नेपाल धेरै पहिले देखि नै हिन्दू राष्ट्र रहँदै आएको मानिए तापनि यहाँको रैथाने हिन्दू धर्ममा वर्णवादी सिद्धान्तले ठाँउ पाएको छैन । वर्णवादी सिद्धान्त थोरै मानिसले समर्थन गरेको आयातित अवधारण हो । वर्ण व्यवस्थाले कुनै किसिमको मान्यता पाएको खालि १३५ वर्ष भयो ।
यसलाई अल्पसंख्यक समुहले मात्र मानेको भएतापनि त्यस अल्पसंख्यक समुहले अत्यन्त ठूलो महत्व राख्दछ । नेपाल र बाहिरी विश्वबीचको सम्बन्धको मध्यस्थता त्यसै समूहले गर्दछ । बाहिरी संसारसम्मको नेपालको पहुँच र बाहिरी प्रभाव बारे नेपालको प्रतिक्रिया यसै समुहका सदस्यहरुद्धारा निर्धारित हुन्छ । उनीहरुको व्यक्तिगत प्रतिक्रियाले सम्पूर्ण राष्ट्रको प्रतिक्रियालाई सीमित पारिदिन्छ । एउटा समुहको रुपमा उनीहरु चतुर, महत्वकांक्षी र उच्च उपलब्धि हासिल गर्नमा सफल छन् । तर, त्यसका साथै उनीहरुमा प्रतिबद्धता, राष्ट्रिय गौरव र आत्मविश्वास पनि हुँदो हो त सामाजिक तथा तकनिकी परिवर्तनप्रति उनीहरुबाट छिटो र कुशल संयोजनको अपेक्षा गर्न सकिन्थ्यो ।
तर, महत्वको स्थान ओगट्ने एउटा समूहका रुपमा उनीहरुमा यी गुणहरु पाइँदैनन् । बरु उल्टै उनीहरु भाग्यवादी सोचाई, कमजोर आत्मविश्वास, तहगत जात व्यवस्था र सदैव आत्मरक्षातर्फ उन्मुख रहने प्रवृत्तिका शिकार भएका छन् । यी सबै चारित्रिक गुणहरुको एकमुष्ठ प्रभाव अकर्मण्यता र रुढिवादी विचारको माध्यमबाट राष्ट्रिय विकासलाई अवरुद्ध गर्नु रहेको छ । (खनाल, १९८६)
यस अध्यायमा जनसंख्याको यो हिस्सा आफ्नो धारणा र दृष्टिकोणमा कति अलग्गिएको छ र सामाजिक सन्दर्भमा उनीहरुको स्थान वास्तवमा कस्तो छ चन्ने कुराको चर्चा गरिएको छ ।
नेपालमा धर्म मानव जीवनको बुहुतै महत्वपूर्ण पक्ष रहँदै आएको छ । धर्म भन्नाले कर्तव्य, सदाचार, नैतिकता, नियम, गुण र पवित्र कार्यहरु पनि बुझिन्छ । त्यसैले नेपालीले धर्मबारे कुरा गर्दा उनीहरु त्यसलाई निकै फराकिलो अर्थमा बुझ्ने गर्दछन् जो पश्चिमी समाजमा ‘रिलिजन’ भन्ने शब्दको बुझाईभन्दा बेग्लै छ । हिन्दू धर्म नेपालको राज्य धर्म हो । हिन्दू धर्म भन्नाले सिन्धु नदीको पूर्वपट्टि दक्षिण एसियामा प्रचलित धेरै–धेरै धार्मीक प्रचलनहरुलाई बुझाउँछ । नेपालमा हिन्दू धर्म अन्तर्गत गोपालवंशी र किराँत परम्पराका झाँक्रीपथसाथै भारतबाट भित्राइएको ब्राह्मणवाद समेत पर्दछन् ।
तसर्थ तथ्याङक विभागले ९० प्रतिशत नेपालीहरु हिन्दू छन् भनी देखाउँदा मानिसहरु बहुसंख्यक नेपाली कट्टरवादी हिन्दू छन् भनेर बुझदैनन् । नेपालीहरुमा कहिल्यै धार्मीक कट्रता थिएन् न त उनीहरु कट्टर हुन नै सक्छन् । कसैले अरु धर्म मान्छु भनेर नभने सम्म राज्यले उनीहरुलाई स्वतः हिन्दू मान्य गर्दछ ।
बौैद्ध धर्म सधै नेपालको दोस्रो धर्म रहिआएको छ । हुन त हिन्दू धर्मको उदार व्याख्या अन्तर्गत बौद्ध धर्मलाई हिन्दू धर्मकै एउटा मत वा शाखा मान्ने गरिएको छ । उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तिब्बती पृष्ठभूमिका बासिन्दाहरु महायान बौद्ध धर्मको एउटा स्वरुपलाई मान्दछन्, जसलाई बोलिचालिमा लामापन्थ पनि भन्ने गरिन्छ । बौद्ध धर्मको महायान शाखा अन्र्तगतको वज्रयान मत मान्ने दोस्रो ठूलो समुहमा काठमाडौँका नेवारहरु एक समुहमा पर्दछ । काठमाडौँ उपत्यकामा प्राचीन समयदेखि अहिले सम्म यो धर्म मानिदै आएको छ ।
