सृष्टिबाट नै सम्पूर्ण मानवको अस्तित्व कायम हुँदै आएको छ, किंचित यसको अभावमा मानव समुदायको मात्र नभई सम्पूर्ण जगत नै व्यर्थ हुने कुरा स्वभाभिकै छ । यही महत्वलाई बुझेर भनुँ या सृष्टिको एकाकारलाई आश्चर्यजनक रुपमा हेर्ने धारणाबाट भनुँ यस प्रकारको सोचाइ मानवको प्रारम्भिक अवस्थादेखि नै शुरु भएको थियो । यही सोचाइ अनुरुप पुरुष जननेन्द्रीयलाई सृष्टिको प्रतीक मानेर पूजा समेत गर्ने परम्परा बस्यो । आजभोली शैवधर्मको एम अंगको रुपमा रहेको लिंगपूजा संभवतः प्रारम्भिक सोचाइको द्योतक नै हो । शैव धर्मको व्यापकतामा उनी संहारकर्ता मात्र होइनन् सृष्टिकर्ता पनि हुन् भन्ने सोचाइबाट लिंगपूजाले पछि शैवधर्मको एक महत्वपूर्ण अंगमा विकसित मात्र नभई लोकप्रियता समेत आर्जन गर्यो ।
सृष्टिप्रतिको भावना प्रारम्भिक अवस्थाका मानवदेखि नै विद्यमान रहेको थियो भन्ने प्रमाणका केही यस्ता गर्भिणी नारीका मूर्तिहरुालई यहाँ उल्लेख गर्न उपयुक्त देखिन्छ, जसले तत्कालीन मानवमा प्रजनन सम्बन्धी धारणाको सूक्ष्म सोचाइलाई इङ्गित गराउँछन् । यी मूर्ति प्रागैतिहासिककालीन हुन् । यसले मानवमा गुफाको जीवनदेखि नै सृष्टिप्रतिको भावनाले विकास गरिसकेको देखाउँछ । कसैले नवपाषाणकालीन अनेक जातिमा भूमिको उर्वरताको लागि लिंगपूजा गरिने कुराको उल्लेख गरेका छन् ।
संसारका प्राचीन सभ्यताहरुमा पनि सृष्टिको प्रतीक लिंगको पूजागर्ने प्रचलन थियो । प्राचीन इजिप्टमा लिंग पूजा गर्ने प्रचलन भएको पाइन्छ ।
रिचर्ड गगले आफ्नो ‘कम्प्यारेटिभ भ्यू अफ द एन्सिएन्ट मनुमेन्ट्स अफ इण्डिया’ नामक ग्रन्थमा एसियाटिकहरुले लिंग (फालस), ईजिप्सीयन, ग्रीक र रोमनहरुले प्रियपस, क्यानानिटीज आइडिओलट्स जिउजहरुले ‘बाल पेयर’ को रुपमा लिंगलाई पूजाा गर्ने कुराको उल्लेख गरेका छन् । प्राचीन मेसोपोटामियामा पनि सृष्टिकर्ता ब्राह्मालाई लिंगम्को संकेतमा पूजा गरिन्थ्यो ।
सिन्धु सभ्यतामा प्राप्त केही यस्ता उदाहरणहरुले पनि लिंगपूजाको त्यस वेला विद्यमान भएको प्रमाण दिन्छन् । हरप्पाको उत्खनन्मा प्राप्त केही यस्ता चिल्ला, सुडौल ढुङ्गाका स–साना आकारदेखि लिएर २ फीट वा त्यो भन्दा पनि बढी उचाइ भएका प्रस्तरहरुले स्पष्ट लिंगको परिचय दिन्छन् ।
आर्यहरुको प्रवेश भएपछि पनि लिंगपूजाको प्रचलन कम भएन यद्यपि यसले अनार्य वर्गमा ठूलो प्रसिद्धि कायम गरेको थियो । ऋग्वेदमा उल्लेखित ‘शिश्नदेवा’ले लिंगपूजकलाई संकेत गरेको छ । विद्वानहरुले यसको अर्थ लिंगलाई देवता मानेर पुज्नेवाला भनी स्पष्ट गरेका छन् ।
