भूमिका
शाक्य गणराज्य तिलौराकोटमा ई.पू. ५६३ मा सिद्धार्थ गौतमको जन्म भयो । यिनको बाबुको नाम शुद्धोदन र आमाको नाम मायादेवी थियो । तत्कालीन समाजको प्रचलन अनुसार बच्चाबच्ची जन्माउन माइत जाने गरिन्थ्यो । त्यसैले मायादेवी राजा शुद्धोदनको दरबार अर्थात् आफ्नो निवास स्थानबाट बिदा भई माइती देश कौलीय राज्य हालको देवदह पण्डितपुरतर्फ प्रस्थान गरिन् । यात्राका क्रममा लुम्बिनी वनको शालवृक्षमुनि पुग्दा मायादेवीलाई प्रसुति व्यथाले च्याँप्यो र त्यही शाल वृक्षमुनि सिद्धार्थ बालकको जन्म भयो । १० महिना गर्भमा रहेर जन्मेका बालक राजकुमारको नाम हिन्दु न्वारन संस्कार बमोजिम सिद्धार्थ गौतम राखिएको थियो । आफ्नी आमाको मृत्यु बुद्ध जन्मेको ७ दिन मै भएको हुँदा राजा शुद्धोदनले सालीलाई विहे गरेका थिए ।
साखेत सानीमा प्रजावती अथवा सौतेनी आमा प्रजावतीले बुद्धको लालनपालन गरेकी हुँदा मावलीतर्फको गोत्रको आधारमा बुद्धलाई सिद्धार्थ गौतमको रुपमा न्वारन गरिएको थियो । बुद्ध जन्म स्थललाई अहिले लुम्बिनी नामले विश्वभरि चिनिन्छ । अहिले प्रसूति हुने महिला माइतमा बस्न वा जान हुँदैन भन्ने प्रचलन भए बमोजिम गर्भधारण गरेका छोरीहरु घरमै जाने वा घरमै रहने गर्दछन् । तर त्यो बेला प्रसूति हुन माइत जाने प्रचलन हुनु र आमाको वा सानी आमाको थर÷गोत्रबाट बुद्धको थर÷गोत्र जनाइनुले बुद्धकालीन समाज केही मात्रामा मातृसत्तात्मक समाज संस्कृति रहेछ भन्ने स्वतः प्रमाणित हुन्छ ।
बुद्धकालिन समाजको अवस्था
बुद्धकालीन समाज काम विशेष र विशेषज्ञताका आधारमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रमा विभक्त भएको पाइन्छ । विशेषता र कर्मका आधारमा जसले जे कर्म गर्छ त्यसलाई त्यसैगरी चिन्नुपर्छ भन्ने बुद्धको राय थियो । चोरी गर्नेलाई चोर, युद्ध गर्नेलाई योद्धा, कृषि कर्म गर्नेलाई किसान, निर्माण शिल्प भएकालाई शिल्पकार भनेर चिन्नुपर्छ । आफूलाई ब्राह्मण भन्नेले यो कर्म गर्छ भने ऊ ब्राह्मण होइन । जन्मले कोही ब्राह्मण हुँदैनन् । आमाको योनिबाट जन्मेकोलाई ब्राह्मण मन्नु हुँदैन । ब्राह्मण भनेको विशेष प्रकारको कर्म हो । जसले पुरोहित पेसा गरेर जीवन निर्वाह गर्छ ऊ पुरोहित हो ब्राह्मण होइन । जन्मले न ब्राह्मण हुन्छ न अब्राह्मण नै । कर्मले ब्राह्मण बन्छ र कर्मले अब्राह्मण बन्छ । कामले नै कृषक, शिल्पी, व्यापारी र दूत हुन्छ । कामले नै चोर, योद्धा, पुरोहित र राजा हुन्छ ।
