जिन्दगी कहाँबाट कहाँ पुग्छ कसलाई पो थाहा हुन्छ र ? केही गर्ने उमेर। जीवनको लक्ष्य निर्धारणका लागि महत्वपूर्ण समय। आजभन्दा भोलि, भोलिभन्दा पर्सी उमेर ढल्किदै छ। घरमा हप्तैपिच्छे बिहेको कुरा चल्छ।
बिहे नगरौ समाजले औंला उठाउन थाल्छ। किन गरिन ? के भएर गरिन ? के समस्या छ ? के अवगुण छ ? समाजका यी तमाम प्रश्नहरुको जवाफ म के दिउला ?
आजको २१औं शताब्दीमा अरुमाथि आश्रित भएर बाँच्न पनि गाह्रो। केही गरौ भने अवस्था सोंचेजस्तो छैन। त्यसमाथि कोरोना भाइरसका कारण लकडाउन भयो।
बाआमाका अनि आफ्ना सपना इच्छाहरु जित्ने लक्ष्यतिर लाग्नु पर्ने बेला, बिना काम, बिना सपना, यतिकै धकेलिएको छ दैनिकी। काम पाउने कुनै निश्चय छैन, काम पायो भने पनि आफ्नो योग्यताअनुसारको पाइँदैन। कसोकसो जिन्दगीको रथ अलिअलि गर्दै चल्दै गर्दा लकडाउनले ब्रेक लगायो। पढाई ठप्प। देखेका सपनामाथि तुसारापात भयो। बुबाआमाको अनुहारमा दु:खका धर्साहरु स्पष्ट देखिन्छन्।
आँखा कमजोर अनि हात काप्न थालिसकेका छन्। यता म उज्ज्वल भविष्यको खोजीमा छु। मजस्तै उज्यालो भविष्यको खोजीमा दौडिरहेका कैयौं विद्यार्थीहरु अलमलमा छन् ? यस्तो अन्योल कहिलेसम्म ? विदेश जाउँ उता पनि उस्तै। स्वदेश बसौं काम छैन। देशको वातावरण यस्तो छ। काम गरेर माथि उठ्ने कहिले हो पत्तो छैन। केही गरौ भनेपनि पतन गराउन खोज्नेहरु देखा पर्न थाल्छन्।
घर बस्दा बस्दा सुत्ने ओछ्यानले पोल्न थालिसक्यो। यो महामारीले झनपछि झन् पछाडि धकेल्दै छ।
अब जिन्दगी कहाँबाट सुरु गरौ। त्यसरी शुन्यताको अवस्थामा पुगेको छ। कसरी सुरु गरौं। खै अझै कति बिताउनुछ यो निराशलाग्दो, उदेक लाग्दो समय। सबैबाट एक्लो महसुस हुन्छ, लाग्दछ संकटको भुमरीमा अल्झिएर निस्किन सकिरहेको छैन।
यो महामारीको संकटबाट जीउज्यान कसरी जोगाउने भन्ने भएको बेला दैनिकी कत्ति पनि सामान्य थिएन। करिब करिब ४ महिना त अरु जस्तै म पनि घरमै सिमित रहेर दिनहरु कटाए।
केही पछिल्ला दिनहरूमा मेरो गृह जिल्ला गुल्मी पनि कोरोनाको उच्च जोखिममा थियो। नजिकैको बस्तीका केही व्यक्तिहरुमा संक्रमण देखिएको हुनाले लकडाउन एकदम कडाइका साथ पालना गरियो। मनमा त्रास र बेचैनीको अनौठो समिश्रण थियो। घर बस्दाबस्दा कुजिएको शरीर र थाकेको दिमागले बाहिर निस्किउँ निस्किउँ झै लाग्थ्यो।
तर फेरि कोरोनाको संक्रमणको असर सम्झिदा बाहिर निस्किन त्यति आट आउदैनथ्यो। टिभी, सामाजिक सञ्जाल र घरमा बुबाआमाहरुसँग करिब करिब चार महिना बिताएँ। अध्ययनको शिलशिलामा शहर पसेपछिका समय म आफ्नो गृह जिल्लामा त्यति लामो समय कहिल्यै बसेकी थिइन। कहिलेकाँही छोटो बिदामा गएर दुईतीन दिन बसेर फर्किने बानी लागेको थियो। मेरो लागि लामो बसाइ भनेको दसैको बिदामा हुने गर्दथ्यो।
एकातिर हेर्दा लकडाउनले मलाई मेरो समाजसँग परस्पर हुने मौका दियो। समाजलाई भिन्न रुपले हेर्न सिकायो।
पछि सरकारले लकडाउन केही खुकुलो गर्यो। लकडाउन खुकुलो भएसँगै दैनिकीहरु फेरिदै गए। भिन्न रुपले दैनिक चल्नथाले । साउन ८ बाट सरकारले लकडाउन सकिएको घोषणा के मात्र गर्यो उता त्रिभुवन विश्वविद्यालयले भदौ पहिलो साता देखि नै बाँकी रहेका स्नातक, स्नातकोत्तर सबै तहका जाँचहरु लिने निर्णय निकाल्यो।
