पानी प्रकृतिको एक महत्वपूर्ण अंग हो । जीवजन्तुहरूको लागि प्रकृतिको ठूलो वरदान हो । वास्तवमा पानी अमृत हो । भोजन बिना मानिस एक–दुई महिना पनि बाँच्न सक्दछ तर पानी बिना मानिस केही दिन पनि बाँच्न सक्दैन । मानिसलाई मात्र होइन कि पृथ्वीका सबै जीवजन्तु तथा वनस्पतिहरूलाई बाँच्न पानी आवश्यक पर्दछ ।
वास्तवमा पानीबिना मानिसको मात्र होइन कि कुनै पनि प्राणीको जीवन सम्भव छैन । तर, मानिसका लागि पानीको महत्व झनै बढी छ । त्यो किनभने पिउनको लागि मात्र होइन कि सरसफाइ, औद्योगिक प्रयोग तथा जलविद्युत उत्पादनका लागि समेत पानी नभइ हुँदैन, चाहे त्यो हिउँको पानी होस्, चाहे त्यो झरनाको पानी होस्, चाहे त्यो खोलाको पानी होस्, चाहे त्यो तालको पानी होस्, चाहे त्यो मूलको पानी होस्, चाहे त्यो जमीनमुनिको पानी होस्, चाहे त्यो समुद्रको पानी होस्, चाहे त्यो आकाशको पानी होस् ।
तर पिउने पानी जहाँको भए पनि शुद्ध हुनुपर्दछ वा शुद्धिकरण गरेको हुनुपर्दछ । त्यो किनभने शुद्ध पानी अमृत हो, फोहर पानी जहर हो ।
पृथ्वी र शरीरमा पानीः
पृथ्वीमा पानीको कुनै कमी छैन । पृथ्वीको तीन चौथाइ भाग पानी नै पानीले भरिएको छ । जति पानी पृथ्वीमा विद्यमान छ, त्यति नै पानी मानिसको शरीरमा छ । मानिसको शरीरमा ७५ प्रतिशत पानी छ । तर मानिसको सबै अंगहरूमा बराबर पानी छैन । कुनै अंगमा बढी पानी छ त कुनै अंगमा कम पानी छ । आँखामा ९८.७ प्रतिशत पानी छ त हड्डीमा २५ प्रतिशत पानी छ । त्यस्तै गरी फोक्सोमा ७९ प्रतिशत पानी छ । मुटुमा ७९.५ प्रतिशत पानी छ । रगतमा ८० प्रतिशत पानी छ । शरीरको सबै भन्दा महत्वपूर्ण अंग मस्तिष्कमा ९० प्रतिशत पानी छ ।
पानीको केमिस्ट्रीः
पानी दुई भाग हाड्रोजन र एक भाग अक्सिजन मिलेर बनेको हुन्छ । पानीलाई औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । पानीमा औषधीय गुणहरू भएकोले नै पानीलाई जलचिकित्साको रूपमा विकसित गरिएको छ ।
पाचनतन्त्रका रोगहरूको लागि त पानी रामवाण औषधि हो । यसका साथै शरीरका अन्य थुप्रै रोगहरू पनि पानीद्वारा ठीक हुुने गर्छन् । यति मात्र होइन, मानिसको स्मरणशक्तिमा पानीले महत्वपूर्ण भूमिका खेल्दछ । पानीको समुुचित प्रयोग गरेर मानिसले आफ्नो स्मरणशक्ति तेज गराउन सक्दछ । त्यसैले त हेनरी डिविट थारोले भनेका छन्ः “जल बुद्धिमान् मानिसको एकमात्र पेय हो ।”
पानी र सेलेब्रिटीः
पानीको यो महत्वलाई बुझेर नै भारतकी प्रसिद्ध अभिनेत्री ऐश्वर्या रायले भनेकी छिन्ः “पानीले शरीरलाई ज्यादै फाइदा गर्दछ, सतत ऊर्जा र ताजगी दिन्छ । मैले दिनहु कम्तिमा पनि आठ गिलास पानी पिउँछु ।”
पानीको सन्दर्भमा भारतकी अर्की प्रसिद्ध अभिनेत्री माधुरी दीक्षितको कथन छः “आफ्नो शरीरको चमकलाई कायम राख्नको लागि सबै भन्दा सजिलो र किफायती फर्मुला हो, प्रतिदिन कम्तिमा पनि आठ–दस गिलास पानी पिउनु । मानिसले सिर्फ तिर्खा मेट्न पानी पिउँछन्, यो तरिका ठीक छैन । पानीले त सम्पूर्ण शरीरको शुद्धि गर्दछ ।”
