नितान्त व्यक्तिगत हुनु नै डायरीको प्रकृति हो। डायरी अंतरङ्गका सोच र आफ्नो परिवेशको चिन्ता अभिव्यक्त गरी अभिलेख राख्ने ठाउँ हो। अर्को शब्दमा भन्नुपर्दा, डायरी हाम्रो मनोदशाको झलक हो।
अहिले कोरोना भाइरस महामारी र लकडाउनको प्रभावले धेरै जनालाई सामाजिक रुपमा अलग्गै राखेको छ।
भविष्यले के ल्याउने हो भनेर चिन्तित पारेको छ। म समाजशास्त्री भएकाले मानिसको जीवनमा आएको यो नयाँ परिवर्तनलाई उनीहरुले कसरी अनुभूत गरिरहेका छन् भन्ने कुरामा आकर्षित भएको छु। त्यसैले मार्चको सुरुआतीताका मैले ‘कोरोना डायरी’ सुरु गरेँ। ‘कोरोना डायरी’ एउटा समाजशास्त्रीय अध्ययन हो। यसको लक्ष्य महामारी अगाडि, महामारीको समय र महामारी पछाडि मानिसहरुको अनुभव सँगालेर उनीहरुको आवाज र दैनन्दिन अनुभूतिलाई उभारमा ल्याउनु हो।
अग्रपंक्तिका स्वास्थ्यकर्मीहरुको पीपीई नहुनु र कोभिड–१९ सँगको संसर्गको सन्त्रासदेखि कामबाट हटाईएका ईन्जिनियरले देखाएको आफ्नो मानसिक स्वास्थ्यप्रतिको चिन्ता, यी सबै महामारीका आवाजहरु हुन्।
अहिलेसम्म अध्ययनले ११ वर्षदेखि ८७ वर्षसम्मका १२ देशबाट १६४ जनालाई सहभागी गराएको छ। यी व्यक्तिहरु फरक–फरक दायरा भएका पृष्ठभूमिका हुन्।
मार्चमा मैले यो काम सुरु गर्दा यति चर्चित होला भनेर साँेचेको थिइनँ। मैले २० वर्षदेखि समाजशास्त्र विषयमा अध्ययन र समाजशास्त्रीका रुपमा काम गर्दै आएको छु। अहिलेसम्म मेरो अनुसन्धान शिक्षा, लैङ्गिक भूमिका र सामाजिक विभेदमा नयाँ पुस्ताले कस्तो अनुभूत गरिरहेको छ भन्नेमा सिमित थियो।
महामारी सुरु हुँदा नै मैले यो समयमा आफूलाई कसरी प्रयोगमा ल्याउन सक्छु भनेर सोँचिरहेको थिएँ। दिनहरु बित्दै जाँदा धेरै भन्दा धेरै व्यक्तिहरुले ‘कोरोना डायरी’मा सहभागिता देखाउन खोजेको देखेँ। त्यसपछि मलाई लाग्यो–‘यो प्रोजेक्ट समाज कसरी निर्माण या पुनःनिर्माण हुन्छ भनेर बुझ्न गरिएको एउटा अध्ययन मात्रै होइन।’ यसले त मानिसहरुका लागि आशा जगाइरहेको छ । ‘कोरोना डायरी’ भावनाहरुको सार्वजनिकीकरणबाट मन बहलाउने उपकरणको रुपमा आएको छ। केही लेखाईहरु पहिलेदेखि नै चपेटामा परेका व्यक्तिहरुबाट आएकाले मलाई रुवाएका छन् भने अन्य केहीले हँसाएका पनि छन्। मलाई सहभागीहरुसँगै संकटतर्फको एउटा यात्रा तय गरको अनुभूत भइरहेछ।
