काठमाडाैँ- नेकपा एमालेका माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। शनिवार बसेको नेपाल पक्षको केन्द्रीय समितिको बैठकले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो। राष्ट्रिय भेलाबाट नयाँ रणनीति तय गरिने बैठक पछि नेता भिम रावलले जानकारी दिए।
बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ। यस्तै बैठकले समानान्तर कमिटी गठन गरी प्रदेश र विभागको जिम्मेवारी तोकेको छ। जस अनुसार पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ। ज्ञवालीले कर्णाली प्रदेश पनि हेर्ने छन्।
त्यसै गरी नेपाल पक्षले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे र सुदूर पश्चिम प्रदेशमा भीम रावललाई पार्टी कामको संयोजन गर्ने जिम्मेवारी दिएको हो।
त्यस्तै महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्य, प्रचारको योगेश भट्टराई, विद्यार्थीको गोकर्ण विष्ट, युवाको रघुजी पन्त र बुद्धिजीवीको संयोजन गर्ने जिम्मा प्रमेश हमाल दिइएको छ।