काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २१ र २७ जेठमा गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्चले बदर गरिदिएपछि संघीय सरकारको मन्त्रिपरिषद पाँच सदस्यीय बनेको छ ।
कामचलाउ सरकारले नियुक्त गरेका २१ मन्त्रीहरू जिम्मेवारीमुक्त भएपछि प्रधानमन्त्री ओलीको क्याबिनेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लिलानाथ श्रेष्ठ मात्र रहनेछन् ।
उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र राजेन्द्र महतो जिम्मेवारीमुक्त हुँदा अर्थमन्त्री विष्णु पौडेलको उपप्रधानमन्त्री भने जोगिएको हो । मन्त्रिपरिषद् विस्तार हुनुअघि नै मन्त्री रहेकाले उनको जिम्मेवारी मात्र हेरफेर भएको व्याख्या गर्दै उपप्रधानमन्त्री कायम भएको छ । प्रधानमन्त्री ओलीले एमालेका १३ मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।