पनि केही खान दिने, १९. यथासम्भव आपैm वा ब्राह्मणद्वारा पितृसूक्तको पाठ गर्ने, २०. विकिरासन दिने, २१. जलगण्डूष (कुल्ला गर्ने जल) दिने, २२. पिण्डदान गर्ने वेदी बनाउने, २३. अवनेजन दिने, २४. पिण्डदान गर्ने, २५. प्रत्यवनेजन दिने, २६. नीवी झिकेर राख्ने, २७. पिण्डमा धागो चढाउने, २८. पिण्डको पूजा गर्ने, २९. ब्राह्मणका हातमा जल, फूल र अक्षता दिएर प्रार्थना गर्ने, ३०. हाम्रो कुलमा दीर्घायु, शान्ति र वृद्धि प्राप्त होस् भन्ने कामना गर्दै अभिषेक गर्ने, ३१. अक्षयोदक दान गर्ने, ३२. पिण्डमा जलधारा अर्पण गर्ने, ३३. हात जोडेर हाम्रा गोत्र, दाता र सन्तति बढून् हाम्रा घरा अतिथिहरू आइरहून्, हामीले माग्नु नपरोस् आदि आशीर्वाद ग्रहण गर्ने, ३४. ब्राह्मणका हातबाट टीका लगाउने, ३५. पिण्डमा दूधको धारा चढाउने, ३६. पिण्ड उठाउने र पिण्ड सुँघ्ने, ३७. वेदीमा नै पिण्ड राखेर वसन्तादिको पूजा गर्ने, ३८. पितृब्राह्मणको विसर्जन गर्ने, ३९. कुशबटुको गाँठो खोलिदिने र ४०. श्राद्धकर्म पूर्ण होस् भनेर प्रार्थना गर्ने ।
उपर्युक्त क्रममा पितृब्राह्मणसँगै विश्वेदेवब्राह्मणको पनि पूजा गरिन्छ । पितृब्राह्मणको पूजा गर्दा अपसव्य हुनुपर्छ भने विश्वदेवब्राह्मणको पूजा गर्दा सव्य हुनुपर्छ ।
श्राद्धमा ध्यान दिनुपर्ने कुराहरू
देवतर्पणमा पूर्व फर्किएर सव्य भई अक्षतासहित एक एक जलाञ्जलि दिने, ऋषितर्पणमा उत्तरतिर फर्किएर जनै मालाजस्तो बनाएर जौसहित दुईदुईपटक जलाञ्जलि दिने र पितृतर्पणमा दक्षिणतिर फर्किएर अपसव्य भई तीनतीनपटक जलाञ्जलि दिने गरिन्छ ।
श्राद्धका लागि पवित्र वनक्षेत्र, नदीको तीर र एकान्त स्थान राम्रो मानिन्छ । सुँगुर, कुकुर, कुखुरा, रजस्वला भएकी महिला र नपुंसकले श्राद्ध गरेको तथा श्राद्धमा भोजन गरेको हेर्न निषिद्ध मानिएको छ ।
श्राद्धमा यथासम्भव सुन र चाँदीका तथा सम्भव नभएमा तामा र काँसका भाँडाको प्रयोग गर्नुपर्छ । श्राद्ध गर्दा फलामका भाँडा पूर्णतः वर्जित मानिन्छ किनभने फलामका भाँडा, हँसिया, चक्कु आदि देख्ताबित्तिकै पितृहरू तर्सिन्छन् ।
श्राद्धकर्ता स्वयंले पिण्ड पकाउनुपर्छ र सम्भव नभएमा पत्नी वा दाजुभाइले पनि पिण्ड पकाउन सक्छन् तर बिगोत्रीले पिण्ड पकाउन वा छुनसमेत हुँदैन । श्राद्ध गर्ने व्यक्तिले श्राद्धका दिन दाँत माझ्न, पुनः भोजन, रतिक्रीडा आदि गर्न हुँदैन भने श्राद्धमा भोजन गर्ने व्यक्तिले पनि पुनः भोजन, यात्रा, अध्ययन, रतिक्रीडा र दान दिन वा लिन पनि वर्जित छ ।
बैठान
वेदमा पितृयज्ञका रूपमा श्राद्धको चर्चा गरिएको भए पनि रामायण, महाभारत, चरकसंहिता, सुश्रूतसंहिता, मनुस्मृति, पाणिनीय अष्टाध्यायी आदिमा श्राद्ध शब्दकै उल्लेख गरेर श्राद्धको महत्त्व बताइएको छ ।
देवकार्यमा भावना शुद्ध भए पनि हुन्छ तर श्राद्धकर्ममा ब्राह्मणको वचन शुद्ध हुनुपर्ने भएकाले योग्य ब्राह्मणद्वारा श्राद्ध गराउनुपर्छ । पितृहरूलाई हामीले देख्न नसके पनि ब्राह्मणमै पितृको स्वरूप देख्न सकिने भएकाले श्राद्धमा ब्राह्मण र ब्राह्मणभोजनको विशेष महत्त्व रहेको हो ।
वर्तमान समयमा युगधर्मकै कारण पुरोहित र यजमान दुवैको निष्ठामा क्रमशः ह्रास आउँदै गए तापनि यथासम्भव योग्य पुरोहितको खोजी गरेर अत्यन्त एकाग्रचित्त भई लोभ, क्रोध, मोह आदिलाई पूर्णतः परित्याग गरेर यजमान पनि श्राद्धकर्ममा समर्पित हुन सकेका खण्डमा हाम्रा पितृहरू अवश्य नै तृप्त मात्र होइन मोक्ष पनि हुन सक्नेछन् ।
(लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् र उनको ‘संस्कार–चिन्तन’ स्तम्भ प्रत्येक सोमबार प्रकाशित हुन्छ ।)