भैरहवा - माछाहरुको गुणमा असर देखिएपछि पछिल्लो समय उत्पत्ति स्थलबाट नै नयाँ शुद्ध नश्लको माछाबाट नश्ल सुधार भइरहेको छ। मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र भैरहवाले ४ जातका माछाको नश्ल सुधारका लागि चीनबाट शुद्ध नश्लको माछा ल्याई प्रतिस्थापन गर्दै छ।
मत्स्य ह्याचरी कर्ताहरुले माउ व्यवस्थापन र प्रजननमा ध्यान नदिदा माछाको अनुवंशिक गुणहरुमा असर परेर विविधता हराउदै गएको छ । पुराना नश्लका माछाको माउबाट उत्पादित भुराहरु गुणस्तरिय नहुने, माछाको बृद्धिद्धर घट्ने, आकार र तौलमा कम हुने, माछाको प्रजनन क्षमता घट्नुका साथै रोग प्रतिरोधात्मक शक्तिमा ह्रास आउने लगायतका माछामा अनुवांशिक समस्या देखिएकाले शुद्ध नश्लका माछाबाट नश्ल सुधार भइरहेको छ।
रोहु, नैनी, भाकुर बाहेकका ४ जात कमन, सिल्भर, बिगहेड र ग्रासको सबै पुराना माछाहरु विस्थापित गर्ने कार्य मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र भैरहवाले गर्दे आएको छ। कार्यालयले अधिकांस कमन जातका ११ क्वीन्टल माछाको माउ यही वर्ष मात्रै प्रतिस्थापन गरेको छ। अहिले कार्यालयमा साढे ६ टन बढि माउ माछा रहेका छन जसमध्ये ४० क्वीन्टल पुराना नश्लको र २५ क्वीन्टल नयाँ नश्लको चिनबाट आएको माछाका माउहरु हुन्।
अबको २ वर्षमा पुराना नश्लका माछा हटाएर नयाँ नश्लका माछाहरु भुरा उत्पादनका लागि योजना बनाएको कार्यालय प्रमुख महेश चन्द गुप्तले बताए । ‘अब माउको स्रोतको रुपमा विकसित हुदैछ, भुरा उत्पादन गरी निजी तथा सरकारी ह्याचारीहरुलाई भुरा उत्पादनका लागि माउ दिने योजना छ।’ उनले भने।
कार्यालयले माछाको अभिलेखीकरण गर्दै पिट टयाग लगाएर माउ विक्री वितरण गर्ने कामलाई समेत अघि बढाएको छ । नेपालमा करिब ४० देखि ४५ हजार वटा शुद्ध नश्लको माउ आवश्यक रहेकोमा कार्यालयले अबको २ वर्षमा उपलब्ध गराउने गरी गृहकार्य गरेको छ । ‘त्यसका लागि भौतिक पूर्वाधार तयार छन भने केही निर्माणको क्रममा छ, हालको माग अनुसार हामीले शुद्ध नश्लका माउहरु उपलब्ध गराएका छौ।’ गुप्ताले भने।
दुइ वर्षको अन्तरालमा करिब साढे ५ हजार माछामा पिट टयाग लगाएर माउ वितरण गरेको उनले बताए। ‘यसरी टयाग लगाएको माछाको रेकर्ड हामीले राख्छौ, कुन जातको माछा हो, त्यस्को पूर्ण विवरण, तौल र कुन पोखरीमा छ भन्ने तथ्याङ समेते उक्त माछाको भित्री भागमा राखिएको ९ एम एम पिट टयागमा रहेको हुन्छ ।’ कार्यालय प्रमुख गुप्ताले भने ‘टयाग रिडरको सहायताले पिट टयाग स्कयान गरीन्छ। माछाको विउ उत्पादनमा आनुवंशिकता कायम राख्न टयागिङ भइरहेको छ ।’
माउ माछाको व्यवस्थापन, प्रजनन, मत्स्य विज वितरण, माछाको भुरा उत्पादन र विक्री वितरण गर्नुका साथै विभिन्न समयमा माछा पालनमा हुने समस्या, रोग, प्राकृतिक कारण, किराहरुको आक्रमण र पानीको गुण्स्तर सम्बन्धमा काम गरिरहेको र उपचारका लागि परामर्श दिने लगायतको काम गर्दै आएको कार्यालयका सूचना अधिकारी तथा मत्स्य विकास अधिकृत लक्ष्मी कार्कीले बताइन।
२३ हेक्टर क्षेत्रफलमा रहेको कार्यालय भित्र करिब साढे ९ हेक्टर जल क्षेत्र छ। यहाँ ३ किसिमको भुरा उत्पादन र विक्री हुने गरेको छ । एक हप्ताका ह्याचलीङ, २–३ इन्चको फिन्गरलिङ र ३–५ इन्चको एडवान्स फिन्गरलिङ गरी ३ प्रकारका भुरा उत्पादन र विक्री वितरण गर्दै आएको मत्स्य विकास अधिकृत रमेश जैसवालले बताए । ‘नयाँ नश्लको माछाबाट बढि उत्पादन भएकोले अहिले माग पनि बढेको छ । ०६६/६७ बाट नयाँ नश्ल चिनबाट भुरा ल्याई सुरुवात गरेकोमा २०७२/७३बाट भुरा उत्पादन गरी विक्री गरिरहेका छौ।’ मत्स्य विकास अधिकृत जैसवालले भने।
रुपन्देही मत्स्य खेतीको उर्वर भूमिको रुपमा रहेको छ, यहाँ सयौं किसानले व्यावसायीक रूपमा माछापालन व्यवसाय गर्दै आएका छन्।
लक्ष्य भन्दा दोब्बर भुरा उत्पादन
कार्यालयलाई ३ करोड ह्याचलीङ, २० लाख फिन्गलिङ र १० लाख एडवान्स फिन्गलिङ गरी २०७७/०७८का लागि ३ करोड ३० लाख लक्ष्य दिएपनि लक्ष्य भन्दा करिब २ गुणा भुरा उत्पादन र विक्री गरेको छ । विगतका वर्षहरुमा शत प्रतिशत लक्ष्य ल्याएको कार्यालयले कोभिड–१९ महामारीका कारण २०७६÷०७७मा शत प्रतिशत लक्ष्य हासिल नगरेपनि अहिले भने लक्ष्य पार गरेको मत्स्य विकास अधिकृत कार्कीले बताइन।
३ करोडको लक्ष्य पाएको ह्याचलीङ साढे ५ करोड बढि उत्पादन भई विक्री भएको छ, त्यस्तै फिन्गलिङ र एडवान्स फिन्गलिङको उत्पादन र विक्रीको लक्ष्य समेत पार भएको छ। कार्यालयमा बर्दिया देखि पूर्वको बारा सम्मका र उत्तर तर्फ कास्की, जुम्ला सम्म भुराहरु गइरहेको कार्कीले बताइन्।