उठान
जन्मेकाको मृत्यु अवश्यम्भावी छ तापनि कोही जन्मँदा हामी खुसी हुन्छौँ भने कसैको मृत्यु हुँदा हामी दुःखी हुन्छौँ ।
जीवन रहँदासम्म मात्र होइन जीवनको अन्त्य भएपछि पनि संस्कार गर्नुपर्ने निर्देशन हाम्रा वैदिक शास्त्र र सनातन परम्पराले दिएका छन् ।
हाम्रा सोह्र संस्कारहरूमध्ये अन्तिम संस्कार मानिने मृत्यु संस्कारलाई अन्त्य संस्कार र अन्त्येष्टि संस्कारका रूपमा पनि बुझ्ने गरिन्छ । अन्य संस्कारका जस्तै मृत्यु संस्कारका पनि केही मर्यादाहरू छन् तर पाश्चात्य संस्कृतिको दुष्प्रभाव र बढ्दो आधुनिक प्रवृत्तिका कारण ती मर्यादाहरूमा केही विचलन पनि आउन थालेको छ ।
श्रद्धापूर्वकभन्दा लोकको लाज ढाक्नका लागि मृत्यु संस्कारमा संलग्न हुनेहरूको सङ्ख्या घट्तै जानुपर्नेमा बढ्दै गएको छ भने तेह्रदिने मृत्यु संस्कारलाई छोट्याएर पाँच दिन वा तीन दिनमा सक्नुपर्छ भन्नेहरू पनि दिनप्रतिदिन हाम्रो समाजमा सलबलाइरहेका छन् । त्यसैले मृत्यु संस्कारसम्बन्धी आधारभूत जानकारी हासिल गर्नबाट हामीहरू कत्ति पनि विमुख हुनु हुँदैन ।
गोबरले किन लिप्ने र कुश किन बिछ्याउने ?
परिवारका कुनै सदस्यको मृत्यु हुने अन्तिम अवस्था आइसकेपछि तुलसीको मठनजिकै गोबरले लिप्ने, कुश र कालो तिल छर्ने, त्यसमाथि मरणासन्न अवस्थामा पुगेका व्यक्तिलाई राख्ने, तुलसीको पातसहित गङ्गाजल बिस्तारै मुखमा राखिदिने, यथासम्भव अन्तिम कालमा गर्ने दान गरिदिने, दियो जलाइराख्ने र उपस्थित सबैले भगवान्को नामसङ्कीर्तन गरेर मृत्युको मुखमा पुग्न लागेका व्यक्तिलाई भगवान्को नाम सुनाउने गरिन्छ ।
हाम्रो शरीरमा नाकका दुई प्वाल, दुई आँखा, दुई कान, मलद्वार, लिङ्ग र मुख गरी नौ द्वारहरू रहेका हुन्छन् भने हाम्रा टाउकामा दशौँ द्वारका रूपमा एउटा गुप्तद्वारा रहेको हुन्छ । यीमध्ये सबैभन्दा माथिल्ला द्वारबाट प्राणहरू निस्कनुलाई उत्तरोत्तर राम्रो मानिन्छ ।
मरणासन्न व्यक्तिलाई तुलसीको मठमा उत्तानो पारेर सुताइएको हुन्छ र त्यस्ता व्यक्तिको मलद्वारले पृथ्वीलाई स्पर्श गरेको हुन्छ ।
पृथ्वीको विद्युत् शक्तिले आफूतिर आकर्षण गरेर मलद्वारबाट प्राणहरू ननिस्कियून् भन्नका लागि गाईको गोबरले लिप्ने र कुश बिछ्याउने गरिएको हो ।
त्यसका साथै मरणासन्न वा मृतक व्यक्तिमा विद्यमान सङ्क्रामक कीटाणुहरूको अन्यत्र सङ्क्रमण नहोस् र सँगै रहेका कुनै पनि व्यक्ति सङ्क्रमण नहोऊन् भनेर गोबरले लिप्ने र कुश बिछ्याउने प्रचलन रहेको हो ।
जतिसुकै धनी र जतिसुकै गरिब भए पनि अन्तिम समयमा कुशजस्तो घाँसको बिछ्यौनामा सुतेर बिदाइ हुँदा सबै मान्छे अन्ततः एउटै वर्गका हौँ भन्ने शिक्षा दिन दिनका लागि पनि मरणासन्न वा मृतक व्यक्ति सुत्ने ठाउँमा कुश राख्ने गरिएको हो ।
मरणासन्न व्यक्तिलाई किन भुइँमा नै सुताउने ?
