“मैले जस्तो खान सक्छु; अरुलाई पनि त्यस्तै ख्वाउँछु” नेपाली चलचित्र पशुपति प्रसादमा देखिने एउटा दृश्यको अंशमा मःमः बेच्ने ठेलामा लेखिएको वाक्य हो यो । यसको सन्देश मार्मिक छ । आफूलाई हानी गर्ने कुराले अरुलाई पनि हानी गर्छ, आफू जोगिएर अरुलाई मार्नु, खाडलमा हाल्नु पाप हो भन्ने भाव प्रकट भएको छ माथिको वाक्यमा ।
एकै देशमा पनि दुई थरिको शिक्षा बाँडिएको छ । हुने खानेहरूले र हुँदा खानेहरूले लिने शिक्षामा विल्कुल फरक छ । एउटै समुदायका एउटै उमेरसमूहका विद्यार्थीहरूले हासिल गर्ने शिक्षा उनीहरूको आर्थिक अवस्थामा निर्भर रहेको छ ।
निजी विद्यालयहरूले निरन्तर उत्कृष्ट नतिजा दिंदै भ्यागुते उफ्राइ गरिरहेको अवस्थामा अधिकांश सामुदायिक विद्यालयहरू घस्रिदै गरेको भान हुन्छ । सर्वाहारा वर्गको नेतृत्व गरेकाले समेत शिक्षामा लगानी गरी व्यापार गरिरहेका छन् ।
सुटेटबुटेड भएर निजी विद्यालयमा कारमा जानेहरूले सामुदायिक विद्यालयमा पढ्नेहरूलाई तुच्छ देखाई आफू धनवान् भएको रवाफ देखाएका छन् । राज्य सञ्चालकहरू पनि यस्तैको चंगुलमा फसेर निरिह बन्दै गएको छ ।
अंग्रेजी भाषा जान्नुलाई ज्ञानवान् भएको ठानी हिंजोआज सामुदायिक विद्यालयहरूले समेत निजी विद्यालयको सिको गर्दै क्रमशः अङ्ग्रेजी माध्यममा कक्षाहरू सञ्चालन गर्दैछन् । हो यहींनिर फेरि पनि दोहोरिएको छ हाम्रा सामुदायिक विद्यालयहरूको महागल्ती ।
मैले प्रसंगवस केही तीतो अनुभव सुनाउन चाहें – म सामुदायिक विद्यालयबाटै शिशुकक्षा हुँदै १२ कक्षा उत्तीर्ण गरेको हुँ । जब म २०६२ सालतिर एस्.एल्.सी. दिने समयमा थिएँ, हामीसँगै निजी विद्यालयबाट एस्.एल्.सी. दिने विद्यार्थीलाई आठमा आठ पूरै विषयमा अनुत्तीर्ण भएको भन्दै सेण्ड अफ परीक्षामा रोकियो र एस्.एल्.सी. दिन नपाउने बनाइएछ ।
पछि उनका अभिभावकले अनुनयविनय गरेपछि उनलाई उत्तीर्ण भएको बनाई एस्.एल्.सी. परीक्षामा सामेल हुन दिइयो । केही समयपछि नतिजा आउँदा उनी त प्रथम श्रेणीमा पो पास भएछन् ।
त्यतिबेला अचम्म लाग्यो खास कुरा बुझिएन । त्यस्तै संयोगवस एक दिन मैले काम गर्ने स्थानमा एक जना सरकारी विद्यालयका शिक्षकसँग भेट भयो । उहाँले पेशा शब्दलाई अङ्ग्रेजीमा के भन्छन् भन्ने पनि नजान्नुहुँदो रैछ तर उहाँ भने एस्.एल्.सी.का उत्तरपुस्तिका जाँच्न आउनुभएको रे ।
अझ बुझ्दै जाँदा उहाँलाई बोर्डिङ्ग स्कूलको कापी जाँच्न परेछ । सोंच्नुहोस् उहाँले कसरी नम्बर दिनुभएहोला ? यहींबाट प्रथम श्रेणीमा पास भएका साथीको वास्तविकता अलिअलि बुझ्न सकियो ।
अझै पनि नेपालमा अङ्ग्रेजी माध्ययमको लेखाइमा गुदो कुरामा होइन, परिमाणका आधारमा कति लाइन लेखेको छ भनेर गन्दै औसत अङ्क प्रदान गर्ने चलन छ नै ।
नेपालीमा लेखिएको उत्तरलाई भन्दा अङ्ग्रेजीमा लेखिएको सोही कुरालाई सामान्यतया बढी अङ्क दिइएको र नतिजा त्यतैतर्फ ढल्कनुले आमअभिभावकको मन अङ्ग्रेजीमा कल्पेको सत्य हो ।
आजभोलि भने वैदेशिक रोगजारीमा अङ्ग्रेजी भाषाको आवश्यकताले अभिभावकहरूले विद्यालयलाई अङ्ग्रेजी माध्यमका लागि थप दबाव दिएको यथार्थ हो ।
हाम्रा कुनै पनि सामुदायिक विद्यालयका प्राथमिक तहमा अङ्ग्रेजी माध्ययमा अध्यापन गराउने कुनै पनि दुई जना शिक्षकहरूलाई अङ्ग्रेजीमा कुरा गराउन सकिएला ? के उनीहरूले राम्रैसँग अङ्ग्रेजी बोल्न सक्लान् ?
