गोपाल उपाध्याय : सूचना अधिकारी, भीम कोभिड–१९ अस्पताल भैरहवा
चीनमा कोरोना भाइरसको संक्रमण भएको सुन्यौं। भाइरसहरुले मानिसलाई असर गरिरहेकै थिए। तर, कोरोना भाइरस अत्यन्तै खतरनाक र तीब्र गतिमा धेरै मानिसको ज्यान लिनसक्ने भाइरस भनेर सुन्यौं।
चीनको बुहान शहरमा फैलियो भन्ने खबर आउनु नै मेरो पहिलो कोरोना भाइरस सम्बन्धि जानकारी थियो। कस्तो भाइरस रहेछ, धेरै भाइरस सुनियो यस्तो छिनको छिनमै ज्यान जाने भाइरस के हो भन्ने जान्नका लागि खुलदुली भयो।
यो खबर एकदमै छिटो फैलिएको थियो। जसरी खबर फैलियो त्यसरी नै कोरोना भाइरसको संक्रमण फैलिएको खबर आइरहेको थियो। चीनपछि इटलीमा यसको प्रभाव पुग्यो। संक्रमित बढ्दै गएको समाचारहरु मिडियामा आउन लागे।
हुन त भाइरस भनेको निश्चित समय र क्षेत्रमा हुन्छ भन्ने हुदैन, पहिलाको फ्लुजस्तै केही होला भन्ने लागेको थियो।
कतैकतै फिल्महरुमा जस्तो मेडिकल माफियाहरुले केही स्वार्थका लागि बनाए होलान् जस्तो हल्ला फैलिरहेको थियो।
शुरुमा त, नेपालमा आउँछ भन्ने अनुमान पनि थिएन। जब भारतमा देखियो त्यसपछि हामी सचेत भयौं, भारतसँगको खुला सीमाना र यहाँको सम्बन्ध, आवतजावतका कारण भारतमा फैलिए नेपालमा प्रवेश गर्छ भन्नेमा ढुक्क थियौं हामी।
.JPG)
त्यसैअनुसार सतर्कता अपनाउन थाल्यौं। मास्क लगाएर हिड्ने यसले सुरक्षित भइन्छ भन्ने विदेशको अध्ययनमा देखिएपछि भाइरसबारे जानकारी लिएँ, ड्रपलेट माध्यमबाट सर्छ भन्ने थाहा भयो।
स्वास्थ्यकर्मीको नाताले हामी पनि सतर्क हुनुपर्छ भनेर त्यसैअनुसार लाग्यौं। हाम्रो अस्पताल पनि समिा नजिकै रहेकाले अस्पताल तत्काल हाईअलर्टमा राख्नुपर्छ जस्तो लाग्यो र राख्यौं।
अस्पतालमा सेवा दिँदा पटकपटक हातधुने, सेनिटाइज गर्ने, अनिवार्य मास्क लगाएर कामलाई निरन्तरता दियौं।
उच्च सतर्कता अपनाएर भौतिक हिसाबले दुरी पनि कायम राख्न थालियो। हामीहरु नियमित छलफलमा यसबारे के गर्ने भनेर कुराकानी गथ्र्यौं। म अस्पतालको प्रवक्ता नियुक्त भइसकेको थिएँ, मेसुको रुपमा डाक्टर नवीन दर्नाल हुनुहुन्थ्यो।
रुपन्देहीका अस्पताल, स्थानीय सरकार र जिल्लाका स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरु राखेर जिल्ला प्रशासन कार्यालयमा बैठक बस्यो, जस्मा हाम्रो अस्पतालमा २४ घण्टाभित्र २ वटा आइशोलेशन बेड तयार गर्नु पर्ने निश्कर्ष निस्कियो। त्यसअनुसारले काम अघि बढायौं।
चैत ५ गते प्रदेश ५ सरकारको स्वास्थ्य निर्देशनालय सहितको टीमले भिम अस्पताललाई कोरोना विशेष अस्पताल बनाउनका लागि निर्देशन दियो।
हामी आफ्नो पेशाप्रति प्रतिबद्ध थियौं र छौं। अस्पताललाई कोरोना विशेष अस्पताल बनाउँदा हामी अरु जोखिममा रहनेछौं र जस्तोसुकै अवस्था पनि आउनसक्छ भन्ने पूर्वानुमान थियो। अस्पताल हेरेर लागेको खर्च सरकारले दिने गरी मन्त्रालयबाट नै स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पाण्डे, भीम अस्पतालका मेसु नबिन दर्नाल र सूचना अधिकारी म स्वयम् गोपाल उपाध्याय गरी ३ सदस्यीय टीमलाई आइशोलेशन बेड सहितको उपचार कक्ष बनाउने निर्देशन आयो। २४ घण्टै खटेर २७ बेडको भीम कोभिड–१९ अस्पताल केही दिनमै तयार भयो।