सन् १९९० को संविधानमा नेपालको राजा हिन्दू हुनुपर्ने प्रावधान छ । तर यस संविधाले नेपाललाई अरु धर्म मान्नबाट रोक्दैन । यद्यपि, औपचारिक रुपमा एउटा धर्मबाट अर्को धर्म परिवर्तन गर्न र गराउन कानुननले निषेध गरेको छ । यस्तो प्रतिबन्ध लगाउने कारण धर्म प्रचारकलाई उपनिवेशवादको विस्तारसित जोडेर हेर्ने परम्परा रहिआएकाले हो ।
साधारणतया नेपालमा धर्मबारे संश्लेषणात्मक प्रवृत्ति पाइए तापनि नेपालको धार्मीक इतिहास सधैँ शान्तिपूर्ण रहेको छैन् । यद्यपि शाान्तिपुर्ण रहेको छ भनेर बताउने गरेको पाईन्छ । प्राचीन तथा मध्ययुगको प्रारम्भिक इतिहास ब्राह्मण विद्धानद्धारा लेखिएको छ र तिनको स्वार्थले नेपाली ईतिहासको सुस्पष्ट र वस्तुगत लेखनमा बाधा पुर्याएको छ ।
उनीहरुको ईतिहास लेखन गङ्गा मैदानको हिन्दू विश्व दृष्टिकोणबाट प्रभावित छ । उनीहरुको विश्व दृष्टिकोण पुराण परम्पराको घेराभन्दा बाहिरका ऐतिहासिक तत्वहरुलाई संवेदनशील भएर हेर्न असमर्थ छ । त्यस दृष्टिकोणले भाग्यवादी जात प्रथा नेपाली समाजमा धेरै पछि प्रवेश गरेको र नेपाली संस्कृति भित्र यसको अवस्था सापेक्षित रुपमा अमिल्दो रहेको तथ्यलाई देख्न सक्तैन । लिच्छविकालभरि नै नेपालका विभिन्न जातजाति समुह परिवर्तनका महत्वपूर्ण प्रक्रियाबाट गुज्रिरहेको थिए र गङ्गा मैदानको हिन्दू संस्कृतिसँगको सम्पर्कबाट मात्र त्यो भईरहेको थिएन भन्ने कुराले पनि त्यस दुष्टिकोणमा ठाँउ पाउँदैन । वास्तवमा नेपालका जनजाति समुहको तिब्बतसँग पनि उत्तिकै बलियो साँस्कृतिक र आर्थिक सम्बन्ध रहिआएको थियो ।
गङ्गा मैदानको हिन्दू धर्म र नेपालमा रहेका अरु धार्मीक परम्पराबीचको द्धन्द्धबारेका प्रशङ्गहरु धमिलो धमिलो पारिएका छन् । पाशुपत –शैव किँरातलाई लिच्छविहरुले धपाएको, बौद्ध धर्मावलम्बीहरुलाई शैव र वैष्णव हिन्दूले दबाएको, तहगत जात प्रथाविरुद्ध घण्टाकर्णको विद«ोह यस्ता केहि उदाहरण हुन् । जसको अभिलेख राम्ररी गरिएको छैन । पशुपतिनाथ मन्दिरमा दक्षिण भारतको शैव पुरोहितको नियुत्ति र पछिल्ला लिच्छवी राजाहरुले विष्णुको पुजा गर्न अस्वीकार गरेका प्रसङ्गले (हुन त उनीहरु आफैं विष्णुका अवतार हुन भन्ने मान्यता थियो) धार्मीक तथा सामाजिक अशान्तिलाई जनाउँछ । (आचार्य १९७९ः २४)
बुङ्मतिमा सन् ६०४ मा अंशुवर्माद्धारा जारी गरिएको एउटा ईस्तिहारमा विभिन्न धार्मीक समुहबिचको विवादको मध्यस्थता राजाले गर्ने कुरा उल्लेख छ । (वज्रचार्य, १९७३) यसबाट त्यसबेला धार्मीक द्धन्द्ध हुने गरेको मात्र होईन ती द्धन्द्ध राजा स्वयंले व्यक्तिगत रुपमा ध्यान दिनुपर्ने प्रकृतिका हुन्थे भन्ने कुरा बुझिन्छ ।
विदेशी धार्मीक प्रणाली र विचारप्रति सुरुमा कसरी प्रतिरोध भएको थियो भन्ने कुरा कर्णली व्याँसीको खस क्षेत्रमा प्रचलित किस्साहरुबाट थाहा हुन्छ । उदाहणका लागि हुम्ला कर्णालीको तल्लो भागमा पुग्ने पहिलो आप्रवासी बाहुका एकजना सन्तानले शक्तिशाली स्थानीय देवता गुरा मस्टाका झाँक्रीसँग परेको आफ्ना पुर्खाको मुटभेडको वर्णन यसरी गरेका थिए:
