केशव आचार्य : अध्यक्ष, घोराही उपमहानगरपालिका वडा नं. २, दाङ
‘अध्यक्ष ज्यू, कता हुनुहुन्छ ?’–मोबाइल फोन उठाएपछि उताबाट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण प्रसाद घर्तीले सोध्नुभयो। म विद्यालयमा रहेको क्वारेन्टिनको व्यवस्था मिलाउँदै थिएँ। ‘तपाइँलाई कोरोना पोजेटिभ देखिएको छ, सम्पर्कमा आउनुपर्ने भयो’–मलाई नगरपालिकाबाट बोलाए। जेठको २४ गते स्वाब दिएको थिएँ। १६ दिनपछि बल्ल रिपोर्ट आयो।
क्वारेन्टिनहरु व्यवस्थित गर्न लागिरहेको थिएँ, व्यवस्थापन गर्दैगर्दा म कुनै संक्रमित व्यक्तिको सम्पर्कमा गएको हुनसक्छु भन्ने लाग्यो। कताकता डर लागिरहेको थियो। यो रोगबाट सामान्यतया मरिदैन भन्ने कुरा समाचारहरु हेरेर, विज्ञहरुका कुरा सुनेर थाहा पाएको थिएँ।
मेरो रिपोर्ट पोजेटिभ आएपनि मलाई कुनै असहज महसुस भएको थिएन। मलाई रुघा, खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने र अरु कुनै पनि स्वास्थ्य समस्या देखिएका थिएनन्। म सामान्य अवस्थामै थिएँ।
तरपनि डर लाग्यो। डर यसकारण लाग्यो कि, घरमा रहेका मेरो परिवारलाई त सरेन भन्ने भयो। अनि त्यहाँ गर्दै गरेको काम छाडेर म हिँडे। एकहप्ता आइसोलेशनमा बस्न भनियो।
सबैतिर व्यवस्थापन गर्नुपर्ने भएकाले कतै संक्रमितसँग असुरक्षित सम्पर्कमा गइएछ। रिपोर्ट आएपछि आत्तिएको त थिइन। तर म डराउनुहुँदैन भन्ने कुरा मनमा खेलिरहेको थियो। आत्मविश्वास बढाउनुपर्छ, आँटिलो भएर यो रोगसँग लड्नुपर्छ भन्ने कुरा दिमागमा आइरह्यो।

केहीअघिसम्म अन्यत्रबाट आएकाहरु र संक्रमितहरुको व्यवस्थापनमा खटिएको मान्छे यसरी एकाएक कोरोना संक्रमित पो भइयो। यसअघि मैले अरुलाई सहयोग गरिरहेको थिएँ। अब मलाई अरुले सहयोग गर्नुपर्ने भयो।
मैले कामकै शिलशिलामा क्वारेन्टिनहरुमा जाँदा र साथीभाइसँग कुरा हुँदा पनि संक्रमितलाई नराम्रो दृष्टिले हेरियो भन्ने कुरा गर्थे। म एकजना जनप्रतिनिधि भएको हिसाबले मलाई कसैले मेरो सामुन्नेमा त्यस्तो नराम्रो कुरा बोलेनन्। तर, समाजमा एकखालको हेयभाव देखियो। नाकमुख खुम्च्याएर हेयभाव मिसिएको व्यवहार गर्ने गरेको पाएँ। संक्रमितका घरपरिवारलाई पनि त्यस्तो दृष्टिले हेर्दारहेछन् भन्ने कुरा म आफै संक्रमित भएपछि थाहा पाएँ।
मेरो मनमा कुरा खेलिरहेको थियो,–मैले कुनै अनैतिक काम त गरेको हैन, बरु समस्या परेका व्यक्तिहरुकै सेवामा खटिएको थिएँ, तर पनि त्यसरी किन अर्कै व्यवहार गरियो होला। ठीकै छ भनेर सबै पचाएँ। कसैले नराम्रो ठान्छ भने मुखमुखै लागेर बस्न पनि त सकिन्न। तर, यसो गर्नुहुन्न भन्ने कुरा चैं समाजमा गरिरहेँ।
