भूपाल पोख्रेल -अध्यक्ष, धुर्कोट गाउँपालिका, गुल्मी
देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले लकडाउन गर्यो। सचेतनासँगै लकडाउनको कार्यान्वयन र त्यसबाट प्रभावितहरुलाई राहत वितरण सुरु गर्यौं। केही दिनमै दैनिक ५०/६० जनाका दरले भारतबाट गाउँ आउन थाले।
त्रासका बीच करीब ५ सय जनालाई क्वारेन्टिनमा व्यवस्थापन गरेका थियौँ। क्वारेन्टिन तथा आइसोलेसन निर्माण, भारतबाट आएकाहरुकोे खानपान, बसोबास, स्वास्थ्य परीक्षणसँगै ०७६÷०७७ का योजनाहरुको पनि अनुगमन र खर्च तथा ०७७/०७८ का योजना तर्जुमाको कामले फुर्सद थिएन। कामकै दौरानमा छिमेकी मदाने गाउँपालिकामा कोरोनाको संक्रमण देखियो।
भूगोलले नजिक भएकाले पनि त्यहाँ आउँजाउ भइरहन्थ्यो। कोरोना संक्रमणकै कारण त्यहाँ एक जना शिक्षकको मृत्यु भयो।
गाउँदेखि सदरमुकाम तम्घाससम्म भुपालले १० देखि १५ हजारलाई संक्रमित बनायो भनेर हल्ला चल्यो। बुद्धिजिवी र नेताले समेत मलाई गाउँमै बस्यो भनेर आलोचना गरे। पसलमा सामान किन्न गएँ। परैबाट सामान फाल्दिए।
म लगायत कोरोना नियन्त्रण र व्यवस्थापनमा खटिएका सबै जनाको मनमा चिसो पस्यो। काममा उच्च सतर्कता अपनाएकै थियौँ।
म सबै ठाँउहरुमा जाँदा मास्क प्रयोग गर्थेँ, भौतिक हिसाबले दुरी पनि राखेकै थिएँ।
तर मनले मानेन। मसहित केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय व्यापारी लगायतको जेठ १० गते धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी परीक्षण गर्यो।
मसँगै काममा खटिएका उपाध्यक्षमा आरडिटी रिपोर्ट पोजेटिभ आयो। अर्को दिन जेठ ११ गते मेरो र उपाध्यक्षको स्वाब संकलन गरेर भैरहवा पठाइयो। त्यो बीचमा भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका अन्य ३ जनाको पनि स्वाब संकलन गरेर पठाइएको थियो।
म आरडिटी नेगेटिभ देखिएकाले काममा निरन्तर अगाडि बढेको थिएँ। सोही क्रममा जेठ ११ गते जिल्ला समन्वय समिति गुल्मीमा कोभिड–१९ प्रतिकार्य योजना निर्माणको लागि पुगेँ।
सोही दिन नै कार्यक्रम सकेर गाउँपालिका फर्किएँ। जेठ १२ गते दिनभर भैरहवा पठाएको स्वाबको रिर्पोटको पर्खाइमा कोठामै बसेको थिएँ। भर्खर घाम डाँडामा थिए।
पहिले अलिअलि हल्ला आयो। केहीबेरमै गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले फोन गरेर मेरो लोकेशन बुझ्दै छुट्टाछुट्टै बस्न आग्रह गर्नुभयो। मनमा खुलदुली बढ्यो।
स्वास्थ्य कार्यालय प्रमुखलाई आफै फोन गरेँ। उहाँले कोरोना संक्रमणको पुष्टि भएको बताउनुभयो। पत्यार लागेन । एकछिन सोचेँ, आरडिटी पोजेटिभ देखिएका उपाध्यक्षको पिसिआर नेगेटिभ आयो, मेरो आरडिटी नेगेटिभ तर पिसिआर पोजेटिभ कसरी भयो।