तर लिंगपूजा गर्ने यो परम्परा अनार्य या द्रविडहरुमा मात्रै थियो। त्यसैले ऋग्वेदमा यिनीहरुलाई राक्षस श्रेणीमा राखिएको छ । यसबाट सिन्धु सभ्यतामा प्रचलित लिंगपूजा वैदिककालमा आउँदा पनि कायम भएको देखा पर्छ । तर जहाँसम्म शिवको कुरा छ ऋग्वेदमा शिवको नाम पाइँदैन । ऋग्वैदिक रुद्र नै पछि शिव भगवानमा परिणत भए । ऋग्वेदमा रुद्र नै हर्ताकर्ता देवतामा देखा पर्छन्, जो आफ्नो कठोरताको लागि पनि त्यतिकै ख्याति थिए । यी रुद्र र माथि उललेखित शिश्नदेवताको के सम्बन्ध थियो भने त्यो भने वेदमा खुलेको छैन । यजुर्वेदको तैत्तरिय संहितामा आएर मात्र ‘शिव’ उल्लेख भएको पाइन्छ । जब रुद्रको उग्ररुप शान्त हुन्छ तब उनी शम्भु शंकर र शिव नामले पुकारिन्छन् । उनको यही शौम्यता देखाउने शिव नाम पछि आएर निकै लोकप्रिय बन्यो ।
यस्तै उपनिषद्मा आउँदा पनि शिवको महत्व बढेको देखिन्छ । साथै उपनिषद्मै योनी र लिंगको सम्बन्धलाई दार्शनिक रुपमा उल्लेख गरिएको छ । श्वेतास्वत्तर उपनिषद्को–‘यो योनिं योनिमधितिष्ठत्येको यस्मिभिदं सचवि चौतिसर्वम्’ र अथर्व शिरस उपनिषद्को –‘यो योनिं योनिमधितिष्ठत्येको यनेनं सर्व विचरति सर्वम्’ वाक्यले लिंगपूजाको प्रभाव परेको कुरा देखाउँछ । लिंग र योनिबाटै सृष्टि हुन्छ भन्ने धारणाबाटै यस्तो उल्लेख गरिएको हुनुपर्छ । केन उपनिषद्मा उमाको उल्लेख आए तापनि उनलाई शिवको पत्नीको रुपमा उल्लेख गरिएको छैन । महाभारतमा आइपुगेपछि मात्र यिनलाई शिवको पत्नीको रुपमा स्वीकार गरिएको छ । यसको साथै महाभारतमै सर्वप्रथम लिंगोपासना गर्ने परम्परालाई आर्यहरुले पनि सुस्त सुस्त अङ्गिकार गर्दै आएको कुरा माथिका प्रसङ्गहरुले देखाउँछन् साथै अगाडि गौण रुपमा रहेको लिंगपूजालाई आर्यहरुले महाभारतकालसम्म आइपुग्दा पूर्णरुपेण स्वीकार गरेको देखिन्छ ।
तर लिंगपूजाले व्यावक स्थान भने पुराणकालमा आएर लियो र थुप्रै पुराणहरुमा लिंगपूज ागर्ने परम्पराको वयापक उल्लेख भएको कारणले यस सम्बन्धी धारणले जनमानसमा ठूलो प्रभाव पार्न सकेको थियो भन्न सकिन्छ । स्कन्ध पुराणमा लिंगको स्तुति गर्दै भनिएको छ–‘त्वं हि विश्वसृजां स्रष्टा त्वं हि देवो जगत्वपतिः कर्ता त्वं भुवनस्या स्य त्वं हर्ता पुरुषः परः ।।’ यस्तै शिव पुराणको उत्तरार्ध भाग भने तान्त्रिक प्रभावबाट प्रभावित छ । लिंग पुराणमा पाशुवत व्रतका स्वरुप तथा महिमाको पनि व्याख्या भएकोले यसको विस्तार पाशुपत शैव सम्प्रादायमा भएको थियो । यसबाट लिंगपूजाको परम्परा पुराणकालमा आएर निकै लोकप्रिय भएको देखिन्छ । विभिन्न आगम ग्रन्थहरुको रचनापछि लिंगहरुको स्थापना शास्त्रीय स्वरुपको वर्गीकरण र निर्माण प्रक्रियाको विस्तृत उल्लेख समेत गरेका छन् ।
