जोर सल्लाको कहानी निकै लामो छ । सल्लाका हाँगा जस्तै अनेकौं तितामिठा कथाहरु सोही जोरसल्लाका मुढाका फल्याकबाट तयार पारिएको उरिमसंग जोडिएका छन् । साउनभदौमा आफ्नै बारीमा पाकेको र बालीघरेप्रथाबाट उठेको मकैले भरिन्थ्यो सो उरिम । तर पुसमाघ नसकिँदै तम्घासका मगर्नीहरु आउँथे र बोराकाबोरा भकारी रित्तै बनाएर लगेर जान्थे भन्ने अनिकाले मर्मभेदी कहानी कहन मलाई अझै केही समय लाग्ला ।
अलि ठूलोभएपछि तम्घासको पाण्डे होटलको खाँटी घ्युबाट बन्ने गजाखान कसरी मआफै एकाध पाथी मकै जेठीआँको घरमा पु¥याउँथे भन्ने चोरसाधुको भेद खोल्नेकुरोले झन् लामो समय लेला । दशैमा दलिन रंग्याएर बचेको अलकत्रबाट भित्तामा कोरेको नमस्कारवाला चित्रको कथा त भने तर सो घरलाई कसरी माने नेवारको कोपभाजनबाट बचाएँ भन्ने कहानीको पोको खोल्न पनि बाँकी छ ।
आज पनि जहिल्यै म घर जान्छु, उरिम खोज्छु । देख्दिन । भएपो देख्नु । आफू सुतेको पिडीमा हमेशा रहने खाट खोज्छु । र खोज्छु खोपा, दलिनहरुमा घुसारेर राखेका नियालोका कप्टेरोहरु । जसमा लैनो भैसीलाई चोख्याउँदा बेगुतीलाई बौंतामा पोको पारेर च्यापेर राखिने गरिन्थ्यो । आजको कुरो अर्कै छ, त्यो हो कागजको कहानी, जो आज मेरोलागि खाने बस्ने लाउने ओढ्ने ओछ्याउने मनचिन्ते झोलाजस्तै बनेको । साहित्यकार तथा वरिष्ठ सामाजिक अभियान्ता दिल साहनी भन्नु हुन्छ—“भाषा मेरोलागि सबथोक भएको छ । अंग्रेजी भाषा पढेँ, अंग्रजी भाषै पढाएँ । आज नोटरी मार्फत नेपालीलाई अंग्रेजीमा र अंग्रेजीलाई नेपालीमा उल्था गर्ने गर्दछु । यसैबाट रोजीरोटी चलेको छ ।” हुनपनि भाषाले उहाँलाई सबथोक दियो ।
अंग्रेजीले दालभात दियो । नेपाली भाषाले प्रतिष्ठा दियो । सेवा निबृत्त पछि पुनः अंग्रेजी भाषाले हातमुख जोर्ने मेसो जुराइदिएको छ । कागज, कागज र कागज, लाग्दछ यही कागजमा जीवन जाने भयो । आदरणीय दिल साहनी भाषासंग लडिबुडी गरेजस्तै म पनि बिहान उज्यालो भएपछि राती नसुतेसम्म कागजसंग लडिबुडी गर्दछु । स्कुले जीवनका शुरुवातमा म त्यति लगनशील विद्यार्थी होइन । दुई पास गरेर तीन पुगेपछि स्कूल जान मनलागेन ।
“जान्न पढ्न अब गाईबाख्रा चराउनिम्” मनमा दिव्यता फुर्यो र एकवर्ष गोठालो भएँ । अर्को वर्ष मनले मानेन । बाआमाले पनि कर गरे । फेरि भर्ना गरिदिए कक्षा तीनमा । एकवर्ष छुट्यो । गणेशदाइहरु अगाडि भए । यो एकवर्षको अन्तरालले जीवनको धार नै अर्के भइदियो । एकवर्षे गोठाले जीवन त्यागेर कक्षामा पस्दा “मे आइ कमिङ्ग सर” भन्नु पर्ने नित्यनियम बिर्सिनाले दिवंगत गुरु भेषबहादुर कुवँरको हातबाट पाएको रामधुलाइ बारे कुनै समय लेख्नेछु बिस्तारमा । आज भने कागजकै कुरो गरौं ।
कागज मेरो लागि “बनै पिढालु घरै पिडालु” भनेजस्तै भएको छ आज । च्यानलगेटबाट भित्र पस्नासाथ रासकागज संग पहिलो जम्का भेट हुन्छ । सटरको पहिलो कोठामा पस्नासाथ फोटोकपी लगायत यावत कागजका प्रकारहरुसंग भेट हुन्छ । त्यसपछिका कोठा त झन् कागजको घर नै भए । त्यहाँ कर्मचारी भाइभतिजाहरु, छोरीनानीहरु कागजसंग लडिबुडी गरिरहेका हुन्छन् । दैनिक घर आइपुग्ने पत्रिका झ्वाट्ट बिक्री गर्न मनले मान्दैन । दुईचार महिनामै थाक लाग्छ ।
