संघीय संरचनामा प्रदेश नं. ५ को १२ जिल्लामा १०९ स्थानीय तह छन् । प्रदेश नम्बर ५ मा १२ वटा जिल्लाहरु पर्दछन् । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया रहेका छन् ।
विकास भनेको परिवर्तन हो । संघीय संरचनामा अब राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, पर्यटकीय, पर्यावरणीय आदि विकासको खोजी हुनु पर्दछ । वर्तमान समयमा विकास र पर्यटनलाई सँगसँगै लैजानसके आर्थिक समृद्धि हुन जानेछ । ५ नम्बर प्रदेश हिमालदेखि तराईसम्मको प्राकृतिक सौन्दर्य, प्रचूर जैविक विविधता, बहुजातीय/बहुभाषिक सामाजिक विविधता र साँस्कृतिक सम्पदा भएको प्रदेश हो ।
प्रदेश नम्बर ५ पर्यटकीय हिसाबले अधिकांश स्थल धार्मीक क्षेत्र रहेको छ । मुक्तिनाथदेखि बग्दै आउने कालिगण्डकीले बाग्लुङ र गुल्मी जिल्लाको सिमा पालुङखोलादेखि पाल्पा र नवलपरासीको पूर्वीभाग सँग सीमा बनेको घुमाउरीघाटसम्म कालीनदीको किनारमा दर्जनौ धार्मिकस्थलहरु रहेका छन् । यस प्रदेशमा बुद्धको जन्मस्थल लुम्बिनी, नारायणीको त्रिवेणी, दाउन्नेदेवी, बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको ऐतिहासिक दरबार, रानीमहल प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको खाँची र अर्घाकोट, सुपादेउराली गुल्मीको रेसुङगा, रिडी लगायतका सम्पदा रहेका छन् ।
पूर्वी रुकुममा सिस्ने हिमाल, ढोरपाटनको पश्चिमीभाग, कमलदह रोल्पामा जलजला, खाम मगरहरुको ऐतिहासिक बस्ती, दाङ जिल्लामा धारापानी, रिहार, बाह्रकुनेदह बर्दियाको ठाकुरद्वार बाँके जिल्लाको वागेश्वरी जस्ता पर्यटकीय सम्पदा रहेका छन ।
पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । पर्यटनमा प्रशस्त अवसरहरु हुन्छन् । पर्यटनको क्षेत्रमा त्यत्तिकै मात्रामा चुनौतीहरु पनि छन् । तसर्थ, समग्रमा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो । तर पनि प्रदेश नम्बर पाँचमा अनगिन्ती अवसरहरु रहेका छन् । जलयात्रा, तीर्थाटन पर्यटन, ग्रामीण पर्यटन र पुरातात्विक स्थलहरु छन् । यो प्रदेश प्रकृतिको धनी छ । तराई, पहाड र हिमाली भूबनोटकै कारण पनि पर्यटकहरुलाई आकर्षण गर्ने कयौं सम्पदाहरु छन् । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः प्रदेशको आर्थिक विकास हुन जान्छ । पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचार–प्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । अब स्थानीय तह र प्रदेश सरकारले यसतर्फ लगानी बढाउँदै जानु पर्दछ ।
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नति हुन्छ । प्रदेशको आर्थिक उन्नतिलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटक कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरुमा पैसा खर्च गर्नुपर्ने हुन्छ । उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै प्रदेशको आर्थिक उन्नतिमा समेत सहयोग पु¥याउँछ । प्रभावकारी पर्यटन प्रवद्र्वनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र संख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकै रुपमा लैजान पर्दछ ।