त्यस्तै अर्की अभिनेत्री करिना कपूरले भनेकी छिन्ः “चेहराको चमकलाई ठीक राख्न मैले खुब पानी पिउँछु । मैले दिनमा कम्तिमा पनि दस गिलास पानी पिउँछु । त्यस्तै पूर्व विश्व सुन्दरी तथा अभिनेत्री लारा दत्ताको कथन छः “चेहराको चमक बढाउनको लागि मैले थुपै्र पानी पिउँछु । मैले बिहान उठ्ने बित्तिकै डेढ लिटर पानी पिउँछु । बिहान खाली पेट पानी पिउनाले शरीरको गर्मी बाहिर निक्लिन्छ, लिवर ठीक रहन्छ । पानी छालाका रोगहरूको लागि पनि लाभदायक छ ।”
हिन्दी फिल्मका अभिनेत्रीहरुले मात्र होइन, नेपाली सेलेब्रिटीहरुले पनि प्रशस्त मात्रामा पानी पिउने बानी बनाएको देखिन्छ । यो एकदम सकारात्मक कदम हो । त्यो किनभने पानीले शरीर स्वास्थ मात्र राख्दैन, शारीरिक तथा मानसिक थकान मेटाउँछ, मस्तिष्क शक्ति तथा स्मरण शक्ति बढाउँछ । शरीरलाई स्लिम र सेक्सी पनि बनाउँछ । कलाकारहरुले मात्र होइन, हरेक युवायुवतीको चाहना पनि त यही हो ।
पानीले बढाउँछ मेमोरीः
पानी र स्मरणशक्तिको सहसम्बन्धको बारेमा लिड्स युनिर्वसिटीका डा. ट्रेवोर ब्रोक्लेबैंकले एउटा अध्ययन गरेका थिए । सो अध्ययनले के प्रष्ट पार्यो भने जुन विद्यार्थीले दिनको ८ गिलास पानी पिउँथे, उनीहरूको स्मरणशक्ति निकै राम्रो थियो ।
यस्ता विद्यार्थीले परीक्षामा पनि राम्रो अंक प्राप्त गरेका थिए । पानीको यो महत्वलाई ध्यानमा राखेर दिनको कमितमा पनि २ लिटर अर्थात् ८ गिलास पानी पिउन ज्यादै उत्तम हुन्छ ।
तर अधिकांश मानिसहरूले एक त यतिको मात्रामा पानी पिउँदैनन् अर्को एक–दुई गिलास पानी पिए पनि खाना खाने बेलामा पिउँछन्, जसले फाइदा होइन कि हानी गर्दछ । त्यसैले शुद्ध पानी ठीक समय र ठीक तरिकाले पिउने गर्नुपर्दछ ।
पुछारमाः
हरेक दिन शुद्ध पानी, ठीक समय र ठीक तरीकाले पिउने हो भने पानी मानिसको लागि जीवन बन्दछ, तर त्यही पानी अशुद्ध भयो भने त्यो पानी नै मानिसको मृत्युको कारण बन्दछ ।
त्यो किनभने अधिकांश रोगहरू दुषित पानीकै कारण त हुने गर्छन् । त्यसैले दीर्घ र स्वस्थ जीवनका लागि सधै शुद्ध र पर्याप्त पानी पिउने गर्नुपर्दछ । त्यसैले आफ्ना जनतालाई शुद्ध र पर्याप्त पानी उपलब्ध गराउन राज्यको कर्तब्य हो ।
तर, प्रशस्त खोला–नाला, झरना, ताल–पोखरी तथा ठुल्ठुला नदीहरूले भरिएको जलस्रोतको धनी देश, नेपालकोे बिडम्बना के भने यहाँका अधिकांश जनताले शुद्ध पिउने पानी पाएका छैनन् ।
नेपालको राजधानी काठमाडौंमा त पानीको हाहाकार नै छ । वास्तवमा काकाकुल काठमाडौंबासीले मेलाम्चीको होस् वा रानी खोलाको होस्, दिनको ८ गिलास चिसो र मीठो पानी पिउन पाए त काठमाडौलाई नै स्वर्ग ठान्ने थिए ?