अब लकडाउन केही खुकुलो हुँदै जाने क्रममा दैनिकी पढ्दा के कुरा छर्लङ्ग हुन्छ भने समाजअनुसार महामारीबारे भिन्नभिन्न अनुभूतिहरु रहेका छन्। केहीको लागि यो संकट अवसर बनेको छ भने अन्य, जो पहिलेदेखि नै असहज परिस्थितिमा थिए, उनीहरुका लागि त्रासदीपूर्ण अनुभव बनेको छ।
मार्च–सुरुका दिनहरु
अग्रपंक्तिकी स्वास्थ्यकर्मी
एमा तिसौं वर्षको उत्तरार्धमा छिन्। उनी वेल्सको ग्रामीण क्षेत्रमा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीको रुपमा काम गर्छिन्। परिवार र व्यवसायिक जिम्मेवारीका बीच उनको व्यस्त जीवन चलिरहेको छ। मध्य–मार्चमा लेखिएको एउटा डायरीमा एमाले पीपीई र एनएचएस (इङल्याण्डको सरकारी स्वास्थ्य सेवा)मा समस्या देखिएको बताएकी छन्।

–पछिल्लो हप्ता मेरो सिफ्टमा हामी कति तयारीविहिन छौं भनेर प्रष्ट भयो। म एउटा ‘सफा’ वार्डमा काम गरिरहेकी थिएँ। त्यहाँ ४ जना बिरामीहरु संक्रमित भएको हु्नसक्ने पत्ता लाग्यो। भर्ना गर्दा नै उनीहरुमा संक्रमण भएको हो भन्ने कुराको बलियो संकेत थिएन। तर पनि दुई दिनसम्म उनीहरुलाई पिपिईबिना नै नर्सिङ सेवा दिइरहेका थियौं। त्यहाँ हामी भाइरससँगको संसर्गमा हुनसक्थ्यौं। हामीलाई काम नलाग्ने पिपिई दिइएको थियो। पछि ‘र्यापिड रेस्पोन्स’लाई बोलाइयो जुन निकै बुद्धिमत्तापूर्ण काम थियो। तर, ‘र्यापिड रेस्पोन्स’का डाक्टरहरु ‘एफएफपी ३’ मास्क, निलो गाउन र भाइजरबिना बिरामी रहेको स्थानमा जान मानेनन्।
एमा भन्छिन्–‘डाक्टरहरुले आफ्नो दावा नछोडेपछि ती ईक्विपमेण्टहरु ‘जादूमय रुपमा प्रकट’ भए तर, त्यहाँ सर्जिकल गाउन, हेलमेट र भाइजरमात्रै थिए। भाइरस रोक्न सक्ने ईक्विपमेण्ट थिएनन्।’
–हामीले मुखामुख गथ्यौं। डाक्टरहरु सुरक्षित रहे हुन्थ्यो भनेर हामीले उनीहरुलाई मायालु र दयालु पाराले हेथ्र्यौ। डाक्टरहरुले भने कन्सल्टेन्ट डाक्टरलाई सुरक्षा अपनाउन भन्दै चासोका साथ हेर्ने गर्थे। त्यसो गरेको मलाई हास्यास्पद लाग्दथ्यो। एक किसिमको तमासा नै थियो। भाग्यवशः बिरामीको अवस्था बिग्रँदोबाट स्थिरमा आयो र उसलाई अर्को केशका लागि सर्जरी गर्न पठायौं।
