उठान
सनातन वैदिक संस्कार पद्धतिमा अधिकमास र पुरुषोत्तममास भनेर चिनिने महिनालाई नेपाली समाजमा मलमास भनेर भनिन्छ । वैशाखदेखि चैत्रसम्मका १२ महिनाहरू त प्रत्येक वर्ष पर्छन् तर मलमास प्रत्येक वर्ष नपर्ने भएकाले यसका बारेमा धेरैलाई थाहा नहुनु अस्वाभाविक होइन ।
मलमास कहिले पर्छ ? मलमासमा के के गर्नुपर्छ अनि के के गर्न हुँदैन, मलमासको कस्तो महत्त्व छ ? आदि जिज्ञासाहरू नेपाली जनसमुदायमा उठ्ने गरेका छन् । त्यसैले यसबारेमा हामी सबैले सङ्क्षिप्त जानकारी लिनु आवश्यक देखिन्छ ।
मलमास कहिले पर्छ ?
चन्द्रमासँग सम्बन्धित भएका कारण ‘मास’ अर्थात् महिना शब्दको उत्पत्ति भएको हो । “अरुणो मासकृद् वृकः” (ऋग्वेद १।७।२३) मन्त्रलाई व्याख्या गर्दै यास्कले निरुक्त (५।२१) मा चन्द्रमालाई महिना बताउने गति भएको भन्ने उल्लेख गरेका छन् ।
जुन महिनाको पूर्णिमाका दिन विशाखा नक्षत्र परेको छ त्यस महिनालाई वैशाख भनेर नामकरण गरिएको हो । यसैगरी जुन महिनामा ज्येष्ठा, पूर्वाषाढा,श्रवण, पूर्वभाद्रपदा, अश्विनी, कृत्तिका, मृगशिरा, पुष्य, मघा, पूर्वफाल्गुनीर चित्रा नक्षत्रले युक्त पूर्णिमा पर्छ ती महिनाहरूलाई क्रमशः ज्येष्ठ, आषाढ, श्रावण, भाद्र, आश्विन, कात्र्तिक, मार्गशीर्ष, षौष, माघ, फाल्गुन र चैत्र महिनाको नाम रहन गएको हो । सूर्यमानका आधारमा गणना गरिने वैशाख आदि १२ महिनाको नाम पनि चन्द्रमानकै आधारमा गरिएको हो ।
सूर्यमानका आधारमा ३६५ दिनको एकवर्ष हुन्छ भने चन्द्रमानअनुसार ३५४ दिनको एकवर्ष हुन्छ । त्यसैले प्रत्येक तीनवर्षमा मलमास पर्दछ । मलमास पर्ने वर्षमा चन्द्रमानअनुसार एक महिना बढ्ता हुने भएकाले मलमासलाई अधिकमास भन्ने गरिएको हो । अधिकमासको गणना ऋग्वेदको समयदेखि नै हुँदै आएको देखिन्छ ।
यस किसिमको महिनालाई मल वा पापको महिना भनेर निन्दा गरिएका कारण मलमास भनिएको हो भने मलमासको महत्त्व बताएर यही महिनालाई निन्दित र उपेक्षित महिना होइन पुरुषोत्तम अर्थात् विष्णु र कृष्णको समेत अत्यन्त प्रिय महिना मानिएका कारण मलमासलाई पुरुषोत्तममास भनेर चिन्ने गरिएको हो ।
चन्द्रमानको महिनामा एउटा औँसीदेखि अर्को औँसीका बीचमा कुनै सङ्क्रान्ति परेको छैन भने त्यस औँसीका बीचको समयलाई मलमास भनिन्छ । धर्मशास्त्रहरूमा सूर्य सङ्क्रान्ति नपरेको महिनालाई अशुद्ध र दोषयुक्त ठानिएका कारण यस्तो महिनालाई मलमास भनिएको हो । सामान्यतया दिन लामो हुने फागुनदेखि कात्र्तिकसम्मका महिनामा मलमास पर्ने गर्दछ ।
मलमासमा के गर्ने के नगर्ने ?