जाँच हुन्छ भन्ने मानसिकता बोकेर हतार हतारमा दोब्बर तेब्बर गाडी भाडा बुझाउँदै शहर आएका म जस्ता कैयौं विद्यार्थीको दैनिकी अहिले कोठाभित्रै बाहिर न भित्र भएर बित्दै छ होला।
भविष्य कोर्न भनेर कैयौं डाँडाँ काटेर सहर आएकी म एउटा केटीको सपनामा पनि नसोचेको भाइरस आएर लफडा गर्यो।
पछिल्लो समय लकडाउन खुलेसँगै कोरोना संक्रमित संख्याले दिनप्रतिदिन फड्को मार्न थाल्यो।
बुटवलमा पनि संक्रमितसँगै मृतकको संख्या बढेकै थियो। बुटवल उपमहानगरपालिकाले श्रावण २९ देखि पुन लकडाउनको घोषणा गर्यो। हप्तादिन गर्दै महिनौं बित्दैछ, देशका अन्य क्षेत्रहरुमा पनि सोही निति अपनाइएको छ। त्यसयता फेरि असोज १ गतेदेखि खुला भयो। बन्द रहेका होटल, व्यापार, यातायात खुले।
तर, कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। हिजो शुक्रबार एकैदिन २०२० जनामा संक्रमण पुष्टि भयो। मृत्युको खबरले कान पाकिसक्यो। सबैतिर खुला त भयो तर घर बाहिर निस्कन पनि डराउनुपर्ने दिन फेरि आए।
दिनहरू उराठलाग्दा भए। कलेज पनि बन्द न साथीभाइ भेट्नु छ न त आफन्त नै। कस्ता दिक्क लाग्दा दिन। कलेज हुँदा त साथीभाइ भेटिन्थ्यो मनका अनगिन्ती पीरहरु भुलिन्थ्यो तर अहिले सबै ठप्प छ स्थिति।
अब कहिले सम्म यसरी त्रासमा जिउने होला त ? कहिले सम्म मृत्युको संख्या गनेर बस्ने होला ? विकसित मुलुकहरुलाई त हम्मे हम्मे परेको छ। नेपालमा अझै के के हुने होला पिरैपिरले सुकेको ज्यान झनै सुकिसक्यो।
डर मात्र लाग्छ। ठूलो स्वरले खोकेमात्र पनि छिमेकीले कान ठाडो बनाउँछन्। कस्तो रोग आयो! रोग नलाग्दा नै हेरिने दृष्टिकोण फरक छ रोग लाग्यो भने त के हालत होला।
तर, गाउँघरमा हुदा छुट्टै अनुभुति हुन्थ्यो। घर त आखिर घर हुने रैछ। त्यहाँको माटोसँग मेरो जीवन जोडिएको छ। त्यहाँको सामीप्यमा जाँदा मेरो आफ्ना मान्छेको गन्ध आउँछ।
त्यहाँको रुख पातले मलाई चिन्दछन्। यहाँका घरहरुको नजिक जाँदा म आफुलाई कमिलाभन्दा पनि सानो महसुस गर्छु। आफ्नो कदममा मात्र हैन कि मेरो जीवनका लक्ष्य पनि त्यति धेरै अग्ला छन् र कैयौं सिढीहरु पार गर्नुछ मलाई।
म सहरका यी घरजत्रै लक्ष्य लिएर हिडिरहेकी केटी। जत्रा घर त्यत्रै लक्ष्य। पहाडमा साना घर साना रहर। यहाँ ठूला घर ठूला रहर। ठूला ठूला इच्छा। अझ विदेशका सय दुई सय तलाका घरमा बस्ने मान्छेका त्यत्रै रहर हुँदा हुन्।
ती रहर पूरा गर्न कति धेरै सिढी चढ्नुपर्छ। जिन्दगीको गोरेटोमा कति धेरै हन्डर र ठक्कर खानुपर्छ। सायद जीवनभर त्यति धेरै अक्सिजन पनि खाइएन होला।
आफ्नो पीर, कलेजको पीर, घरपरिवारको पीर। त्यसमाथि लकडाउन। कति डामाडोल छ जिन्दगी। कोरोना भाइरसको डर सबैमा भएजस्तै ममा पनि त्यतिकै छ। के थाहा ? सपना पूरा हुनुअघि नै यो संसारबाट बिदा लिनुपर्ने पो हो कि ! यसो हेर्दा लाग्छ मानौ मृत्युको काखमा छ जिन्दगी।
भित्र बसौ उकुसमुकुस बाहिर निस्कौ भने कोरोना आउला भन्ने डर । यो मृत्युको प्रतिस्पर्धा हेर्दै खै म जस्ता कति जिन्दगीहरु भित्र न बाहिर भएर दैलोमा अड्किएका छन्। कति लक्ष्यहरु यसरी नै अलमलिइरहेका छन्।
दैलोमा अड्किएका जिन्दगीमा अलमलिइरहेका लक्ष्यहरु पूरा गर्न अघि बढ्नु त छदैछ।