भैरहवा - नेपालमा पाटपूर्जा ल्याएर एसेम्बल गर्दा समेत उपभोक्ता र अर्थतन्त्रमा कुनै फाइदा नभएको देखिएको छ। महालेखा परीक्षक कार्यालयको सार्वजनिक ५८ औं वार्षिक प्रतिवेदनमा एसेम्बल प्लान्ट स्थापना गरेका कम्पनीले छुट पाए पनि उपभोक्ता र अर्थतन्त्रमा फाइदा नभएको जानकारी दिएको छ।
भैरहवा भन्सार कार्यालयबाट बजाजका मोटरसाइकलहरू कम्प्लिटली नक्ड डाउन अवस्थाका उल्लेख गरी ५ अर्ब २८ करोड २५ लाख ८ हजार रुपैयाँ मूल्यको पैठारी गर्दा भन्सार जाँचपासका क्रममा अन्तःशुल्क ६७ करोड ८८ लाख २ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर ८ करोड ८२ लाख ४४ हजारसमेत गरी ७६ करोड ७० लाख ४७ हजार राजस्व छुट लिएको पाइएको छ।
प्रतिवेदनका अनुसार निज पैठारीकर्ताले आय विवरण साथ पेस गरेको वित्तीय विवरणमा एक विदेशी कम्पनीका मोटरसाइकलहरू सी।के।डी। अवस्थामा ल्याई एसेम्बल गर्दा ३ दशमलव ८१ प्रतिशत मूल्य अभिवृद्धि भएको र सरकारले पैठारीकर्तालाई लाग्ने अन्तःशुल्कमा २५ प्रतिशत छुट दिएको छ।
दिएको राजस्व छुट बरावरको पनि मूल्य अभिवृद्धि नहुँदा राजस्व छुटको लाभ पैठारीकर्ताले मात्र प्राप्त गरेको तर, सोबाट अर्थतन्त्र एवं उपभोक्तालाई योगदान नपुगेको महालेखाले जनाएको छ। ‘अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करमा छुट दिए तापनि तयारी मोटरसाइकल पैठारी गरेको भन्दा कम मूल्यमा सर्वसाधारणले खरिद गर्न सक्ने अवस्था नभई एसेम्बल प्रणाली औचित्यपूर्ण देखिँदैन’ महालेखाले भनेको छ । रासस