बुटवल–गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन २०११ मा भारतबाहेक तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या पहिलो पटक एकलाख नाघेको थियो।
त्यसपछि पर्यटक आगमनदर क्रमश वृद्धि हुँदै गयो। २०१८ मा १ लाख ७० हजार र २०१९ मा १ लाख ७४ हजार पर्यटक तेस्रो मुलुकबाट लुम्बिनी आए। भारतबाट पनि वर्षको २ लाखको हाराहारीमा पर्यटक लुम्बिनी आउन थाले।
मुलुक बाहिरबाट मात्र होइन, मुलुक भित्रका आन्तरिक पर्यटक पनि लुम्बिनी घुम्न आउने क्रम बढेको थियो। सन् २०१६ मा पहिलो पटक १० लाख बढी आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। मुलुकभित्र र बाहिरका गरेर वर्षको १५ लाख पर्यटक लुम्बिनी आउन लागिसकेका थिए।
लुम्बिनीबाहेक तिलौराकोट, रामग्राम, देवदहलगायतका बुद्धस्थलमा पर्यटकीय चहलपहल बढ्दै थियो। प्रदेश ५ का अन्य दर्जनौ धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक स्थानहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरिरहेका थिए। ठाउँ–ठाउँमा पर्यटकीय पूर्वाधार बनिरहेका थिए।
लुम्बिनीमा बढेको पर्यटकीय आकर्षण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान निर्माण लगायतका कारण पर्यटन व्यवसायीहरु पनि जुर्मुराएका थिए। रुपन्देहीमा धमाधम पर्यटकीय स्तरका सामान्य होटलदेखि तारे होटलहरु निर्माण भइरहेका थिए। मुलुकमा तामझामका साथ नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिएको थियो। भ्रमण वर्षको कार्यक्रमले ठूलो संख्यामा पर्यटक भित्रिने अपेक्षा गरिएको थियो।
तर भम्रण वर्ष २०२० सुरु हुँदा नहुँदै चीनमा देखिएको कोरोना भाइरस संक्रमणले संसारलाई हल्लायो। अन्तराष्ट्रिय र आन्तरिक उडान बन्द भए। लकडाउनले मानिसहरु घरभित्रै सिमित रहे।
लकडाउन खुकुलो भएर अन्य व्यवसाय विस्तारै चल्न थालेपनि पर्यटन क्षेत्र के होला भन्ने सबैको चिन्ता छ। कोरोना महामारीसँग जुध्दै धेरै व्यवसाय सञ्चालन भए।
तर पर्यटन क्षेत्रले गति लिने छाँटकाँट छैन। सरकारले पर्यटकीय स्थान, होटल, ट्राभल एजेन्सी, लगायतलाई खुल्ला गर्न अनुमति दियो भने पहिलेको अवस्थामा फर्कन अझै केही महिना वा वर्ष लाग्न सक्छ। किनकी कोरोना भाइरसको यो महामारी कहिले सम्म रहन्छ भन्ने केही टुंगो छैन। सरकारले आशा गरेको, व्यवसायीले भर परेर ठूलो मात्रामा लगानी गरेको क्षेत्र अहिले थला परेको छ।
लुम्बिनी टाइम्ससँग कुरा गर्दै पर्यटन व्यवसायीहरुले ठूलो आशा गरेको तर कोरोनाको कारण ठूलो संकटमा परेको बताए। थला परेर जुर्मुराउन खोजेको पर्यटन क्षेत्रलाई सरकारको साथ चाहिएको छ। प्रस्तुत छ, केही पर्यटन व्यवसायीहरुको प्रतिक्रिया।
पवन हलुवाई प्रबन्ध निर्देशक, होटल पवन लुम्बिनी
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध विमानस्थलको शिलन्यास गरेपछि स्तरीय होटलको आवश्यकता महसुस भयो। कुनै देशका राष्ट्रप्रमुख, सरकार प्रमुख लगायत विशिष्ट व्यक्तिहरु लुम्बिनी आएर रात बिताएर जाउन् भनेर लुम्बिनीमा ५ तारे होटल पवन निर्माण गर्यौं। होटल सञ्चालनमा त आयो, अन्तर्राष्ट्रिय विमानस्थल तयार नहुँदा राम्रोसँग चल्न सकेको थिएन। विमानस्थल निर्माण पनि ढिलाइ भयो।
यसबीचमा विश्वव्यापी रुपमा कोरोना संक्रमण सुरु भयो। त्यसले ठप्पै बनायो। अब अन्तराष्ट्रिय पर्यटकहरु नआउँदासम्म होटल चल्दैन। यहाँका आधाजति कामदारले भविष्य नदेखेर काम छोडे।
बसेकाहरुलाई पारिश्रमिक, सञ्चालन खर्च, बैंकको ऋण लगायतले गर्दा होटलमाथि ठूलो आर्थिक भार थपिएको छ।
