भैरहवा–१६ स्थानीय तह रहेको रुपन्देहीका १५ वटाले बजेट ल्याएका छन्। एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको ओमसतिया गाउँपालिका बाहेकका सबै पालिकाले बजेट सार्वजनिक गरेका हुन्। ओमसतिया गाउँपालिकाका अधिकांश गाउँसभा सदस्यले गाउँसभा बहिष्कार गरेपछि बजेट पेश हुन सकेन।
असार १० गते सम्म भएका बजेट तथा कार्यक्रमबारे पालिकामा असन्तुष्टि भएपनि बहुमतको आधारमा कतिपय पालिकामा बजेट आएको छ भने बहुमत पुग्न नसकेको ओमसतियामा मात्रै बजेट पेश हुन सकेन।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।
कोटहीमाई र मर्चवारी गाउँपालिकामा पनि विवाद र असहमतिका बीच गाउँसभामा गणपुरक संख्या पुगेपछि बजेट प्रस्तुत भयो।
मर्चवारी गाउँपालिकामासबै वडा अध्यक्षहरुले गाउँसभामा उपस्थिति जनाएका थिएनन भने कोटहीमाईले गाउँपालिकामा गर्ने भनेको गाउँसभाको कार्यक्रम भैरहवा ल्याएर सम्पन्न गरेको छ।
केही जनप्रतिनिधीहले गाउँपालिका भवनमा तालाबन्दी गरेपछि बहुमतकै आधारमा कोटहीमाईले गाउँसभा गरेको छ।
त्यस्तै मायादेवी र रोहिणी गाउँपालिकाले पनि बहुमतकै आधारमा बजेट पेश गरेका छन्।
रोहिणीमा पनि केही कार्यक्रमकै विषयमा असन्तुष्टि रहेकोले गाउँसभा विशेष आर्थिक क्षेत्र सेजमा गर्ने भनिएको थियो। १ बजे तोकिएको गाउँसभा सेजमा र त्यसपछि होटल रेडसनमा गर्ने भनिएको भएपनि विरोध आएपछि ३ बजे गाउँसभा गाउँपालिका क्षेत्र धकधईमै गरिएको थियो।
रुपन्देहीका १५ पालिकाहरुको बजेट तथा प्राथमिकता
बुटवल उपमहानगरपालिका बुटवल उपमहानगरपालिकाले जीवनका लागि स्वास्थ्य भन्ने मान्यतामा आधारित रहि बजेट प्राथमिकतामा जनस्वास्थ्यलाई राखेको छ ।
स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, स्वास्थ्य संस्थाहरूको पूर्वाधार, स्वास्थ्य संस्थाहरुमा औषधि औजार उपकरणको पर्याप्तता र स्वास्थ्यकर्मीहरुको क्षमता एवम् मनोबल उकास्ने कार्यमा बजेटले सम्बोधन गर्ने प्रयास गरेको छ। बुटवलले २ अर्ब ५३ करोड २ लाख ४५ हजार ७ सय १० रुपैयाँको बजेट ल्याएको छ।
तिलोत्तमा नगरपालिका ८ गते नै बजेट ल्याएको थियो। कोरोना नियन्त्रण तथा रोकथामको विषम परिस्थितिलाई समुचित सम्बोधन गर्नुका साथै रोजगारी सिर्जना, स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा बजेट केन्द्रीत रहेको छ । तिलोत्तमाले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेको छ।
सैनामैना नगरपालिकाले पनि स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकतामा राखेर बजेट पेश गरेको छ। नगरपालिकाले कोरोना जोखिम नियन्त्रण र न्यूनिकरण गर्ने र अधुरा आयोजना सम्पन्न गर्ने अभियानसहित कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैया गरी आगामी आर्थिक वर्षका लागि सैनामैनाले एक अर्ब २२ करोड १९ लाख ४२ हजार ३४१ रुपैयाँको बजेट ल्याएको छ।
सिद्धार्थनगर नगरपालिकाले पनि कोभिड १९ लगायत विपदको रोकथाम, उपचार र नियन्त्रण, क्रमागत योजना, शहरी पूर्वाधार निर्माण, आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास, कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासको क्षेत्रमा जोड दिएर बजेट पेश गरेको छ। नगरपालिकाले १ अर्ब १८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ।
देवदह नगरपालिकाले पनि कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८-७९ का लागि ९४ करोड रुपैयाँको बजेट ल्याएको छ।
यसअघिका वर्षमा ढिलो बजेट ल्याउने लुम्बिनी सांस्कृतिक नगरपालिकाले यसपटक भने अन्तिम दिनमा आएर नगरसभा गर्दै बजेट पेश गरेको छ। रुपन्देहीको नगरपालिका मध्ये सबैभन्दा कम बजेट लुम्बिनीकै रहेको छ।
कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटनसहितको पूर्वाधार नगर विकासको आधार भन्ने नारा नै तय गरी नगरपालिकाले ८० करोड ३९ लाख ६३ हजार ६८४ रुपैयाँ बराबरको बजेट ल्याएको छ।
यस्तै गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी बजेट गैडहवा गाउँपालिकाले ल्याएको छ । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार गैडहवा विकासको आधार भन्ने मूल नारा सहित ६६ करोड ८१ लाख ४४ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ।
मायादेवी गाउँपालिकाले स्वास्थ्यका साथ साथै शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिदै ६३ करोड ८७ लाख ४४ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ।
कञ्चन गाउँपालिकाले कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुतर्फ २५ करोड २९ लाख ४० हजार, पुँजीगततर्फ २४ करोड ५८ लाख ९५ हजार र सामाजिक सुरक्षातर्फ १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ।
सियारी गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई पनि बजेटमा उचित सम्बोधन गरेको छ। गाउँपालिकाले ५९ करोड ४८ लाख ८ हजार ४२१ रुपैयाँ बराबरको बजेट ल्याएको छ।
शुद्धोधन गाउँपालिकाले ५७ करोड ८२ लाख ९५ हजार २५५ रुपैयाँको बजेट ल्याएको छ।
रोहिणी गाउँपालिकाले गाउँपालिकाको दिर्घकालीन विकासको अवधारणा अनुसार नीति लिदै ५५ करोड ७२ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ।
सम्मरीमाई गाउँपालिकाले गाउँपालिकाहरुमध्ये सबैभन्दा पहिला बजेट ल्याएको थियो। सम्मरीमाइले कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय र रोजगार, समुन्नत सम्मरीमाईको विकासको आधार भन्ने नाराका साथ ५३ करोड ४१ लाख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।
मर्चवारी गाउँपालिकाले पनि ५३ करोड ३७ लाख ८९ हजार ८३६ रुपैयाँ बराबरको बजेट ल्याएको छ। कोटहीमाई गाउँपालिकाले ४४ करोड ३४ लाख १२ हजार ५ सय बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्यका साथसाथै कृषि र पूर्वाधारलाई बजेटमा जोड दिएको छ।