यसबाट के स्पष्ट हुन्छ भने बुद्धकालीन समाज जातजातिमा बाँडिएको थियो । यज्ञ यज्ञादिको बोलवाला थियो । श्रम गर्ने वर्गलाई तल्लो जात र अछुत समेत मानिन्थ्योभने ब्राह्मणहरु उच्च जातका मानिन्थे । स्वर्ग नर्क जस्ता परलोकको कल्पना गरिएको थियो । जसले दान दक्षिणा गरेर ब्राह्मणलाई तृप्त पार्दथ्यो, उसलाई धर्मात्मा ठानिन्थ्यो र उसले स्वर्ग प्राप्त गर्न सक्छ भनेर व्याख्या गरिन्थ्यो । गरिब, विपन्न जो सुकै भए पनि यज्ञ यज्ञादि नगर्नेहरुलाई पापी ठानिन्थ्यो र तिनीहरुले नर्क प्राप्त गर्छन् भनेर सम्झाइन्थ्यो ।
मूर्ति पूजाको बिगबिगी थियो । जनकपुर कर्मथलो बनाएका याज्ञवल्कको ब्रह्मवादी दर्शन लगायत दर्शन अर्थात् यो जगतको निर्माता र सञ्चालक ब्रह्म नै हुन् भन्ने विचारलाई समाजमा व्याप्त थियो । यो दर्शन विरुद्धमा चार्वाक र साङ्ख्य दर्शन पनि प्रभावी भएर आएका थिए । त्यतिबेला दार्शनिकहरु र चिन्तकहरुलाई ऋषि मुनि र मनिषी भनिन्थ्यो । कपिलवस्तुका साधक चिन्तकहरु मध्ये कपिलमुनिले साङख्य दर्शनको प्रतिपादन गरेका थिए । प्रकृतिलाई मूल र पुरुषलाई सहायक तत्वका रुपमा प्रस्तुत गर्नुका साथै ईश्वर सिद्ध हुन सक्तैन भन्ने मान्यता राख्दथे । प्राकृतिक भौतिकवादका मूल प्रतिनिधि र प्रणेताका रुपमा उनलाई अङ्गीकार गरिएको छ । प्रकृतिलाई मूल र चेतनालाई सहायक मान्ने हुँदा उनको दर्शनलाई द्वैतवादी दर्शन पनि भनिन्छ ।
इहलोक, परलोक, स्वर्ग, नर्कको ईश्वर, आत्मा, परमात्मामा रुमलिएको त्यो समाजलाई यथार्थको उद्बोधन गर्ने प्रयत्न कपिल ऋषिले गरेको देखिन्छ । प्रकृति र पुरुषको विषयमा अज्ञानता भएकै कारणले नै संसार दुखमय छ । सर्सती हेर्दा बुद्धकालीन समाज दासयुगीन समाजको अन्त्य चरण र सामन्ती युगमा संक्रमण अवस्थाको भएको हुँदा बहुदेव प्रणाली, बहु धार्मिक प्रणाली प्रथा, शैव, वैष्णव, बोन, शाक्त आदिको प्रभाव भएको धार्मिक दर्शनले राज्य, राजनीति र समाजलाई प्रभावित पारिरहेको थियो । यसै युगमा बुद्धभन्दा अगाडि र बुद्धकालमा यस कपिलवस्तु क्षेत्रमा ब्रह्माण्ड र मानव समाज, मानवको मुक्ति र मोक्ष, दुःखबाट मुक्ति जस्ता विषयमा केन्द्रित भएर दर्शनका क्षेत्रमा चिन्तन, मनन, खोजशोध भैरहेको पाइन्छ ।
बुद्ध दर्शन एउटा अभियान हो