तर, काम नलाग्ने सर्जिकल मास्क र एप्रोन दिएका कारण त्यो सबै समय निकै चिन्ताजनक बनेको थियो। अनि अस्पतालमा पीपीई हुँदाहुँदैै पनि त्यहाँका कर्मचारीलाई छैन, भनिनु निकै दुःखदायी पनि थियो। म यो सोँच्न बाध्य हुन्छु कि जानकारीको कमीले त्यहाँका कर्मचारीहरुमा त्रासको सिर्जना गरिरहेको छ। अजीव कुरा त के भने लक्षण नदेखिँदासम्म कर्मचारीहरुलाई परीक्षण नै गरिएको छैन। उनीहरुको बैंक र एजेन्सीद्वारा परिचालित कामदारहरुसँग उठबस भइरहन्छ। यो अझै डरलाग्दो कुरा हो।
चिन्तित आमा
बेथ(३५) दुई साना छोराछोरीकी आमा हुन्। उनी निकै व्यस्त सहरमा बस्छिन्। कोरोना संकटको सुरुआती ताकातिर उनले आफ्ना छोराछोरीहरु समक्ष डर लुकाइन्। यहाँ उनको डायरीबाट केही झलकहरु लिइएको छः
गएको राती म राम्रोसँग सुत्न सकिँन। सुत्नुभन्दा अगाडि समाचार हेरेकी थिएँ। त्यसपछि मेरो स्मार्टफोन हेरेँ। जताततै कोरोनाका समाचारमात्रै थिए ............ आज बोरिस (बेलायती प्रधानमन्त्री)ले ‘भित्रै बस्न’ भन्दै उद्घोष गरेको दिन थियो। यो हप्ता भरिनै लकडाउन गर्ने भन्दै आएपनि आज उनको आवाज र उद्घोष गर्ने शैली डरलाग्दो र गम्भिर थियो। म मेरा परिवारको जोखिमलाई लिएर निकै डराएँ। अब के हुनसक्छ भनेर त्रसित थिएँ। मैले मेरी आमालाई उत्तिखेरै फोन गरेँ। फोनबाटै उहाँले मेरो डर सुन्न सक्नुहुन्थ्यो। केहीबेरको राम्रो कुराकानीपछि आमाले ‘यो पलसम्म हामी सबै सुरक्षित नै रहेको’ सम्झाउनुभयो र त्यसैमा केन्द्रित रहन आग्रह गर्नुभयो। पछि, त्यस साँझ मेरी छोरी रोइन्। ‘किन रोएको छोरी ?’ मेरो प्रश्नमा उनको उत्तर थियो–‘मलाई थाहा छैन मम्मी। मलाई के कुराको डर लागिरहेको छ थाहा छैन।’ यो घटनाले म आफू बलियो हुनुपर्छ र छोराछोरीलाई ढुक्क बनाउनुपर्छ भन्ने भान गरायो। तरपनि त्यस रात म आफैं आँसुले भिजेसरह भएँ। संकटको अवस्था देखेर अभिभूत भएकी थिएँ।
विद्यार्थी
अड्रे (२१) बर्मिङघमको एउटा विश्वविद्यालयमा पढ्छिन्। उनी डिग्रीको अन्तिम महिनामा छन्। पूर्ण क्षमताको लकडाउन लागू हुँदा साधारण विद्यार्थी जीवनमा आएको फुटले उनसँगै घरभाडामा बस्नेहरुलाई घर छाड्न बाध्य बनाएको थियो।
