बुटवल-बुटवलको तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गरेपछि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
लगातारको वर्षाका कारण तिनाउ नदीमा बाढी बढ्न थालेपछि बुटवल ५ तिनाउ नदीको पुलमुनि बस्दै आएका सुमित्रा दमाइको १५ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको बुटवल ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार उनीहरुलाई बुटवलस्थित कान्ति स्कुलमा बसोबासको व्यवस्था गरिएको छ।
तिनाउ नदी किनारका बस्तीमा सुरक्षित रहन र जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गर्दै बुटवल नगर प्रहरीले माइकिङ गर्दै आएको छ।
बुटवलका जोखिमपूर्ण क्षेत्रमा आवश्यक सतर्कता र जोखिम न्युनीकरणका सबै उपाय अपनाइएको नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनले सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै संयन्त्रलाई तयार अवस्थामा रहन आग्रह गरिएको बताए।
रुपन्देही जिल्ला विपद् व्यवस्थापन समितिले पनि बाढी, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य संयन्त्र सक्रिय बनाएको छ। तिनाउ, दानव र रोहिणी नदी आसपासका क्षेत्रलाई जोखिमपूर्ण क्षेत्र मान्दै आवश्यक परे जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, उद्धार टोली तयारी अवस्थामा राख्ने तथा सडक अवरोध तत्काल हटाउने तयारी गरिएको थियो।
तिनाउ नदीमा यसअघि पटक पटक आएका बाढीले ठूलो क्षति पुर्याउँदै आएको छ। २०१८, २०२७, २०३८ र २०५० सालका बाढीले नदीकिनारका बस्तीमा क्षति पुर्याउँदै आएका छन्।