लुम्बिनीमा आजभोलि आन्तरिक पर्यटक मात्र होइन तेस्रो मुलुकका धेरै पर्यटकहरु जाने गर्दछन् । तेस्रो मुलुकका पर्यटक मध्ये जापान, श्रीलंका, थाइल्यान्ड, म्यामार, चीनका पर्यटकहरु लुम्बिनीमा पुग्ने गरेका छन् । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्यामा पछिल्ला वर्षहरुमा क्रमशः वृद्धि हुँदै गएको छ ।
लुम्बिनीको प्रमुख पुरातात्विक आधारहरु भनेका अशोकस्तम्भ शिलालेख, पुष्करिणी अर्थात् पोखरी, बुद्ध जन्मेको सकेत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति, मायादेवी मन्दिर, विभिन्न स्तूपाहरु, तेलार नदी तथा लुम्बिनी गाउँको भग्नावशेषहरु नै हुन् ।
यो स्थान नेपालको मात्र नभएर विश्वकै धरोहर भएको छ । अहिले लुम्बिनीमा श्रीलंका बौद्ध स्तूपा, जापानिज बौद्ध स्तूपा, दक्षिण कोरिया बौद्ध स्तूपा,थाईल्याण्ड बौध्द स्तूपा,म्यान्मार बौध्द स्तूपा, शान्तिदीप र मायादेवीको मन्दिर निर्माण गरिएको छ ।
पर्यटकहरुले लुम्बिनीमा पुगेपछि विभिन्न देशका प्रतिनिधित्व गर्ने गुम्बाहरुको अवलोकन गर्न पाएका छन् । यिनै पुरातात्विक सम्पदा अवलोकन गर्न तेस्रो मुलुकका पर्यटकहरु नेपाल आउने गर्दछन् । तर धेरै पर्यटकहरुले लुम्बिनीको भ्रमण गरेपनि बौद्धसँग जोडिएको कपिलवस्तुको पुरातात्विक सम्पदामा भने अवलोकन गर्न सकेका छैनन् ।
कपिलवस्तुको सदरमुकाम तौलिहवा नजिकै रहेको तिलौराकोट ऐतिहासिक पुरातात्विक संग्रहालय स्थल हो । प्राकृतिक सम्पदाले सिंगारिएको कपिलवस्तुमा पुग्ने पर्यटकका लागि समथर मैदानदेखि चुरे पहाडका उच्च टाकुरा, जैविक विविधताले भरिपूर्ण विश्व सीमसार क्षेत्रदेखि लिएर विश्व सांस्कृतिक सम्पदामा सूचीकृत हुन तयार सांस्कृतिक एवं पुरातात्विक अन्वेषण र ऐतिहासिक स्मारकको अवलोकन गर्न पाउने स्थलहरु रहेका छन् ।
कपिलवस्तुको वाणगंगादेखि पश्चिम, भारतीय सीमा र उत्तर महेन्द्र राजमार्गदेखि दक्षिणभित्र मात्रै १ सय ३६ वटा बुद्धसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक स्थल रहेका छन् । पुरातात्विकस्थल मात्र होइन कपिलवस्तु सांस्कृतिक हिसाबले पनि धनी छ । कपिलवस्तुको तिलौराकोट, अरौराकोट, कुदान, निग्लिहवा, सगरहवा, गोटिहवा, दोहनी, प्राचीन स्तूप, सिसहनियालगायत स्थल ऐतिहासिक महत्वका पुरातात्विकस्थलको रुपमा लिइएको छ ।
लुम्बिनी आउने पर्यटकहरुको गन्तव्य ढोरपाटन पनि हुने गर्दछ । लुम्बिनी आएको पर्यटकहरुलाई अहिले ढोरपाटन जान पोखरा नपुगेर पनि ढोरपाटन जान सकिन्छ । रुपन्देहीको सालझण्डी बजारदेखि पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र बाग्लुङको बुर्तिवाङ हुँदै ढोरपाटन पुग्न सकिन्छ । सालझण्डीदेखि ढोरपाटनसम्म कुल १९३ कि.मी.यात्रामा पर्यटकहरुले फरक संस्कृति, स्वच्छ हावापानीको मनोरम वातावरणको यात्राबाट धेरै हिमालको दृष्यावलोकन गर्न पाउँछन् ।