–मैले भर्खरै घरमा सँगै बस्ने तीन जनालाई गुमाएकी थिएँ। उनीहरु एकपछि अर्को दिन गर्दै बर्बेडोस, स्पेन र फ्रान्समा रहेका आआफ्ना घर फर्केका थिए। घरबेटीले निकै दया गर्दै मेरी बहिनीलाई मसँगै बस्नदिने अनुमति दिएकी थिइन्। त्यसको लागि भाडा पनि नलिने बताइन्। त्यो कुरा थाहा पाउँदा म एकदमै भावुक भएँ। म मेरा साथीहरुसँग ‘फेसटाइम’मा थिएँ। त्यति नै बेला एकछिन रोकेर सबैजनाले बोरिस जोनसोनको भाषण हेर्न लाग्यौं। भाषण निकै डरलाग्दो थियो किनभने अब हामी प्रभावी रुपमै लकडाउनमा प्रवेश गरेका थियौं। मैले बहिनीलाई आज दिउँसो नै लकडाउन हुनसक्ने बताएकी थिएँ र तर, उनले विश्वास गरेकी थिइनन्। दुर्भाग्यवशः भएर नै छाड्यो। अनि मैले उनलाई म्यानचेस्टरबाट ट्रेनमा चढिहाल्न आग्रह गरेँ।
अड्रेले अगाडि लेख्दै आफूसँगैका साथीहरुले विद्यार्थी आवासमा ‘खाद्य बैंक’ स्थापना गरेको र आफूले त्यसमा सक्नेजति सहयोग गर्न प्रतिबद्ध रहेको बताउँछिन्। उनको परोपकारी प्रयासका बावजुत लकडाउनको असर भने गम्भिर बन्दै गइरहेको थियो।

–म सबै कुराबाट विकेन्द्रित भएकी थिएँ। एउटा साथीसँग मेसेन्जरमा कुरा भयो र उनले केही ‘पेण्टिङ’ गर्न सल्लाह दिइन्। मैले एउटा ईन्द्रेणी बनाएपछि भने निकै राहत महसुस गरेँ। कष्टकर समयमा मलाई साथ दिने एउटा भनाई उक्त पेण्टिङमा जोडेँ र त्यसलाई झ्यालमा झुण्डाएँ।
अप्रिलः अभ्यस्त हुँदै
सफाईकर्मी
इभा एउटी स्वरोजगार सफाईकर्मी हुन्। उनी ५० वर्षकी भइन्। आफ्ना पती जोनसँग उनी साउथ वेल्समा बस्छिन्। जोनले असंक्रामक झोल बनाउने फ्याक्ट्रीमा काम गर्छन्। लकडाउन दोस्रो महिनामा पुग्दा ईभाले आफूकहाँ काम गर्ने महिला कर्मचारीसँगको आफ्नो सम्बन्ध कस्तो छ र महामारीले कसरी दुवैजनालाई असर पारेको छ भनेर घोत्लिइन्।

–आज मैले सामूदायिक केन्द्र सफाई गर्दै छु। लकडाउन सुरु भएदेखि हप्ताको तीन दिन यो केन्द्र खाद्य बैंकको रुपमा सञ्चालन भइरहेको छ। मैले ढोका, ह्याण्डल, भुईँ, सबैमा ब्लिच लगाउँछु। धेरै कर्मचारीहरु घरै देखि काम गर्ने भएकाले लकडाउनभरि नै हामी बिहानै त्यहाँ पुग्छौं। बेवरली, जो मसँग काम गर्छिन्, उनका लागि भएपनि म अझैं व्यवसायमा नै छु। यो कुराले म खुसी छु। म उनको एकमात्र आम्दानीको स्रोत हुँ। तर, यदि मैले नै काम गरिनँ भने आफ्नै पनि कमाई रोकिन्छ। काम रोकेर बीचमा हामी सिगरेट पिउन बाहिर जान्छौं। त्यहाँ मैले वेवरलीलाई टाढै रहन सम्झाउँछु। ‘नास्तामा गेडागुडी, के त्यही थिएन र?’ म हाँस्छु। वेवरलीलाईले कोभिडको साच्चिकै वास्ता छैन। मैले भेट्ने अन्य धेरै व्यक्तिहरु जस्तै । यदि लाग्यो भने लाग्यो!