पुरातात्विक प्रमाणको आधारबाट भन्ने हो भने भारतको मद्रासस्थित गुड्डिमल्लम गाउँमा रहेको शिवलिंग प्राप्त लिंगहरुमा जेठो हो । यो लिंग शिवको मानवाकार स्वरुपमा कुँदिएको छ । यसमा शिवको जटाले शरीर ढाकिएको छ र उनले व्याघ्रचर्म धारण गरेका छन् । गोपीनाथ रावले यसलाई दोस्रो शताब्दी ईपुको मानेका छन् । दोस्रो शिवलिंग एन आर वनर्जीले प्राप्त गरेको भिटाको मुखलिंग हो । यसलाई प्रथम शताब्दी ईपुतिरको मानिएको छ । यसरी भारतमा ईशाको अगाडिदेखि नै मुखलिंगहरु बनाउने पद्धति शुरु भएको थियो । भारतको मथुरा क्षेत्रमा भने शिवको लिंग रुपका मूर्तिहरु प्रशस्त कुँदिएका पाइन्छन् जो साधारण ढाँचाबाट बनाइएका छन् । यसको तिथि ईशाको प्रथम शताब्दितिर मानिएको छ । तर मुख लिंगहरुको व्यापकता भने गुप्तकालदेखि नै देखा पर्न आयो, जसमा एकमुखी र चतुर्मुखी पर्दछन् ।
यस प्रकार लिंगपूजाको आरम्भ अनार्यहरुले गरे तापनि क्रमिक रुपमा पछि आर्यहरुले पनि आत्मसात गर्दै लगे । केही विद्वानहरुले ईशाको शुरुतिर लिंग पूजा हिन्दूधर्ममा आत्मसात हुन आएको कुरा उल्लेख गरेका छन् । तर माथिका प्रमाणहरुले लिंगपूजा धेरै अगाडिदेखि नै हिन्दूधर्ममा प्रवेश भएको देखाउँछन् । जे होस् आर्यहरुले आफ्नो धर्ममा लिंगपूजालाई आत्मसात गर्नु मुख्उ दुई कारण हुन आउँछ–१. तत्कालीन शैव धर्मको अवस्थालाई अझ माथि उठाउने प्रयास गर्नु २. अनार्यहरुलाई पनि आफूमा समाहित पार्न खोज्नु ।
आर्यहरुले शैवधर्म अन्तर्गत यसलाई महत्व दिएको हुनाले नै होला शैव धर्म पाशुवत र विरशैव सम्प्रदाय अन्तर्गत लिंगायतहरु आउँछन् । आजभोली यी लिंगायतहरु भारतको दक्षिणी प्रान्तमा बसोबास गरेका छन् । यिनीहरुलाई द्रविडमूलका मानिएको छ ।
संभवतः यी द्रविडहरु जसले लिंगपूजाको परम्परालाई अंगाल्दै आएका छन्, सिन्धु सभ्यता र ऋग्वैदिककालमा लिंगलाई पुजा गर्ने द्रविड समूहका कुनै एक शाखा थिए । नेपालमा जंगमहरु मन्दिरको पूजारीको रुपमा मन्दिरको वरिपरि बसोबास गरेका छन् । ने. स. ६७९ को उउटा पत्रमा जंगम जोगीको उल्लेख परेकोले त्यसबेला देखि नै यिनीहरु यहाँ बस्न थालेको देखिन्छ ।
नेपालको सन्दर्भमा लिंगपूजाको उल्लेख गर्दा वंशावलीका केही कथालाई उल्लेख गर्नु सान्दर्भिक देखिन्छ । नेपाल उपत्यकाको उत्पत्तिमा सर्वप्रथम यहाँ पशुपतिको ज्योतिर्लिङ उत्पत्ति भएको कथा वंशावलीमा पाइन्छ । यसैले उपत्यकामा शुरुदेखि नै शैव धर्ममो प्रभाव परेको कुरा देखापर्छ । नेपालको त्रिुशुलीदेखि पश्चिम गण्डकी क्षेत्र वैष्णव क्षेत्र र त्रिशुलीदेखि पूर्वको पशुपति क्षेत्रको नामले प्रख्यात थियो । यसैले गर्दा पनि यहाँ अगाडिदेखि शैवधर्मले जोडतोडका साथ विकास गरेको थियो । यसको साथै