–उनका पुर्खासँगको बहसपछि गरामस्टा चिढिए र बाहुनद्धारा हराईएकोमा वा तल पारिएकोमा चिन्तित भए । त्यसैले गुरामस्टाले आफ्ना ती प्रतिद्धन्द्धी बाहुन र उनका पुरुष सन्तान एकैसाथ सुन्दरता र सुन्दर स्वरको धनी नहोस भनी श्राप दिए । सुन्दर शरीर र रङ रुप हुनेको स्वर खराब हुनेभयो र सुन्दर स्वर हुनेको शरीर कुरुप हुनेभयो । त्यसपछि मात्र त्यस बाहुन आप्रवासीलाई त्यस क्षेत्रमा बस्न र साथै बाहुनको कर्मकाण्ड अपनाउने जजमान पनि राख्न पाउने अनुमति दिइयो । नवागन्तुक बाहुनद्धारा सुरु गरिएको हिन्दू धर्म र स्थानीय तवरमा पहिलेबाटै प्रचलित झाँक्रीपन्थीबीच कुनै न कुनै रुपमा आपसी सहयोग विकसित हुन थाल्यो, किनभने दुवैलाई आफ्नो धर्ममा अर्को पक्षको धर्म पनि सम्मिलित छ भन्ने विश्वास भयो । जातको तह मान्ने हिन्दू धर्म र झाँक्रीप्रन्थ दुवै धर्म परिवर्तन गरिरहनुपर्ने आवश्यकता थिएन् । न त दुवैको कर्मकाण्डीय अभ्यासमा हुने तलमाथिले नै उनीहरुमा कुनै फरक पार्यो । मानिसले एक पटक आफनो जातको ईश्वरीय उत्पत्तिमा विश्वास गर्न थालेपछि सबै कुरा ठिक भइहाल्छ भन्नेमा हिन्दू बाहुनहरुलाई ढुक्क थियो । फेरि झाँक्रीहरुको प्रेतआत्मा पुज्ने र जिउमा प्रेतआत्मा चढाउने चलन हिन्दू धर्मको अभ्यास विपरीत पनि थिएन । आखिर देवी शक्तिलाई खुसी पार्न रगतको बलि दिने चलन दुवै धर्मको अभ्याससित मिल्दोजुल्दो थियो । आफुले जजमान भेट्टाई उनीहरुबाट दक्षिणा पाएर गुजारा चलुन्जेल बाहुन पुरेतलाई पनि कुनै कर्मकाण्ड गर्न आपत्ति थिएन त्यसरी नै हिन्दू पुरेतहरुले आफ्ना जजमानलाई पुरै खोसेर नलगेको समाजमा आफ्नो उच्च स्थानलाई पनि स्वीकारेको र उनीहरुको छुट्टै कर्मकाण्ड कायम राखेकाले झाँक्रीहरुलाई पनि हिन्दू पुरेतहरुप्रति कुनै आपत्रि भएन । (बेरम्यान, १९६४)
पितृ पुजा गर्ने स्थानीय चलनप्रति बाहुनवाद हिन्दू धर्मको विरोध थिएन । यी दुवै धर्मको कर्मकाण्डीय अभ्यासबीच खासै भिन्नता देख्न सकिदैँनथ्यो । नयाँ हिन्दू पुरेतहरु प्रेतआत्मालाई प्राचीन वैदिक मन्त्रोच्चारणद्धारा आह्वान गर्थे भने झाँक्रीहरुका त्यस कामका लागि एउटा पुरानो भाषा प्रयोग गर्थे जुन जनसाधारणका लागि उत्तिकै दुरुह र रहस्यमय थियो । त्यसैले बाहुन वा धामीले गर्ने कर्मकाण्डमा खासै भिन्नता थिएन । यसका साथै धेरै महत्वकांक्षी खस धामीले बाहुनको जात अपनाएको र त्यसका साथै आफ्नो धामीकर्म कायम राखेको पनि देखिएको छ । त्यस क्षेत्रमा प्रचलित धार्मीक पद्धतिबारे अध्ययन गर्ने मानवशास्त्रीहरुले त्यहाँका धामीहरुको जातीय पृष्ठभूमिलाई छुट्याउने काम गरेका छन्, जसअनुसार धामी भई काम गर्नेमा बाहुन, क्षेत्री, खस र अछुत सबै जातजातिका मानिस पाएका छन् । (ग्यावोरिउ, १९७६)
साधारणतया यस नयाँ प्रणालीले आफ्नो धर्म र चलनलाई विरोध नगरेसम्म मानिसहरुले त्यसप्रति सहिष्णुता नै देखाए । स्थानीय र ठालु उच्च वर्गका मानिसलाई यस धर्मको सामाजिक रुपलाई अङ्गिकार गर्नमा कनै आपत्ति थिएन । किनभने यसबाट उनीहरुलाई तहगत संचनाको माथिल्लो स्थानमा साथै शक्ति तथा अधिकार मिलेको थियो । अनि उनीहरुले यसअघि उपभोग गरिरहेका सुख सुविधा पनि त्याग्नुपरेको थिएन । खस समाजलाई तहतहमा विभाजित गर्ने र त्यसमा भाग्यवादी धर्म प्रवेश गराउने प्रक्रियाको सुरुवात थियो त्यो ।
