हिन्दुको सबैभन्दा पुरानो ग्रन्थ ऋगवेदमा क्षत्रीय भगवान ईन्द्र घोडे–रथ चढेर आफ्ना ‘अशुद्ध दुश्मन’ अर्थात् दासमाथि जाइलाग्छन् । ईन्द्रले दासको ‘पुर’ अर्थात् किल्ला भत्काइदिन्छन् र आफ्ना आर्य मानिसहरुका लागि पानी र जमिन सुरक्षित पार्छन् ।
चारदेखि तीन हजार बर्ष पहिले पुरातन संस्कृत भाषामा रचिएको ऋगवेद ग्रन्थका रुपमा लेखिनुअघि दुई हजार बर्षसम्म मौखिक पुस्तान्तरण हुँदै आयो, ग्रिसका इलियड र ओडिसी जसरी । ग्रिसका यी दुई महाकाव्य ऋगवेदभन्दा केही सय बर्षपछि अर्को आद्य भारोपेली भाषामा रचियो ।
ऋगवेद यस्तो आँखीज्याल हो, जसबाट भारोपेली भाषा आफ्नो उद्गमस्थलबाट तितरवितर हुनेबेला उक्त भाषा बोल्ने मानिसहरुको संस्कृति चियाउन सकिन्छ ।
तर, वास्तविक घटनाहरुसँग ऋगवेदको लेनादेना के छ ? दास को हुन् ? आर्य को थिए ? ती पुरहरु कहाँ तिए ? त्यस्तो साँच्चिकै भयो होला र ?
बिसौं सताब्दीको बिसौं र तिसौं दशकतिर विकास भएको पुरातत्व विज्ञानले यी प्रश्नका उत्तर दिनेछन् भनेर ठूलो आसा थियो । त्यो समयमा भएका उत्खनन्मा भित्ताले घेरिएको हरप्पा, मोहन जोदरो, पन्जाव र सिन्धमा ४५ सयदेखि ३८ सय बर्ष पुराना सभ्यताका भग्नावशेष फेला पारे ।
सिंधु नदिका उपत्यकाहरुमा पाइएका यस्ता सहर र नगरहरु आधुनिक समयमा पाकिस्तान र भारतका भू–भागमा बाँडिएका छन् । यी नगरहरुमध्ये केहीमा दशौं हजारको आवादी थियो ।
ऋगवेदमा भनिएका ‘पुर’ अर्थाात् किल्लाहरु यीनै थिए ?
सिंधु उपत्यकाका नगरसभ्यताहरु भित्ताले घेरिएका र ज्यामितिय आकारका ‘ग्रिड’मा बसाइएका थिए । नदिमा रहेको सभ्यता भएकाले नदिवरपरका समथर भूभागमा गरिएका खेती उब्जनीलाई भण्डारण गर्न नगरमा ठूलाठूला भण्डाराहरु बनाइएका थिए ।
नगरहरुमा माटो, सुन, तामा र काठमा काम गर्न सक्ने सिपालु मानिसहरु बस्थे । उनीहरु शिल्प र वाणिज्यसँग जोडिएका थिए । नापोका लागि ढुङ्गाबाट बनाइएका ढकहरु प्रयोग गर्थे । त्यो शैलि आजसम्म पनि प्रयोगमा आइरहेको छ । उनीहरुको व्यापार अफगानिस्तान, अरब, मेसोपोटामिया(हालको इजिप्ट) र अफ्रिकासम्म पनि फैलिएको थियो ।
उनीहरुले मानिस तथा जनावरअंकित सजावटका सीलहरु बनाउँथे । सीलमा यस्ता धेरै चिन्ह अथवा संकेतहरु पनि छन् जसको अर्थ आजसम्म खुट्याउन सकिएको छैन ।
उत्खनन्को सुरुआतबाट नै सिंधुसभ्याताको लिपी मात्रै होइन अन्य धेरै कुराहरु रहस्यपूर्ण रहेका छन् । त्यो भन्दा पनि ठूलो रहस्य सभ्यताको पतन हो । त्यो कसरी भयो ? यसै भन्न सकिन्न । अनुमान चाहीँ गर्न सकिन्छ ।
करिब ३८ सय बर्षअघिदेखि सिंधुका वस्तीहरु घट्न थाले । जनसांख्यिक केन्द्रविन्दु सिंधुबाट पूर्वतिर गंगाका समथर भू-भागतिर स्थानान्तरण हुन थाल्यो ।