राष्ट्रिय देखि स्थानीय पत्रिकाहरुको थुप्रो जम्मा हुन्छ बरण्डाभरि । दुईचार सय किताव संगालेको छु । तिनीहरु पनि कागज नै भए । सुत्नेकोठाको हाल त्यस्तै बेहाल छ । कथाका, कविताका, उपन्यासका किताबहरु छन् । केही पढेका, केही पढ्दै गरेका, केही मन परेका र केही मनराख्न मात्रकै लागि किनेका समेत छन् । ती सबै पनि कागज नै भए । उरिममा पनि थुप्रै किताव जम्मा गरेको थिएँ मैले तम्घास हाइस्कूलमा पढ्दा । सुनौला अक्षरमा शीर्षक कोरिएका उत्तर कोरियाली नेता किम इल सुङका थानकाथान “जुचे विचारधारा” वाला नेपाली भाषामा उल्था गरिएका कितावहरु पचासौँ थिए मसंग ।
उपन्यास थिए, नेपाली, हिन्दी अनेकौ । कौतुकमय डोल्पो त्यतिनै बेला किनेको हुँ मैले । खुव रमाईलो लागेको थियो त्यो किताब पढ्दा । ती सबका सब कितावहरु कसरी गायव भएभन्ने कुराको कहानीको पाटो अर्कै छ, समय आउँदा त्यसलाई पनि कहिने छ । यद्यपि योपनि कागजको नै कुरो हो । किताव संगको संगत त्यसै कहाँ जुरेको हो र ? किताब संग संगत जुर्नुभन्दा पहिले किताब रुचाउने मान्छेहरुसंग संगत जु¥यो । ती मान्छेहरुको पछि लाग्दालाग्दै किताब पढ्ने बानी बस्यो । बुढाघरका बुढाबालाई किताब मन पथ्र्यो ।
उहाँले आफ्नो नाती गणेश विश्वकर्माका साथ मलाई पनि डो¥याउँदै लगेर स्कुलको दैलो टेकाउँदै भन्नुभयो — “केटाओ अब देखि घन, सनासो समाउने होइन, किताब समाओ ।” हामी दुईभाइले त्यो कुरोलाई मान्यौ । आज त काम गर्ने मान्छेलाई मात्र होइन कामलाई समेत हेला गरिन्छ भने सो बेलाको चेतनाको स्तरझनै कस्तो थियो होला । कामलाई हेला गरिन्थ्यो । घन, मार्तुल, सनासो, खलाती समाउने कामलाई सानो मानिन्थ्यो । त्यही भएर त बुढाबाले हामीलाई किताबमात्र समाउने उर्दी जारी गर्नुभयो । हामीले पनि त्यसै ग¥यौ र बाउबाजेले गर्दै आएको कामलाई कहिल्यै फर्केर हेरेनौं । उदिनढुङ्गानको रेसुङ्गा प्राथमिक स्कुल सकेपछि पुनः महेन्द्र हाइस्कुलमा सरुवा भइयो ।
सो बेलादेखि किरण पुस्तकालयसंग नाता जु¥यो । नाता यसरी जु¥यो कि मित्र प्रकाश नेपाल जो सोबेलामा कृष्ण विश्वकर्माको नामले चिनिने गर्दथे उनीसंग सहपाठी बन्ने सुजोक मिल्यो । एकै गामठामका भएर पनि होला, उनको र गोकर्ण मरासिनीको गहिरो दोस्ती रहेछ । गोकर्ण मरासिनीको किरण पुस्तकालयसंग नजिकको नाता थियो । प्रकाशजी गोकर्णजीको पछि लागेर किरण पुस्तकालय जानथाले पनि म पछि पछि लाग्न थाले । यही पिछलग्गु बानीले म पुनः कागजको संगतमा परेँ । कार्ल माक्र्सले ठिकै भनेजस्तो लाग्दछ— बस्तुले चेतनाको निर्धारण गर्दछ । यो बस्तुसंग भौतिकी जोडिएको छ ।
