बुटवल-पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी पसेको छ। बस्तीमा बाढी पसेपछि सुस्ता गाउँपालिका ५ सुस्ता थारु टोलका १ सय ६३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पसेपछि १ सय ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन्।
प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालका अनुसार जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सामुदायिक भवन र आफन्तका घरमा सारिएको छ। नारायणी नदीको बाढी थारु टोलमा प्रवेश गरेपछि नेपाल प्रहरी लगायत उद्धारका लागि खटिएका सुरक्षाकर्मीको सहयोगमा सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो।
शुक्रबार दिउसो ७८ जनालाई सारिएको र शुक्रबार राति सैनिक टोल, बड्का टोलमा पनि बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले जानकारी दिए।
थारु टोलमा बाढी पसेपछि घर, खेत र बाटो डुबेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताए।
उनले कैयौं स्थानमा धान र उखुखेती गरेका खेतहरु डुबानमा परेको जानकारी दिए। उनका अनुसार सुस्तास्थित नारायणी नदीले वर्षा मौसम सुरु भए लगतै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ।
नारायणी नदीमा जलसतह निरन्तर बढ्ने क्रममा रहेको छ। शनिबार बिहान सात बजेको मापन अनुसार गण्डक ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ६७ हजार क्युसेक रहेको थियो।
नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि एक लाख क्युसेक पानीको बहाव पुग्ने बित्तिकै सुस्तामा बाढी पस्ने जैसवालले बताए।