हिजोआज गुर्जोको सेवन निकै बढेको छ। माग अनुसार गुर्जोको मूल्य पनि ह्वात्तै बढेको छ। अहिले त गुर्जोको डाँठहरु अहिले सपिङ सेन्टरमा समेत पाइन थालेका छन्। स्वामी रामदेवले अहिले आएर होइन, विगत १५, २० वर्षदेखि नै सार्वजनिकरुपमा गुर्जोको अनेक स्वास्थ्य फाइदाहरु दमदार प्रचार गर्दै आए छन्। बाबा रामदेवले गुर्जोलाई संसारको नम्बर एक इम्युनिटि बुस्टर भन्दै आएका छन्।
त्यसो त गुर्जोको स्वास्थ्य फाइदाहरुका बारेमा आयुर्वेदिक ग्रन्थहरुमा विशेष महत्वका उल्लेख गरिएको छ।
चरक संहिता, चन्द्र निघन्टु, नेपाली निघन्टु लगायतका पुराना दस्तावेजका साथै वनस्पति विभागको महत्वपूर्ण प्रकाशन मेडिसिनल प्लान्ट अफ नेपालमा पनि यस वनस्पतिको उपयोगिताका बारेमा चर्चा गरिएको छ।
गुर्जोका वारेमा थुप्रै जर्नलहरुमा अनुसन्धानमूलक लेखहरु समेत प्रकाशित भइसकेका छन्। गुर्जोले रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरा वैज्ञानिकरुपमा नै पुष्टि पनि भइसकेको छ। त्यसो त आयुर्वेदिक ग्रन्थहरु स्वयः प्रमाणीक र वैज्ञानिक शास्त्रहरु हुन्। वास्तवमा भन्ने हो भने आयुर्वेदिक ग्रन्थहरुमा उल्लेखित कुराहरुलाई पुनः अध्ययन गर्न आवश्यक पनि छैन।
गुर्जो मेनिस्परमासिया वनस्पति परिवार अन्तर्गतको टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो। यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया हो। यस लहरेदार बहुवर्षीय वनस्पतिलाई संस्कृतमा गुडुची वा छिन्नोद्भवा तथा अमृता र हिन्दीमा गिलोय भनिन्छ। गुर्जो लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हुन्छ।
यसका आँख्लाहरूबाट जरा निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता थोप्ला थोप्लाले भरिएको हुन्छ। यसका पातहरू एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नोदार हुन्छन्।
पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० सेमी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन्।
भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फुलहरू एक्लाएक्लै रहेका हुन्छन् फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।
आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाब सम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ।
अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्व लगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ। गुर्जोको डाँढ जस्तै पात पनि त्यत्तिकै गुणकारी हुन्छ। गुर्जोको पातमा क्याल्सियम, प्रोटन, फस्फोरस तथा स्टार्च आदि पर्याप्त मात्रामा पाइन्छ।
गुर्जो चीन, थाइल्याण्ड, नेपाल, भारत, म्यानमार, मलेशिया, श्रीलंका लगायतका देशको उष्णतटीय क्षेत्रमा पाइन्छ। नेपालमा भने यो वनस्पति तराईको जंगलदेखि मध्यपहाडी क्षेत्रका प्रायः सबै भूभागसम्म फैलिएको छ।