सामान्यतया सिद्धार्थ गौतमले प्रतिपादन गरेको दर्शन, सिद्धान्त र व्यवहार (शील) लाई हामी बुद्ध दर्शन, बुद्ध धर्म, बुद्ध संस्कृति भनेर बुझ्दछौं । यसरी नै बुझ्नु प्रचलन पनि छ । तर बुद्ध दर्शन यति मात्र सीमित छैन । बुद्ध दर्शन एउटा अभियान हो । बुद्ध संस्कृति एउटा अभियान बुद्ध सिद्धान्त (बुद्धवाद) एउटा अभियान हो । जसरी एथेन्सलाई प्राचीन दर्शनको केन्द्र मानिन्छ । जर्मनीलाई आधुनिक दर्शनको केन्द्र मानिन्छ । त्यसरी नै कपिलवस्नु पनि दर्शन, सिद्धान्त र विचारको केन्द्र हो । वैदिक दर्शन र वैदिक संस्कृति, अनि हिन्दु दर्शन र हिन्दु संस्कृतिमा गतिशीलताको ठाउँमा अगतिशीलता (रुढ विचार) र यथास्थितिवाद, कर्मकाण्डीय अन्धपरम्परा, जातिपाति छुवाछुत प्रथाको प्रभाव बढ्न थाल्यो । तत्कालीन समाजलाई अगाडि लैजाने प्रक्रिया त्यही समाजबाटै शुरु भयो । परम्परा, पुर्पुरो, परमात्मा, भाग्य, इहलोक, परलोक आदि समाज विकासको आधार होइन । कर्मले मानव श्रेष्ठ हुन्छ, कर्मले मानव निच हुन्छ, जन्म र जातले जात वा श्रेष्ठता निर्धारण हुँदैन । यसबारे तिलौराकोट दरबार वरिपरि छलफल हुन थाले । कपिलले यस सम्बन्धमा शोधखोजका साथ साङ्ख्य दर्शनमार्फत प्राकृतिक, भौतिकलाई अगाडि बढाएर यस क्रममा धेरै चिन्तक साधकहरु देखा परे । तीन चिन्तक साधकहरु ऋषि, मुनि, मनीषी, पण्डित, महापण्डित आदि भनिएको पाईंदैन । यसबाट के निचोडमा पुग्न सकिछ भने बुद्धको जन्मकालको सेरोफेरो यस्तो समय थियो कि पुराना रुढीवादी अन्धपरम्पराको जालोबाट तत्कालीन समाजले उन्मुक्ति चाहिरहेको थियो । पुरानो परम्पराको अन्त्य र नयाँ संस्कार र संस्कृति पक्षमा चिन्तक साधकहरु लागेका थिए । त्यसैले कपिलको साङ्ख्य दर्शन मात्र जन्मिएन, त्यो समाजमा सिद्धार्थ गौतम भन्दा पहिले नै कनकमणि बुद्ध, क्रकुच्छन्द बुद्ध नामका अरु बुद्धहरु पनि देखा परिसकेका थिए । पछिल्लो समयता सिद्धार्थ गौतम देखा परे जसले बुद्ध दर्शन, बुद्ध सिद्धान्त र बुद्ध विचारको प्रतिपादन र प्रचारको शुरुवात गर्नुका साथै मानव समाजलाई संगठित गर्न संघ व्यवस्था अगाडि बढाए ।
जसलाई ‘सङ्घम शरणम गच्छामी’ भनेर ध्वनित गरिंदै आएका छौं । यसबारे स्पष्ट हुन्छ बुद्धकाल दासयुगीन, यज्ञयज्ञादि, बलि पूजा, स्वर्ग नर्क, परम्परा र भाग्य आदिमा भर परेको चिन्त प्रवृतिको अन्त्य र नयाँ अहिंसात्मक चिन्तन प्रवृत्तिको शुभारम्भ र विकासको सङ्क्रान्तिकाल थियो । यसैले बुद्ध दर्शन र सिद्धान्त वा बुद्ध धर्म र बुद्ध दर्शन एउटा अभियान हो, जुन अभियानका प्रमुख प्रणेता सिद्धार्थ गौतम थिए भने त्यसलाई सुसंगत व्याख्या विश्लेषण गर्दै बुद्धका अनुयायी अश्वघोषहरुले सूत्रबद्ध गरे । यसबाट के पनि बुझ्न सकिन्छ भने मानव समाजलाई सभ्य र सुखी बनाउनका लागि चिन्तन, मनन र साधना गर्ने दार्शनिक थलो वा दर्शनको केन्द्र लुम्बिनी हो, जहाँ सिद्धार्थ गौतमको जन्म भयो ।
बुद्ध भनेको के हो ?