चैत ८ गते राती ८ बजे कोरोना भाइरसको संक्रमणको आशंकामा प्युठानका एक बिरामी आए। युनिभर्सल मेडिकल कलेजले ज्वरो आएको बिरामी जाँच्न मानेन। भौतारिरहेको बिरामीलाई हामीले आइशोलन कक्षमा राखी उपचार अघि बढायौ। थप तिलोत्तमाको २ जना बिरामी पनि अस्पतालमा कोरोनाको आशंकामै भर्ना भए। तीन जनाको स्वाब १० गते अस्पतालबाट नै संकलन भयो र परीक्षणका लागि पठायौं।
स्वाब पठाएपछि अब हामीले कोभिडको उपचार गर्नुपर्छ भन्नेमा ढुक्क भयौं। डाक्टर सुमित प्रजापतिलाई अस्पतालले कोरोना उपचारका लागि फोकल पर्सन, मलाई कोभिड व्यवस्थापन प्रमुखको जिम्मेवारी दियो। भैरहवा बजारको मुख्य भागमा रहेको अस्पतालमा कोराना संक्रमित आएको भनेर बजारभरि अफवाह फैलियो।
.jpeg)
शुभेच्छुकहरुले फोन गरेको ग¥यै गरे। सबैको उठाउन पनि सकिएन, स्वास्थ्यमा भयावह स्थिति भएको हल्लाले जनतामा थप त्रास भयो। ३ जनाकै रिपोर्ट नेगेटिभ आएपछि केही राहत महसुस भयो, सामान्य उपचार गरी तीनै जनालाई डिस्चार्ज ग¥यौ।
यो खबरले जुन अस्पतालले जाँच नगरी रिफर गरेका थिए, सबैलाई केही झट्का पनि लाग्यो। नेपालमा स्वास्थ्य क्षेत्रमा त्यति बेला भयावह स्थिति आइसकेको थियो ज्वरो भएको विरामी हेर्न खोजेका थिएनन्।
सबै ज्वारो आएको बिरामीलाई उपचार गरेनौं भने अवस्था झन् भयावह हुन्छ, जसरी पनि सेवाग्राहीलाई सेवा दिनुपर्छ चाहे हाम्रो ज्यान नै जाओस् भन्नेमा पुग्यौं। जोखिम कतिसम्म खतरनाक हुनसक्छ र भाइरसले कतिसम्म असर गर्छ भन्ने कुनै कुरा पुष्टि भइसकेको थिएन। नेपालमा संक्रमितमा लक्षण देखिएको थिएन।
तर थपिदै जाने बिरामीमा लक्षण देखिन्छ कि देखिदैन र त्यसले कति असर पार्छ भन्ने थाहा थिएन। उपचारमा खटिने हामीहरुलाई नै असर गर्नपनि सक्थ्यो। त्यसबीचमा अरु मुलुकहरुमा संक्रमितको उपचारमा खटिएका डाक्टरहरुको मृत्यु भइरहेको खबर आएको थियो। हामीलाई एकखालको डर त थियो। हामी जुनसुकै अवस्थामा पनि खटिनुपर्छ भन्नेमा आफुले आफैलाई विश्वस्त बनाएका थियौं।
चैत ९ गतेबाट फिभर क्लिनिक सेवा सुचारु गर्यौं। कोरोनाको चक्करमा अन्य बिरामीहरु मर्ने हुन् कि भन्ने डरले फिभर क्लिनिकबाट सेवा दिइरह्यौं। सबै ज्वरो कोभिड –१९ का कारण आउँदैन भन्दै कोभिडको चक्करमा टाइफाइडको बिरामी मरिरहेको कुरा मैले सुरुबाट भन्दै आएको थिएँ।
कोभिड अस्पतालको रुपमा पनि अस्पतालका संरचना तयार हुदै थियो। बुटवलमा यसअघि नै कोभिड अस्पताल बनिसकेको थियो। हामीकहाँ अस्पतालका ९५ जना भन्दा बढी जनशक्ति थियौं। जसमध्ये ८० जना कोरोना भाइरस संक्रमितको प्रत्यक्ष सेवामा पनि खटियौं। स्वास्थ्यकर्मीहरु दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिरह्यौं।