यस वनस्पतिमा औषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्वहरु पाइन्छन्।
यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, एन्टी इन्फ्लेमेटरी, क्यान्सर रोधी तथा रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्वहरु रहन्छन्।
गुर्जोमा पाइने यस्ता तत्वहरुका कारण नै ज्वरो, डायविटीज, कब्जियत, अपच, अम्लपित्त, दम, कफ, सास र पिसाव सम्बन्धित रोगहरुमा फाइदा गर्दछ।
वात, पित्त तथा कप तीनै दोषहरु नियन्त्रण तथा नियमन गर्ने जडिबुटि हो, गुर्जो।
गुर्जोले शरीरमा थुप्रिएको टक्सिन (विषालु हानिकारक पदार्थ) द्वारा उत्पन्न हुने रोगहरु हटाउन असरदार भूमिका खेल्दछ। साधारणतया गुर्जोलाई तीन तरिकाबाट सेवन गर्न सकिन्छ, गुर्जोको रस, गुर्जोको सत्व (गिलोय सत्व) तथा गुर्जोको चुर्णको रुपमा।
इम्युनिटि र गुर्जोः
गुर्जो रोगप्रतिरोधक क्षमता बढाउने सबै भन्दा उत्कृष्ट जडिबुटि मानिन्छ। गुर्जोको सत्व वा गुर्जोको रस नियमित सेवन गर्ने हो भने इम्युनिटि बढ्छ, यसको सेवनले रुघाखोकीको संक्रमण पनि हुन दिँदैन।
मात्रा तथा सेवन विधिः
इम्युनिटि बढाउनका लागि तीन चम्चा गुर्जोको रस दिनको दुई पटक खाली पेट सेवन गर्ने। वा आधा चम्चा गुर्जोको चुर्ण खाना पछि दिनको दुई पटक सेवन गर्ने।
डायबिटीज र गुर्जोः
विशेषज्ञहरुको अनुसार गुर्जोले हाइपोग्लाईसेमिक एजेन्टको रुपमा काम गर्दछ। टाइप २ डायबिटीज नियन्त्रण गर्न असरदार भुमिका निभाउँछ। गुर्जोको रसले ब्लडसुगरको स्तरलाई कम गराउँछ। गुर्जो डायबिटीजका विरामीहरुका लागि निकै उपयोगी छ।
मात्रा तथा सेवन विधिः
डायबिटीजका विरामीहरुले गुर्जोको सेवन दुई तरीकाले गर्न सक्छन्, गुर्जोको रस तथा गुर्जोको चुर्ण।
१० देखि १५ एमएल ताजा रस एक कप पानीमा मिसाएर बिहान खाली पेट सेवन गर्ने। वा एक बित्ता जति गुर्जोको डाठ चुस्ने। गुर्जोको चुर्ण भने आधा चम्चाको मात्रामा खाना खाएको १ घण्टापछि बिहानसाँझ पानीसँग सेवन गर्ने।
डेंगीमा गुर्जोः
डेंगीको रोकथाम र उपचारमा पनि गुर्जो धेरै फाइदाजनक छ। डेंगीको संक्रमण हुँदा तेज ज्वरो आउँछ।
गुर्जोमा पाइने एन्टीपायरेटिक गुणले ज्वरो कम गर्दछ। साथै यो इम्युनिटि बुस्टर भएकाले संक्रमण ठीक गर्न सगाउँछ।
मात्रा तथा सेवन विधिः
डेंगीको संक्रमण हुँदा तीन चम्चा गुर्जोको रसलाई एक कप पानीमा मिलाएर खाना खानु भन्दा एक घण्टा पहिला दिनको २ पटक सेवन गर्ने। बाबा रामदेवले डेंगुको उपचारका लागि गुर्जो (गिलोय), घिउकुमारी, अनार तथा मेवाको पातलाई रामबाँण भन्छन्। उनका अनुसार यी चार चिजहरुको ५० एलएल जुस दिनको ३, ४ पटक दिने हो भने डेंगुको संक्रमणबाट बच्न सकिन्छ।
अपच र गुर्जोः
पाचन सम्बन्धि समस्याहरु जस्तै अपच, एसिडिटि तथा कब्जियत आदिका लागि पनि गुर्जो निकै लाभकारी मानिन्छ।
त्यसैले कब्जियत तथा अपचका विरामीहरुले यसको सेवन गरेर लाभ प्राप्त गर्न सक्दछन्।