मनमा अनेक तर्कना आउन थाले। म आफुलाई संक्रमण भएको पत्यार नै छैन। तर मसँग नियमित सम्पर्कमा भएका जनप्र्रतिनिधि, वडाध्यक्ष, कर्मचारी र परिवारलाई फोन गरेर आफ्नो अवस्था बताए।
उहाँहरुलाई अब छुट्टाछुट्टै बस्न आग्रह गरे। साथीभाई शुभचिन्तकका फोनका ओइरो लाग्न थाले। उठाएर र जवाफ दिएर सकिन। केन्द्रीय मन्त्रीदेखि स्थानीय नागरिकले समेत फोन गरे। अन्ततः डाक्टरको भनाई र मनमा उब्जेका अनेकन प्रश्नको व्यवस्थापन गर्दै जेठ १३ गतेबाट आइसोलेसनमा बस्ने निधो गरेँ।
सोही दिन आफै खाना पकाएर खाएँ। तर निद्रा पर्न मुस्किल पर्यो। मैले आफैलाई पटकपटक प्रश्न गर्थे –कहाँबाट सर्यो? फोन गर्नेहरुले मलाई सम्झाउँथे। मलाई कुनै पिर थिएन।
फोनमा सम्झाउनेहरुलाई आफैले सम्झाउँथे। म ११ गते साँझदेखि छुट्टै बसेको थिएँ।

मलाई संक्रमणको कुनै लक्षण थिएन। डाक्टरहरुको प्रत्यक्ष सम्पर्कमा रहेर आफू बसिरहेको ठाउँमा बस्ने निर्णय गरे र सल्लाह समेत गरेँ।
अस्पतालमा राम्रो हेरचाह हुँदैन भन्ने मैले पनि सुनेको थिएँ। संक्रमणको लक्षण देखिएपछि अस्पताल नजानुको विकल्प थिएन। तर आम नागरिकलाई पनि लक्षण नभए घरमै सुरक्षित भएर कोरोना निको बनाउन सकिन्छ भन्ने सन्देश दिनु थियो। त्यो सन्देश मैले दिएँ। जसका कारण आम अग्रपंक्तिमा खटिएकाहरुको मनोबल बढ्यो।
जेठ १३ गते बिहानैबाट म होम आइसोसनमा बसे। उज्यालोसँगै फेरि फोन आउन थाले। त्यत्तिकैमा हिमालय टेलिभिजनबाट बोमलाल गिरीले फोन गर्नुभयो।
भुपाल, सानो अन्तरवार्ता गरौं भन्नुभयो। मैले सुरुमै इन्कार गरेँ। मैले म संक्रमित भएँ भनेर विज्ञप्ति निकाल्ने सोचेको थिएँ। उहाँलाई त्यसैलाई आधार बनाएर समाचार संप्रेषण गर्न अनुरोध गरे।
गिरीले विज्ञप्ति नै निकाल्ने भए बोल्न फरक नपर्ने बताउनुभयो। म अन्तरवार्ता दिन सहमत भएँ। उहाँले केहीबेरमा स्टुडियोबाट कल गर्छु भन्दै फोन राख्नु भयो। मलाई फेरि अर्को समस्या थपियो। यो निर्णय डब्लुएचओको निर्देशन विपरित गरेँ कि भनेर धेरै तर्फ सोँचे। तर त्यसो रहेनछ।
फेसबुकको वाल स्वास्थ्य लाभको कामना गरेका सन्देशले भरिएको थियो। एककान दुईकान हुँदै जताततै फैलिएछ।
अब गोप्य भएर काम छैन भनेर प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र सामाजिक विकास मन्त्री सुर्दशन बराललाई फोन गरेर मिडियामा आउने कुरा गरे।
त्यत्तिकैमा टेलिभिजनबाट फोन आएपछि करिब ३ मिनेट कुरा गर्यौँ। केहीबेरमा मेरो अन्तरवार्ता सामाजिक सञ्जालमा भाइरल भयो। त्यो आफ्नै निर्भिक आवाज र सञ्जालमा सकारात्मक रुपमा छरिएको अन्तरवार्ताले मलाई कोरोनासँग लड्ने थप आत्मविश्वास दिलायो।