आफ्नो समाजको रीतिथिति, धर्म संस्कार र संस्कृतिमा रहेका के–के कुराहरु राम्रा र समाज हितकारी छन् र के के कुराहरु आफूले मानीआएको भए पनि नराम्रा र समाजको अग्रगमनका लागि हानिकारक र बाधक छन्, ती मध्ये कति कुरालाई निषेध गर्ने, कति कुरालाई निरन्तरता दिने र कुन कुन विषयवस्तुहरु दार्शनिक र सैद्धान्तिक रुपमा समावेश गर्ने यी र यस्तै विषयका सन्दर्भमा साङ्गोपाङ्गो बुझाई भएको मान्छेलाई बुद्ध भनिएको पाइन्छ । बुद्धकालभन्दा पहिलेका साधक, चिन्तकहरुलाई हिन्दु समाजमा ऋषि, मुनि र मनीषी भनिन्थ्यो भने यस लुम्बिनी क्षेत्रका चिन्तक, साधकहरुलाई बुद्ध भनिएको पाइन्छ । वल्डवेभमा बुद्ध को हो भन्ने सम्बन्धमा लेखिएको छ – “ जो व्यक्ति पूर्ण ज्ञान प्रकाशको अवस्थामा पुगेको हुन्छ, ऊ नै बुद्ध हो । यस्ता बुद्धले प्रसारण गरेको धर्म वा शिक्षालाई नै बुद्ध शिक्षा वा बुद्ध दर्शन भनेर बुझ्दा उपयुक्त होला ।
सिद्धार्थ गौतम कसरी बुद्ध भए र बुद्ध शिक्षाको महत्वः
वेदलाई प्रमाण नमानेकै कारण बुद्धलाई नास्तिक भनेर आरोपित गरियो । कुमारिल भट्ट र शंकराचार्यले उपलब्ध भए जति सबै बौद्ध ग्रन्थहरु जलाएर खरानी बनाए । तर बुद्ध धर्म–दर्शन प्रति यति धेरै ज्यादती हुँदा पनि बुद्ध दर्शन, बुद्ध शिक्षाले एसिया महादेशका अधिकांश देशमा लोकप्रियता हासिल गरेकै कारण बुद्ध दर्शन विश्वशान्तिको दर्शन, सिद्धान्त र शील/व्यवहार बनेर जीवित र लोकप्रिय हुन सकेको छ । सही विचार र दर्शनलाई कसैले मार्न सक्दैन भन्ने यो प्रमाण हो । यति मात्र होइन हिन्दु धर्मशास्त्रीहरुले बाध्य भै बुद्धलाई ९ औं अवतारका रुपमा ग्रहण गर्न बाध्य भए । अब हामी यशै सिद्धार्थ गौतम कसरी बुद्ध भए त्यसबारे संक्षिप्तमा चर्चा गर्दछौं ।
सिद्धार्थ गौतममा बुद्धत्व वा बोधिसत्व काल्पनिक र स्वप्नशील संसारबाट प्राप्त भएको होइन । सिद्धार्थ गौतमले स्वर्ग, नर्क र पातालको कल्पना पनि गरेनन् । उनी त्यतापट्टि लाग्दा पनि लागेनन् । उनले जे ज्ञान प्राप्त गरे यही समाजबाट वा आफ्नो युगको समाजबाट ज्ञान प्राप्त गरे । दरबारिया सोख शानमा हुर्के बढेका गौतमलाई मौलिक साधन स्रोतको कुनै कमी थिएन । उनको जिज्ञासु आँखाले कुप्रो, बुढो मान्छे, रोगी, भिखारी र लाश आदि देखे । किन यस्तो हुन्छ त ? उनी शोध खोजमा लाग्न थाले । साङ्ख्य दर्शन लगायत प्रचलित धर्म ग्रन्थ पनि पढे, सुने । दरबारिया चौघेरामा बसेर साँचो ज्ञान प्राप्त हुँदैन भन्ने ठहर गरी उनी २९ वर्षको उमेरमा तिलौराकोट दरबारबाट बाहिर निस्के, रामग्राम पुगेपछि प्रव्रज्या गरे, सन्यासीको भेष धारण गरेर महिनौं हिंडे । कडा तपस्या गरे । दुब्लाएर हड्डी चाला जडित अस्थिपञ्चरको स्वरुपमा परिणत भए । तर संसारलाई मुक्ति दिन हिंडेका गौतम आफू झण्डै झण्डै कालको मुखमा