यतीबेलै हो, पुरानो संस्कृत भाषामा ऋगवेद रचिएको । अहिले उत्तरी भारतमा बोलिने बहुसंख्यक भाषहरुको अभिभाकत्व यहीँ भाषालाई जान्छ । यो भाषा ऋगवेद रचिएको समयभन्दा एक सहस्राब्दीअघि इरानमा बोलिने भाषाहरुबाट उछिट्एिको थियो ।
ईण्डो–ईरानी भाषाले युरोपमा बोलिने करिब सबै भाषासँग भाइभाइको सम्बन्ध राख्छ । त्यसैले यी सबै भाषा ईण्डो–युरोपियन भाषा परिवारभित्र पर्छन् ।
शक्ति भएका विनियामक भगवानहरु समेटिएको ऋगवेदमा भनिएका कुराहरु ईरान, ग्रिस र स्काण्डिनेभियासहित ईण्डो–युरोपियन युरेसियाका धेरै ‘मिथोलोजि’सँग मेल खान जान्छन् ।
केहीले के शंका गर्छन् भने सिंधु सभ्यताको पतन उत्तर र पश्चिमबाट आएका भारोपेली भाषा बोल्ने ईण्डो–आर्यनहरुका कारण भएको हो । ऋगवेदमा यी ‘आप्रवासी’सँग घोडा र रथ थिए भनिएको छ ।
पुरातात्विक अध्ययनबाट हामीलाई के थाहा छ भने सिंधु उपत्यका घोडाको घरेलुकरणभन्दा पहिलेको समाज हो ।
उपत्यकामा घोडा या आराभएका चक्काले बनेका बहान रहेको कुनै पनि स्पष्ट प्रमाण फेला परेको छैन । यद्यपि, वस्तुभाउले तान्ने चक्कासितका लडियाहरुको भने केही प्रमाण भेटिन्छ ।
घोडा र आरा–चक्के रथ कास्य युगको युरेसियामा ध्वंसात्मक हतियारको रुपमा प्रयोग हुन्थे ।
ईण्डो–आर्यनहरुले सिंधु उपत्यकाको सभ्यता मास्न आफ्ना आधुनिक शैन्य प्रविधि प्रयोग गरेका हुन् त ?
हडप्पा उत्खनन् भएदेखि युरोप र भारतका राष्ट्रवादीहरुले ‘आर्यन आक्रमण सिद्धान्त’लाई छोपेरै बसेका छन्, जसले यो विषयलाई वस्तुगतरुपमा बहस गर्न नसकिने बनाइदिएको छ ।
भारतमा गोरा छाला भएका उत्तरी युरोपियनहरुले काला छाला भएका आदिवासीहरुमाथि आक्रमण गरी भिन्दाभिन्दै नश्लहरुबीच विवाह हुन नसक्ने गरी जातप्रथा लादेको बिचारप्रति नाजीवादीलगायत युरोपका नश्लवादीहरुले आशक्ति देखाएका थिए ।
भारोपेली भाषा परिवार छितरिएर ईण्डिया पुगेको र त्यहाँका रैथाने आदिवासीलाई आफ्ना संस्कृतिमा समाहित पारेको कुराले नाजीहरुको नश्लिय चिन्तनलाई थप बढावा दिएको थियो । उनीहरु त्यहीँ कुरा यहुदीमाथि पनि चरितार्थ होस् भन्ने चाहन्थे । त्यसको नतिजा ध्वंशात्मक निस्कियो ।
नाजीहरुले भारोपेलीको पुरातात्विकी जरो जर्मन लगायत उत्तर पुर्वी युरोप हो भनेर मानेका थिए । उनीहरुले वैदिक मिथोलोजिका बिशेषताहरुलाई आफ्नै जस्तो गरी अपनाए । बेदबाट झिकिएको आर्यन शब्द आफ्नो जात जनाउन प्रयोग गरे । यतिसम्मकी वेदमा सुभाग्यको रुपमा चिह्नित ‘स्वस्तिक’लाई हिटलरले नाजीको प्रतिकको रुपमा प्रयोग गरे ।
परापूर्वमा युरोपदेखि एसियासम्म भएका बसाइँसराई र सोही अनुसार छितरिएका भारोपेली भाषाहरुमा नाजीहरुको ठूलो रुचि रहेकाले त्यसलाई बहसको दायारामा ल्याउन गम्भीररुपमा लागिरहेका अध्ययेताहरुलाई पनि निकै गाह्रो भइरहेको छ ।
