बुटवल–५० वर्ष अघि तिनाउपारी मात्र बुटवलको बजार थियो । त्यसबेला यो ठाउँलाई बटौली भनिन्थ्यो । जहाँ विभिन्न पहाडी जिल्लाबाट घिउ ल्याएर बेच्नेहरु हिडेर आउँथे । नुन तेल लगायतका खाद्य सामाग्री किनेर फर्किन्थे । लामो पैदल यात्रामा कहिले रुखको छहारी र कहिले पाटी पौवामा बास बस्दै उनीहरु किनमेल गर्न बटौली आउथे ।
बुटवल आइसकेपछि तिनाउ वारीपट्टी भने स–साना झुप्राहरुमा चियापसल र भट्टीहरु थिए । जहाँ भारतबाट आएका लाहुरेहरुले झोला बिसाउने र रात बिताउने गर्दथे ।
पुराना होटल व्यवसायी गोविन्द तुलाचन आफू लाहुरबाट आउँदा यहीँ बस्ने गरेको सम्झन्छन् । ‘अहिलेको वीपी चोकमा टिनका टहराहरु थिए । आएका लाहुरेहरुलाई होटलवालाहरुले लिएर जान्थे । दालभात तरकारी मासु खुवाउँथे ।’–उनले भने–‘व्यवस्थित कोठा थिएनन् । गुन्द्रीमा सुत्नुपथ्र्यो । बिहान उठेर भरियालाई सामान बोकाएर हिड्ने हो ।’
वीपी चोकमा भएका टिनका टहराहरुलाई बुटवलमा होटल व्यवसायको सुरुवाती चरण मानिन्छ । तिनाउ वारी बजार विस्तार भएसँगै पूर्वाधारहरु थपिदै गए । होटलहरुले पनि आफ्नो स्तर सुधार गर्दै गए ।
लाहुरे जिवनबाट अवकास पाएपछि गोविन्द तुलाचनले २०४४ सालमा बुटवलमा होटल व्यवसाय सुरु गरे । ‘बुटवलमा त्यसबेला होटल रेष्टुरेण्ट १०–१२ वटा जति मात्र थिए ।’ –उनी सम्झिन्छन्–‘मानिसहरु बास बस्न पाइन्छ भनेर सोध्थे । अट्याच (कोठासँगै शौचालय, स्नानकक्ष) कोठाहरु भन्ने कहीँ थिएन । धेरै जना एकै ठाउँमा बस्ने कमन कोठाहरु थिए ।’
२०४५ सालतिर मात्र बुटवलका होटलमा अट्याच कोठा बनाउन थालियो । होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल सम्झन्छन्–‘त्यसबेला सिन्दुर होटलमा तीनवटा जति र मैले सञ्चालन गरेको संगम होटलमा एउटा अट्याच कोठा थियो ।’–उनले भने–‘बाँकी सबै सामान्य खालका कोठा र धेरै मानिसहरु एउटै कोठामा बस्न मिल्ने खालका थिए । तीनमा लाइनसँगै विस्तारा लगाएर सुत्ने । शौचालय जाँदा पनि लाइन लाग्नुपर्ने अवस्था थियो ।’
वर पिपलको छहारी, पाटी पौवा, सडक किनारका टिनका टहरा, एउटै कोठामा १०–१२ वटा विस्तारा भएको होटल लजको हिजोको त्यो अवस्थाबाट आज स्तरिय डिलक्स होटलहरु खुलेका छन् ।
केही वर्षअघि सम्म बुटवलमा स्तरीय होटल खासै थिएनन् । नेपालगञ्ज रोडमा रहेको सिन्दुर सहित एकाध होटलमा मात्र विशिष्ट खालका पाहुना बस्थे । विभिन्न कार्यक्रमको लागि बुटवल आएका कतिपय पाहुना बास बस्न लुम्बिनी जाने गर्दथे ।
तर अहिले बुटवलको अवस्था त्यस्तो अवस्था छैन । धमाधम स्तरीय होटल खुलेका छन् । होटलहरुमा दिनहुँ ठूला ठूला कार्यक्रम र गोष्ठी पनि भइरहेका छन् । नयाँ खुलेका सबैजसो होटलमा डिलक्स रुमहरु छन् भने पूराना होटलहरुले पनि आफ्नो सुविधालाई स्तरोन्नति गरिरहेका छन् । बुटवलमा होटलहरु थपिने क्रम पनि तीब्र छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले २ वर्ष यता मात्र संघ मातहत ५ सय भन्दा बढी होटल थपिएको बताए । ‘१२ सय जति मात्र हामीसँग दर्ता थिए । २ वर्षमा मात्र १७ सय भन्दा बढी पुगे ।’–उनले भने–‘यति तीब्र रुपमा होटल विस्तार भएको छ । हामीमाझ दर्ता नभएका पनि अझै कतिपय होटल छन् ।’
गोलपार्कको होटल एभिन्युदेखि कालिका नगरको एशियन होटल सम्म पुग्दा बीचमा दर्जन भन्दा बढी स्तरिय होटलहरु छन् । बुद्धजन्मस्थल लुम्बिनी, निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बनेपछि पर्यटकको बढ्ने अपेक्षाका साथ बुटवलमा होटल व्यवसायको संख्या बढिरहेको छ ।
होटल हब बन्दै बुटवलको कालिका पथ
