देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा जारी गरेसंगै नेकपा एमाले सरकारबाट हट्नु परेको बताउनुभएको छ ।
एमाले नेतृत्वको सरकारले हिम्मत राखेर नेपालको चुच्चे नक्सा जारी गर्न सफल भएको उहाँको भनाइ छ । तिलोत्तमा–१०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेता विश्वकर्माले एमालेले घोषणापत्रमा २० ग्यारेन्टी गरेको बताउँदै यसलाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
रुपन्देहीको क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका विश्वकर्माले भारतले नाकाबन्दी गर्दा समेत बोल्न नसक्नेहरुले राष्ट्रियताको कुरा गर्दा विरोध गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले परमादेशबाट बनेको सरकारले नागरिकको समस्याभन्दा पनि आफ्नो सेवा सुविधामा बढी ध्यान दिएको आरोप लगाउनुभयो । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माले एमाले सरकारबाट हटेपछि सत्तागठबन्धनले अनावश्यक मन्त्रीहरुको संख्या बृद्धि गरेर राज्यलाई आर्थिक भार थप्ने काम गरेको बताउनुभयो ।
एमालेको सरकारले राष्ट्रको हितमा महत्वपूर्ण योजनाहरु अगाडि सारेपनि परमादेशी सरकारले बजेट कटौती गरेको बताउँदै उहाँले विकासको लागि सुरु गरिएका योजनाहरु पूरा गर्न एमालेले सरकारको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले यस क्षेत्रको विकासको लागि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । क्षेत्र नम्वर १(२) प्रदेश सभा सदस्यका उम्मेदवार न्यौपानेले एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
घरदैलो कार्यक्रममा तीनै दलका नेता, कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको निर्वाचन परिचालन कमिटीका संयोजक हिमाल पाण्डेले जानकारी दिनुभयो ।