मात्रा तथा सेवन विधिः
आधादेखि एक चम्चा गुर्जोको चुर्ण तातो पानीसँग सुत्ने बेलामा सेवन गर्ने। नियमितरुपमा केही समयसम्म सेवन गर्ने हो भने अपच, कब्जियत तथा एसिडिटि जस्ता समस्याहरु निर्मुल हुन्छन्।
खोकी तथा गुर्जोः
लामो समयसम्म खोकी ठीक भएको छैन भने गुर्जोको सेवन लाभदायक हुन्छ। गुर्जोमा एन्टिएलर्जिक गुण हुने हुँदा यसले पुरानो भन्दा पुरानो खोकी ठीक गर्दछ।
मात्रा तथा सेवन विधिः
खोकीका लागि गुर्जोको काढा बनाएर महको साथमा दिनको दुई पटक खानाका खाएको एक घण्टा पछि सेवन गर्ने।
ज्वरो तथा गुर्जोः
गुर्जोमा एन्टीपायरेटिक गुण हुन्छ, यही गुणका कारण गुर्जोले पुरानो भन्दा पुरानो, सबै प्रकारका ज्वरोहरु ठीक गर्दछ।
मलेरिया, डेंगी, स्वाइन फ्लु तथा कोभिड १९ जस्ता गम्भिर रोगहरुले पैदा गर्ने ज्वरोमा समेत यो निकै उपयोगी हुन्छ।
मात्रा तथा सेवन विधिः
ज्वरो कम गर्नका लागि गिलोय घनवटी १ देखि २ टेबलेट खानाको पछि पानीसँग खाने।
वात रोग र गुर्जोः
गुर्जोमा एन्टी अर्थाराइटिक गुण हुने हुँदा वात रोगमा पनि निकै उपयोगी हुन्छ। खासगरी जोर्नीको दुःखाइको समस्या छ भने यसको सेवन फाइदाजनक हुन्छ।
मात्रा र सेवन विधिः
तीन चम्चा गुर्जोको रस एक कप पानीमा मिसाएर बिहानसाँझ खाली पेट सेवन गर्ने। यसको साथै गुर्जोका काढा बनाएर पनि सेवन गर्न सकिन्छ। काढा सेवन गर्ने हो भने काढामा मह मिसाएर खानापछि सेवन गर्ने।
श्वास सम्बन्धि समस्याहरुमा पनि गुर्जोको चुर्णमा जेठीमधुको चुर्ण मिसाएर महसँग दिनको दुई पटक सेवन गर्ने। कलेजो सम्बन्धि समस्याहरुका लागि एकदेखि दुई चुट्की गुर्जो सत्व महमा मिलाएर दिनको दुई पटक सेवन गर्ने।
सावधानीः
गुर्जोका अनेक स्वास्थ्य लाभहरु भएता पनि आवश्यकता भन्दा बढी मात्रामा र बढी समयसम्म लगातार यसको सेवन गर्नु हुँदैन।
निम्न रक्तचापका बिरामीले पनि यसको सेवन गर्नु हुँदैन वा चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्छ।
गर्भावस्थामा तथा सुत्केरी महिलाले पनि चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्छ।
अन्तमाः
अहिले कोरोनाका महामारीले आतंकित भएका जनमानसले कोभिड १९ बाट बच्न लहैलहैमा अनेक तरिकाले गुर्जो लगायतका जडिबुटिहरुको सेवन गर्ने गरेका छन्।
गुर्जोले रोगप्रतिरोधक क्षमता बढाउने भएता पनि गुर्जो खाएपछि सबै ठीक हुन्छ भन्ने भ्रममा नबसौं। गुर्जो आदि जडिबुटिहरु ठीक मात्रामा सेवन गर्नुको साथै मनबाट डरत्रास हटाइ शारीरिक सरसफाइ तथा भौतिक दुरी कायम गरी दैनिक कार्यहरु गरौं।
यहाँ मनन् योग्य कुरा के भने डरत्रासले मन कमजोर भयो भने गुर्जो त हिरक भस्म खानुको पनि कुनै फाइदा छैन। अतः डरत्रास हटाऔ, मनलाई मजबुत र शक्तिशाली बनाऔं, प्रतिरोधक क्षमता बढाऔं। अनि कोरोनको यस महामारीलाई जितौं।
(लेखक मनोविद् तथा पोषणविद् हुन्।)