पानी पिउने सर्वोत्तम विधि
तन–मनलाई स्वस्थ राख्न र स्मरणशक्ति बढाउन पानी पिउने सर्वोत्तम विधि यस प्रकार छः
(१.) बिहान उठ्ने बित्तिकै मुख कुल्ला गरेर ७ वटा तुलसीको पातहरू चपाएर खाने र एक गिलास पानीमा एक चम्चा मह र आधा चम्चा कागतीको रस हालेर–घोलेर पिउने । त्यसपछि बाथरूम गएर दिसा–पिसाप गर्ने, अनि स्नान गरेर शरीर शुद्धि गर्ने । यदि कब्जियत छ, दिसा खलास हुँदैन भने एक–दुई गिलास मनतातो पानी पिएर चर्पी जाने गर्नुपर्दछ ।
(२.) खाना खानु भन्दा आधा–एक घण्टा अगाडि–पछाडि पानी पिउन हुँदैन । खाना खाने बेलामा पानी पिउनै परेमा एक–दुई घुट भन्दा बढी पानी नपिउने । खानासँग प्रशस्त मात्रामा सागपातहरू खाने । सागपातहरूमा प्रशस्त मात्रामा पानी हुनुको साथै रेशाहरू हुन्छन्, जसले पाचनक्रियामा सहयोग गर्दछ ।
(३.) प्रत्येक घण्टा–घण्टामा चुस्की लिँदै एक–एक गिलास शुद्ध पानी पिउने । बिहान–बेलुकी खाली पेट घाममा तताएर बनाइएको एक–एक कप (२०० एम.एल.) हरियो पानी पिउनुहोस् ।
(४.) घरबाट बाहिर निस्किंदा एक गिलास पानी पिएर निस्किने, जहाँ पायो त्यहीँको पानी नपिउने । किनेर भए पनि शुद्ध पानी पिउने ।
(५.) पढ्दा–लेख्दा (वा कुनै कार्य गर्दा) थकाइ लागेमा सफा पानीले हात–खुट्टा तथा अनुहार धुने । त्यसपछि एक गिलास पानी चुस्कि लिँदै पिउने । अनि दुवै हात र खट्टालाई एक–डेढ फिट फिँजाएर, हत्केलाहरू मास्तिर फर्काएर लम्पसार शिथिल भएर सुत्ने ।
मनलाई श्वास–प्रश्वासमा लयबद्ध गरिदिने । २१ बाट १ सम्म उल्टो गन्ति गर्दै आउने र १ मा आएपछि पढेको पाठलाई मनको पर्दा(मेन्टल स्क्रीन्)मा सरसर्ती हेर्ने । र, मनमनै २१ पटक दोहोराउनेः ‘.......(शीर्षक)को पाठ मैले राम्रोसँग बुझेको छु । ....(शीर्षक) सम्झने बित्तिकै यसको पूरा पाठ मलाई याद हुनेछ ।’
केही क्षणपछि उठ्ने र पठन–पाठनतिर लाग्ने । यसरी पढ्ने हो भने पढेको पाठ सजिलै याद हुने गर्दछ ।
यसरी पानीको सदुुपयोग गर्ने हो भने पानी मन–मस्तिष्क र स्मरणशक्तिको प्रचण्ड ऊर्जा बन्न पुग्दछ । प्रयोग गरेर त हेर्नुहोस् ।
हरियो पानी तयार गर्ने विधि
हरियो सिसाको बोतलमा तीन चौथाई भाग शुद्ध पानी भरेर ढक्कन लगाउनुहोस् । र, काठको फल्याकमाथि राखेर घाममा तताउनुहोस् । गर्मीयाममा ४–५ घण्टा तथा जाडोयाममा ६–७ घण्टा घाममा राख्नुहोस् । घाम अस्ताउनु पूर्व काठको फल्याक सहित बोतल उठाएर कोठामा राख्नुहोस् ।
हरियो पानी (ग्रीन वाटर) तयार भयो । यो हरियो पानी बिहान–बेलुकी एक–एक कप पिउनुहोस् । बिहान पुनः त्यो पानीलाई घाममा तताउनुहोस् । तेस्रो दिनसम्म यो प्रक्रिया अनुसार गर्नुहोस् । चौथो दिनमा चाहिँ बोतलमा पानी बाँकी रहे, त्यो पानी फालेर नयाँ पानी भर्नुहोस् ।
अर्थात् एक पटक भरेको पानी ३ दिनसम्म प्रयोग गर्न सकिन्छ । पानी खाली पेट पिउन पर्दछ । भोजन गर्नु भन्दा १–२ घण्टा तथा भोजन गरेको २–३ घण्टापछि पेट खाली हुन्छ ।
हरियो रंगको प्रकृति, सन्तुलित तथा संशोधन स्थितिलाई सामान्य बनाउने हुन्छ । यो पानी त्वचा, नस–नाडी संस्थान, आँखा तथा मस्तिष्कलाई बल, ओज र पोषण दिन्छ ।
उच्च रक्तचापलाई सामान्य बनाइदिन्छ, हृदय–दौर्बल्य नाश गर्दछ । मिर्गौला तथा रक्तसंचालन क्रियालाई ठीक राख्दछ (उच्च रक्त चाप तथा हृदय–दौर्बल्यका रोगीहरूले बिहान–बेलुका अवश्य नै एक–एक कप हरियो पानी पिउन ज्यादै उत्तम हन्छ । ) । यसका साथै हरियो पानीले सबै किसिमका रसायनहरू तथा हार्मोनहरूलाई सन्तुलित बनाउँछ ।
लेखक मनोविद् हुन् ।