भौतिक भनेको ठोस बस्तु हो, जसलाई देख्न, स्पर्ष र महशुस गर्न सकिन्छ । त्यही भौतिकीले मलाई यस्तो मोहनी लगायोकी आज संझदा पनि हाँसो उठेर आउँछ । धागिथुमका शशि पन्थीले आफुसुत्ने कोठामा पुस्तकालय बनाएका छन् रे भन्ने गाइगुइँ कुरो हामी नाथेकेटाहरुको कानमा पनि प¥यो । पुस्तकालयमा किताबहरु थुपारिन्छ रे भन्ने कुरो किताबकै पानाबाट थाहा भएको थियो । तर प्रत्यक्ष देखिएको थिएन । साथीहरु कोको थियौं संझनामा छैन । तर पनि शशि पन्थीको पुस्तकालय हेर्नजाने कार्यक्रम तय भयो । हुनसक्छ हामी तीन थियौ गोकर्ण, प्रकाश र म । यसमा मोहन बंजाडेको साथ थियो भनेर भन्न सक्दिन म । किनकि उनी अर्घाखाँचीबाट अलि ढिलो पढ्न आएका थिए, महेन्द्र हाइस्कुलमा । जे होस्, शशि पन्थीको पुस्तकालय हेर्नजाने समय तालिका बन्यो र स्कुल छुट्टी भएपछि लागियो आदरणीय गुरु शशि पन्थीको घर धागीथुम तिर । गोठमा थियो पुस्तकालय । अथवा यो मेरो विस्मृतिको कमजोरी पनि हुन सक्छ । जहाँभए पनि किताबका राश देख्न पाइयो ।
धेरै कुरा सोँचिएन सायद । किनकि हाम्रो उमेर चिन्तनको चौतारीमा पुगिसकेको थिएन । किताब हेरियो, किताबको स्पर्ष गरियो र धन्य भइयो । बरण्डा सहितको चिटिक्कको घर, आगनको एककुनामा तुलसीको मठ, मठमा हुर्किएका तुलसीका बोट । हाम्रो घर र शशि गुरुको घरमा निकै अन्तर थियो । सामानको रखरखाब, संकलित बस्तुहरुको प्रकारमा भिन्नता जस्ता यावत कुराहरुले सांस्कृतिक भिन्नता स्पष्ट देख्न सकिन्थ्यो । यी विश्लेषण र आँकलन आजका हुन् मेरा ।
सोबेला हाम्रो आफ्नो अवस्थालाई जन्मको खेल मान्थ्यौं हामी । किनकि हाम्रो परिवेश, चिन्तन, रहनसहन नै सोही प्रकारको थियो । तम्घासका पन्थी खलक निकै पढालेखा छन् भन्ने खुब बयान चलेको थियो सो बेला । यसैपनि शशि पन्थी र उहाँका दाजुभाइमध्येका दीन पन्थीको विशेष नाम थियो । धेरै पढालेखाको पहिचान के हो ? वा धेरै पढ्नुको मापडण्ड कसरी निर्धारण गर्ने ? कुरो सिधा र सपाट थियो— मास्टरी गर्ने, सरकारी जागिर खाने, घरमा थुप्रै किताब जम्मा गर्ने, आगनको छेउँछाउँ र करेसा, गल्लीभरि कागजका टुक्राहरु छितर्ने र ती छरिएका कागजपत्रलाई नउठाउने ।
सो बेलाको मेरो चेतना स्तरले यही निर्धारण ग¥यो । गुरु शशि पन्थीको पुस्तकालय र आगनको कुनाकानी, घरको करेसा, पुस्तकालय रहेको गोठको चारैतिर छरिएका कागजले ममा बुद्धत्व प्राप्त भयो—“पढालेखा देखिन किताब जम्मा गरेर मात्र हुँदैन । कागजका टुक्राटाक्रीहरु पनि घरआगनमा छितोर्नु पर्दछ ।” यो बुद्धत्व, दिव्यतालाई मेरो जीवनमा लागु गर्न म कत्ति समय खेर फालिन ।
अर्कोदिन कहिल्यै आगन सफा नगर्ने म नाथेले कुचो समाएर बढारबुढुर पारेँ । करेसो सफा गरे । पातपतिङ्गर उठाएँ र आफुसंग रहेका पुराना कापी, काम नलाग्ने किसिमका किताबलाई धुजाधुजा पारेर आगन देखि करोससम्म छर्किएँ र सबैतिर सेताम्मे पारेँ । जीवनमा बास्तविक पढालेखा हुन सकिएन । यही विसाद, कुण्ठाले जीवन अधमरो भएको छ । यद्यपि जसरी बचपनमा पढालेखा देखिन कापी किताबलाई धुजापारेर आगनमा छर्किएकोथिएँ, आज मलाई कागज छर्किन किताब च्यात्नु पर्दैन । किनकि हप्ता दशदिनमा एकाध बोरा त कत्रन नै बिक्री हुन्छ । जसले सारा टोललाई नै सेताम्मे बनाउन सकिन्छ ।