गोपाल राना, प्रबन्ध निर्देशक-ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, मणिग्राम
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर संरचनाहरु विस्तार गरेका थियौं। एउटा १५ सय क्षमताको मल्टिपर्पोज हल बनेको थियो। पछिल्लोपटक ३० वटा कोठा थपेर ६० वटा पुर्याएका थियौं। रिसोर्टले चार तारेको मान्यता पाइसकेको थियो। हाम्रोमा ६० प्रतिशत विदेशी पाहुना र ४० प्रतिशत सभा सम्मेलनका क्रममा आएका नेपाली पाहुनाहरु हुन्छन्।
भ्रमण वर्षमा ठूलो संख्यामा पर्यटक आउने आशा थियो। कोरोना महामारीले थला पा¥यो। त्यसैअनुसार संरचना बनाइयो, ठूलो घाटा लाग्यो।
होटलमा १ सय १० जना कामदार छन्। अहिले जसोतसो रिसोर्ट खोलिएको छ। आन्तरिक पर्यटक त्यति आउँदैनन्। विदेशी त शुन्य छ। १५ प्रतिशत कर्मचारीलाई मात्र काममा बोलाएका छौं।
भिमलाल न्यौपाने, प्रबन्ध निर्देशक होटल एभिन्यु, बुटवल
कोरोना महामारी र लकडाउनको कारण महिनाको २० लाख जति घाटा छ। कर्मचारीको पारिश्रमिक, बिजुलीबत्ती, पानीलगायतका अन्य सञ्चालन खर्च महिनाको ४ लाख छ। १५ लाख रुपैया बैंकको किस्ता छ। ४५ जना कर्मचारीबाट घटाएर अहिले १२ जना राखेका छौं।
सरकारको निती पनि छिनछिनमा परिवर्तन हुन्छ। असारबाट होटल खोल्ने भनेर हामीले कर्मचारीहरुलाई स्वास्थ्य मापदण्डको तालिम दियौं। फेरि सरकारले होटल बन्द गरायो। सरकारले चलाउन दिएमा हामी स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर चलाउन सक्छौं।
मिटिङ सभाहरु त होटलमा हुँदैन। फाटफुट कोठामा बस्ने मान्छे आउनेहुन्। त्यसको लागि सुरक्षित तरिकाले सेवा दिन सक्छौं।
मिथुनमान श्रेष्ठ, अध्यक्ष, लुम्बिनी होटल एशोसिएसन
चिनमा कोरोना भाइरस देखिएदेखि नै लुम्बिनीको पर्यटन क्षेत्र ओरालो लाग्न सुरु गर्यो। २०२० सुरु देखी नै पर्यटकहरु नेपाल आउन डराए। चैत्र ११ गतेको लकडाउनदेखि ठप्प छ। अब कोभिड १९को भ्याक्सिन नआउँदासम्म विदेशी पर्यटक आउलान भन्ने आशा गरेका छैनौं।
लुम्बिनी विकास कोषले मायादेवी मन्दिर खोल्यो भने केही आन्तरिक पर्यटक आउँछन् की भन्ने आशा हो। त्यसले यहाँका पर्यटन व्यवसायीलाई केही भएपनि राहत हुन्थ्यो।
सञ्जय बजिमय-प्रदेश ५ अध्यक्ष, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर
हामीले नेपाल आउने पर्यटकहरुको भ्रमण प्याकेज बनाउने गर्छौ। कोरोना भाइरसको कारणले हाम्रो समग्र व्यवसायमा २ अरब जति नोक्सान पुर्याएको छ। पर्यटन व्यवसायमाथि उठ्न थालिसकेको थियो। भ्रमण वर्षले उत्साहित बनाएको थियो। एक्कासी कोरोना भाइरस सुरु भयो।
अब पहिलेको अवस्थामा फर्किन गाह्रो छ। पर्यटन क्षेत्रको लागि शुन्यबाटै अघि बढ्नुपर्ने अवस्था छ।
रचना पन्त-प्रदेश ५ उपाध्यक्ष, नेपाल एशोसिएन अफ टुर्स एन्ड ट्राभल एजेन्ट
प्रदेश ५ मा साढे २ सयदेखि ३ सय सम्म ट्राभल एजेन्सी छौं। कोरोना महामारीका कारण यो व्यवसायमा ठूलो घाटा भएको छ। व्यवसायीहरु कहिले सहज होला भनेर पर्खेर बस्नुभएको छ। कतिपय त व्यवसायी त विस्थापित हुन लाग्नुभएको छ।
४०–५० जना जति व्यवसायीले सरकारले कम्पनी नवीकरण नगरिदिने हो भने व्यवसाय चलाउन नसक्ने भयौं भन्नुभएको छ। उहाँहरुले अहिलेसम्म नवीकरण नगरेको सरकारले जरिवाना नलिईकन नवीकरण नगर्ने हो भने खारेज भए हुन्छ भन्नुभएको छ।
अब आन्तरिक पर्यटकको सहजीकरणको लागि सरकारले सहयोग गर्नुपर्छ। हामीले पनि सुरक्षित भएर व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने माग गरेका छौं। त्यसो भयो भने आन्तिरिक पर्यटकको भ्रमण प्याकेज बनाएर अघि बढ्न सक्छौं।