ईशाको सातौं शताब्दी अर्थात आज भन्दा चौध सय वर्षअघिसम्म बुद्धजन्मस्थल लुम्बिनीमा थुप्रै तीर्थयात्रीहरु आए । खासगरी चिनियाँ यात्रीहरुले लुम्बिनी घुमेपछि लेखेका यात्रा वृतान्तहरु लुम्बिनीको पहिचान र प्रचारप्रसारका लागि महत्वपूर्ण दस्तावेज नै बने ।
चौथो शताब्दीमा लुम्बिनी भ्रमण गर्ने सेङ् साई, पाँचौं शताब्दीमा लुम्बिनी आउने फाहियान र सातौं शताब्दीमा हुएन साङ् लगायत थुप्रै अन्तरराष्ट्रिय बौद्ध तीर्थयात्रीहरु लुम्बिनीलाई आस्थाको केन्द्र मानेर यहाँ आएका हुन् ।
यसको अर्थ त्यतिबेला नै लुम्बिनी अन्तरराष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा विकास भइसकेको थियो । पुरातत्व तथा इतिहासका विज्ञहरुले ईशा पूर्व २४९ मा भारतीय सम्राट अशोक आउनु अघि देखि नै लुम्बिनी बौद्ध समुदायको आस्थाको केन्द्र बनिसकेको दावी गर्छन् ।
सम्राट अशोकले लुम्बिनी र कपिलवस्तुका वौद्ध स्थलहरुमा खडा गरेका स्तम्भ र तीनमा कुँदिएका लिपिहरुले यस्ता दाबीहरुलाई पुष्टि गरिदिन्छन् ।
विभिन्न दस्तावेज र पुरातात्विक अन्वेशषणहरुले यो कुराको पुष्टि गरेका छन् कि सातौं शताब्दी सम्म आइपुग्दा लुम्बिनीमा हजारौं लाखौं तीर्थयात्रीहरुले यात्रा गरिसकेका थिए ।
तर दस्तावेजहरुले सातौं शताब्दीमा हुएनसाङ्,वु–कुङ् र फाङ् चिह् भन्ने चीनीयाँ पर्यटकहरु लुम्बिनी आएपछि चौधौ शताब्दीसम्म लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुका विषयमा बोलेका छैनन् ।
यसको अर्थ सातौं शताब्दीदेखि चौधौं शताब्दी करीब ७ सय वर्षसम्म लुम्बिनी ओझेलमा पर्यो । तर चौधौ शताब्दीको शुरुमै अर्थात आज भन्दा सात सय बर्ष अघि कर्णाली क्षेत्रका राजा रिपु मल्ल लुम्बिनी आएर सम्राट अशोकले स्थापना गरेको स्तम्भको टुप्पोमा ‘ॐ मणि पदमे हुं श्री रिपुमल्लचिरंजयतु १२३४’ कुँदाएर गएका थिए । त्यसै शताब्दीमा जितारी मल्ल र आनन्द मल्लहरु समेत लुम्बिनी आएको दावी विभिन्न दस्तावेजहरुमा गरिएका छन् ।
चौधौं शताब्दी देखि १८९६ सम्म लुम्बिनीमा कुनै पनि गतिविधि भएनन् । यहाँ कुनै तीर्थयात्रीहरु पनि आएनन् । अझ प्रष्टसंग भन्दा चौधौं शताब्दीदेखि १९ औं शताब्दीसम्म लुम्बिनी हरायो ।
जसका कारण शाक्यमुनि बुद्ध र लुम्बिनीको सम्बन्ध विस्मृत हुनपुग्यो । यो पवित्र बौद्ध तीर्थस्थल करिव ५ सय वर्षसम्म लुप्त हुनपुग्यो । यसबाट बौद्ध समुदायलाई ठूलो हानी भएको दावी पनि गरिन्छ ।
कुनैबेला अन्तरराष्ट्रिय तीर्थयात्रीहरुको भीड लाग्ने लुम्बिनी चौधौं शताब्दी पछि एकाएक कसरी हरायो ? यसको ठ्याक्कै जवाफ आजसम्म कसैले दिन सकेका छैनन् । तर यसको अध्ययन अनुसन्धानमा संलग्न विभिन्न ब्यक्तिहरुले आ–आफ्ना धारणा भने राखेका छन् ।
लुम्बिनीमा ठूलो बाढी आयो
पुरातत्वविद् तथा लुम्बिनीका अध्येता बसन्त विडारी १४ औं शताब्दीतिर लुम्बिनीमा ठूलो बाढी आएका कारण लुम्बिनी हराएको हुन सक्ने अड्कल काट्छन् । चुरे क्षेत्रमा मुसलधारे बर्षा हुंदा कञ्चन र तेलार नदीमा पटक–पटक बाढी आएका घटनाहरु छन् ।
घना जंगलको वीचमा रहेको लुम्बिनीमा ठूलो बाढी आएपछि यस क्षेत्रको बस्ती बगाएको र बुद्धजन्मस्थल बालुवाले पुरेको हुन सक्ने अनुमान गरिन्छ ।
यस क्षेत्रको उत्खननका बेला पुरातात्विक सामग्रीहरु बालुवाले छोपिएको अवस्थामा फेला पर्नुले यो दावीलाई पुष्टि गर्न मद्यत गर्छ ।
पुरातत्वविद् बिडारी चौधौं शताब्दीमा रिपु मल्ल लुम्बिनी आएपनि सातौं शताब्दी अघि देखि नै लुम्बिनी उपेक्षित हुन थालेको अनुमान गर्छन् ।
लुम्बिनीमा भुईचालो आयो कि ?