मलमासमा कुनै पनि शुभकार्यको थालनी गर्नु राम्रो मानिँदैन । मलमासमा नयाँ जीवनको सुरुवात वा विवाह गर्न निषिद्ध मानिएको छ । यस अवधिमा व्रतबन्ध आदि संस्कार र घरको वास्तु, मन्दिरको प्रतिष्ठा, सप्ताह आदि कुनै कामना राखेर गरिने धार्मिक अनुष्ठान वा पूजापाठहरू पनि वर्जित छन् ।
शास्त्रमा प्रत्येक महिना, नक्षत्र, राशि आदिका स्वामीको उल्लेख गरिएको छ तर मलमासका स्वामीका बारेमा कतै उल्लेख नगरिएका कारण मलमासमा शुभकार्य र देवताको विशेष पूजा गर्दा कुनै फल प्राप्त नहुने भएकाले यस्ता कर्महरू मलमासमा निषिद्ध मानिएका हुन् ।
विवाह गरेपछि पहिलोपटक मलमास परेका खण्डमा दुलाहा–दुलही वा दम्पती सँगै बस्न नहुने परम्परा रहेकाले मलमासमा लुक्नका लागि चेलीबेटीहरू माइत जाने चलन छ । महिना दिनभरि मलमास बार्नुपर्नेमा हाल नेपालका अधिकांश ठाउँमा तीन रात भए पनि बार्नुपर्छ भन्ने चलन चलेको छ ।
परिस्थितिवश नवविवाहित दम्पतीहरू छुट्टिएर बस्न नसक्ने अवस्था आइपरेका खण्डमा दुवै श्रीमान्–श्रीमतीले एकअर्कालाई नछोईकन बस्ने प्रयत्न गर्नुपर्छ । अनिच्छापूर्वक यदि मलमासमा गर्भधारण भइहालेमा त्यस्तो सन्तानमा मलमासको गम्भीर पर्ने भएकाले नवविवाहित दम्पतीलाई मलमासमा छुट्टाछुट्टै बस्न भनिएको हो । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने सबै कर्महरू मलमासमा पनि निषिद्ध मानिएका छन् ।
“देववेदद्विजानां च गुरुगोव्रतिनां तथा, स्त्रीराजमहतां निन्दा वर्जयेत् पुरुषोत्तमे” (पुरुषोत्तममासमाहात्म्य २२।१२) अर्थात् मलमासमा देवता, वेद, द्विज, गुरु, गाई, व्रत बस्ने व्यक्ति, नारी, राजा र महात्माहरूको पनि निन्दा गर्न हुँदैन ।
साथै मलमासमा असत् शास्त्रलाई भन्न, अर्काका बिस्तरामा सुत्न, असत्य बोल्न र अर्काको अन्न खान पनि हुँदैन तर निष्काम रूपमा सधैँ गर्दै आएका पूजा, पाठ, जप, ध्यान, व्रत आदि नित्यकर्महरू भने मलमासमा पनि गर्न हुन्छ । विशेषतः भागवत श्रवण, हजारौँ तुलसीदलले शालिग्रामको पूजा र ब्राह्मणलाई भोजन गराउँदा अनन्त पुण्य फल प्राप्त हुन्छ ।
मलमासको पौराणिक महत्त्व
बृहन्नारदीय पुराणमा नारायण र नारदको संवादका रूपमा पुरुषोत्तममासमाहात्म्यको चर्चा गरिएको छ । यही माहात्म्यलाई साभार गरेर ‘पुरुषोत्तममासमाहात्म्यम्’ नामक छुट्टै पुस्तक प्राचीन समयदेखि नै हालसम्म प्रकाशनमा ल्याइँदै आइएको छ । उक्त माहात्म्यमा ३१ श्लोकदेखि ९७ श्लोकसम्मको अध्यायसंरचनाका ३१ अध्यायहरू रहेका छन् ।
यस माहात्म्यमा कुनै समयमा अधिकमास उत्पन्न भएको, त्यसलाई निन्दा गर्दै मलमास र सङ्क्रान्ति नभएको महिना भनेर पूजा गर्न अयोग्य ठानिएको, अधिकमासले विष्णुसमक्ष गएर आफू अपमानित हुनुपरेकामा दुःख व्यक्त गरेको, विष्णुले अधिकमासलाई शरण दिएर वैकुण्ठमा पुर्याएको, विष्णुले कृष्णलाई अधिकमासका समग्र दुःख वा समस्या अवगत गराएको र श्रीकृष्णले आफूलाई अधिकमासको स्वामी स्वीकार गरी अधिकमासलाई सबैभन्दा उत्तम महिना ठानेको कुरा उल्लेख गरिएको छ ।यही महिनामा निष्काम भावनाले भगवत्सेवा गर्ने अवसर प्राप्त हुने भएकाले भक्तका सम्पूर्ण मनोरथ पूर्ण हुन सक्छन् ।
यस महिनामा स्नान, जप र दान नगर्ने तथा देवता, तीर्थ र ब्राह्मणहरूसँग द्वेष गर्ने व्यक्ति अभागी र परनिर्भर हुन्छन् । खरायोको सिङ नभएजस्तै यसरी द्वेष गर्ने व्यक्तिलाई सपनामा पनि सुख प्राप्त हुँदैन । यसरी मलमासको महत्त्व बताएर विष्णुले मलमासलाई बैकुण्ठलोकमा लगेका थिए ।