गरिब परिवारका सदस्यको मात्र होइन अत्यन्त धनी परिवारका सदस्यको पनि मृत्युको घडी आउन थालेपछि खाट वा पलङमा सुत्न नदिईकन हामीले भुइँमा सुताउने गरेका छौँ ।
खाट वा पलङमा सुताउँदा भन्दा भुइँमा सुताउँदा मरणासन्न व्यक्तिको मेरुदण्ड बढ्ता सोझो हुन्छ । मेरुदण्ड जति सोझो हुन सक्यो त्यस्ता व्यक्तिले अन्तिम प्राण जाने बेलामा बढ्ता दुःखको अनुभूति गर्नुपर्दैन ।
त्यसका साथै पृथ्वीमाताकै सन्तान ठानेर विलीन हुन लागेका बेलामा उनकै अन्तिम न्यानो काख प्राप्त हुन सकोस् भनेर पनि भुइँमा सुताउने गरिएको हो ।
मरणासन्न अवस्थामा उत्तर शिर किन गर्ने ?
हामीले जीवनभर उत्तर दिशातर्फ शिर फर्काएर सुत्न हुँदैन भन्ने सुनेका छौँ भने मृत्युपश्चात् उत्तर दिशातर्पm शिर र दक्षिण दिशातर्फ खुट्टा राखेर सुत्नुपर्छ भन्ने पनि सुन्दै आएका छौँ ।
मृत्युपछि मात्र होइन मरणासन्न अवस्थामा पुगेका व्यक्तिलाई पनि उत्तर दिशातर्फ शिर बनाएर नै सुताउनुपर्छ किनभने शरीरमा विद्यमान विद्युत् प्रवाह दक्षिण दिशाबाट उत्तर दिशातर्फ प्रवाहित हुने भएकाले मलद्वार आदि अधोभागबाट नभई शिरोभागबाट प्राणहरू निस्किन सकून् भन्ने शास्त्रनिर्दिष्ट अपेक्षा राखिएको हुन्छ ।
दायाँ कोल्टो फर्काएर सुताउँदा नाकको बायाँ प्वालबाट श्वासप्रश्वासको प्रवाह बढ्ता हुने र बायाँ कोल्टो फर्काएर सुताउँदा नाकको दायाँ प्वालबाट श्वासप्रश्वासको प्रवाह बढ्ता हुने भएकाले नाकका दुवै प्वालबाट सुगमतापूर्वक श्वासप्रश्वासको प्रवाह हुन सकोस् भनेर मरणासन्न व्यक्तिलाई उत्तानो पारेर सुनाउने गरिएको हो ।
उत्तानो पारेर सुताएपछि मरणासन्न व्यक्तिले आफ्नो अन्तिम अवस्था ठानेर ओंकार वा राम आदि भगवान्को नाम जप गर्न सक्छ ।
श्रीमद्भगवद्गीता (८।१३)मा अन्त्यावस्थामा ओंकारको जप गर्न निर्देश गरिएको भए तापनि ओंकार जप्ने अधिकार प्राप्त नगरेका वा अधिकार प्राप्त गरे पनि ओंकार जप्न नसक्नेले राम आदि नाम जप्ने गरेको देखिन्छ । ऊध्र्वगति प्राप्त गर्न सहज होस् भनेर मरणासन्न व्यक्तिका नजिकमा बत्तीहरू पनि बाल्नु उपयुक्त मानिन्छ ।
मृत्यु संस्कार कति प्रकारले गरिन्छ ?