तेह्रौं,चौधौं र पन्ध्रौं शताब्दीमा नेपालमा ठूला–ठूला भूकम्पहरु गएका थिए । विक्रम सम्वत् १२१८ को असार महिनामा नेपालमा महाभुकम्प गएको थियो । ७.७ रेक्टर स्केलको उक्त भूकम्पका कारण तत्कालिन राजा अभय मल्लको समेत निधन भएको बताइन्छ ।
उक्त भूकम्पका कारण काठमाण्डौंवासीले एक महिनासम्म शहर छाडेका थिए । त्यस्तै विक्रम सम्बत १३१६ मा पनि अर्को ठूलो भूकम्प गयो । त्यो भूकम्पको प्रभाव काठमाण्डौ सहित र पश्चिम नेपालमा समेत परेको थियो भनिन्छ ।
यतिवेला मुलुकमा महामारी र अनिकाल समेत परेको इतिहासमा लेखिएको छ । त्यस्तै विक्रम सम्बत् १४६५ मा आएको भूकम्पले काठमाडौंमा रातो मच्छिन्द्रनाथको मन्दिरलगायत दर्जनौं मन्दिर ढले ।
जमिनमा ठूला–ठूला धांजा फाटे,पानीका मुहानसमेत सुके र नयां स्थानमा सुकेका थिए । यतिवेला पनि हजारौंं मानिस र पशु चौपायाको मृत्यु भएको थियो ।
तीनै ठूला भुकम्पका कारण लुम्बिनीमा भएका संरचनाहरु भत्किएको र जमिनमुनि धसिएको हुन सक्ने अनुमान समेत गरिएका छन् । तर उक्त भुकम्पले लुम्बिनी सहित पश्चिम क्षेत्रमा के कति क्षति गरेको थियो भन्ने कुरा कहिं पनि प्रष्ट लेखिएको छैन ।
हिन्दू अतिवादीको आक्रमणमा पर्यो कि !