केहीले प्रचारबाजी भनेर आलोचना गरे। फेरि ऋषि धमलासँग कुरा गरे। सबै पत्रपत्रिका र सञ्चार माध्यममा निर्धक्क भएर कुरा गरेँ। त्यसपछि मलाई गाउँका वृद्ध भएका व्यक्तिहरुले फोन गरे, उनीहरु रोए पनि। सायद, उनीहरुले मलाई निको हुँदैन भन्ने बुझेछन्। त्यतिबेलाको बुझाई अस्पष्ट थियो। वास्तविक कुरा सबैले बुझिसकेका थिएनन्।
गाउँदेखि सदरमुकामसम्म भुपालले १० देखि १५ हजारलाई संक्रमित बनायो भनेर हल्ला चल्यो। बुद्धिजिवी र नेताले समेत मलाई गाउँमै बस्यो भनेर आलोचना गरे।
सदरमुकाममा उद्योग वाणिज्य संघले बजार बन्द समेत गर्यो। जुन कुराले मलाई अत्यन्तै पीडा दिएको हो। म आइसोलेसनमा भएका बेला परिवार सदरमुकाम थिए। बजारमा झर्न दिएनन्।
पसलमा सामान किन्न गएँ। परैबाट सामान फाल्दिए। म होम आइसोलेसनमा सबेरै उठ्ने, समाचार सुन्ने र हेर्ने, योगा गर्ने, चिया तथा खाजा (अण्डा, चना, रोटी) बनाएर खान्थेँ। आफै खाना बनाएर १० बजे खाइसक्थेँ। खानामा हरियो तरकारी, दाल, भात, सलाद लगायतलाई जोड दिएँ। डाक्टरहरुको सुझावअनुसार फोन संवाद कम गरेँ। दिउँसोमा अध्ययन गर्न थालेँ। सञ्जालमा पनि उत्तिकै सक्रिय थिएँ।
शुभचिन्तकहरुबाट विभिन्न सामाजिक सञ्जालमा लेखिएका कविता, लेख, विभिन्न सुझाव तथा सान्त्वनाले झनै उत्साहित भएँ। मैले प्रवासी साथीहरुसँग कोरोना व्यवस्थापनको विषयमा पनि जानकारी लिइरहेको थिएँ। म ठीक छु, तर मसँग सम्पर्कमा आएकाहरुलाई के होला? मैले सोचिरहन्थे। फेरि म सुरक्षित भएर काममा हिडेकाले अरुलाई संक्रमण छैन भन्नेमा विश्वस्त पनि थिएँ। केही दिनमै मेरो कल्पना सार्थक बन्यो।
मेरो सम्पर्कमा आएका सबैको पिसिआर रिर्पोट नेगेटिभ आयो। आत्मबलको इटा थपिदै गए। बिस्तारै मलाई भेट्न नागरिकहरु गाउँपालिकामै आउन थाल्नु भयो। मैले छतबाटै कुराकानी गरेँ। म उस्तै देखेर धेरै जना छक्क परेको देखेँ। केहीले तपाई त फरक नै पर्नुभएको छैन भुपाल जी, भनेर प्रतिक्रिया समेत दिन्थे। गाउँमै बसेकाले सुरुमा म केही आलोचित भएँ।
तर संक्रमित हुँदा बित्तिकै आइसोलेसनमा पुराउने प्रवृति मैले तोडेँ। बिना लक्षण आइसोलेसनमा बस्दा मनोवैज्ञानिक क्षति बढी हुन्थ्यो। त्यसैले संक्रमित हुँदैमा आत्तिएर अस्पताल जानु पर्दैन। कुनै लक्षण देखिएको छैन भने भौतिक दूरी कायम गरेर घरमा छुट्टै बस्दा मनोबल उच्च बनाउन सकिने उदाहरण मैले पेश गरेँ। अहिले मलाई आलोचना गर्नेहरु नै त्यो महसुस गरेका छन्। स्वास्थ्य मन्त्रालयले समेत अहिले त्यही भनिरहेको छ। म संक्रमित भएको एक हप्तामा पहिलो र ५ दिनमा अर्को पिसिआर रिर्पोट नेगेटिभ आए।
जेठ २४ गते अन्तिम रिर्पोट नेगेटिभ आएपछि जेठ २५ गते गाउँपालिका नजिकै बरबोटमा बिरुवा रोपेर बाहिर आएँ। एक हप्ता अझै घरमै बस्नुपर्ने थियो।
संक्रमित थपिदै गए, त्यतिबेला पनि थुप्रै नागरिक क्वारेन्टाइनमा थिए। कोरोना संक्रमणसँगै असार मसान्त नजिक, नयाँ बजेट निर्माण लगायतका थुप्रै कुराको चटारोका कारण म बाहिर नआउनुको विकल्प थिएन।