आइसोलेशनमा ७ दिन बस्दा आर्युवेदका विज्ञहरुले भनेका कुराहरुमा ध्यान दिएँ। किनभने यसको उपचार के हो भन्ने त आएको थिएन। त्यसैले शरीरको रोगप्रतिरोधी क्षमता बढाउनुपर्छ भनेर आर्युवेदको सहारा लिएँ। लहरे गुर्जो, असुराका मुन्टा, अमला, मिश्री, ज्वानो, कागती, हलेदो (काँचो बेसार) र तातोपानी नियमित खाएँ।
चिसो खानेकुराले कोरोना भाइरसलाई फाइदा र संक्रमित व्यक्तिलाई बेफाइदा पुग्छ भन्ने कुरा विश्व स्वास्थ्य संगठनले भनिरहेको थियो। चिसो पेय पदार्थहरु नपिउनुस् भनेको कुरा ख्याल गरेको थिएँ। हाम्रो वडामा आउने स्वास्थ्यकर्मीहरुले पनि भन्नुहुन्थ्यो। जडीबुटी र तातोपानी खाएर कोरोना भाइरससँग जुधियो।
अघिल्लोपटक स्वाब लिएको २७ दिनपछि फेरि मेरो स्वाब लिइयो। त्यसको रिपोर्ट नेगेटिभ आयो। त्यसपछि सामान्य तवरले काममा फर्किएँ।
मेरो वडामा ६ सय ५० जना क्वारेन्टिनमा हुनुहुन्थ्यो। त्यसमध्ये ९ जना आइसोलेशनमा। पीसीआर विधिबाट परीक्षण गर्ने र नेगेटिभ आउनेजतिलाई घर पठायौं। पोजेटिभ भएकाहरुलाई ३५ दिनसम्म आइसोलेशनमा राखियो। अनि घर पठाइयो। त्यसपछि क्वारेन्टिन खाली भयो।
बस्ने ठाउँ नभएर कुखुरा फर्ममा क्वारेन्टिन बनाउनु पर्यो
हामीकहाँ आउँदैन भन्दाभन्दै कोरोना भाइरस आयो। भारतमा रोजगारी गुमाएकाहरु धमाधम घर फर्किरहेका थिए। नेपालभित्रै अरु शहरहरुमा रोजगारीका लागि बसेकाहरु पनि घर फर्किरहेका थिए। एकजना, दुईजना गर्दागर्दै क्वारेन्टिन भरिभराउ भए। मानिस बस्ने ठाउँ पुगेन।
कहिले नसुनेको, कहिले नबुझेको, देख्दै नदेखिने र एक्कासी बिरामी बनाउने खालको रोग कसलाई लागेको छ, कसलाई लागेको छैन भन्ने थाहा नभएपछि झनै डर थियो। मान्छे मान्छेसँगै डराइरहेका थिए। पहिलेजस्तो साथीभाईसँग हात मिलाउन, आफन्तहरुसँग ढोगभेट गर्न, एउटै टेबुलमा बसेर चियाखाजा खान पनि नमिल्ने अवस्था आयो। पहिले सबैभन्दा नजिकका र कुरा मिल्ने साथीभाइ नै छुन नहुने, नजिक जानै नहुने पो भए। तरपनि जनप्रतिनिधि भएपछि काम गर्नु नै थियो।

महामारी त एकातिर थियो, हामीकहाँ अर्को संकट पनि लाइलाग्यो। समस्या परेका मान्छेलाई सजिलोसँग बस्ने ठाउँ नहुने हो कि भन्ने चिन्ता भयो। दिनदिनै बाहिरबाट आउनेहरुको भीड बढिरहेको थियो। क्वारेन्टिन भरिभराउ भए। खाली रहेका ठाउँ भरिए।
अब के गर्ने ? ठूलो समस्या होला जस्तो लाग्यो। त्यसरी छुट्टै बस्न मिल्ने ठाउँ खोज्दा भेटिएन। अन्तिममा कुखुरा पाल्ने खोरलाई क्वारेन्टिन बनाइयो। भारत र अरु देशबाट आएका आफ्नै वडाका बासिन्दालाई समस्या पर्न दिनु पनि भएन।