पुगे । फेरि शाकाहारी खाना दालभात खाए, मोटाए । अनि बोध गयाको पिपलको रुखमुनि समाधिमा बसे । समाधि अर्थात् एकाग्र चित्तले आफूले अध्ययन, अवलोकन भ्रमणमा देखे भोगेका सबै दृश्यावली र घट्नावलीलाई स्मरण गरे । आखिर मैले के ज्ञान पाएँ त ? निचोड के हो ? संसारको मुक्ति कसरी हुन्छ त ? यस बारेमा एकाग्र चित्तले समाधि बस्दा उनले प्राप्त गरेको ज्ञान देहाय बमोजिम रहेको पाइन्छ । जसलाई ४ आर्य सत्य अर्थात् आर्यव्रत देशीय समाजको सत्य भनिएको छ :
(क) संसार दुःखले भरिएको छ, अर्थात् संघर्षमय छ ।
(ख) दुःखको कारण छ, त्यो कारण भनेको तृष्णा हो, अर्थात् जति भौतिक साधन वा पद, प्रतिष्ठा, मान, सम्मान भए पनि तृप्ति नहुने
(ग) दुःखको अन्त्य हुन सक्छ,
(घ)दुःखको अन्त्य गर्ने उपाहरु/बाटाहरु अवश्य छन् ।
सारमा सिद्धार्थ गौतमले आफ्नै परिवेश, समाजको अवस्था, लोक समुदायमा व्याप्त रहेको गरिबी, विभेद सम्पत्तिप्रतिको आशक्ति, ब्राह्मणहरुमा रहेको बडप्पन, नेदेखेको नभोगेको ईश्वर, स्वर्ग नर्क आदि प्राप्तिको खोजीमा मानव जातिलाई प्रेरित गरिरहेको बेला बुद्धले नयाँ सोधखोज गरे । सहज र सरल जीवनयापनमा जोड दिंदै मानव जातिलाई आडम्बरतिर होइन यथार्थ धरातलमा उतार्ने उपायहरुको खोजी गरे ।
चार आर्य सत्य अर्थात् मानव जातिले भोगिरहेका ती दुःख, कष्टबाट छुटकारा दिलाउनका लागि ८ वटा उपायहरु बताए जसलाई अष्टाङ्गिक मार्ग भनिन्छ ।
(क) संयक दृष्टि : समाजको अवस्थालाई सही ढङ्गले बुझ्न सक्नु पर्छ ।
(ख) संयक सङ्कल्प : असम्भव र काल्पनिक संसारको सुख प्राप्तिमा होइन यसै धर्तीमा प्राप्त हुने र हुन सक्ने दिशामा सुनियतपूर्वक लाग्नुपर्छ ।
(ग) संयक वचन : कथनी र करनीमा एक रुपता हुनुपर्छ । आफूले कहिल्यै नेदेखेको ईश्वर वा परमात्मा, स्वर्ग र नर्कको कुरा गरेर मान्छेलाई दिग्भ्रमित गर्नु हुँदैन र ढाँट्नु हुँदैन ।
(घ) संयक कर्म : अरुलाई हानि नोक्सानी हुने काम गर्नु हुँदैन ।
(ङ) जीविकोपार्जन गर्ने नाउँमा गलत तरिका र उपाहरु (भ्रष्टाचार, अनाचार, चोरी डकैती, घूसखोरी र कमिसन खोरी) अवलम्बन गर्न हुँदैन ।
(च) संयक व्यायाम : शरीरको अवस्था अनुसार व्यायाम गर्नुपर्छ । शारीरिक श्रम पनि सोही अनुसार गर्नुपर्छ ।
(छ) संयक स्मृति : जीवन निर्वाहका लागि सचेत र सतर्क भइरहनु पर्छ । अनावश्यक र अनुपयोगी विगतका घट्नावलीलाई र आवश्यक र उपयोगी घट्नावलीको स्मरण गरे पुग्छ ।
(ज) संयक समाधि : शरीर मनलाई एकाग्र गरेर उपाय निकाल्ने गरी आवश्यक समाधिको साधना गर्नु पर्छ । समाधिको नाउँमा संसार र समाजलाई बिर्सनु हुँदैन ।
स्मरण रहोस् यिनै व्यवहारिक र मानव हितकारी सरल आचार–व्यवहारको कुरा बुद्धले आफ्ना शिष्यहरुलाई बताए । काल्पनिक ईश्वर, स्वर्ग र नर्कको खोजीबाट बुद्धले मानव जातिलाई मुक्त पारे । यिनै कारणले बुद्धत्व प्राप्ति अभियानका क्रममा सिद्धार्थ गौतमले बुद्धका नामले प्रसिद्धि पाए । विश्व शान्तिका अग्रदूतका रुपमा संसारमा प्रसिद्ध भए ।