दुर्वासाले द्रौपदीलाई मलमासको महत्त्वका बारेमा उपदेश दिएको, द्रौपदीले नौ हजार वर्षसम्म शङ्करको तपस्या गरी पाँच पटक पति दिनुहोस् भनेर वरदान मागेका कारण द्रौपदीले पाँच पति वरण गर्न बाध्य भएको, पाण्डवहरूले समेत पुरुषोत्तममासको व्रत गरेर निष्कण्टक राज्य प्राप्त गरेको चर्चा गर्दै “सर्व माहात्म्यं पुरुषोत्तमस्य देवो न जानाति कुतो मनुष्यः” (अध्याय १२, श्लोक ४९) अर्थात् मलमासको माहात्म्य देवताले पनि जान्दैनन् भने मान्छेले जान्न सक्ने कुरै भएन भन्ने उल्लेख गरिएको छ ।
वाल्मीकि र दृढधन्वा राजाको संवादका क्रममा सुगाले तत्त्वको चिन्तन गर्न प्रेरणा दिएको, सुदेव ब्राह्मणले अनजानमा पुरुषोत्तममासको व्रत गरेका कारण उसको मनोरथ पूरा भएको, जानेबुझेर व्रत गर्नका लागि आह्वान गरिएको, व्रत बस्नेहरूले पालना गर्ने दैनिक नियमहरू, दीपदानको विशेष महत्त्व, व्रतको साङ्गता गर्ने विधि, लिइएका व्रतका नियमको त्याग गर्ने विधि, पतिव्रता स्त्रीको लक्षण र काँसको कचौरासहित मालपुवा दान गर्नुको महत्त्वका बारेमा समेत पुरुषोत्तममासमाहात्म्यमा चर्चा गरिएको छ ।
मलमासको व्रत किन गर्ने ?
पुरुषोत्तममासको व्रत गर्नाले दरिद्रता र वैधव्य नष्ट हुन्छ भने यश, सत्सन्तति र मोक्ष प्राप्त हुन्छ । “सर्वसाधनतः श्रेष्ठः सर्वकामार्थसिद्धिदः, तस्मात् संसेव्यतामेष मासोऽयं पुरुषोत्तमः” (७।१९) अर्थात् सम्पूर्ण साधनहरूमा श्रेष्ठ साधन र सम्पूर्ण कामनाहरूको फल दिने सामथ्र्य भएकाले पुरुषोत्तममासको व्रत गर्नुपर्छ । १२ वर्षसम्म नियमित गङ्गास्नान गर्नु र पुरुषोत्तममासमा एकमहिना गङ्गास्नान गर्नुको फल बराबर मानिन्छ ।
द्रौपदीले पूर्वजन्ममा पुरुषोत्तममासको व्रतका विषयमा आशङ्का व्यक्त गरेका कारण उनले पछिल्लो जन्ममा पाँचवटा पति पाउनुपरेको थियो । तसर्थ अन्य महिनाभन्दा तुच्छ ठानेर कसैले पनि मलमासको निन्दा गर्नु हुँदैन ।
“सकामाप्यथ निष्कामा हरिभक्तिर्हरेः प्रिया” (१६।६) अर्थात् यस महिनामा सकाम वा निष्काम भावनाले पुकार्ने जस्तोसुकै भक्त पनि भगवानका लागि प्रिय मानिन्छ । पुरुषोत्तममासमा थोरै खर्च गरेर पनि महान् धर्म प्राप्त गर्न सकिन्छ र त्यसका लागि स्नान, दान र विष्णुको स्मरण नै सहायक सिद्ध हुन्छन् । पुरुषोत्तममासको व्रत गर्ने व्यक्तिले पालना गर्नुपर्ने नियमहरूको विस्तृत चर्चा पुरुषोत्तममासमाहात्म्यका २२औँ र २९औँ अध्यायमा गरिएको छ ।
बैठान
कहिलेकाहीँ तिरस्कृत हुनु पनि वरदान प्राप्त गर्नुजस्तै हुँदो रहेछ । हामीलाई कसैले निन्दा वा तिरस्कार ग¥यो भने हामी तिरस्कार गर्नेहरूप्रति कुदृष्टि र कुभावना राख्न पुग्छौँ तर त्यही तिरस्कारलाई हामीले ‘बैगुनीलाई गुनले मार्नु’ भनेझैं ईख लिएर सकारात्मक दिशातर्पm अग्रसर भइरह्यौँ भने हामी जीवनमा पुरस्कृत पनि हुन सक्नेछौँ ।
जसरी मलमास सबैतिरबाट तिरस्कृत भएर पनि निष्काम भावले भगवान्का शरणमा गएकाले भगवान्को अद्वितीय भक्त बन्न पुग्यो त्यसरी नै हामी पनि मलमासमा निष्काम भावनाले आआफ्ना कर्महरू गरिरह्यौँ भने ती कर्महरूको विशेष फल प्राप्त गर्न अवश्य पनि समर्थ हुनेछौँ ।
(लेखक ढकाल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् र उनको ‘संस्कार–चिन्तन’ स्तम्भ प्रत्येक सोमबार प्रकाशित हुन्छ ।)