वैशाख ३१ गते लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४ जनामा कोभिड १९ पोजिटिभ केस आयो। त्यसपछि लगातार पेजिटिभ केस आउन थाले। असार १७ गते सम्म ९६ जना कोरोना भाइरस संक्रमित अस्पतालमा आए। जसको सेवामा अस्पताल लागिरह्यो र सबैलाई कोरोना भाइरससँगको युद्ध जितेर घर फर्किए। अरु १४० भन्दा बढी कोरोनाका आशंका रहेका बिरामीहरुलाई सेवा दियौं।
.jpeg)
२४ घण्टै घर परिवारबाट टाढा रहेर अस्पतालको मेसु दर्नाल, फोकल पर्सन प्रजापति, कोभिड व्यवस्थापन प्रमुख म, मनिस श्रेष्ठ, सविता शर्मा, आशिष श्रेष्ठ, शशिकान्त उपाध्याय लगायतको टीम ज्यानलाई जोखिममा राखेर बिरामीसँग नजिक रहेर काम गर्यौं। सबैलाई कोरोना भाइरसबाट मुक्त गराएपनि आफुलाई पनि भाइरसबाट टाढै राख्नसक्यौं।
जोखिम मोलेर काम गर्दा आफन्त, परिवार र समाजबाट हामी प्रति गर्ने व्यवहार भने कुनै फरक देखिएन। उहाँहरु आफै डराएपनि मलाई फोन गरेर टाढा बसेर काम गर्नुस्, नछुनुस भन्ने कुरा निरन्तर भनिरहे।
सकारात्मक कुरा गर्दै आत्मबल बढाउन शुभेच्छुकहरु लागेका थिए। भैरहवाको केटो हो ज्यान जोखिममा राखेर भैरहवाकै लागि मरिमेटेको छ भन्थे जसले थप उर्जा आइरहेको थियो।
मुख्य बजारमा रहेको अस्पतालबाट भाइरसको संक्रमण बाहिर गए बजार नै संक्रमित हुने डर थियो। अस्पतालमा आउने बिरामीलाई संक्रमण हुन दिनुहुँदैनथ्यो। यति जोखिम थियो। ज्यानकै जोखिम मोलेर, भैरहवावासीहरुको सहयोगी हात र बुद्धको आर्शिवादले हामी कोहीपनि स्वास्थ्यकर्मी संक्रमित भएनौं र शतप्रतिशत बिरामी निको भएर घर जानु नै हाम्रो लागि महत्वपूर्ण हो। एकदमै खुशीको कुरा हो।
सरकारले पिपिईलगायतका अति आवश्यक स्वास्थ्य सामग्री दिनुभन्दा पहिले नै भैरहवावासी र यहाँका संस्थाहरुले हामीप्रति चासो दिदै स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरे। संक्रमितबाट टाढा बस्नुस्, जोगिनुस् र संक्रमितको उपचार पनि गर्नुस् भनेर शुभेच्छा पनि दिइरहेका थिए। यता बिरामीहरु ठीक गर्नुछ, उता बजारमा रहेको अस्पतालबाट बाहिर संक्रमण नहोस् भन्ने अर्को चुनौती थियो। आफ्नो सुरक्षासहित संक्रमण बढ्न नदिन अस्पतालको सबै टीम लागेको थियो। सर्तकताका लागि प्रदेश सरकारले पनि सुरक्षाका सामग्री भरपुर रुपमा दिइरहेको थियो।
चैत ८ गते घरबाट निस्केको म अहिले सम्म घर फर्केको छैन, अस्पतालकै क्वार्टरमा बसी २४ घण्टा नै खटेको छु। यही दौरान मसहित मेरो भाई पनि अस्पतालको मेडिकल अफिसरमा सेवा दिन आएपछि घरमा परिवार डराउन थाले।
बाजेबज्यै आमाहरु धेरै डराउनु भयो, देशको सेवा गर्नुपर्छ भने पनि २ जना छोरा जोखिम मोलेर सेवा गरिरहेको कुरा सम्झेर छोरा, नाती गुमाउने हो कि भन्ने डर परिवारमा थियो।
