बुटवल-मौसमविद्हरूले नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान प्रणालीहरुले ४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने ( ७४१ मिलिमिटरसम्म) सम्भावना देखाएकोले उच्च सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलले पनि विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, 'मैले धेरैवटा फोरकास्ट मोडल हेर्दा धेरै वर्षाको सम्भावना बढी देखिन्छ । ४०० मिलिमिटरभन्दा धेरै पानी पर्ने ( ७४१ सम्म देखाएको छ), यो भनेको एकदम धेरै हो र नेपालको धेरै ठाउँ अथवा केही ठाउँमा मात्र पनि पर्न सक्छ तर यसले ल्याउन सक्ने अवस्था गम्भीर हुन सक्छ ।'
असोज ८ देखि १२ गतेसम्म नेपालमा ठूलो वर्षा गराउने गरी बंगालको खाडीबाट विकसित प्रणालीको प्रभाव बढ्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तरक्रिया हुने सम्भावना देखिन्छ ।
यी प्रणालीबाट नेपालतर्फ पर्याप्त जलवाष्प भित्रिँदा विभिन्न भूभागमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूको आकलन छ । विशेषगरी दुई प्रणालीबीचको अन्तरक्रिया बलियो भएमा वर्षाको मात्रा अझ बढ्न सक्छ ।
भारतीय मौसम विज्ञान विभाग(आईएमडी)का अनुसार अन्डमन सागर आसपास न्यूनचापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाडीमा मौसमीय गतिविधि बढ्ने र त्यसबाट नेपालतर्फ मनसुनी आद्रता भित्रिने सम्भावना देखिएको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी पूर्व बंगालको खाडी र पश्चिमको प्रणाली पनि मिसिने सम्भावना रहेको बताउँछन् ।
'अहिले प्रारम्भिक ट्र्याक हेर्दा सुदूरपश्चिम र मध्य नेपालमा धेरै भारी वर्षा हुने सम्भावना देखिन्छ,' उनले भने । मौसमी सूचनाहरू हेर्दै आवश्यक सतर्कता अपनाउन पनि उनले सबैलाई आग्रह गरेका छन् । अन्डमन सागरमा चक्रवात बने पनि नबने पनि नेपालमा प्रभाव पर्ने सम्भावना देखिएको मौसमविद् अधिकारीले जानकारी दिए ।
उपप्राध्यापक पोखरेलले पनि अर्को हप्ता चक्रवात बन्ने/नबन्ने अझै अनिश्चित देखिए पनि नेपालमा भारी वर्षाको सम्भावना कायमै छ । उनले पूर्वदेखि पश्चिमसम्म नै धेरै स्थानमा लगातार र पटक-पटक भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् । मौसमी प्रणाली सुस्त गतिमा अघि बढेमा वर्षा लामो समयसम्म जारी रहने पनि उनको भनाइ छ ।
भारतको उत्तरपश्चिमी क्षेत्र (पञ्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म) मनसुन बाहिरिएसँगै त्यहाँबाट सुक्खा हावा आउने अवस्था बन्ने उनले बताए । यसले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई भारतको उत्तरपश्चिमतर्फ अघि बढ्न अवरोध गर्ने भएकाले उक्त प्रणाली नेपालतर्फ सर्ने र नेपालमा तुलनात्मक रूपमा बढी वर्षा गराउने सम्भावना देखिएको पनि उनको आकलन छ ।
मौसम विज्ञान विभागले वर्षाको मापनका आधारमा त्यसलाई विभिन्न प्रारूपमा वर्गीकरण गरेको छ । २४ घण्टामा १० मिमिभन्दा कम वर्षा हुँदा हल्का वर्षा, १० देखि ५० मिमिभन्दा कम वर्षा हुँदा मध्यम वर्षा, ५० देखि १०० मिमिभन्दा कम वर्षा हुँदा भारी वर्षा, १०० देखि २०० मिमिभन्दा कम वर्षा हुँदा धेरै भारी वर्षा र २०० मिमिभन्दा बढी वर्षा हुँदा अति भारी वर्षाका रूपमा विभागले व्याख्या गरेको छ ।