तर, मलाई चिन्ता लाग्छ। म अझै मर्न तयार भएकी छैन। हामी सफाई गरेर स्टाफहरु आउन नपाउँदै निस्किहाल्छौं। मैले वेवरलीलाई अब उनको घरसम्म लिफ्ट दिन सक्दिनँ भनेर भनेकी छु। गत हप्ता उनलाई मैले कारको पछाडिको सिटमा बस्न भनेँ। त्यो कुरा मलाई अतिशय लागेको थियो। तर, जोनले त्यो पनि धेरै नजिक हुने बताए। वेवरलीले कुम ठोक्दै त्यति त ठीक छ भनिन्। उनको छोरा दुई वर्ष अगाडि अकल्पनिय हिसाबले मरेको थियो। त्यसले गर्दा उनी कष्टलाई पनि सजिलै स्वीकार्न सक्ने भएकी छन्। उनको दु्खदायी जीवन देखेर मलाई निकै नरमाईलो लाग्छ। अझ, अहिले त उनलाई घर फर्कन २ माईल हिड्नु परेको छ।
शिक्षक
शोफिया ४० वर्षतिर लागिसकेकी शिक्षक हुन्। उनी बेलायतको दक्षिणमा बस्छिन्। लकडाउनमा उनले आफ्ना छोराछोरीलाई घरमै राखेर पढाउन खोजिरहेकी छन्। तर, अभिभावक र शिक्षक एकैपटक बन्नुपर्दा उनलाई निकै चुनौतीपूर्ण लागेको छ। छोराछोरी पढाउने बेला उनलाई शिक्षक बन्नुपर्छ, अरुबेला अभिभावक।
– हामीले अनलाईन हेरेर योगाको कक्षाबाट केही फरक शैलीमा दिनको सुरुवात ग¥यौं। यो कक्षा ‘द बोडी कोच’ जो वीक्सले दिन्छन्। उनी लकडाउनमा साँच्चिकै प्रसिद्ध बनेका छन्। केही साथीहरुले दैनिक ३० मिनेट बिहान ९ बजे कसरतको कक्षा लिन सुझाव दिएकाले मैलेपनि सुरु गरेकी थिएँ।
दुर्भाग्यवशः मेरा दुई छोराछोरीको केन्द्रित हुनसक्ने क्षमता ‘गोल्डफिस’को जत्तिकै रहेकाले योजना बनाएअनुसार यो जान सकेन। मेरो छोराले खुट्टा कुर्चीमा र टाउको भुईँमा हुनेगरी उल्टो तरिकाले पल्टन्छ। छोरीले निकै छिटो शरीर चलाएको भन्दै गुनासो गर्छे र अन्त्यमा उत्तानै पल्टन्छे। समय तालिका परिवर्तन हुनुको एउटै समस्या हामीले पढाई सुरु गर्दा ३० मिनेट ढिलो भइसकेको हुन्थ्यो। मेरो छोरा यस्तो परिवर्तनको राम्रोसँग सामना गर्न सक्दैन। उनलाई पहिल्यैदेखि समय तालिका चाहिन्छ। समयतालिकामा केही परिवर्तनहरु आएमा उसका लागि हानिकारक हुन्छ।
सरकारी कर्मचारी
सारा सरकारी कर्मचारी हुन्। उनको उमेर ६० औं दशकको मध्यतिर छ। उनी आम्दानी र करसँग सम्बन्धित ‘एचएम रेभेन्यु एण्ड कस्टम’ मा काम गर्छिन्। उनले डायरीमा लकडाउन सुरु भएदेखि उनको संस्थाले भोगेको तीब्र परिर्वतलाई दस्तावेजीकरण गर्न खोजेकी छन्। लकडाउनपछि ‘घरबाटै काम’ कसरी सामान्यीकरण भइरहेको छ भनेर डायरीमा उतारेकी छन्।
–मेरो डिपार्टमेण्टमा तीब्र परिर्वतन भइरहेको छ। हामीले ‘वेव च्याट’लाई प्रबद्र्धन गर्न नयाँ ‘आई–फर्म’ प्रयोगमा ल्याएका छौं। हामीले अफिसमा आउने कलहरु घरमा नै उठाउन मिल्ने व्यवस्थाको परीक्षण थालेका छौं। हामी सबैले सक्दासम्म घरदेखि नै काम गरिरहेका छौं। आफूसँगै बस्नेबाहेक अन्य कसैलाई कारमा चढाएका छैनौं। हामीले २ मिटरको दूरी कायम गर्नै पर्छ। मैले यो संकट ‘एउटा पुस्तामा एक पटक’ मात्रै आउने र हामीभन्दा निकै पराया भएको कुरा स्वीकार्न सुरु गरेकी छु। के भविष्यको हाम्रो जीवन ‘कोभिड अघि र कोभिड पछि’ को रुपमा सम्झिइने छ?