बुद्धको शिक्षालाई सजिलोसँग बुझ्न चाहने निम्न कुरा ख्याल गरे हुन्छ :
(क) शरीरमा नै जीवनको गति सीमित हुने हुँदा शरीर हिफाजतमा लाग्नुपर्छ । अन्यथा जीवन रहँदैन ।
(ख) मानव नै स्वयं आफ्नो मालिक भएको हुँदा यहाँनेर ईश्वर मालिक हो भनेर खोज्नेतिर लाग्नु हुँदैन । ईश्वर छ छैन भन्ने कुरा अकथनीय छन् अर्थात् भन्नु, चर्चा पर्चा गर्नु समयको बर्बादी हो ।
(ग) शरीर र आत्मा छुट्टाछुट्टै अस्तित्वमा रहन सक्दैनन् । आत्म भनेर जसलाई भनिएको छ, त्यसको आयु शरीरको आयुसँग मात्र सीमित रहन्छ ।
(घ) कुनै पनि ग्रन्थ प्रमाण होइनन् । वेदादिग्रन्थलाई देखाएर ईश्वरीय सत्ता प्रमाणित हुन सक्दैन । समाजका वास्तविक अध्ययन, अनुसन्धानबाट जे देखिन्छ, त्यो नै प्रमाण हो भन्ने यसबाट निचोडमा पुग्न सकिन्छ ।
बुद्ध जन्मस्थल लुम्बिनी र संघ समाज समृद्धिको आधारः
“बुद्धम शरणम गच्छामी । धम्मम् शरणम् गच्छामी । संघम् शरणम् गच्छामी ।”
यी बुद्ध दर्शनका मूल ग्रन्थ हुन् ।
बुद्धम भनेको तृष्णामुक्त पूर्ण ज्ञानले ओतप्रोत व्यक्ति हो । धम्मम् भनेको आस्तित्ववान वस्तु र समाज र मानव समुदायमा विश्वास गरी तिनीहरुकै उन्नयन र समृद्धिमा लाग्नु हो, कर्तव्य पूरा गर्नु हो र संघम भनेको व्यक्तिवाद वा निजवादको हितमा नलागी समग्र संघ–समाजको उन्नयन र समृद्धिमा लाग्नु नै हो । आजभन्दा १५६२ वर्ष पहिले बुद्धले संघवाद र समानताको कुरा उठाए । कसैले नेदेखेको आत्मा, परमात्मा, भाग्य, स्वर्ग र नर्कको ब्रह्मजालमा नफसी बुद्ध आफ्नै संघ समाजको निर्माणमा उद्यत भए । व्यक्ति वा भिक्षुले प्राप्त गरेको दान, उपहार वा सम्पत्ति व्यक्तिको ढुकुटीमा नहाली संघ–समाजको ढुकुटीमा राख्नु पर्ने कुरा अथ्र्याए । स्वर्ग, नर्कको ढाँट कुरा गर्नेहरुलाई फट्कारे । जन्मले कोही बाहुन हुँदैन, ब्राह्मणलाई दानदक्षिणा दिए पुण्य (मोक्ष) प्राप्ति हुने कुरा बताउने ब्राह्मणलाई ढाँटको संज्ञा दिंदै, सत्य अहिंसालाई अगाडि बढाए ।
अहिंसा परमो धर्मको मन्त्रले समाजलाई शान्तिको मार्ग प्रशस्त गरे । दुःख हरणका लागि तृष्णा परित्याग गर्न लगाए । तृष्णा धेरै सम्पत्तिको तृष्णा, धन दौलतको तृष्णा, पद प्रतिष्ठाको तृष्णा, सुन्दरीहरु र सुन्दरहरुको तृष्णाबाट मुक्त गराउन ब्रह्मचर्य शील स्वभावको पक्षपोषण गरे । बुद्धको त्यो थलो, त्यो जन्म थलो, पुण्यभूमि यही लुम्बिनी हो । हाम्रो लुम्बिनी, हो, जुन विश्वका शान्तिकामी जनताको आशा, भरोसा र आस्थाको केन्द्र बनेको छ । बौद्धिष्टको लागि मात्र होइन लुम्बिनी विश्व जनमतको गन्तव्य स्थल बनेको छ । महायान, हीनयान वा अन्य