सामाजिक सञ्जाल एक्स (ट्वीटर) र फेसबुकमा एउटा समाचारको लिंक भाइरल भइरहेको छ-'मानव तस्करको आशंकामा कांग्रेस नेता प्रदीप पौडेल जापान इमिग्रेसनबाट फर्काइए।'

यो समाचारको लिंक अनलाइनखबरमा प्रकाशित समाचारको हो। समाचारको लिंक क्लिक गरेर हेर्दा त्यसभित्र समाचार छ-कांग्रेस नेता प्रदीप पौडेल जापान इमिग्रेसनबाट फर्काइए।
तर यो समाचार ८ वर्ष पूरानो रहेको हाम्रो तथ्यजाँचले देखाएको छ।

यसलाई केही एक्स प्रयोगकर्ताहरुले हालै पौडेललाई जापानले फर्काएको भनेजसरी प्रचार गरिरहेका छन्।
अनलाइनखबरमा २०७४ असोज १ गते १०:००मा प्रकाशित समाचारमा भनिएको छ-
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा बसेर नेपाल फिर्ता पठाइएका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेल र उनीसँगै रहेका स्वास्थ्यखबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेलाई भने अध्यागमनले नियन्त्रणमा लिएको थियो । केही घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेपछि उनीहरुलाई नेपाल फिर्ता पठाइएको छ । ‘हामीले अनेक कोसिस गर्दा पनि बाहिर ल्याउन सकिएन’ आयोजक नेपाली जनसम्र्पक समितिका प्रवक्ता सुरेश गिरीले अनलाइनखबरसँग भने- ‘उहाँहरुलाई फिर्ता पठाएको जानकारी इमिग्रेसनले दिएको छ, आजै राति नेपाल आइपुग्नुहुन्छ ।’ पौडेललाई रिहा गर्न टोक्योस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरे पनि सफल हुन सकेन । र, अन्ततः फिर्ता पठाइयो । ….
समाचारको पूरा अंश पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्
यस्तै सोही घटनाको समाचार अन्य समाचार पोर्टलले पनि प्रकाशन गरेका छन्।
जापानमा २० घण्टा नियन्त्रणपछि कांग्रेस नेता पौडेल नेपाल फर्किए
सामाजिक सञ्जालमा दाबी गरिएजस्तो पौडेललाई हालै जापानको इमिग्रेशनले फिर्ता पठाएको हैन। २०७४ साल असोज १ गतेको समाचारलाई पुन: सेयर गरिएको मात्रै हो।
पौडेल नेपालमै रहेको र हालै जापान नगएको समाचारहरु पुष्टि गर्छन्। हाल स्वास्थ्यमन्त्री रहेका पौडेल नेपालमै विभिन्न कार्यक्रमहरुम सहभागी भएका देखिन्छन्।
लिंक क्लिक गरी हेर्नुस् हालैका समाचारहरु