अथर्ववेद (१८.२.३४)मा मुख्यतया मृत्यु संस्कार जलाउने, जलसमाधि, स्थलसमाधि र निर्जन वनमा छाडिदिने गरी चार प्रकारले गरिने कुरा उल्लेख गरिएको छ ।
दाँत नै नउम्रिएका बालबालिकालाई, कुष्ठ आदि रोग भएकालाई र वैखानस सम्प्रदायमा दीक्षित भएका सन्न्यासीलाई पृथ्वीमा गाड्ने गरिन्छ, जसलाई स्थलसमाधि भनिन्छ ।
केही सन्न्यासीलाई र सङ्क्रामक रोग भएकालाई जलमा प्रवाहित गरिन्छ, जसलाई जलसमाधि भनिन्छ । परमहंस आदि वर्णाश्रमातीत महात्माहरूको पार्थिव शरीरलाई निर्जन वनमा विसर्जन गरिन्छ भने सर्वसाधारण व्यक्तिको पार्थिव शरीरलाई अग्निमा जलाएर भस्म गरिन्छ ।
यीमध्ये वनमा विसर्जन गर्ने प्रथाबाहेकका अन्य तीन प्रकारहरू हालसम्म पनि सनातन वैदिक धर्मका अनुयायीहरूमा कायमै रहेको देखिन्छ । हाल प्रचलित तीन प्रकारहरूमध्ये “भस्मान्तं शरीरम्” भनेर यजुर्वेद (४०।१५)ले बढ्ता जोड दिएको जलाउने प्रथालाई नै अधिकांश वैदिक सनातन पद्धतिका अनुयायीले अनुसरण गर्दै आएका छन् ।
घरदेखि घाटसम्म किन पिण्ड दिने ?
मरणासन्न व्यक्तिको प्राण गइसकेपछि आफ्नो परम्पराअनुसार मृतकलाई सुसज्जित गरिन्छ । त्यसपछि घरदेखि घाटसम्म मुख्यतः पाँच पिण्ड दिने गरिन्छ ।
भूमिदेवताको सन्तुष्टिका लागि मरेका ठाउँमा शव नामक पहिलो पिण्ड दिइन्छ भने वास्तुदेवताको सन्तुष्टिका लागि मृतकका घरको ढोकामा वा गेटमा पान्थ नामक दोस्रो पिण्ड दिइन्छ ।
त्यसपछि शवलाई घरबाट घाटतर्पm लगिन्छ र घाटतर्फ लाँदै गर्दा चौबाटामा भूतहरूको सन्तुष्टिका लागि खेचर नामक तेस्रो पिण्ड दिइन्छ भने विश्राम स्थलमा दशै दिशाहरूको सन्तुष्टिका लागि भूत नामक चौथो पिण्ड दिइन्छ । त्यस्तै पितृको सन्तुष्टिका लागि चितामा साधक नामको पाँचौँ पिण्ड दिने गरिन्छ ।
चितामा मृतकको शिर कुन दिशातिर फर्काएर राख्ने ? भन्ने विषयमा मलाम गएका विद्वान् गुरुहरूकै बीचमा समेत मतभेद हुने गरेको देखिन्छ ।
सामवेदको कुनै शाखाविशेषको अध्ययन गर्ने व्यक्तिको मरण भएमा त्यस्ता व्यक्तिलाई दक्षिण दिशातर्पm शिर फर्काउने कुरा शास्त्रमा उल्लेख भएको पाइए पनि अन्य सबै वेद र तिनका शाखाका अनुयायीहरूलाई उत्तरतर्पm नै शिर गरेर चितामा राख्नुपर्छ ।
चितामा राखिसकेपछि धेरैजसोले शवलाई निर्वस्त्र बनाउने गर्छन् परन्तु “नग्नदेहं दहेन्नैव” (प्रचेता) अर्थात् नाङ्गै पारेर शव जलाउन नहुने भएका कारण गुप्ताङ्गको कपडा हटाउनु हुँदैन ।
दशगात्रविधि अर्थात् दश दिनसम्मको क्रियाकर्म अविच्छिन्न रूपमा जसले गर्ने हो त्यही व्यक्तिले दागबत्ती दिनुपर्छ । दागबत्ती दिने व्यक्तिले सातपटक चिताको परिक्रमा गरी मुखमा बत्ती राखिदिनुपर्छ । शव आधा जलिसकेपछि कपालक्रिया गरिन्छ ।
बाँसको टुप्पामा घिउ चोबेर शवको शिरमा जोरसँग हिर्काएर शिर फोर्ने प्रक्रियालाई कपालक्रिया भनिन्छ ।
अरू बेलामा रुँदा मृतकको आत्मालाई कष्ट हुन्छ भने कपालक्रिया गर्ने क्रममा मृतकका सन्तति र आफन्तीहरू जति उच्च स्वरले रुन्छन् मृतकलाई त्यति नै बढ्ता सन्तुष्टि मिल्छ (गरुडपुराण सारोद्धार १०।५६) । शव दाह सकिएपछि मृतकको सन्तुष्टिका लागि अस्थिसञ्चयन गर्दा प्रेत नामक छैटौँ पिण्ड दिइन्छ । त्यसपछि सबै मलामीले सचैल स्नान गर्नुपर्छ ।
सचैल स्नान किन गर्ने ?