विभिन्न यानमा बुद्ध दर्शन वा बुद्ध धर्म विभाजित भए पनि बुद्ध जन्मस्थल लुम्बिनी सबैको एकमात्र साझा मोक्षधाम बनेको छ । विश्वका आँखाहरु हाम्रो लुम्बिनी र हाम्रो सगरमाथातर्फ तानिएका छन् । मान्छेको भाग्य विद्याता वा मालिक अर्को अर्थमा सहज तरिकारले बुझ्दा स्वयं मान्छेलाई बनाइएको हुँदा बुद्ध धर्म मानव धर्मका रुपमा स्वीकार्य बनेको छ । मूर्ति पूजाको विपक्षमा उभिएका बुद्ध वा बुद्ध धर्मले मानव र प्राणीजवतको पक्षपोषण गरेको छ । प्राणी जगतको पक्षपोषणको अर्थ पर्यावरणमा यथेष्ठ ध्यान दिने भन्ने नै हो ।
नेपालको नाम विश्व समुदायको दिल दिमागमा बुद्ध, बुद्धिज्म र लुम्बिनीको नामबाट अस्तित्ववान हुन सक्नु आफैमा महान गौरव र समृद्धिको आधार हो । टाढा–टाढाका मानव समुदायले बुद्ध, बुद्धिजमलाई राम्ररी चिनिसकेका छन् । तर बरु दुःखको कुरा हामी आफै नेपालीले लुम्बिनी प्रदेशवासी (५ नं. बासी) ले यसको महत्वलाई बुझ्न नसक्दा र उपयुक्त व्यवस्थापन गर्न नसक्दा आवश्यक आकर्षण बृद्धि गर्न सकेका छैनौं । आफ्नै बुद्ध, आफ्नै बुद्धिजम र आफ्नै लुम्बिनी छँदा छँदै हामी आफै धर्म सम्प्रदायको नाउँमा बरालिएका छौं । सबै जाति, सबै भाषी र सबै समुदायलाई आलिङ्गन गर्न सक्ने बुद्ध धर्म वा दर्शन वैज्ञानिक र मानवतावादी धर्म पनि हो । त्यो दासकालीन युगबाट सामन्ती युगमा संक्रमणको घडीमा प्रतिपादित बुद्ध दर्शन र बुद्ध धर्म अहिलेको पूँजीवादी युगमा पनि त्यत्तिकै सान्दर्भिक र जीवनमुखी देखिन्छ । पूँजीवादी युगका साम्यवादी दार्शनिक र सिद्धान्तकार माक्र्स एंगल्सले वर्ग संघर्षद्वारा शोषित पीडित सर्वहारा श्रमजीवी जनताको मुक्तिको सिद्धान्त समाजवाद र साम्यवादको परिकल्पना गरेका हुन् भने बुद्धले आजभन्दा २५६२ वर्ष पहिले संघ समाज÷ एक किसिमले साम्यवादी समाजको व्यवहारिक सिद्धान्त प्रतिपादन गरेर मानवजातिलाई मार्ग प्रशस्त गरे । यसबाट पुष्टि हुन्छ लुम्बिनी भनेको व्यवहारिक दर्शन र सिद्धान्तको प्रतिपादन गर्ने सैद्धान्तिक थलो पनि जसले युग सापेक्ष सिद्धान्त र विचारले मार्ग प्रशस्त गर्न सकियोस र तर आज त्यस्तो चिन्तन र साधना गर्ने पद्धतिको अभाव छ । बुद्ध र बुद्धिजमलाई सूत्र र मन्त्रका रुपमा ग्रहण गर्नु भन्दा एउटा निर्वाण अभियानका रुपमा आत्मसात गर्न सके राम्रो हुने थियो । मानव जातिको निर्वाण देहान्त पछि हुने विषय नभई जीवनमै निर्वाण प्राप्त गर्नुपर्छ भन्ने बुद्ध सन्देश रहेको छ । गहिरिएर हेरे बुद्ध दर्शनमा सबै दर्शन र सिद्धान्तको सार पाइन्छ ।