जिल्ला प्रशासन कार्यालयकै अनुमतिमा पहिलो पटक पूर्वमन्त्री गोकर्ण बिष्टले प्रदान गर्ने स्वास्थ्य सामग्री लिन पुगे, सोही दिन कोरोना अस्पताल र ल्याब सञ्चालनको बिषयमा छलफल ग¥यौं। म आएको जानकारी पाएर जिल्लाका ठूलै मान्छे कार्यक्रममा आएनन्। केही दिन तर्के, धेरै परपरबाट हिडे। मैले त्यसलाई उनीहरुको बुझाईको समस्याका रुपमा लिएँ। जेठ ३० गते सर्वदलीय र सर्वपक्षीय बैठकमा समेत सहभागी भएर जेठ ३१ गतेबाट गाउँपालिका फर्किएर नियमित काममा लागेँ। कार्यालय पूरै सेनिटाइज गरियो। म कार्यकक्षमै हुन्थेँ। सुरुमा केही कर्मचारी र सेवाग्राही नजिक पर्न डराए, उनीहरु पनि भ्रममै छन् भन्ने बुझेर सामान्य रुपमै लिएँ।
अझै पनि मलाई देखेर तर्कने मान्छे छन्। अरु बेला माक्स नलगाएरै उभिएको भएपनि मलाई देखे माक्स खोज्छन्। गाउँमा भन्दा शहरमा कोरोना संक्रमणपछिको सामाजिक विभेद खतरनाक छ। मैले १४ दिन एक ट्याब्लेट औषधी खाइन।
यो रोगको सबैभन्दा ठूलो औषधी आत्मबल र धैर्यता रहेछ। त्यो बाहेक म संक्रमण हुँदा नियमित नुन पानी र बेसार पिएँ। समुदायबाट प्राप्त भएका कागतीको फल र पात, गुर्जो, बोझो, तुलसीको पात, बाँमरी, पुदिना, अदुवा, लसुन लगायतका जडिबुटीहरुलाई दैनिक रुपमा प्रयोग गर्थे। मैले अहिले पनि त्यो बेलाका जडिबुटीलाई प्रयोग गरिरहेको छु। मैले कोरोना संक्रमणलाई एकखालको अवसर भनेर आमसञ्चारमाध्यममा भनेँ। किनकी यो रोगले खानपान, स्वास्थ्य, सरसफाई र सामाजिक मनोविज्ञानका थुप्रै कुरा सिकाएको छ।
त्योसँगै मैले सञ्चार माध्यमको पहुँच र आवश्यकताको महसुस पनि यो बेला गरे। मेरो अवस्था र निजी विचार केही मिनेटमै आम नागरिक, शुभचिन्तकदेखि सरकारका सबै तहमा पुगे।
मैले म कोरोनामुक्त भएपछि गाउँमा लक्षण नदेखिएका संक्रमितलाई पनि गाउँमै राख्ने निर्णय गरे। म आफै क्वारेिन्टनहरुमा नागरिकलाई आफ्नो अनुभव बताउँदै हिडेँ। थुप्रै फोरमहरुमा मैले सबैलाई आत्मवल थपेँ। म संक्रमणमुक्त भएपछि प्रदेशका मन्त्रालय र मन्त्रीसम्म पुगेँ। सबैले धेरै आदर र सम्मान गरे, बधाई दिए।
(लुम्बिनी टाइम्सका लागि टोपलाल अर्यालले गरेको कुराकानीमा आधारित)
लुम्बिनी टाइम्स डट कमले कोभिड–१९ को महामारीको समयमा भोगेका घटनाहरु, दैनिकीहरु, संक्रमित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मजदुरहरु, रोजगारदाताहरु, उद्यमीहरुलगायतले भोगेका वास्तविक कथालाई प्रकाशन गरिरहेको छ। तपाइँलाई पनि यस्ता कथामा रुचि छ, अरुलाई केही बताउन चाहनुहुन्छ भने हामीलाई पठाउनुहोला । यदि तपाइँ आफै लेख्न सक्नुहुन्न भने हामीलाई फोन गरेर बताउनुहोस्।
इमेल: [email protected]
फोन: ९८५१२४०२७४