हिन्दू पुराणहरु रमाईला उपदेश थिए किनभने ति पुराणहरु नेपालभन्दा धेरै नै समुन्नत प्रतिष्ठित र शक्तिशाली गङ्गाको समतल भूमिबाट नेपालमा भित्रिएका थिए र पुराणले इज्जत तथा हैसियत बढाएको तथा आधुनिक बनाएको ठानिन्थ्यो । तर उच्च वर्ग बाहेकका साधारण मानिसहरु भने आफु धेरै तल्लो तहको सामाजिक र धार्मीक स्थानमा राख्ने यस्तो धर्मलाई मान्न तयार थिएनन् । आफ्ना देवतागणमा केहि नयाँ देवीदेउता थाप्नमा भने उनीहरुलाई आपत्ति थिएन । उनीहरुले नयाँ साथै आफ्ना साविकका देवीदेउतालाई पनि मान्न मिलेको थियो । खस समाज र यसको चालचलनलाई नजिकबाट अध्ययन गरेका प्रयागराज शर्माले खसहरुले ब्रामणवादी मुल्य अपनाउन थालेपनि उनीहरुले पुज्ने गरेका अनेकौँ देवीदेवताका नाम हिन्दू पुराणका नामहरुसित नमिल्ने अनौठो खालका थिए भनेका छन् ।(शर्मा, १९७१ः४५–६)
कालान्तरमा देशभरीका धेरै मानिसले सुरुदेखि माजिआएका आदि देवता शिव वा पशुपतिनाथ साथसाथै विष्णु र अन्य देवतालाई मान्न थाले र हिन्दू कहलिन लागे । नेपाली समाजमा जुन धार्मीक समन्वय रहेको भनिन्छ त्यो वास्तवमा काठमाडौँ उपत्यकामा सीमित थियो, त्यो पनि विषेश गरी नेवारहरुमा अन्यत्र रहेका जनजाति समुहहरु पुरै झाँक्रीपन्थमा डुबेका पाईन्छन् त्यसमा कहिँ कतै अरु धर्मले किञ्चत् प्रवेश पाएका छन् माथि उल्लेख गरिएझैँ उच्च हिमाली क्षेत्रका तिब्बती भाषा बोल्ने मानिसहरुले चांहीँ बौद्ध धर्मलाई झाँक्रीपन्थको अभ्याससित मिसाएका छन् । (होमवर्ग ,१९८९)
काठमाडौँ उपत्यकाका मानिसहरुलाई भने नयाँ र बाहिरबाट आएको धार्मीक कर्मकाण्डका मनोरञ्जनात्मक तत्वलाई आफ्नो चाडपर्वमा घुमाउन कुनै अप्ठेरो परेन । तर उनीहरुले आफ्ना रैथाने धार्मीक परम्परालाई नासिन दिएनन । आयातित धर्मको प्रभावमा दबेर आफ्ना परम्परागत अवस्थालाई मिल्काउनुको सट्टा पुरानो र नयाँ धर्म तथा तिनका अभ्यासलाई एकीकृत गरे ।
झाँक्रीवाद तथा वैष्णववाद नेवारहरुको खासै रुचि नभएकाले पनि यस्ता धार्मीक सम्मिलन हुन सम्भव भएको थियो । नेवार समाजलाई नजिकबाट अध्ययन गरेका कोलिन रोसरले भनेका छन्:
यत्रो ठूलो नेवार समुदाय हिन्दू या बौद्ध के हुन् भनी छुटउन असम्भव नभएपनि एकदमै गाह्रो छ । धार्मीक संयोजन कति जटिल छ भने उनीहरुको धार्मीक अवस्था र अभ्यासका आधारमा त्यो छुट्याउनै सकिन्न । र के पनि ध्यान योग्य छ भने नेवारहरु आफैँ नै त्यस्तो भिन्नता गर्दैनन् । काठमाडौँ उपत्यकाका नेवार परिवार कुनै घरेलु संस्कारका लागि कतिपय अवस्थामा ब्राह्मण पुरोहित बोलाउँछन् र कुनै कर्मकाण्डका लागि गुभाजु चलाउँछन् अनि कहिलेकाहिँ दुवै पुरोहित एकै ठाँउमा एकै साथ भेटिन्छन् (रोसर, १९६६ः ७९)
धेरैजसो धार्मीक अभ्यास संश्लेषणबाट विकसित भएका छन् । उदाहरणका लागि हरेक साल नोभेम्बर महिनाको पूर्णिमाका दिन पशुपतिनाथलाई बुद्धका रुपमा पुजा गरिन्छ । त्यसै गरी भैरवको अवतार मानेर शिवलाई रगत बलि दिने विभिन्न अवसरमा राँगाको मासु चडाउने गरीन्छ । धेरै मानिस खासगरी तामाङ्, लामाहरु अवलोकितेश्वर (चेन रे सी) लाइ शिवको अवतार मान्छन् । (होवर्क, १९८९)