सातौं शताब्दीतिर लुम्बिनी क्षेत्र सम्राट हर्षबद्र्धनको अधिनमा थियो । हर्षबद्र्धनले बौद्ध धर्मप्रति निकै सदासयता देखाएका थिए ।
उनले सकेसम्म बौद्ध धर्मको प्रचारका साथै यसको संरक्षण संबद्र्धनका कामहरु गरे । तर उनको मृत्युपछि बौद्ध धर्मको संरक्षणमा तदारुकता देखाउने राजाहरु जन्मिएनन् ।
सातौं र आठौं शताब्दीका बीचमा कुमारिल भट्ट जस्ता बौद्ध विरोधी कट्टर हिन्दूवादीहरुको प्रभाव देखिन थालेको थियो ।
हिन्दू धर्मलाई जिवन्तता दिन बौद्ध धर्मको विनाश गर्नुपर्ने मान्यता उनको थियो । लुम्बिनी सहित कपिलवस्तु क्षेत्रमा उनले आक्रमण गरेका हुनसक्छन् भन्ने अनुमान छ ।
त्यस्तै नबौं शताब्दीमा बैदिक धर्मका प्रकाण्ड विद्धान मानिने शंकराचार्यहरुको बौद्ध विरोधी अभियानका कारण लुम्बिनी अतिक्रमणको चपेटामा परेको हुन सक्छ भनिन्छ ।
उनले भारत र नेपालका अधिकांश ठाउंमा हिन्दू धर्म स्थापित गर्ने काममा ठूलो सफलता प्राप्त गरेका थिए । कुमाउ–गढवाल क्षेत्रमा बौद्ध धर्मको प्रभावलाई लगभग निर्मूल पार्न उनी सफल भएका थिए ।
कपिवलस्तु क्षेत्रका बौद्ध संरचनाहरुमा शिवलिङ्ग स्थापित गर्ने काम उनकै पालामा भएको मानिन्छ । उनले तत्कालिन नेपाल उपत्यका(काठमाण्डौं) पुगेर बौद्धमार्गीहरुलाई जवर्जस्त हिन्दू बनाउने, भिक्षु भिक्षुणीहरुलाई जवर्जस्ती विवाह गर्न लगाउने, डर धम्की देखाउने काम गरे भन्नेहरु पनि छन् ।
कतिपयले यो कुरामा सत्यता नरहेको दावी पनि गर्छन । तर बौद्ध समुदायले शंकराचार्यका कारण ठूलो क्षति ब्यहोर्न परेको कुरा विर्सिन सकेका छैनन् । सम्भवतः लुम्बिनी र कपिलवस्तु क्षेत्रमा पनि उनले उपस्थिती जनाए र बौद्ध तीर्थ स्थलहरुमा हिन्दू पुजारीहरु राखेर कब्जा जमाएका हुन् भन्ने मान्यता छ । कालान्तरमा लुम्बिनीमा देखिएका कतिपय हिन्दू गतिविधिहरुले यो पवित्र स्थल हिन्दूधर्मको कब्जामा परेको कुरा त पुष्टि पनि गर्छन् ।
मायादेवीलाई बनदेवी मानेर पूजा गरिनु, हिन्दू पुजारीहरु भेटिनु, शिबलिङ्गसहितका संरचना भेटिनु र एक समय मायादेवी मन्दिरमा वली दिने प्रथा समेत रहेका तथ्यहरुलुम्बिनी हिन्दूहरुको कब्जामा परेका प्रमाणहरु हुन् ।
कतिपय विद्धानहरुले शंकराचार्य आफै लुम्बिनी नआएपनि सवैतिर हिन्दूधर्मको पुनस्र्थापना गरेर बौद्ध जगतलाई अल्पमतमा पारेका कारण बुद्धिष्टहरु आफै यो क्षेत्र छाडेर भाग्न बाध्य भएको हुन सक्ने अड्कल पनि काटेका छन् ।
केहीले त लुम्बिनीको अस्तित्व र पहिचान माथि संकट सिर्जना गर्न लुम्बिनी शब्दको अपभ्रंश समेत गरिएको बताउंछन् । लुम्बिनीलाई रुमिनदेई वा बनदेवी भनेर पुजा गरिनु पनि यसैको उदाहरण भएको दावी उनीहरुको छ ।
लुम्बिनीमा मुसलमानहरुको उपस्थिति
आठौं शताब्दीको मध्यसम्ममा आइपुग्दा मध्य एसियाका राज्यहरु अरबी सैन्य शक्तिसंग प्रतिरोध गर्न असमर्थ भइसकेका थिए । जसका कारण अरबी साम्राज्यको अधीनता स्वीकार गर्न बाध्य भए ।
अरवी सैन्यको दमनका कारण ती क्षेत्रका बौद्धहरु मुस्लिम बन्न बाध्य पारिएको इतिहास पढ्न पाइन्छ ।
