दशमीसँग विजय जोडिएर विजयादशमी बन्छ, जस्तो साना साना खुसी जोडिएर ठूलो खुसीको रुप बन्छ जसलाई हिन्दुहरुले विजयादशमी भन्ने गर्छन् । विजय भनेको जित हो, त्रेतायुगमा रामले लंकामा विजय प्राप्त गरे । धेरै पछि आएर पृथ्वीनारायण शाहको विजयी यात्रा पनि जोडियो । मलाई लाग्छ की यसको प्रारम्भ न त महिषासुरलाई मारेको कारणबाट हो, न त रावणलाई रामले, न त पृथ्वीनारायणको दिग्विजयको कारणले भएको हो । यो त पहिलेदेखि नै चलेको चलन हो। शरद ऋतुले सौन्दर्य लिएर आएको हुन्छ, फूल फक्रेका हुन्छन् ,प्रकृति सुन्दर देखिन्छ, वातावरण रमाइलो हुन्छ । छुट्टिएका साथीभाइ, आफन्तसँग भेट हुन्। अर्को साल पनि यसैगरी भेटघाट होस्, रमाइलो होस् भनेर आशीर्वाद दिने लिने गरिन्छ । यसरी दशैँ पर्वको आरम्भ भएको हुनुपर्छ ।
अब लागौँ मेरो बाल्यकालका सम्झनातर्फ । उबेलामा दशैँ पर्व असाध्यै प्रिय लाग्थ्यो । अन्य समयमा घरमा कुनै मीठो परिकार पाक्यो भने या कुनै मिठो परिकारको याद आएमा पनि दशैँ आएझैँ लाग्थ्यो । न जाडो न गर्मी मौसम, उत्तरमा कञ्चन सगरसँग अंगालो हालेका माछापुच्छ्रे र धौलागिरी हिमालको सिरेटोले हामीलाई चुम्बन गरेर लठ्ठै पाथ्र्यो, दक्षिणमा छुट्टै इतिहास बोकेका रेसुङ्गा र अर्जुनले हाम्रो गाउँलाई काखमा राखेर खुसी साट्थे ।
घटस्थापनाको दिन आउँदै गर्दा सोह्र श्राद्धको पहेलो टीका लगाएर दक्षिणा पाएका प्रायः चेलीहरुले विद्यालयको कक्षाकोठा मगमग हुनेगरी बजारबाट खरिद गरेका परिकारको बास्नाले नखाए पनि खाएजस्तो अनि नपाए पनि पाएजस्तो आभास हुन्थ्यो तर हामी छोराहरुलाई दक्षिणा दिने चलन थिएन, दिने चलन नभएको ठाउँमा पाउने चलन कसरी होस् । हामी विभेदका कुरा गर्छौँ, समान हुनुपर्छ भन्छौँ तर हाम्रो बाल्यकालमा जुनबेला हामीहरु अबोध थियौँ, त्यो बेला दिदीबहिनीले पूजाआजामा दक्षिणा पाउँदा र हामी दाजुभाइले नपाउँदा उतिबेला पनि लाग्थ्यो म ठूलो भएपछि यो विभेद तोड्नेछु ।
के कसैले नाप्न सक्छ एउटै परिवारमा बेलुन पाएकी दिदीलाई बेलुन नपाएको भाईले हेर्दै बस्दाको पीडाको आयतन ? हो यस्तै हुन्थ्यो त्यो बेला । घटस्थापनामा स्कूल बिदा हुन्थ्यो, सोही दिन घरको अँध्यारो कोठामा जमरा राख्थ्यौँ, साँझ बिहान पानी राख्ने र मनमनै जमराको उचाइ नाप्ने हाम्रो दैनिकी हुन्थ्यो । त्यसपछिका हरेक दिन विद्यार्थी साथीहरू स्कूल झन् पछि झन् कम आउन थाल्थे, स्कुल सुनसान हुँदै जान्थ्यो, घरमा तथा दशैँघर मन्दिरमा उपस्थिति बाक्लो हुँदै जान्थ्यो ।
त्यो बेलाको शुभकामना आदानप्रदान क्या गजबको हुन्थ्यो। अहिलेको डिजिटल युगभन्दा धेरै गुणा गजबको । आफूलाई साह्रै मनपर्ने वा बोल्दै नबोलेका तर मनमा छुट्टै हिसाबले राज गरेका मान्छेहरुलाई शुभकामना पठाइन्थ्यो “पोष्ट कार्ड“मा ।
एक अर्धबैँशेलाई पहिलो प्रेमको याद बारम्बार आएझैं पुराना दशैँका रमाइला क्षणले मनमा परेड खेल्थे । आज पल्लाघरे, तल्लाघरे भोलि उपल्लाघरे, माझघरे त्यस्तै पर्सि हुँदै लाहुरे आउने क्रम बढ्दो हुन्थ्यो। सधैँ खासै नजिक नभएपनि छिमेकी साथीहरू नयाँ कपडा, जुत्ता, मिठाइ, चक्लेट बिस्कुट आदि आदि ल्याईदिएको खबर सुनाउन बिहानै हाम्रो घरमा आउँथे, हामी साथीका कुरा खाएर र लाएर रमाउथ्यौँ, हातमा खेलौना पाएको बच्चा झैँ। हाम्रो घरमा दशैँ लिएर आउने लाहुरे कोही थिएनन् ,त्यो बेला लाहुरेको महत्त्व छुट्टै हुन्थ्यो । सधैँ अरुको खुसीमा बढी रमाउने बानी परेको थियो हामीलाई। कुनैकुनै दशैँमा काठमाडौँबाट माईलो बुवा, आमा, दाजुहरु टीकाको दिन आउने र थप खुसी लिएर आउने आसमा पर्खिएर, दिन गनेर बस्थ्यौँ, नआउदा खुब निरास हुन्थ्यौँ ।