मृतकलाई लिएर मलाम वा सागर गएका सबै व्यक्तिले आफूले लगाएका सम्पूर्ण लुगासँगै स्नान गर्नुपर्ने शास्त्रीय विधान छ र यस किसिमको स्नानलाई सचैल स्नान भनिन्छ ।
मनुस्मृति (५।१०३)मा मलाम गएका सबै व्यक्तिले लगाएका सम्पूर्ण वस्त्रसहित स्नान गरेर, अग्निको स्पर्श गरेर अनि घिउ खाएर शुद्ध हुन्छन् भन्ने कुरा उल्लेख गरिएको छ तर आजकल मलाम जानेहरूमध्ये प्रायः सबैजसो व्यक्तिहरू सचैल स्नान त के स्नान मात्र पनि गर्न अग्रसर भएको देखिँदैन ।
सबै मलामीहरू शव पूर्णतः भस्म भएपछि किरियापुत्रीहरूलाई घरमा भित्र्याएपछि मात्र आआफ्ना घरमा जानुपर्ने हो तर वर्तमानमा मलाम गएर शव जलाउन थाल्दाबित्तिकै घर फर्किने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको छ ।
जसका कारण सागरमै अग्निको स्पर्श र घृतप्राशन गर्ने कुरालाई धेरैजसो मलामीले ख्याल गर्नै छाडिसकेका छन् ।
मृतक व्यक्तिमा कुनै सङ्क्रामक रोग रहेछ भने त्यसको सङ्क्रमण मलामीलाई नहोस् र अपवित्र लुगा लाएरै घरायसी एवम् सामाजिक काममा प्रवृत्त हुन नपरोस् भनेर सचैल स्नान गर्न शास्त्रले निर्देशन दिएको हो ।
मलामीले अग्निस्पर्श गर्नाले समस्त सङ्क्रामक रोगका कीटाणुहरू नष्ट हुन्छन् । कहीँ कहीँ सबै मलामीले निमको पात पनि खाने चलन छ । यसो गर्नाले मलामीमा सङ्क्रामक कीटाणुहरू सर्ने सम्भावना कम हुन्छ ।
दशगात्रविधि किन गर्ने ?
कुनै व्यक्तिको मृत्यु भएका दिनदेखि लगातार दश दिनसम्म गरिने क्रियाकर्म वा प्रेतकर्मको विधिलाई दशगात्रविधि भनिन्छ ।
क्रियापुत्रीले प्रत्येक दिन सङ्कल्पपूर्वक सचैल स्नान गर्ने, स्नान गरेपछि एउटा ढुङ्गामा प्रत्येक दिन एक एक अँजुली बढाउँदै जलाञ्जलि दिने, प्रत्येक दिन भिन्न भिन्न नरकबाट प्रेतलाई तार्नका लागि प्रत्येक अङ्गको पूर्ति हुन सकोस् भन्ने कामनाले पिण्डदान दिने, प्रेतको तिर्खा शान्त गर्न प्रत्येक दिन घडामा जल राखिदिने, काकबली दिएर दिउसो केरा आदिका पातमा भोजन गर्ने, क्रियापुत्री सुत्ने ठाउँमा सप्तधान्यमाथि राखेर तेलको अखण्ड बत्ती बाल्ने तथा प्रत्येक दिन साँझ दुई त्रिकाठीमध्ये एउटामा जल र अर्कामा घिउका बत्ती बाल्ने गर्नुपर्छ ।
दशौँ दिन क्रियापुत्री बसेको कोराकोठाको बन्धन (काँचो धागो) फुकाएर फाल्ने र दश दिनसम्म प्रयोग गरिएका सबै वस्तु फ्याँक्नुपर्छ ।