नयाँ बसपार्क पछाडि इट्टाभट्टीदेखी तिनकुने, होराइजन चोक हुँदै योगिकुटीसम्म पुग्ने कालिका पथ सडकमा पछिल्लो दुई वर्षमा होटल तथा रेष्टुरेष्टको व्यवसाय एक्कासी बढेको छ । होटल र रेष्टुरेण्टहरुले रात्रीकालीन वातावरणमा नै परिवर्तन आएका छन् । स्तरिय डिनोभो होटलसँगै आकर्षक रेष्टुरेण्टहरु खुलेका छन् । तिनकुनेबाट योगीकुटी सम्मको कालिका पथमा १० देखी १५ वटा मात्र होटल तथा रेष्टुरेन्टहरु थिए ।
पछिल्लो दुई वर्षमा मात्र सय भन्दा बढी थपिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले बताए । ‘१५ वटा जति लाइभ म्युजिक बारहरु छन् । अरु सुविधा सम्पन्न रेष्टुरेन्टहरु खुलेका छन् ।’–उनले भने–‘काठमाडौको ठमेल जस्तै बुटवलको होटल हब तथा पर्यटकीय स्थल बन्ने सम्भावना छ ।’
जिसीले रात्रीकालीन व्यवसायको लागि बुटवल उपमहानगरपालिकासँग अनौपचारिक छलफल भइरहेको जानकारी दिए ।
‘पर्यटकहरुलाई आकर्षित गर्न होटलहरुको अगाडि हरियाली बनाउने, राती पनि बत्तीहरुलाई व्यवस्थित गरेर आकर्षक र झलमल बनाउने योजना छ’–उनले भने ।
बढ्दैछ लगानी, धमाधम पाँचतारे होटल खुल्दै
बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसाय क्षेत्रमा लगानी बढेको छ ।
पर्यटन व्यवसायीहरुका अनुसार रुपन्देहीमा पछिल्लो १० वर्षमा होटल व्यवसायमा अर्बौंको लगानी थपिएको छ ।
लुम्बिनी, भैरहवा, बुटवल, तिलोत्तमा, बेलहियालगायतका क्षेत्रमा सुविधासम्पन्न नयाँ नयाँ होटल खुल्न थालेका छन् ।
‘लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसायमा लगानी थपिएको छ,–सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सीपी) भन्छन्–विमानस्थल निर्माण सकिँदासम्म अरु धेरै होटल सञ्चालनमा आउने तयारीमा छन् ।’
तिलोत्तमामा पाँचतारे टाईगर प्यालेस रिर्सोट सञ्चालनमा आएको छ । ५ अर्ब भन्दा बढी लगानीमा क्यासिनोसमेत रहेको यो रिर्सोट पश्चिम क्षेत्रकै पहिलो पाँचतारे रिर्सोट हो ।
यो रिर्सोटमा १ सय ५० भन्दा बढी कोठा छन् । रिर्सोटका ६ वटा कोठाबाट सिधै स्वीमिङ पुलमा जान सकिन्छ । रिर्सोटमा आधुनिक क्यासिनो, रेष्टुरेन्ट, कन्फ्रेन्स हल, हेल्थ क्लबलगायतका सुविधा छन् ।
टाइगरसँगै अर्को पाँच तारे स्तरको होटल पर्यटन व्यवसायी पवन हलवाईले लुम्बिनीमा पवन प्यालेस इन्टरनेशनल सञ्चालनमा ल्याएका छन् । यसमा १ सय ५० कोठा, ३ रेष्टुरेन्ट, कफीसप, २ वटा कन्फ्रेन्स हल, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, मेडिटेशन हलको व्यवस्था गरिएको छ ।
भैरहवाको होटल बोधी रेडसनले पनि स्तरवृद्धि गरेर पाँचतारे स्तरमा पु¥याएको छ । १ सय ६ वटा कोठा रहेको रेडसनले पर्यटक तान्न कोठामा तापमान अत्याधिक भएमा पानी फाल्ने प्रविधि (फायर फाईटिङ) जडान गरेको छ । एकैसाथ २ सय भन्दा बढीले बास बस्न सक्ने रेडसनले सबै सुविधा पाँचतारे स्तरमा पु¥याएको महाप्रबन्धक अमृत खनालले जानकारी दिए ।
भैरहवाकै बुद्धचोकमा घिमिरे समूहको लगानीमा पाँचतारे होटल खुल्दै छ । लुम्बिनीमा जापानी नागरिक नोर्बु कासाईको लगानीमा रहेको लुम्बिनी होटल कासाईले स्तरवृद्धि गरेको महाप्रबन्धक विनेश मानन्धरले बताए । लुम्बिनीकै होटल होक्के, भैरहवाको निर्भाणा होटलले स्तरवृद्धि गर्दैछन् । सिद्धार्थ होटल एशोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले लुम्बिनीमा मात्रै एकै दिन ३ हजारभन्दा बढीले बास बस्न पुग्नेगरी होटल तयार भइसकेको बताए ।
लुम्बिनी र भैरहवामा मात्रै हैन, बुटवलमा होटल डार्सिज, क्लब डेनेभो, सिद्धार्थ रिर्सोट, आम्रपाली रिर्सोट, मणिग्राममा ड्रिमल्याण्ड रिर्सोटले स्तरवृद्धि गरेका छन् ।
बुटवलमा पछिल्लो समयमा आरम्भ रिर्सोट, दरबार होटल, होटल एभेन्यु, नयाँमिलमा लक्ष्मी होटल सञ्चालनमा आएका छन् ।
भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान शुरु हुँदा दैनिक ५ हजार कोठा आवश्यक पर्ने व्यवसायीको अनुमान छ ।