काठमाडौँ-बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम अझै रोकिएको छैन । यसरी हरेक दिन ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज मंगलबार पनि वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १२ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । राष्ट्र बैंकले आइतबार र बुधबार नियमित रुपमा पैसा झिक्दै आएको छ ।
गत साता दसैं बिदा परेकाले राष्ट्र बैंकले पैसा निकाल्न पाएको थिएन । दसैं बिदा पछि कार्यालय खुलेको पहिलो दिन मंगलबार भए पनि उल्लिखित पैसा निकाल्न लागेको हो ।
बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।