हिमाली शिकार आरक्षण ढोरपाटनसम्म सालझण्डी ढोरपाटन सडक सञ्चालन भएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरु प्राकृतिक सौन्दर्य चुम्दै ऐतिहासिक तथा धार्मिक स्थलमा रमाउँदै ढोरपाटनसम्म पुग्न सक्ने भएका छन् । पर्यटकले तराई, पहाड र हिमाली क्षेत्रको यात्राको आनन्द एकै दिन लिन सक्दछन् । सालझण्डीबाट सुरु हुने यात्रामा अर्घाखाँचीको मैदान, पाली, वाङला, सन्धिखर्क, अर्घा, बाँगी, हंशपुर, प्यूूठानको सौतामारे, गुल्मीको पुरकोटदह, सिर्सेनी, मदानेको लेखको अध्ययन अवलोकन गर्न सक्दछन् ।
ढोरपाटन पुगेपछि पर्यटकहरुले हाइकिङ अर्थात् पैदल भ्रमण पनि गर्न सक्दछन् । आजभोलि सहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन् ।
सहरी युवा पुस्ताको चासो समेट्ने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझ्दा डाँडाकाँडामा हाइकिङ अर्थात् पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । रुकुम र रोल्पामा पर्यटकहरुले हाइकिङ अर्थात् पैदल भ्रमण गर्न सक्दछन् ।
हिमालपारिको जिल्ला त होइन पूर्वी रुकुम तर पनि हिमाल भएकै कारण हिमाली जिल्ला भएको छ । सिस्ने हिमाल, मैकोटको पुथा हिमाल र सामझाङ हिमचुली पूर्वी रुकुममा पर्ने सम्पदा हो । जुन सौन्दर्यता गर्दा रुकुमकोट पुग्ने पर्यटकहरु रमाउने गर्दछन् । रुकुमकोटमा मगर राजा, बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान हो ।
रुकुममा होंचा अग्ला थुम्काहरुबाट सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल विशाल धाउने बगर फाँट बाटमाथि उठेको सुन्दर पहाडी उपत्यका रहेको छ । जुन ठाउँमा पर्यटकहरु पुगेपछि त्यहाँको दृष्यबाट आनन्द लिन सक्दछन ।
प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरुले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्ययनको लागि महत्वपूर्ण स्थल मानिन्छ । थुम्काहरुबीच–बीचमा लुकेका साना ठूला पोखरी र सुन्दर बस्तीहरुले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने पर्यटकहरु प्रकृतिसँग रमाउँछन् ।
रुकुम दुर्गम, विकट, हिमाली, लेकाली बस्ती जहाँ खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल पर्दछ । खामबस्ती भाषा, संस्कृतिको अध्ययन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागि महत्वपूर्ण मानिन्छ । भाषा, संस्कृतिसँगै प्राकृतिक सम्पदाको खानी रहेको र पर्यटकहरुको लागि आकर्षणकै केन्द्र बिन्दु भन्दा पनि हुन्छ । पूर्वी रुकुम खाम भाषीहरुको साँस्कृतिक पहिचान भएका गाउँ र बस्तीहरुको रमणीय, ऐतिहासिक र प्राकृतिक छटाले श्रृंगारिएको भूगोल हो ।
प्राकृतिक महत्वका सम्पदाका कारण अहिले पूर्वी रुकुममा पर्यटकहरु घुमघामको लागि जाने पर्यटकको संख्या क्रमशः बृद्धि हुन थालेको छ । पूर्वी रुकुममा युद्ध पर्यटन अर्थात् द गुरिल्ला ट्रेकिङको कारणले पनि आजभोलि धेरै पर्यटकहरु पुग्ने गरेका छन् । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेषहरु अब पर्यटकीय स्थल बनेका छन् ।
गाउँमा अब होमस्टेको व्यवस्था हुन थालेको छ । गुरिल्ला पदमार्ग मगर खाम जातिको संस्कृति अध्ययनका लागिसमेत उपयोगी छ । तत्कालीन माओवादी र सरकारी पक्षको आक्रमणबाट बनेका अवशेष समेत पर्यटकहरुको लागि आकर्षणका केन्द्र बनेका छन् ।
गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको वेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरका बारेमा शिक्षासमेत पर्यटकलाई दिने गर्दछ ।
कुनै बेला रोल्पा भन्ने बितिक्कै मानिसहरु झस्किन्थे ! नझस्किऊन पनि किन ? माओवादी द्वन्द्वकालीन समयमा रोल्पामा घुमफिर गर्न त्यति सजिलो थिएन । द्वन्द्वको समयमा रोल्पा घर भने पछि काठमाण्डौमा घर धनिहरुले डेरा समेत दिन डराउँथे । समग्रमा रोल्पाली भनेपछि हेर्ने र बुझ्ने दृष्टिकोण नै भिन्न बनाउने गर्थे । द्वन्द्व समाप्त भै सकेपछि आजकल रोल्पाको त्यो बुझाई कथा मात्र बनेको छ । रोल्पामा बिकास निर्माणका काम हुन थालेका छन ।
जनयुद्वको समयमा घटना घटेका गाउँहरु आजभोलि ग्रामीण पर्यटकीयस्थल बनेका छन् । गाउँ–गाउँमा सडक निर्माण भएका छन् । रोल्पा भ्रमणमा जाने ग्रामीण पर्यटकहरुको संख्या पनि बढ्न थालेको छ । अहिले माओवादी द्वन्द्वकालीन समयमा घटना घटेकास्थल,छापामार हिडेका बाटो, बास बसेका गाउँ सबै पर्यटनको गन्तव्य भएका छन् ।
अहिले रोल्पामा नेपाली मात्र होइन विदेशी पर्यटकहरु समेत पुग्ने गरेका छन् । समाजशास्त्र, मानवशास्त्र एवं राजनीतिशास्त्रका विद्यार्थीहरुका लागि अध्ययन, अनुसन्धान र खोज गर्नको लागि गुरिल्ला पदमार्ग गन्तव्य भएको छ । विदेशी पर्यटक अधिकांश द्वन्द्व व्यवस्थापनमा चासो राख्ने पर्यटकहरु भेटिएका छन् । पर्यटकलाई गाउँमा बासको राम्रो व्यवस्था छ भने स्थानीय बासीको आतिथ्यता समेत पर्यटकलाई हुने गर्दछ ।
रोल्पामा तत्कालीन समयको स्मरण गराउन तथा शान्ति स्थापना भएको जानकारी दिन संग्रहालय निर्माण गर्न लागिएको छ । जनयुद्ध संग्रहालयले पर्यटकहरुलाई रोल्पाबाट सुरु भएको सशस्त्र द्वन्द्व, त्यसले पारेको प्रभाव र शान्ति प्रक्रिया पछिको अवस्थाबारे जानकारी दिन र लिन सकिने संरचना निर्माण हुन लागेको छ । रोल्पामा जाने ग्रामीण पर्यटकहरुले प्राकृतिक सौन्दर्य अवलोकन गर्न मात्र नभएर रोल्पाको जनजीवन, भाषा, संस्कृति र जनयुद्वको समयमा घटना घटेका गाउँहरुको बारेमा पनि अध्यन गर्न रुचि राख्छन् । रोल्पामा भ्रमणमा पुग्ने मानिसको पहिलो रोजाई नै थवाङ गाउँ र जलजला पहाड पुग्ने इच्छा राखेको पाइन्छ । थवाङ ऐतिहासिक खाम जातिको बसोबास भएको गाउँ हो ।
परम्परागत शैलीका घर ढुङगाका छाना एउटै गाउँमा तीनसय ३४ घर पहिलो पटक थवाङ पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्दछ । जुन गाउँ २०१२ सालदेखि कम्युनिष्ट किल्लाको रुपमा चर्चित छ । थवाङ गाउँ जान आजभोलि धेरै बाटोहरु छन् । तर पनि घोराहीबाट गाडी चढेपछि होलेरी, दहवन, भागोवारी हुँदै नुवागाउँ भएर थवाङ पुगिन्छ ।
थवाङबाट चलावाङ र तिरिवाङ हुँदै करिब ५ घण्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुद्रिक सतहबाट ३१९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मूख सेतो लालीगुराँसका फूल पाइन्छ ।