निष्कर्ष : पेरिस शान्ति वार्ता, जेनेभा शान्ति वार्ता, अभिसन्धि र महासन्धिका प्रसङ्ग हामीले सुनेका छौं । वात्सवमा विश्व शान्ति वार्ता र अभिसन्धिहरु तयारी र हस्ताक्षर गर्ने महत्वपूर्ण थलोको रुपमा बुद्ध जन्मस्थल लुम्बिनीले विश्व समुदायलाई आह्वान र समन्वय गर्न समता राख्दछ । तर हाम्रो देश समृृद्धिको दिशामा भर्खर मात्र आन्तरिक राजनीतिक मुद्दाहरुलाई समाधान गरेर अघि बढ्दै छ । भविष्यमा विश्वमा हुने युद्ध र द्वन्द्वलाई साम्य पारी शान्ति सन्धि सम्पन्न गर्न सम्भव हुने आधार छन् । त्यो जमानामा जन्मेका बुद्धले आधुनिक विश्व समाजलाई शान्तिको सन्देश प्रक्षेपण गर्न सक्षम छन् भने बुद्धका सन्तति अहिलेका नेपालीले त्यो काम गर्न किन नसक्ने ? सकिन्छ, सम्भव छ, त्यसका लागि आन्तरिक शान्ति र समृद्धिका लागि अब हामी आफै लाग्नु पर्दछ । बौद्ध पर्यटकहरु मात्र होइन अन्य पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिन्छ । बुद्ध र लुम्बिनीको नाम नसुन्ने र यस लुम्बिनी क्षेत्रमा एकपटक अध्ययन अवलोकन गर्न नचाहने विश्वमा कोही छैन ।
आउँछन् सबै आउँछन् तर हामीले बुद्ध र लुम्बिनीको महत्वलाई गहिरो गरी बुझ्न बाँकी छ । चीन, जापान, मंगोलिया, भियतनाम, श्रीलंका, ताइवान, वर्मा, भुटान, कोरिया, लाओस, कम्बोडिया, थाइल्याण्ड लगायत देशका मानिसको अधिंकाश जनता बुद्धमार्गी छन् । तर महाकवि देवकोटाले भने झैं हामी त ‘ईश्वर बस्दछ गहिराईमा सतह बहन्छौं कति दूर ?’ भएका छौं । बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले बुद्धत्वको सारसंग्रह गरेको स्थलबोध गया, बुद्धले प्रथम उपदेश दिएको थलो सारनाथ छन् । यो तथ्य प्रमाणबाट प्रमाणित छ । भारत पाटली युगका सम्राट अशोक स्वयं लुम्बिनीमा आएर बुद्ध जन्मस्थल यही हो भनेर लुम्बिनीमा खाँबो (अशोकस्तम्भ) गाडे । यो ऐतिहासिक सत्य तथ्यमा आधारित छ तर अहिले बुद्ध जन्मनस्थल भारतीय शासक गुटलाई चाहिएको छ । त्यसले बुद्ध भारतमा जन्मेका छन् भनेर बेलाबखतमा स्याल हुइँया चलाए पनि यो प्रमाणित हुन सक्दैन र विश्व जनमतले अस्वीकार गर्दै आएको छ । अस्वीकार गरिनै रहनेछ । बुद्धलाई पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले मात्र वा आर्थिक उद्देश्यले मात्र होइन नेपाली जनताले महत्वपूर्ण जीवन पद्धतिका रुपमा ग्रहण गर्न सक्दा नै यसको सार्थकतामा अभिवृद्धि हुनेछ । शिक्षालाई अनुशीलन गरौं, नेपाली समृद्धिको लागि रकम कलमको झोला हस्तान्तरण गर्न पर्यटकहरु दैलोमै आउने छन्, यसमा शंका छैन ।
सन्दर्भ सामग्रीहरु
१. बज्रसूची उपनिषद – महाकवि अश्वघोष अनु. मोदनाथ पश्रित प्रका. लूनकरण दास गंगादेवी चौधरी २०५६
२. धम्मपद – भिक्षु अमृतानन्द, प्रका. आनन्द कुटी विहार संस्था
३. नेपालका दार्शनिकहरु – अभय शर्मा र रविन्द्र सारु
४. बौद्ध दर्शनको इतिहास – मधुसुदन पाण्डेय, प्रका. अनुश्का प्रकाशन, कमलादी, काठमाडौं
५. विश्व इतिहासको भलक, जवाहरलाल नेहरु, प्रकाः यशपाल जैन, मन्त्री, सस्ता साहित्य मण्डल, नई दिल्ली