तान्त्रिक कर्मकाण्ड वैष्णवसँग मिसिएको थियो, वैष्णव शैवसँग र शैव वज्रयान बौद्धमार्गीसँग मिसिएको छ । उदाहरणको लागि पाटनको क्वा वहाः नामक बौद्ध विहारमा कृष्णको मुर्ति छ अनि पशुपतिनाथको मन्दिर भित्र विष्णु, राम र बुद्धका मुर्ति छन् । काठमाडौ उपत्यकाका धैरै मन्दिरमा धैरै देवदेवी बेग्लाबेग्लै धर्म समुदायको प्रतिनिधिका रुपमा पुजिन्छन् । यद्यपि, नेपाल बाहिर ती देवदेवीको परिचय र पृष्ठभूमि बेग्लै रहेको पाईन्छ । मच्छिन्द्रनाथलाई शैव, बौद्ध र तन्त्रमार्गि सबै नेपालीहरु उत्तिकै उत्साह र भक्तिले मान्दछन् ।
हिन्दूका भित्री देवताहरु धामीहरुको देवतागणमा एकीकृत भएका छन् । जसले गर्दा भूमिदेवताका सिप्टाथान, उँधौली–उँभौली, भूत, प्रेत, वायु, नाग, स्थानीय देवताहरु र स्थानीय मानिसका सांसारिक आवश्यकताहरुको हेरचाह गर्ने दैवी शक्तिहरु सबै एकै ठाँउमा गुजुल्टिएका छन् ।
पश्चिमका खसका आध्य देवता मानिने मस्टोलाई त्याहाँका बाहुन पुरोहितहरु वैदिक देवता इन्द«का छोरा भएको विश्वास गर्दछन् । यी देवता सीधै धामीका माध्यमबाट चल्ने र बोल्ने भएकाले पुरोहित भन्दा बढि शक्तिशाली मानिन्छन् । उदाहरणका लागि त्यस क्षेत्रका अर्को शक्तिशाली थर्पा मस्ट शरीरमा उत्रने एकजना निरक्षर धामीलाई देवताको शक्तिले गर्दा पुरै वेदको ज्ञान भएको विश्वास गरिन्थो । राम्रोसित शिक्षा नपाएको हुनाले स्थानीय बाहुन पनि यस तथ्यलाई स्वीकार्थे र उनीहरुले वैदिक मन्त्र पढ्दा हुने गल्तीलाई धामीले सच्याइदिएको मान्थे ।
जात प्रथाको ईतिहास
नेपाल धेरै पहिलेदेखि व्यापक अर्थमा हिन्दू देश रहिआएको भएतापनि नेपाली नेपाली समाजमा तहगत जात प्रथाले गहिरो जरो गाडेको छैन । यसको प्रभाव खास जातिय समुहका खास वर्गमा मात्रै सीमित रहेको छ । नेपाल हिन्दू धर्मसित सुरुको सम्बन्ध पशुपतिनाथको पुजासँग जोडिएको छ । पशुपतिनाथलाई शिवका रुपमा चिनिन्छ । नेपालमा विकसित भएको शैव धर्मको झाँक्रीवाद र प्रकृतिपूजाको पूर्व वैदिक परम्परासँग नजिकको नाता छ । पुराणसँग यसको सम्बन्ध खासै थिएन नत कुनै किसिमको जात प्रथासँग नै यसको लिनुदिनु थियो ।
जात प्रथा नेपालमा सबैभन्दा पहिले लिच्छविकालको सुरुमा वैष्णव धर्मका रुपमा प्रवेश गरेको हो । तर नेपालमा आईपुगेपछि यसले झाँक्रीवाद र शैवमत सँग मात्र होईन बौद्ध धर्मसँग पनि तादात्यम्य राख्नुपर्ने भयो । लिच्छविहरु र खासगरी गुप्तहरुले आफुलाई क्षेत्री मानेर त्यसैको रहनसहनमा ढाले र दक्षिण भारतका बाहुनहरुलाई आफ्ना निजी पुरोहित बनाए । काठमाडौँ उपत्यकामा बाहुन बासिन्दा भएको किटानका साथै उल्लेख गर्ने सबैभन्दा पुरानो शिलालेख राजा वसन्तदेवले पाँचौ शताब्लीमा अर्पण गरेका थिए जो थानकोटमा पाइएको थियो । (वज्राचार्य, १९७३ः ९१–९३ )
तर गुप्त राजाहरुले जात प्रथाका आधारमा श्रम विभाजन तथा सीपको बाँडफाँड गर्ने व्यवस्था लागु गरेको देखिदैंन । (पन्त, ‘पूणिमा’ , १.२–१.१०)
जात प्रथाका तत्वहरु प्रवेश भइसकेको देखिएपनि (जुन बाहुन, क्षेत्री नामाकरणबाटै स्पष्ट हुन्छ) जात प्रथालाई पूरापूर कहिल्यै अङ्गिकार गरिएको थिएन । त्यस बखत काठमाडौँ उपत्यकाको वास्तविक सामाजिक संगठन पहिलेजस्तै वर्गीय संरचनाका आधारमा चलिरह्यो । जनसाधारणले मान्दै आएको धर्म र उच्च वर्गको धर्मबीचको भेदभाव कायमै थियो । त्यो किन पनि भयो भने ब्राह्मण पुरोहितहरुले स्थानीय पुरोहितहरु सृजना गर्ने तर्फ रुचि देखिएनन् । उनीहरुले आफ्ना जजमान वर्ग सृजनागर्नेमा ध्यान दिए ।
