बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रहरुलाई समेटेको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना (ग्लाड) सम्बन्धी लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
करिब साढे १२ अर्ब बराबरको बजेटमा बुद्धको जीवनीसँग जोडिएका कपिलवस्तु (तिलौराकोट), रूपन्देही (देवदह) र पश्चिम नवलपरासी (रामग्राम) लाई समेटेर एकीकृत सांस्कृतिक पर्यटन हबको रूपमा विकास गर्ने लक्ष्य राखेको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाकाबारे लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई कपिलवस्तुको तिलौराकोट, मावली क्षेत्र देवदह र बुद्धको अस्तुधातु रहेको एकमात्र ठाउं रामग्रामसँग जोडेर एकीकृत सांस्कृतिक तथा पर्यटन हबका रूपमा विकास गर्ने बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
बृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण र स्थानीय आर्थिक विकासमा केन्द्रित सम्मेलन असोज ४ गतेसम्म चल्नेछ ।