पौराणिक कथा अनुसार बाह्रभाई वराहको जन्म धौलागिरीमा भएको र त्यही बाट जलजला पहाडमा २२ बहिनी बजुको आगमन भएको विश्वास गरिन्छ । त्यसैले कैलु वराहको पूजा गरेपछि २२ वहिनी रानी बज्यूहरुको पूजा गर्ने प्रचलन छ । यहा तीनबटा वराहको मन्दिर रहेका छन् । जसलाई कैलु वराह, बजु वराह, र सहदे वराह भन्ने गरिन्छ । प्रत्येक वर्षको वैशाख, जेष्ठ र जनैपूर्णिमाको दिन यहाँ मेलापनि लाग्ने गर्दछ । जलजला पहाडमा दुर्लभ पंछी र वन्यजन्तुहरुको बसोवास पनि छ । जलजलाबाट रोल्पाको भूगोल मात्र होइन रुकुमको सिस्ने हिमाल र अनगिन्ती लेक, वेसी र प्राकृतिक सौन्र्दयताको आनन्द लिन सकिन्छ ।
प्युठान जिल्ला धार्मिक तथा पर्यटकीय स्थलहरुमा देशभित्र र बाहिरसम्म चर्चित भएको धार्मिक पर्यटकीय स्थल स्वर्गद्वारी पर्दछ । त्यसपछि ऐरावती, गौमुखी, कालिका मन्दिर, मल्लरानी, भित्रीकोट, झाक्रीस्थान, बिजुलीकोट, बरौलाकोट, जावुने दह, त्रिवेणी जस्ता सम्पदाहरुले समेत पर्यटनको लागि गन्तव्य बन्दै गएको छ । प्युठानको स्वर्गद्वारीमा प्रत्येक वर्ष लाखौंको संख्यामा भारतीय तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् ।
दाङमा चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका–मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर, मन्थोर्या मन्दिर जस्ता पर्यटकीय सम्पदा रहेका छन । बाँकेमा वागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा सम्पदाहरु रहेका छन् ।
पर्यटकीयस्थलमा महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि पर्यटकहरुको लागि गन्तव्य स्थलहरु हुन् । बाँके राष्ट्रिय निकुञ्ज, कोहलपुर गोलपार्क, ढकेरी वनभोज क्षेत्र, सिक्टा पनि पर्यटनको रोजाइमा पर्दछ । बर्दियामा सबैभन्दा लामो कर्णाली (गेरुवा) नदीमा बनेको कोठियाघाटको पुल, बर्दिया राष्ट्रिय निकुन्ज, कर्णाली चिसापानी पुल, पुरातत्वले महत्वपूर्ण ठाकुरबाबा मन्दिर यहाँको पर्यटकीयस्थल हुन ।
अर्घाखाँचीमा पाणिनि तपोभूमि (पणेना), सात्तले गुफार दुर्वाशेश्वर गुफा, मालिका मन्दिर खिदिम, आलम देवीको मन्दिर (मैदान), सुपा देउराली, छत्र मन्दिर (छत्रगञ्ज), नर्तनाचल पर्वत (नरपानी), परसुरामेश्वर, ऐतिहासिक पौवा (बल्कोट), अर्घाकोट (अर्घा), पाली पन्थीटोलको लाकुरीरुखमा अबस्थित ठाडा देवी भगवती यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन् । गुल्मी जिल्ला प्राचीन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र, पौराणिक, ऐतिहासिक स्थल, जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र गुल्मीमा रहेकोछ । धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालीन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोट, चारपाला दरबार, मुसीकोट, चन्द्रकोट, इस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्ब्रुङ दह, थाप्ले, कङे देउराली, सत्यवती, शालिमेदह जस्ता सम्पदाहरु छन् ।
पाल्पामा रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देवी, रैना देवी, सत्यवती ताल, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा, महामृत्युन्जय शिवासन बराङदी जस्ता पर्यटकीय स्थलहरु छन् ।