बाहुन जातमा भारतबाट आएका आप्रवासी ब्राह्मण मात्रै पर्दथे र उनीहरुले आफ्नो संस्कारगत शुद्धतालाई कायमै राखेका थिए । तर उनीहरुले बनाएका नयाँ स्थानीय नेपाली जजमानहरुले आफ्नो जातको शुद्धता कति हदसम्म कायम राख्न सके त्यो चाहिँ स्पष्ट छैन् ।
छेत्री वद प्रयोग भएको देखिन्छ तापनि क्षत्रीय संस्कार पालना भएको लिखित प्रमाण भने भेटिदैंन । पुरेत माथिल्लो वर्गका खस, मगर र नेवारलाई क्षेत्री बनाउन तयार थिए । तर क्षेत्रकिो दर्जा पाउन र त्यसलाई धानिराख्न त्यहीअनुसार खर्च गर्न पनि सक्नुपथ्र्यो ।
उदाहरणका लागि, क्षेत्रीको संस्कार गरिएबापत पुरेतहरु तिरो मिनाहा हुने जग्गा दानमा माग्थे । त्यसैले क्षेत्रीको दर्जा खस र मगरको एउटा सानो सङ्ख्याले मात्रै लिए, त्यो पनि समाजमा माथिल्लो स्थानमा आफ्नो वर्चस्व कायम राख्नका लागि ।
वैश्य र शुद्रको श्रेणीमा पर्ने समुहले जात प्रथाबाट आफूलाई केही फाईदा हुने देखिन्न । सार्की, कामी, सुनार, दमाईहरु पनि अछुतको दर्जा मान्न इच्छुक थिएनन् । आज पनि काडमाडौँ उपत्यकामा धेरैजसो यी पेसागत वर्गका मानिसलाई अछूतका रुपमा व्यवहार गरिदैंन । नेपाली जनता भारतमा प्रचलित पवित्र र अपवित्रबीच भेद गर्ने जात प्रथाको सिद्धान्तको सट्टा एउटा खुल्ला सामाजिक संरचनाको पक्षमा रहेको देखिन्छ । (डुमो , १९७०)
पुरै समाजलाई जात प्रथाभित्र हडुल्ने काम निकै महत्वाकांक्षी हुनुपर्छ र जनसाधारणले जात प्रथाबाट उत्पन्न हुने अपमानजनक परिस्थितिको विरोध गर्न सक्ने अवस्था नभएको हुनुपर्छ । जात वास्तवमा समाजलाई जन्मका आधारमा पवित्रता र प्रदुषणका आधारमा क्रमिक तहमा बाँड््ने प्रथा हो । सबै प्रदुषित सामाजिक समुहलाई निच मानिन्थ्यो । आफूखुसि नीच जातिको हुन कोही चाहँदैनन् ।
व्यापारिक पनि केही हदसम्म प्रदुषित समुहभित्र पर्थे र उनीहरुले तल्लो तह स्वीकार्नुपथ्र्यो । व्यापारकै कारण समृद्धि हुन पुगेका चौँधौँ शताब्दीको काठमाडौँ समाजका लागि यो समस्यामुलक थियो । नेपालमा स्पष्ट वर्गीय असमानता रहेको हुन सक्छ । तर यहाँ चरम वर्गीय शोषण भने कहिल्यै थिएन जुन कुरा जात प्रथालाई बलियोसँग लागु गर्नका लागि आवश्यक पर्दथ्यो । नेपाली सँस्कृतिको चरित्र अत्यन्तै समतामुलक रहेको छ जो खाँट्टी जात लागू गर्नका लागि उपयुक्त अवस्था होईन । तर यस्तो जात प्रथा लागू गर्ने प्रयास हुन गयो र त्यसको परिणाम नकरात्मक रहँदै आएका छन्, खासगरी उन्नाइसौँ शताब्दीको मध्यदेखि ।
ऐतिहासिक रुपले जात प्रथाको सबै भन्दा ठूलो सफलता कुनै खास शासन पद्धतिलाई वैधानिकता प्रदान गर्ने काममा देखिन्छ । इसाको पहिलो सहस्राब्दीको अन्त्यमा बौद्ध विद्धत संस्थाहरु बिनाश गरिएपछि बाहुन पण्डितहरु विद्धताको एक मात्र वाहक बन्न पुगे । उनीहरु लेखक, इतिहासका ज्ञाता र व्याख्याता थिए र उपयुक्त दानदक्षिणा पाएमा कुनै नयाँ शासकको प्रचीन र महिमामण्डित स्थान देखाउने विवरण तयार पारिदिन्थे ।