पहिलो दिनदेखि दशौँ दिनसम्म रौरव, जातिपुष्कर, हाहाकार, तामिस्र, अन्धतामिस्र, जातिसंस्रव, अमेध्यकृमि, पुरीषभक्ष, स्वमांसभक्ष र कुम्भीपाक नरकबाट उद्धार गर्नका लागि क्रमशः शिर मात्र, कान, आँखा र नाक, घाँटी र हात, नाभि, लिङ्ग र मलद्वार, साँप्रा, फिला र पाउ, सबै मर्मस्थल, सबै नाडी, दाँत र रौँ, वीर्य वा रज तथा बाँकी सबै अङ्गहरूको पूर्ति हुन सकोस् भन्ने उद्देश्यले प्रत्येक दिन एक एक ओटा पिण्ड दिने गरिएको हो ।
दशगात्रविधिकै प्रसङ्गमा छैटौँ दिन मृतकका निम्ति मनुष्यलोकबाट छाडेर प्रेतलोकको यात्रा सुगम होस् भन्ने अभिप्रायले पाथेय नामक श्राद्ध गरिन्छ ।
दश दिनसम्म मृतकको नाम र गोत्रको उच्चारण विनामन्त्रले गरिन्छ भने एघारौँ दिनका दिन मन्त्रपूर्वक प्रेतलाई पिण्डदान दिइन्छ । एघारौँ दिनका दिन प्रेतशय्या वा मृतशय्या दान गरिन्छ ।
यसै गरी सपिण्डीकरण, मध्यमषोडशी र उत्तमषोडशी गरी मृतकलाई प्रेतबाट पितृपङ्क्तिमा मिलान गरिन्छ तापनि वर्ष दिनसम्म मृतक प्रेत बनेर नै आफ्ना छोराबुहारी, श्रीमती वा श्रीमान्का आचरणहरूको निरीक्षण गरिरहने र विभिन्न रङका लुगाहरू लगाउनाले प्रेत तर्सिने भएका कारण सेतो वस्त्र लगाएर वर्ष दिनसम्म आशौच बार्ने गरिएको हो ।
बैठान
अन्त्यमा गरिने इष्टि अर्थात् यज्ञ भएका कारण मृत्यु संस्कारलाई अन्त्येष्टि भनिएको हो । अन्येष्टि संस्कार नगरीकन मृतकको आत्माले शान्ति पाउँदैन र उसको आत्मा भड्किरहन्छ भन्ने जनविश्वास कायम रहनुलाई रूढिवादी होइन शास्त्रीय विश्वास नै मान्नुपर्छ ।
मृत्यु संस्कारमा गरिने क्रियाका माध्यमले मृतकले नवीन शरीर धारण गर्दछ र असद्गतिबाट मृत्यु भएको भए पनि सद्गति प्राप्त गर्दछ भनेर मृत्यु संस्कारका क्रियाकलापहरू गर्ने गरिएको हो ।
मृत्युभन्दा अघिका सबै संस्कारहरू ऐहलौकिक वा यही लोकमा बाँच्दासम्मका लागि हुन् भने मृत्यु संस्कार पारलौकिक जीवनसँग सम्बन्धित मानिन्छ ।
जसले परलोकको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गर्छन् त्यस्ता नास्तिक व्यक्तिले आपूmले मृत्यु संस्कार नै नगर्नु, नगर्न दबाव दिइरहनु र पाँच वा तीन दिनमा छोट्याउनुपर्छ भन्नु अस्वाभाविक मानिँदैन तर जसले परलोकको अस्तित्व स्वीकार्छन् त्यस्ता आस्तिक व्यक्तिले वैदिक सनातन पद्धति वा शास्त्रीय परम्पराका आधारमा पारलौकिक जीवन सुखमय हुन सकोस् भनेर मृतकका परिवारले निष्ठापूर्वक तेह्र दिनसम्म मृत्यु संस्कारका क्रियाहरू गर्नुपर्छ ।