सन् १००८ मा महमुद गजनवीका तुर्क सैनिकहरुले भारतीय सैनिकलाई पिछा गर्दै हिमालय नजिकैको तराइ क्षेत्रसम्म आएका थिए । सन् १०१८ मा उत्तरापथको कन्नोजमा आक्रमण गरि उनले त्यहांका बौद्ध संरचनाहरुको ठूलो बिनास गरे ।
अर्का सेनापति इख्तियारुद्दिन मुहमद बीन वख्तियार खालजीले राज्य विस्तारका सिलसिलामा विहार र बंगाल क्षेत्रमा आफ्नो पकड जमाउन थालेका थिए । उनी कुतुबुद्धिन ऐबकका प्रभावशाली सैनिक अफिसर थिए ।
उनले गंगानदी आसपास,पश्चिमी विहारको सिमानामा रहेको वौद्ध प्रान्तीय क्षेत्रमा भारी लुटपाट तथा आक्रमण गरे ।
यसै अवधिमा नालान्द बौद्ध विश्वविद्यालयको विनास गरेर हजारौं वौद्ध भिक्षुहरुको हत्या गरेको समेत इतिहास पढ्न पाइन्छ । त्यतिवेलै उनले नेपालको कपिवलस्तु र लुम्बिनीमा समेत विनास गरेको अनुमान विद्धानहरुले गर्ने गरेका छन् ।
सोही समय थुपै्र बौद्ध भिक्षुहरु नेपाल छाडेर तिब्बतमा शरण लिन पुगेको वताइन्छ । पन्ध्रौं शताब्दीसम्म मुसलमानी प्रभाव कपिलवस्तु र लुम्बिनीको दक्षिणतिर कायम थियो । दिल्लीका सुल्तान सिकन्दर लोदीले विहार र उत्तरी राज्यका केही भागमा कब्जा जमाएका थिए ।
तनहुं र पाल्पाका सानासाना राजाहरुलाई पनि प्रभावित पारिरहेका थिए । यसै समय उनले कपिलवस्तु र लुम्बिनी क्षेत्रमा पनि प्रभाव जमाए र बांकी रहेका संचरनामा क्षति पुर्याएको विश्वास गरिन्छ ।
यी वाहेक थुप्रै मुगल शासकहरुकोे चपेटामा लुम्बिनी पर्यो र इतिहासको गर्भमा हरायो भन्नेहरु पनि छन् ।
सातौ शताब्दी अघि नै ओझेलमा थियो लुम्बिनी
चौथो शताब्दीमा चिनीयाँ यात्री सेङ् साई र पांचौ शताब्दीमा फाहियानले कपिलवस्तु र लुम्बिनी भ्रमण गर्दा जे जस्ता संरचना र चहलपहल देखे सातौं शताब्दीमा आएका हुएनसाङले देखेनन् ।
ईस्वी संबत् ६३६ मा उनले शुद्धोधनको राजधानी कपिलवस्तु उजाड भइसकेको देखेका थिए । दरवारका भौतिक संचरनाहरु ढलेका थिए । नगरमा जनसंख्या एकदमै पातलो थियो । दरवार शुन्य थियो ।
कपिलवस्तुपछि लुम्बिनी पुगेका उनले लुम्बिनीलाई नाजुक अवस्थामा भेट्याए । उनको यात्रा बर्णनलाई आधार मान्दा लुम्बिनी र कपिलवस्तुमा मात्र नभइ भारतका अधिकांश वौद्ध स्तुपा, स्तम्भ र विहारहरु भग्न अवस्थामा पुगिसकेका थिए ।
हुएनसाङ्को आगमन पछि १४ औं शताब्दीसम्म लुम्बिनीका विषयमा कसैका यात्रा वृतान्तहरु वा लिखतहरु पाईदैनन् । तथापि दशौं,एघारौं र तेह्रौं शताब्दीका केही पुरातात्विक संरचनाहरु भेटिएकाले चौधौं शताब्दीसम्म लुम्बिनी पुरै हराइसकेको थिएन भन्न सकिन्छ ।
रिपु मल्लको आगमनले त्यतिवेलासम्म लुम्बिनी विस्मृत भइसकेको थिएन भन्ने कुराको पुष्टि गर्छ ।
तर सातौं शताब्दी देखि नै यसको महत्वलाई विभिन्न क्षेत्रबाट उपेक्षा गरिएको भने पक्कै हो । त्यसरी सातौं शताब्दी पछि विस्तारै उपेक्षित बनेको लुम्बिनी चौधौं शताब्दीदेखि पूर्ण रुपमा हराएर १९औं शताब्दीको अन्त्यमा एकाएक फेला परेको थियो ।
सन्दर्भ सामग्री
लुम्बिनी विकास कोषले उपलब्ध गराएका लिखतहरु,
बसन्त विडारीको लुम्बिनीको मौन आब्हान
बसन्त महर्जनको लुम्बिनी ऐतिहासिक तथा पुरातात्विक अध्ययन
डा. गौतम वीर बज्राचार्यको लुम्बिनी, हिद बुधे जाते शाक्यमुनिति