धेरै वर्षपछि पहिलो पटक मैले काम गर्ने ठाउँमाथि गर्व लागेको छ। सम्भवतः पहिलोपटक हामी किन ‘महत्वपूर्ण कर्मचारी’ हो भनेर बुझेँ। काममा आउने क्रममा यात्रा गर्दा पुलिसले रोकेमा हामीसँग प्रमाणको रुपमा देखाउने एउटा चिर्कटो छ। काममा आएको समयमा ‘एनसीपी’को कार पार्क पनि हाम्रो लागि निशुल्क छ। यो भन्दा ठूलो मान्यता हाम्रो लागि के होला र!
कामबाट निष्कासित इन्जिनियर
उत्तर आयरल्याण्डमा बस्ने तीसौं दशकको उत्तरार्धमा रहेका लुकासका लागि यो कोरोना महामारी कैयौं कारणले निकै कष्टकर बनेको छ। उनको मानसिक स्वास्थ्यको लागि ‘ट्रिगर’ मात्रै होइन भूतकालका कठिनाईहरुको सम्झना दिलाउने यन्त्र पनि बनेको छ।
–कुनैबेला पनि बेला मेरो मष्तिस्कमा नराम्रा सपना, व्यग्रता, त्रास, भय, रहिरहन्छन्। तर, त्यहाँ मैदानमा महामारीको बीचमा अरु धेरै मानिसहरु पनि छन्। ठीक समयमा सुरक्षित पीपीई नपाएर नर्सहरु मरिरहेका छन्। मान्छेले अभिभावक र साथीहरु गुमाइरहेका छन्। सबैभन्दा दुखलाग्दो बच्चाहरु पनि मरिरहेका छन्।
यस्तो व्यग्रतालाई टार्न कसरी समाचार नै हेर्न छोडे भनेर लुकासले लेखेका छन् । उनी थप्छन्ः
म उत्तरी आयरल्याण्डमा ‘ती कठिनाई’हरुका बीच हुर्किएँ। प्रत्येक राती ६ बजे चियाको समयमा समाचार हेर्नु र विभिन्न अर्धशैन्य शक्तिबाट मान्छे मारिएको सुन्नु मेरो लागि एकदमै सामान्य कुरा थियो। सय प्रतिशत सामान्य थियो मेरो लागि। अहिले फर्केर हेर्दा, त्यो समयमा समाचार हेर्नु मलाई खासै केही फाइदा गरेन। केही तथ्यहरुको बारेमा थाहा होला, तर यसले मलाई केही राम्रो बन्न सहयोग गरेन। अहिले पनि त्यस्तै हो। हातले कान ढाकेर टाउकोलाई बालुवामा घुसाएर मैले यो सबै कुराबाट मुक्ति पाउने कोसिस गरिरहेको छु।
बुद्धिजीवि
७२ वर्षीय ज्याक रिटायर्ड भइसकेका प्राज्ञिक व्यक्ति हुन्। उनले डायरीलाई सामाजिक समस्याहरुमाथि टिप्पणी गर्न प्रयोग गरेका छन्। त्यसमा ‘न्यू नर्मल’ अर्थात् नयाँ सामान्यीकरण र समाजको पून निर्माणको ‘न्यारेटिव’ रहेको छ।
–एप्रील १९मा बोरिस जोनसोन फर्किए। अब उनले ‘समस्यामाथि नियन्त्रण’ लिनु थियो। ईस्टर आइतबारको दिन मृत्युको मुखबाटै फर्कनु उनका लागि झण्डै धार्मिक फिर्तीजस्तो देखिएको थियो।
यस्तो लाग्छ कि, हामीलाई नयाँ सामान्यीकरणका लागि तयार रहन भनिएको छ। यसले लकडाउन पछिको अवस्था कस्तो हुनेछ भनेर पुनः प्रश्न उठाएको छ। ईन्टरनेटमा हेर्दा मैले समाजशास्त्रीहरु नयाँ सामान्यीकरणका बारेमा सोँच्न हतार गरेजस्तो देखेको छैन। एउटा गुगल खोजका अनुसार नयाँ सामान्यीकरण व्यापार–व्यवसायमा लागेकाहरुले निर्माण गरिरहेका छन्। यसरी निर्माण भइरहेको नयाँ सामान्यीकरण पूरानो भन्दा अझै धेरै भूमण्डलीकरण र अझै धेरै उपभोक्तामा केन्द्रीत रहने छ।