धार्मिक ग्रन्थहरुमा ६४ लिंगहरुका वर्णनमा गोपालेश्वर र किरातेश्वरको नाम पनि उल्लेख गरिएको छ । देवमाला वंशावलीको अनुसार गोपालेश्वर फर्पिङ्गमा र किरातेश्वर देवपाटनमा थियो । पशुपति मृगस्थलीमा रहेको किरातेश्वर भनिने शिवलिंग नै वंशावलीमा वर्णिात किरातेश्वर भएको अनुमान हुन्छ । यस सम्बन्धमा स्पष्ट प्रमाणको खाँचो भए तापनि लिच्छवि अघिका किराती शासकहरु शैव धर्मका नजीकका अनुयायी थिए भन्ने कुरा स्वीकार्य छ । लिच्छवि कालमा बनेका शिवलिंगलाई हेर्दा पनि यो अनुमान हुन आउँछ कि शिवलिंग बनाई उपासना गर्ने प्रचलन किरात कालदेखि नै लोकप्रिय भइसकेको थियो ।
लिच्छविकालमा आउँदा लिंग स्थापना गरेका स्पष्ट प्रमाणहरु देखा पर्छन् । मानदेव प्रथमले स्थापना गरेको विष्णु पादुकाको शिवलिंग उनकी रानी क्षेमसुन्दरी र गुणवतीले स्थापना गरेका शिवलिंगहरुले राजपरिवारमा समेत शिवलिंग स्थापना गरी पुण्य प्राप्त गर्ने परम्परा भएको देखिन्छ । यस्तै देवपाटनको रत्न संघले स्थापना गरेको रत्नेश्वर शिवलिंग र प्रभुसंघले स्थापना गरेको प्रभुकेश्वर लिंग पनि लिच्छिविकालीन शिवलिंगको उदाहरणमा महत्व राख्छन् । यी शिवलिंगहरु साधारण चिल्लो प्रस्तरबाट निर्माण गरिएका छन् तर विद्वानहरुले केही यस्ता शिवलिंगलाई लिच्छविकालको भन्दा अगाडिको मानेका छन् । पशुपतिको पश्चिम ढोकामा रहेको एउटा मुखलिंगलाई जगदिशचन्द्र रेग्मीले समसुद्देनको आक्रमणपूर्व स्थापित पशुपतिको मूर्ति मान्दै यसको सममय दोस्रो तेस्रो शताब्दी ईपु मानेका छन् ।
यस्तै लैनसिंह वाङ्देलले वल्खुको खण्डित पञ्चमुखी लिंगलाई चौथो शताब्दी ईश्वी र त्यो भन्दा पनि अगाडिको अनुमान गरेका छन् । पशुपतिको मृगस्थलीमा रहेको एउटा एकमुखे लिंग प्राचीनताको दृष्टिले पनि महत्वपूर्ण छ । यी पालले यसलाई गुप्तकालीन खोहको मूर्तिसँग सम्बन्ध राख्दै यसको तिथि ५०० ईश्वी मानेका छन् । यसरी नेपालमा पहिलेदेखि नै विभिन्न प्रकारका शिवलिंग बनाई स्थापना गर्ने प्रचलन रहेको देखिन्छ । नेपालमा प्राप्त शिवलिंगहरु मुख्य २ प्रकारबाट निर्मित गरिएका छन्–
१) पिठीका माथि उभ्याइएको साधारण लिंग
२) पिठीकामाथि रहेको लिंगाकारको चारैतिर मुखाकृतिहरु थपिएको मुखलिंग । यसमा एकमुखी र पञ्चमुखी पर्दछन् ।