कपिलवस्तमा पर्यटकीय स्थलहरुमा अधिकांश पुरातात्विक र ऐतिहासिक स्थलहरु पर्दछन् । अठ्कुनियाँ, अमौलीकोट, अरौराकोट, इटवा डरवा धनगढवा, कपिलवस्तु संग्राहलय, कुदान, गोटिहवा अशोक स्तम्भ, गौरीगंज, चंघाट, चेतरादेही, जगदीसपुर ताल, जोडी स्तूप, डंगरी, डेरवा स्तूप, तिलौराकोट, तौलेश्वर मन्दिर, दलदलवा, दुमुनियाँ, दोहनीकोट, धानखोला, निगालीकोट, पडसडवा, पिपरा स्तूप, लौहसरिया स्तूप, विजुवा, श्रृङ्गीऋषि धाम, सगरहवा ताल, समयमाईकोट आनन्दवाग, सरकुप पोखरी, सिसेनियाँ, सिसेनियाँ दरबसवा, सेमरा शिवमन्दिर, सोनवागढ, हर्देवा जस्ता सम्पदा रहेका छन् ।
रुपन्देहीमा गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण रहेको छ । यस जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, सिद्धबाबा जस्ता सम्पदा रहेका छन् ।
गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमा परिचित रुपन्देही पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ । नवलपरासीमा रामग्राम स्तूप, त्रिवेणीधाम, पाल्हीभगवती, दाउन्ने देवी जस्ता पर्यटकीय सम्पदा छन् । प्रदेश नम्बर ५ का सबै पर्यटकीय स्थलमा पुग्नको लागि राष्ट्रिय, जिल्ला र ग्रामीण सडक सञ्जालले जोडिएका छन् । भैरहवा, नेपालगञ्ज र दाङबाट हवाई सेवा भएपनि ती सबै काठमाण्डौं केन्द्रित छन् । घुमफिरको लागि केही स्थान बाहेक खान बस्नको लागि होटलको सुविधा छ ।
आर्थिक विकास, सामाजिक एकीकरण र आबद्धताको माध्यम पर्यटन हो । पर्यटन पूर्वाधारहरु होटल, रिसोर्ट, मनोरञ्जनपूर्ण खेलजस्ता क्षेत्रको विकास पर्याप्त मात्रामा हुनु पर्दछ । संघीय आर्थिक विकासको कुरा गर्दा कृषि, पर्यटन र जलस्रोतको सदुपयोग नै आर्थिक विकासको मूल आधार हुन्छ ।
भौगोलिक तथा साँस्कृतिक विविधता पाँच नम्बर प्रदेशको पर्यटन उद्योगहरुका स्रोतहरु हुन् । यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवम् मानव निर्मित सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै आकर्षक, रमणीय र सुरक्षित पर्यटनको गन्तव्यस्थलको रुपमा विकास गर्न सकिन्छ ।
पर्यटनको विकास त्यसै हुने होइन । सर्वप्रथम प्रदेशका सबै जिल्लाहरुलाई सडक यातायातको सुविधा हुनु पर्दछ । गाउँमा पर्यटक पुग्नको लागि आवास, सञ्चार, सुरक्षा र स्वास्थको लागि सुविधाजनक भएको हुनु पर्दछ । ग्रामीण पर्यटकीय विकास गर्न होमस्टेको सुरुवात गर्न पर्दछ । लुम्बिनीमा आएका पर्यटकलाई पाल्पा, गुल्मी र अर्घाखाँची मात्र नभएर दाङ, प्युठान, रोल्पा, रुकुमकासमेत प्राकृतिक र धार्मिक र ऐतिहासिक स्थलको अवलोकन गराउने सोंच सबैमा हुनु पर्दछ । त्यसैगरी बाँके बर्दियामा रहेका निकुञ्जका वन्यजन्तु हेर्नलाई समेत पर्यटक पु¥याउने वातावरण सर्जना गर्नु पर्दछ ।
गाउँको विकास र युवाहरुलाई रोजगारी दिन अबको विकल्प एग्रो टुरिज्म नै हो । सबै गाउँहरुमा कृषि पर्यटनको विकास गर्न पर्दछ । गाउँमा पशुपालन र कृषि फर्म हुने हो भने ग्रामीण पर्यटक पुग्ने गर्दछन् । कृषि–पर्यटनको एकीकृत विकास योजनाले पर्यटन क्षेत्र विस्तार हुन्छ । कृषि पर्यटनले गाउँमा रोजगारीको सिर्जना गर्दछ ।