काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको आशंका गरिएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ ।
बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो ।
बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पु¥याएको अनुमान छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।
रेडियो मेलम्चीको भवन पूरै डुवानमा परेको छ । बजार क्षेत्रमा लेदोसहितको बाढी पसेको छ । बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति गरेको छ । तटीय क्षेत्रमा रहेका ट्राउट माछा फार्म बाढीले बगाएको छ ।
स्थानीयले ४० जनाभन्दा धेरै संख्यामा मानिसहरु सम्पर्कमा नआएका बताएका छन् ।
बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ ।
मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ ।


सबै तस्बीर: आदित्य दहाल