पछिल्लो ऐतिहासिक घटनामा उनीहरुले जंगबहादुर कुँवरलाई दक्षिणी मैदानका राजपूत उत्पत्तिका वंशज भएको काल्पनिक वंशावली बनाएर उनलाई राणाको दर्जा लिन लगाए । खासमा जंगबहदुर खस थिए । खस र राजस्थान तथा गुजरातका मानिसमा केही साँस्कृतिक तथा भाषागत समानता पाईन्छन् र उनीहरु प्रागौतिहासिक कालमा कारोकोरम पर्वत शृङखला पार गरी हिमालमा आएर पन्जाब, राजस्थान तथा गुजराततिर फैलिएको विश्वास गरिन्छ (शर्मा जनकलाल, १९८२: २४३) ।
यस तथ्यले गर्दा जंगबहादुर राणाका पुर्ख्याैलीको अध्ययनबाट राणाहरु मध्ययुगमा कुँवर (राजकुमार दर्जा) लिएका खस थिए । उनीहरुको भारतीय राजपुतहरु सँग कुनै सम्बन्ध थिएन भन्ने स्पष्ट हुन्छ । (ह्वेल्पटन, १९८७)
केही पण्डितहरुमा पैदा भएको असुरक्षाको भावनाले उनीहरुले चाहेमा कुनै पनि शासक वंशका लागि उनीहरुलाई कालपनिक वंशावली लेख्न प्रवृत्त गरायो त्यसै गर्दा उनीहरु जहिले पनि शासक वर्गको मुल भारतीय भएकोेमा जोड दिने गर्थे । यो कुरा सत्य हो भने नेपालीहरु आफुमाथि आफैले शासान गर्न अयोग्य देखिन्छ । नेपाल माथि विजय गर्ने कुनै प्रयास भारतबाट भएको छैन । तर हामीलाइ मान्न बाध्य पारिएको इतिहासको व्याख्याबाट हामिले नेपालीहरुभन्दा श्रेष्ठ भएकाले यी भारतीय वंशजहरुलाई नेपालमा निम्त्याएर ल्याइएको थियो भन्न ठान्नुपर्यो ।
स्वधीनताप्रेमी लडाकुका रुपमा ख्याति कमाएका नेपालीहरुले आफूमध्यबाट कुनै नेता जन्माउन सकेनन् र भारतबाट भागेर आउने राजकुलका व्यक्तिहरुलाई पर्खेर बस्नुपर्यो । तिनले पहाडको फेदीमा पाईला टेक्नासाथ तिनको पुजा गर्न थाले भन्ने कुरा विश्वास गर्न गह्राे छ । ठकुरी–क्षेत्रीहरुलाई भारतीय उत्पत्तिको देखाउने यस्ता नश्ल–प्रमाणपत्र उनीहरुका चाटुकारहरुको आविष्कार हुन् भनी देखाउने साक्ष्यहरु छन् ।
अहिलेसम्मको आफ्नो अनुसन्धानमा मैले शासक ठकुरी परिवारलाई भारतीय उत्पत्तिको देखाउने कुनै गतिलो प्रमाण कतै फेला पार्न सकेको छैन । बरु धेरैजसो ठकुरी र क्षेत्रीको सुस्पष्ट नेपाली उत्पत्ति देखाउने केहि प्रमाण पाईएका छन् । उदाहरणका लागि, नेपालीहरुका नितान्त रैथाने उत्पत्तिका कुल र परिवारको अधिष्ठता देउताहरु हुने गर्छन् । यस्ता देउताहरुको पुजाविधि आफ्नै खालको हुन्छ र पुरोहित (खासगरी धामी) पनि स्थानीय व्यक्ति नै हुन्छन् । कुनै भारतीय परिवारले आफ्ना लागि गैर व्राह्मण कुलदेउता र अझ भन्ने हो भने गैरब्राह्मण पुजारी हुनुले उनीहरु स्थानीय उत्पत्तिका भएका सङकेत गर्छ ।
डोरबहादुर विष्ट
केही इतिहासकारले शाह ठकुरीलाई राजपुत वंशका हुन् भनेका छन् । तर उनीहरुका सबै कुलदेवीदेवता र अधिष्ठता देवदेवीको पुजाआजा र हेरविचारको सम्पूर्ण काम मगरहरु बाट मात्रै हुन्छ जो ब्राह्मण मापदण्ड बमोजिम तल्लो जातका जनजाजाति मनिन्छन् । गोरखकाली, मनकामना र लसर्घा देवी मन्दिरका पुजारी मगरहरु नै छन् ।
बाहुन पण्डितहरुले आफ्नो प्रभाव जमाउने र तहगत जात प्रथा फैलाउने एक ठूलो साधन बनेको छ । यसको एउटा ठूलो असर के रह्यो भने नेपाली इतिहास बङ्ग्याउने र नेपाली उपलब्धिलाई होच्याउँदै नेपाली संस्कृतिलाई गङ्गाको समतल भूमितर्फ मोड्ने प्रयास भयो ।
बाहुन र ठकुरी पछिको उच्च जातमा क्षेत्री पर्छ । नेपालको एकीकरणमा मुख्य भूमिका खेल्ने विभिन्न समूहका उच्च वर्गका मानिसले पछि क्षेत्रीको दर्जा लिए तर सबै क्षेत्री त्यही पृष्ठभूमिबाट आएका होइनन् । त्यस्तो पृष्ठभूमि हुने क्षेत्रीहरुको अनुपात घट्दैछ, खासगरी काठमाडौँ उपत्यकामा क्षेत्री दर्जा भएका अरु चाहीँ बाहुन बाबु र आदिवासी जातजाति आमाका सन्तान हुन् ।