सुन्दर भविष्य खोज्न सहर पसेका, लाहुर पसेका छिमेकीहरु लिङ्गे पिङ सम्झिन्थे होला, सराएँ नाच सम्झिन्थे होला शायद खोलानाला, पाखापखेरा, पोखरी, झरना, पानी पँधेरो खै के के सम्झिन्थे दशैँमा घर अनिवार्य आउँथे । अरुबेला जहाँसुकै भौँतारिए पनि गाउँको चिसो हावापानीको यादले यसरी तान्थ्यो कि चुम्बकले आफूलाई असफल घोषणा गर्न बाध्य हुन्थ्यो । चाउरी परेका बाआमाको गालामा खुसी लिएर, बाटो हेर्दै बसेकी प्रियाको मुहारमा चमक लिएर, बालबच्चाको प्रिय वस्तु खेलौना लिएर आएका परदेशीहरुलाई पाउँदा गाउँ नै गदगदको भुमरीमा डुबेर आराम महसुस गर्दथ्यो ।
हाम्रो मुहारमा उमंग झन् बढ्दै जान्थ्यो । फूलपातीको दिनसम्म घर लिपिसक्ने चटारो हुन्थ्यो । वर्षा ऋतुले चिथोरेका घरका भित्ताहरु चिटिक्क पर्थे बेहुली झैँ, सेतो कमेरो, रातो माटो र कालो माटोले रंगिन्थे । हामी त्यसै रंगीचंगी हुन्थ्यौँ उसैको शृङ्गार गर्दा । देवालय तथा शक्तिपीठहरुमा घुइँचो बढ्दै जाने क्रम तीव्र हुन्थ्यो । प्राचीन बाइसे र चौबीसे राज्यमध्येको एक प्रसिद्ध चौबीसे राज्य गुल्मीको मुसिकोट दरबार हाम्रो क्षेत्रको प्रमुख दशैँघर हो । त्यहाँ पुगेर आफ्नो मनले चाहेको माग्ने चलन रहिआएको छ ।
अष्टमीको दिन घरघरमा कसले धेरै खसी पाठा काट्ने प्रतियोगिता झैँ देखेका मेरा बालनयन सोही राती कालरात्री र भोलिपल्ट बिहानै सूर्यको किरणसँगै कोतमा लामालस्कर मान्छेको बिचमा हजारौं पशु बध गरेको हेर्न बाध्य हुन्थे । मेरो बालमस्तिष्कमा उठेको पुरानो प्रश्न ,’के हजारौँ पशु काटेर पनि धर्म हुन्छ र ? के पशु बध नगरे पाप लाग्ने हो ? पशुलाई नकाट्न भन्नू न’ भनेर मैले लाख बिन्ति गर्दा र प्रश्न गर्दा चित्त बुझ्ने जवाफ दिने अझैसम्म भेटेको छैन ।
मुसिकोट दरबारको महिमा कति छ भन्नको लागि नवमीमा हजारौँ मान्छेको उपस्थित काफी छ। गाउँ नै खाली हुनेगरी सबै दरबार पुग्थे ,लाग्थ्यो अब गाउँ एक्लो छैन । दरबार पुगेका भक्तजन देख्दा अहिलेपनि लाग्छ त्यहाँ कुनै छुट्टै शक्ति छ त्यसैले सबैलाई तानिरहेको छ। दरबारबाट फर्किएपछि भोलिको लागि घाँस काट्ने चटारो हुन्थ्यो ।
दशैँको टीकाको दिन सबैभन्दा पर्खाइको दिन हुन्थ्यो । टीका लगाउने, रंगीन हुने, जमरा लगाउने दिन बहुत प्रिय लाग्थ्यो। त्यो दिन पर्खनुको प्रमुख कारण छुट्टै थियोे र अनि म त्यसदिन अनिवार्य मामाघर पुग्थेँ ।
तीन चार घण्टाको बाटो हिँडेर मामाघर पुग्नुको प्रमुख उद्देश्य भेटघाट, खानपिन भन्दापनि अरु नै हुन्थ्यो । सबैभन्दा धेरै दक्षिणा दिने मामा, माइजू, हजुरबुबा, हजुरआमा वा जो कोही सबैभन्दा प्रिय लाग्थ्यो। त्यो छापले मेरो मनबाट अहिले डेरा सारेको छ । त्यसरी जम्मा गरेके पैसा बर्षभरीको स्कुलको खाजाखर्च तथा अरु कुरामा आफूखुसी मास्न पाइन्थ्यो । कुनै वर्ष टीका रोकिएमा हामी ठुलो शोकमा डुब्थ्यौँ, हाम्रा ठूला सपना चकनाचुर हुन्थे अर्को बर्षसम्मका लागि । टीकाको दिनपछि पूर्णिमासम्म दिनहुँ विभिन्न डाँडामा हुने सरायँ नाचको त्यति धेरै सम्झना छैन। त्यतिबेला खेतैभरी पहेँलपुर भएका धानका बाला स्याहार्न व्यस्त हुन्थ्यौँ । दशैँ बिदामा कतै घुम्न गएको अनुभव छैन, घुम्थ्यौँ त खेतबारी र भीरपाखामा घाँस पराल गर्दा ।
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।