मे–अगाडि हेर्दा
घण्टी बजाउने मानिस
फेब्रुअरीमा २५ वर्षका ड्यानिएलले एउटी युुवतीसँग मायाप्रेमको सम्बन्ध सुरु गरेका थिए। उनले ती युवतीलाई मिडल्याण्डको एक चर्चमा घण्टी बजाउने क्रममा भेटेका थिए। यद्यपि, उनी र उनकी केटी साथी टाढा बस्छन्। लकडाउन सुरु भएदेखि एक अर्कासँग भेटसमेत हुन पाएको छैन। पछिल्ला केही हप्तादेखि ड्यानिएललाई यो कुराले गाह्रो बनाइरहेको छ। त्यसैले डायरीमा उनले ‘भर्चुअल’ माध्यमबाट कसरी सम्बन्ध टिकिरहेको छ भन्ने कुरा लेखेका छन्।

–सुजी र मैले एक अर्कालाई निकै छिटो र निकै राम्रोसँग चिनेका छौं। अरुको हकमा यस्तो सायदै हुने गर्दछ। यो समयमा हामीले एक अर्कालाई निकै सम्झिरहेका छौं। त्यसैले अब हामी जहिले भेट्छौं त्यो भेट निकै खास हुनेछ। जतिबेला र जसरी भएपनि यो कोरोना कहरबाट बाहिर निस्कियौं भने अबका पलहरुलाई खास बनाउन म प्रतिवद्ध छु।
माइकल वर्डले तयार पारेको यो ‘कोरोना डायरी’ प्रोजेक्टले जम्मा गरेको कथाहरुको एक झलकमात्रै हो। संकटले विश्वमा रहेका मानिसहरुलाई साँच्चिकै प्रभावित पारिरहँदा माथि उल्लिखित कथाहरुले एउटा के कुरा छर्लङ्ग पारेका छन् भने बालकहरु, वृद्धहरु, आमाहरु र बाबुहरु तथा फरक वर्ग, लिंग र जातीय पृष्ठभूमिअनुसार मानिसहरुका पीडा फरक–फरक छन्। यी कथाहरुले प्रत्येक दिन सार्वजनिक भइरहेका मृत्युका डरलाग्दा संख्या पछाडि लुकेका कैयौं तहका जीवनहरुलाई उभारमा ल्याएका छन्। मेरा दैनिकी लेखकहरुले भविष्यलाई लिएर उनीहरु कति अनिश्चित छन् भनेर लेखेका छन्। तर, यस्तै सधैं रहिरहन्न भनेर त्यहाँ आशा पनि व्यक्त गरेका छन्।
लुम्बिनी टाइम्स डट कमका लागि जीवराज चालिसेले यो डायरी दि कनभर्ससेशनबाट अनुवाद गरेका हुन्। यसलाई मूलश्रोतमै अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।
लुम्बिनी टाइम्स डट कमले कोभिड–१९ को महामारीको समयमा भोगेका घटनाहरु, दैनिकीहरु, संक्रमित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मजदुरहरु, रोजगारदाताहरु, उद्यमीहरुलगायतले भोगेका वास्तविक कथालाई प्रकाशन गरिरहेको छ। तपाइँलाई पनि यस्ता कथामा रुचि छ, अरुलाई केही बताउन चाहनुहुन्छ भने हामीलाई पठाउनुहोला । यदि तपाइँ आफै लेख्न सक्नुहुन्न भने हामीलाई फोन गरेर बताउनुहोस्।
इमेल: [email protected]
फोन: ९८५१२४०२७४