सदरमुकामकै नाम चलेका विद्यालयका शिक्षकहरूसँगको मेरो अनुभवले त्यस्तो सम्भव देखेको छैन ।
यसरी जबरजस्ती लादिएको अङ्ग्रेजीबाट हाम्रा छोराछोरीले के ज्ञान पाउलान् ? विज्ञानका सिद्धान्त कण्ठ गरे जसरी गणितका हिसाब घोकेका हाम्रा विद्यार्थीहरूले के नतिजा दिन सक्लान् ? मातृभाषालाई घाँटी थिचेर रट्टा मारेको विद्यार्थीले भोलि समाजलाई हाँक्न सक्ला ?
“राम्रोसँग पढे घुम्ने कुर्चीमा बसेर खालास, नत्र त हलो जोतेर बस्लास्” भन्दै हाम्रा शिक्षकहरूले हामीलाई कामचोर, घुस्याहा बन्न प्रेरित गरे ।
हलो जोतेर खानु लाज हो भन्ने सिकाएकै कारण कैयौं युवाशक्ति वैदेशिक रोजगारमा होमिए । वैदेशिक रोजगारमा अङ्ग्रेजी जान्नुपर्ने बाध्यता छोराछोरीमा लादे र जबरजस्ती विद्यालयमा अङ्ग्रेजी माध्ययम चलाउनुपर्ने बनाए ।
अभिभावकको जबरजस्तीले लादेको अङ्ग्रेजीमा आफूलाई नै विश्वास नगरेका शिक्षकले आफ्ना बालबच्चालाई भने कम्तिमा पाँच कक्षासम्म यो या त्यो बहानावाजी गरेर निजी बोर्डिङ्ग स्कूलमा पढाएकै छन् ।
पूर्वउल्लिखित चलचित्रको त्यो भनाइमा जस्तै यहाँ शिक्षकहरूले नैतिकता गुमाएका छन् । उनीहरूले आफ्ना छोराछोरी निजीमा हालेर सर्वसाधारणका छोराछोरीको भविष्यमाथि खेलवाड गरेका छन् । शिक्षकहरूले “म मेरा छोराछोरीलाई त्यहीं विद्यालयमा पढाउँछु; जहाँ मैले तपाईंका छोराछोरीलाई पढाउँछु” भन्न सकेको खै ?
समय बिग्रिसकेको छैन । हामीले वास्तविकता बुझ्ने र बुझाउने कोशिस गर्नुपर्छ । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्न कामको इज्जत गर्न विद्यालयबाटै सिकाउनुपर्छ । अङ्ग्रेजी ज्ञान–विज्ञान होइन, यो भाषा हो भन्ने बुझ्नु जरुरी छ ।
स्वयम् शिक्षक अनभिज्ञ रहेको भाषाबाट विद्यार्थीलाई ज्ञानआर्जन गर्न असम्भव हुन्छ । जबरजस्ती लादिएको अङ्ग्रेजी भाषालाई निरुत्साहित गरी मातृभाषाबाटै ज्ञान दिन सक्यौं भने हाम्रा सन्ततिसँगै सिंगो देशको मुहार अवश्य फेरिनेछ ।
-रेसुङ्गा–८, तम्घास, खानीगाउँ, गुल्मी