विभिन्न आगम ग्रन्थहरुले उल्लेख गरेका लिंगका विविध प्रकारहरुमध्ये सहस्रलिंग, अष्टोत्तर सहस्रलिंग, धारालिंग आदि भने यहाँ प्राप्त भएको छैन । तर साधारण रुपमा र मुखाकृतिको रुपमा कुँदिएका लिंगहरु खासगरी पशुपति क्षेत्रमा प्रचुर मात्रामा पाइन्छन् । यस्ता मुखलिंगहरुमा पूर्व, दक्षिण, पश्चिम र उत्तरमा क्रमशः तत्पुरुष(महादेव), अघोर(भैरव), साधोजात, वामदेव(उमा) लाई अङ्कित गरिएको हुन्छ । लिंगको सबैभन्दा माथिको सतह इशानको प्रतीक मानिन्छ । विभिन्न आगम ग्रन्थहरुले यिनीहरुको मुख मुद्राको उल्लेख गरेका छन् । त्यसमध्ये सबभन्खा सुन्दर रुपमा वाममदेव र डरलाग्दो रुपमा अघोरलाई अङ्कित गरिएको हुन्छ । अघोर रुपका सम्बन्धमा रुपमण्डनमा ‘दृष्ट्वा कराल वदनं सर्पशिर्षा त्रिलोचनम । रुपमाला धरं देव सर्प कुण्डल मण्डितम् ।।’ भनिएको छ । तर पशुपति आर्यघाट पुलपारीको मुखलिंगको दक्षिणतर्फको मुखलाई शान्त मुद्रामा देखाइएको छ । यसको समय पि. पालले ९ औं शताब्दी दिएका छन् । यस्तै वनकालीतर्फ जाने बाटोमा रहेको शिवलिंगको पनि एउटै विशेषता रहेको छ । रमेशजङ्ग थापाले यसको सममय आठौं शताब्दीको अन्त्य मानेका छन् । यी दुबै मुखलिंगको दक्षिण मुख शान्त सौम्य मुद्रामा र शिरोभाग बुद्धको मुर्तिमा जस्तो उष्णिषाकार रहेको छ । यस्तै उत्तरतर्फको वामदेवको मुखाकृतिलाई पनि अर्ध नारिश्वरको रुपमा देखाइएको छ । यसैले यिनमा नेपालीको आफ्नै विषेशता रहेको देखिन्छ । पि. पालका अनुसार नेपालमा रहेका मुखलिंगहरुको मुखाकृति पाशुपत सम्प्रदायको सुधारक अकुलिस (छत्र–चण्डेश्वर)को मुखाकृतिमा कुँदिएका छन् ।
मल्लकालमा शिवलिंग निर्माण गर्ने प्रचलनले अझै ठूलो स्थान लियो । भक्तपुरको पन्ध्रौं, सोह्रौं शताब्दीताकाको मुखलिंग मल्लकालीन उदाहरण हो । मल्लाकालतिर मूर्तिहरुमा आएको जटिलता यसमा स्पष्ट देखिन्छ । मुखको वनावट र गरगहनाको अधिक प्रयोग भएकोले अरुभन्दा यो केही फरक छ ।
यसप्रकार सृष्टिको प्रतीकको रुपमा रहेको लिंगपूजाको उद्भव स्वतन्त्र रुपमा भएको थियो । पछि शैवधर्मको व्यापकताले यसलाई पनि प्रभाव पार्यो र यो शैवधर्मकै एक महत्वपूर्ण अंग बन्यो । हुन त केही विद्वानहरुले लिंगपूजाको परम्परा बौद्ध चैत्यपूजाको प्रभावमा शुरु भएको बताउँछन् । तर, विभिन्न प्रमाणहरुको आधारबाट लिंगपूजा स्वतन्त्र रुपमा सुरु भएको थियो । शिवको महत्व बढ्दै गएपति उनकी पत्नी उमालाई शक्तिकी अधिष्ठात्री मानेजस्तै शिव र उमा मिली सृष्टि समेत गर्छन् भन्ने धारणा अनुरुप शिवलाई पुरुष र शक्तिलाई प्रकृतिको संज्ञा दिई लिंग र पिठीकाको निर्माण र उपासना गर्ने परम्पराको थालनी भएको हो । यसले गर्दा आज लिंगपूजा शैवधर्मको महत्वपूर्ण अंगको रुपमा विस्तार भएको छ ।
(तत्कालिन शाही सरकारअन्तर्गतको पुरातत्व विभागद्वारा प्रकाशित जर्नल ‘प्राचीन नेपाल’ को ९८-९९ अंकमा प्रकाशित इतिहासविद् डिल्लीराज शर्माले लेखेको 'सृष्टिको प्रतीक लिंगपूजा' शिर्षको लेख यहाँ साभार गरिएको छ । लुम्बिनी टाइम्स लेखमा प्रस्तुत विचारसँग तटस्थ छ ।)