यता केही राष्ट्रवादी भारतीयहरु पनि बसाइँसराई गरेर आएका भारोपेलीहरुको हातबाट सिंधु सभ्यता खतम भएको भन्ने कुरालाई मान्न तयार छैनन्, किनभने त्यसो गरेमा मौलिक र ‘ओरिजिनल’ मानिएको दक्षिण एसियाली संस्कृतिमा बाहिरियाहरुको प्रभाव रहेछ भन्न कर लाग्थ्यो । त्यसले राष्ट्रवादी चिन्तनमा धक्का दिन सक्थ्यो ।
अहिले उत्तरबाट बसाइँसराई भएको भन्ने सिद्धान्त राजनीतिक कारणले मात्रै होइन पुरातात्विक प्रमाण नहुनाले पनि धेरै अनुसन्द्याताका माझ विलिन हुँदै गएको छ । किनभने ठूलो जनसांख्यिक स्थानान्तरणको पुष्ट्याई गर्नसक्ने गहकिलो पुरातात्विक प्रमाण हालसम्म फेला परेको छैन ।
सिंधुमा ३८ सय बर्षअगाडिको विनासका संकेत छैनन्, न त खरानीका तहहरु नै भेटिन्छन् । त्यस्ता प्रमाण नभएपनि सिंधु सभ्यताको उतार यत्तिकै झट्ट भएको थिएन भन्ने प्रमाण भने छन् । सिंधुबाट सभ्यताको पलायन र वातावरणको स्थितीमा गिरावट हुन दशकौं लागेको थियो ।
यद्यपि, पुरातात्विक प्रमाणहरुको कमी छन् भन्दैमा सिंधुमाथि बाहिरबाट आक्रमण भएको थिएन भन्ने कुरामा विश्वस्त हुन सकिन्न । १५/१६ सय बर्षअघि जर्मनहरुको औपनिवेशवादका कारण पश्चिमा रोमन साम्राज्य पतन भएको थियो । त्यतीबेला भिसिगोथ र भ्याण्डलहरुले रोमनहरुलाई अपदस्थ गरी रोमन राज्यहरुमा आफ्ना अधिपत्य जमाएका थिए । यदि ऐतिहासिक दस्तावेजहरुमा नलेखिएको भए त्यतीबेला रोमन साम्राज्यले जर्मनहरुबाट बेहोर्नुपरेको रक्तपात र विनासबारे हामीलाई थाहा हुने थिएन । किनभने त्यसका लागि पुरातात्विक प्रमाणहरु अझैसम्म पनि फेला परेका छैनन् ।
त्यहीँ कुरा यता सिंधुमा पनि लागु हुन सक्छ । पुरातत्वका अनुसन्द्यातासँग रहेका सिमितताका कारण उतीबेला भएका घटनाहरु पत्ता नलागेको हुन सक्छन् । अथवा सिंधुमा भेटिएका पुरातात्विक प्रमाणका बीच त्यतीबेलाका घटनाहरु लुकेका हुनसक्छन् ।
यसमा जेनेटिक्स(आनुवांशिक विज्ञान)ले के भन्छ ?
जेनेटिक्सले सिंधु सभ्यताको अन्त्यताका के भयो भनेर त भन्दैन, तर त्यतीबेला भिन्न-भिन्न पूर्खा रहेका मानिसका बीच टकराव रहेको कुराको संकेत गर्छ ।
पछिल्ला आनुवांशिक अध्ययनले सिंधुमा भिन्न पुर्ख्यौली ईतिहास भएका मानिसहरुको संमिश्रण रहेको भेटाएका छन् । यसलाई मात्र आधार मानेर बसाइँसराईको सिद्धान्तलाई प्रमाणित गर्न त सकिन्न, तर यसले नाटकीय जनसांख्यिक परिवर्तनलाई भने पक्कै प्रमाणित गर्छ । त्यसैले यस्ता अध्ययनमा हडप्पाको पतनताका साँस्कृतिक आदानप्रदान भएको हुनसक्ने कुराहरु इङ्गित भएका छन् ।
–डेविड राइखको ‘हु वी आर एण्ड हाउ वी गट हियरः एन्सियन्ट डीएनए एण्ड द न्यु साइन्स अफ ह्युमन पास्ट’ शिर्षकको पुस्तकमा रहेको एउटा लेखलाई जीवराज चालिसेले नेपालीमा भावानुवाद गरेका हुन् । साप्ताहिक रुपमा प्रकाशित गर्न लागिएको लेखको सातभागमध्ये यो पहिलो भाग हो ।