काठमाडौँ । बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म चार हजार १९५ जनाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये तीन हजार ९१२ जना नेपाली र २८३ जना विदेशी रहेका छन्।
माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा खोजीका क्रममा छडको जालीमा अल्झिएको अवस्थामा फेला परेका छ शव बाहिर निकालिएपछि थप सात शव फेला परेका छन् । यससँगै उक्त टनेलबाट पछिल्लो खोजीमा थप सात शव बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।
टनेलमा खोजी कार्य जारी छ। त्रिशूली–३ए को टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिको संयुक्त टोलीले खोजी गरिरहेको छ भने त्रिशूली–३बीमा ३एक्स एक्साभेटर र लोडर प्रयोग गरी पावर हाउस क्षेत्रमा उत्खनन गर्दा केही फेला नपरेको सेनाले जनाएको छ।
रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ ।
साँघुरा टनेलको रेकी तथा प्रभावित क्षेत्रको खोज र मूल्याङ्कनसँगै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्रीसमेत पुर्याइएको छ। नेपाली सेनाको ड्रोनबाट नुवाकोट र रसुवाका विभिन्न स्थानमा हालसम्म ३० हजार २७ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन् ।
उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका छन् । बाढीपीडित परिवारका धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक कार्य र राहत वितरणका लागि आवश्यक उपकरण ढुवानीमा समेत सेनाले सहयोग गरेको जनाएको छ।
त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज छ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म त्यस्ता सेवाबाट तीन हजार ९९६ जना लाभान्वित भएका छन् ।
बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतल बजारमा सडक खुलाउने काम भइरहेको छ भने बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि नेपाली सेनासहित अन्य सुरक्षा फौज खटिएका छन् ।