त्यसैमाथि बेड पुगेन, समस्या पर्यो भन्ने गुनासो बढेको बढ्यै थिए। वडामा एउटा क्वारेन्टिनले पुगेन। वडामा ८ वटा सरकारी विद्यालय छन्। ७ वटामा क्वारेन्टिन बनाइयो। अरु २ वटा सामुदायिक भवन र पोल्ट्रीफर्ममा क्वारेन्टिन बनाइयो। वडा नं. १ र २ मा आएका मानिसहरुलाई यसरी क्वारेन्टिन राखियो।
यस्तो होला भन्ने लागेकै थिएन
चीनमा कोरोना भाइरसका बिरामी देखिए भन्ने खबरहरु आउँदा हामीले त्यसबारे राम्रोसँग जानेबुझेकै थिएनौं। नेपालमा नआउला भन्ने थियो।
चीनबाट स्वदेश आएका नेपालगञ्जका एकजना युवामा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखियो भन्ने कुरा आयो। नेपालमा त त्यसबेलासम्म भाइरस परीक्षण गर्ने व्यवस्था पनि थिएन।
त्यसैले उनको स्बाव हङकङ लगेर जाँचिएको रहेछ। त्यसपछि केही डर लाग्यो। साथीभाइहरु बसेर कुरा गर्दा विदेशबाट आएका मान्छेमा देखिने होला, विदेशबाट आउनेहरुलाई रोक्नुपर्छ भन्ने चर्चा हुन थाले। तर त्यो उपाय पनि व्यवहारिक हुँदैनथ्यो। हामीले विस्तारै सहज रुपमा लिँदै गयौं। संक्रमणको जोखिम मोलेर व्यवस्थापनमा खट्यौं। जेजति सकिन्थ्यो त्यति गर्यौं। काम गर्दागर्दै आफै संक्रमित भएछु । तर म पछि हटिन । निरन्तर लागिरहेँ।
संक्रमण हुनुअघि केही पनि समस्या हुँदैन भनेर सम्झाउँदै बुझाउँदै हिडेको मान्छे आफै कमजोर हुँदा अरुलाई झनै असर पथ्र्यो । त्यसैले पनि म कमजोर देखिनुहुँदैन भन्ने लाग्यो।
उता, अरु मुलुकहरुमा मृत्यु हुनेहरुको ग्राफ उकालो लागेको लाग्यै थियो।
यता हाम्रोमा डरको ग्राफ उकालो लाग्यो। तरपनि डरलाई उकालो लाग्न दिनुहुँदैनथ्यो। जसरी पनि हामीले यो रोगसँग लड्नुपर्छ, जित्नुपर्छ भन्ने आत्मविश्वास बोकेर हिँडें। अहिले संक्रमणमुक्त भएपछि पनि म उस्तै छु, जस्तो संक्रमण भइसकेपछि र हुनुअघि थिएँ। बरु अरु आत्मविश्वास बढेको छ। गाउँमा चेतनामुलक कुराहरु गर्छु। आफ्ना भोगाई सुनाउँछु। जनताका घरमा जान्छु। नडराउनुस्, ढुक्क हुनुस् र सुरक्षित रहनुस् भन्छु।
हाम्रो पुस्ताले एउटा नयाँ अनुभव गर्यो। हामीले भूकम्प सह्यौं। हामी विचलित भएनौं। हामीले भारतीय नाकाबन्दी सह्यौं। त्यो पनि डटेर अघि बढ्यौं। कोरोना पनि सह्यौं, हामी अझै पनि डटेर अघि बढ्न सक्छौं।
एउटा जिन्दगीमा हामीले धेरै कुरा भोगेका छौं, यो जिन्दगीको कथा, कहिले उकाली, कहिले ओराली गरिरहन्छ। आत्तिनु र मात्तिनुहुँदैन।
(कुराकानीमा आधारित । आचार्यकोअनुमतिमै उनको परिचय र तस्वीर सार्वजनिक गरिएको हो।)