बाहुनहरु नयाँनयाँ क्षेत्रमा सर्दै जादाँ यी क्षेत्री बच्चाहरुले जात समुदायमा बीजाङ्कुरको काम गरे । यस्ता बच्चाहरु स्थानीय मतुवाली बच्चाहरुभन्दा फरक हुन्छन् किनभने तिनले आफ्ना बाबुबाट शिक्षा पाउँछन् र आर्थिक तथा सामाजिक दृष्टिले पनि उनीहरु सफल रहन्थे । यी क्षेत्रीहरु बाहुन पुरोहितका जजमान भए र यिनको आर्थिक सफलता बाहुनहरुका लागि आर्थिक टेवाको आधार बन्यो ।
शिक्षा र आर्थिक क्षेत्रमा उनीहरुले ओगटेका विशेष स्थानका कारण स्थानीय समुदायमा उनीहरुको स्थान उँचो हुन पुग्यो । त्यसले गर्दा स्थानीय जनजाति समुदायमा भाग्यवादी र तहगत जात प्रथाको सिद्धान्त फैलाउन सजिलो भयो ।
धेरै जसो बाहुन पुरोहितहरु मुख्यतः भारतको मैदानी भागबाट आएका ब्राह्मणका सन्तान हुन् । केहि स–साना समुहहरु भने मध्ययुगमा भारतको दक्षिण (डेक्कन)बाट आएका थिए । तिमध्य केहि धर्म प्रचारकको उदेश्यले नेपाल क्षेत्र तिर पसेका थिए होलान् । तर धेरै जसो चाहीँ त्याहाँका राज्यहरुमा भईरहने निरन्तरको हमलाबाट जोगिन भागेर आएका थिए । खासगरी मुस्लिम शासनको धर्म अत्याचारबाट भाग्नेहरुको संख्या धेरै थियो । त्यसरी भागेर आउने मानिसहरुले आफुसँग कुनै धार्मीक उद्धेश्य बोकेर आएका थिएनन् । उनीहरको सबै भन्दा ठूलो चिन्ता भनेकै आत्मसंरक्षण थियो । त्यसले कालान्तरमा नेपालका बासिन्दा र नेपाली सु–संस्कृतिसँग उनीहरुको सम्बन्धमा गहिरो प्रभाव पर्यो ।
जात प्रथालाई जोगाइ राख्न उनीहरुले आफुलाई नेपाली प्रभावबाट बचाउनुपथ्र्यो र आफ्नो साँस्कृतिक सम्पदाको पवित्रतालाई कुनै पनि हालतमा घट्न दिनु हुँदैन थियो । आफ्नो संस्कृतिको प्रतिरक्षाप्रति उनीहरुले देखाएका कट्टरताले गर्दा नेपालीहरुको साँँस्कृतिक जीवाशैलीमा ह्रास आयो । बनारस र भारतका अरु पवित्र शहरहरु उनीहरुका लागि नगर सभ्यताका आदर्श थिए । काठमाडौँको सँस्कृतिलाई भने होच्याइयो । बनारसमा बग्ने नदीको पनी नेपालको हिमालबाट बग्ने सबै नदीका सफा र तजा पानी भन्दा बढी पवित्र मानिने परम्परा अझै कायम छ । दक्षिणमा मुस्लिम आधिपत्य बढ्दै गएकाले उनीहरुको धार्मीक कट्टरपनमा केहि चुक आवश्य आयो तर नेपाली सँस्कृति र नेपाली जनतालाई होच्याउने र बनारस जस्ता ठाँउलाई सबैभन्दा पवित्र तीर्थस्थल मानेर त्यहाँ प्रचलित जात प्रथाको भाग्यवादी संस्कृतिको अतिरञ्जत गुणगान गर्ने परम्पराले निरन्तरता पायो । नेपाली संस्कृतिलाई यही प्रवृत्ति नेपाली हिन्दू धर्मको जन्मजात वैशिष्ठ्य बनेको छ जो बाहुन पुरेतहरुद्धारा गरिएको भाग्यवादी तहगत समाजको व्याख्या हो ।
– जातका आधारमा हुने विभेदका कारण नेपालको विकासमा ‘फूलस्टप’ लागेको भन्ने मान्यता बोकेका अग्रणी मानवशास्त्री डोरबहादुर विष्टको ‘फेटालिजम एण्ड डेभलपमेण्ट’को नेपाली अनुवाद ‘भाग्यवाद र विकास’ पुस्तकबाट यो लेख साभार गरिएको हो । वरिष्ठ पत्रकार वसन्त थापा अनुदित ‘भाग्यवाद र विकास’मा जातिय विभेदको जरो खुट्याउने क्रममा विवादास्पद मानवशास्त्री विष्टले अघि सारेका विमर्शहरुलाई फेरि सतहमा ल्याउन टाइम्सले लेख साभार गरेको हो । लेखकका विचारहरुसँग टाइम्स तटस्थ छ ।