दैनिक रुपमा घरबाट भिडियो कलमा सधै कुरा हुन्थ्यो। परिवारले पनि २ भाईलाई जोश दिइरहेका थिए। सन्तान जन्मिनु नै राज्य र देशको लागि हो भन्दै परिवारले हौसला प्रदान गरे।
जिम्मेवारी पाएपनि पछाडि हट्नुहुन्न देश संकटको बेला सहयोग, साथ र सेवा गर्नु पर्छ भन्ने मान्यता परिवारको थियो। पेट त जसले पनि पाल्छ, कुनै कुकुर डुलेर पनि बाँच्छ, भने घरको सुरक्षा जासुसी र अनुसन्धानमा पनि कुकरले सहयोग गर्छ जसमा सबैको फरक फरक महत्व छ। झन हामी त राष्ट्रसेवक कर्मचारी। परिवारले टिभी र समाचारमा हेरेर धेरै प्रफूल्लित हुन्थे यही नै हाम्रो लागि ठूलो कुरा थियो।
कोभिड व्यवस्थापनको प्रमुखको जिम्मा त पाए गर्न सकिन्न जस्तो पनि मनमा कुरा खेल्यौ। चुनौती भएपनि सबैको साथ सहयोगले सफलता हासिल भएको छ। बजारमा रहेको अस्पतालबाटै संक्रमण बाहिरियो भने भैरहवा बजार नै संक्रमित हुन्छ कि भन्ने ठूलो डर थियो। तर बिरामीसँग प्रत्यक्ष रहेका व्यक्तिमा पनि संक्रमण भएन।
.jpeg)
अस्पतालको व्यवस्थापन चिकित्सकको आत्मबल, सुरक्षित सरसफाईमा पूर्ण ध्यान दिएर सफलता पायौं। अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै संक्रमित भएको समाचार आएपनि यहाँ एकजना स्वास्थ्यकर्मी पनि संक्रमित नहुनु हामी सरसफाईमा पूर्ण थियौ भन्ने कुराको प्रमाण पनि हो।
सुविधा सम्पन्न, ठूला भनाउँदा अस्पतालले बिरामी नराख्दा समेत स्वास्थ्यकर्मीमा संक्रमण देखिएको उदाहरण हुँदाहुँदै पनि हाम्रो सरकारी अस्पतालमा त्यस्तो अवस्था आएन। सरकार पनि अस्पतालप्रति सकारात्मक थियो। सबै संक्रमित कोरोना जितेर गए, स्वास्थ्यकर्मी पनि संक्रमित भएनन्।
पहिले कपडाबाट बनेको एप्रोन लगाएर काम गथ्र्यौं, प्लास्टिक सरहको हावा नछिर्ने पिपिइ लगाउदा केही मिनेट बस्न पनि सकिदैन। आँखा, मुख, नाक र शरीरको सुरक्षाका लागि हावा नछिर्ने एप्रोन, पञ्जा, चस्मा, टोपी, मास्क लगाउँदा त झन चल्तीफिर्ती जेल भन्दा पनि गाह्रो रहेछ। पिपिई लगाएपछि केही गर्न पनि नसकिने कतिपय अवस्थामा काम गर्दा मुर्छा समेत भए। विदेशमा वातानुकिल वातावरणमा केही सहज भएपनि यस्तो गर्मी ठाउँमा धेरै गाह्रो भयो।
पिपिइ लगाएर काम गर्न साह्रै समस्या हुने खटेर काम गर्न सकिँदैन। मधेश तराई भेगमा नागरिक अलि बढी डराउनु पनि एउटा चुनौती थियो। सुरक्षाका सावधानीहरु पनि अपनाउन खोज्दैनन्।
सरकारले लकडाउन गरेपनि सर्वसाधारण बाहिरी निस्कने प्रवृति थियो। मास्क लगाउन हात धुन सचेतनामुलक सन्देश निरन्तर दिएपनि कार्यान्वयनमा त्यति देखिएको थिएन।

अहिले अस्पताल पहिलेकै अवस्थामा आएको छ। असार १७ गतेबाट ओपिडी र इमरजेन्सीको सबै सेवा दिइरहेको अस्पतालले साउन ७ गतेबाट भने सम्पूर्ण सेवा सुचारु गरेको छ। हामी अब धेरै जोखिमपूर्ण अवस्थामा छैनौं। तर सुरक्षा र सावधानी भने अपनाउनुपर्छ।
(उपाध्यायसँग लुम्बिनी टाइम्सका लागि मोहम्मद हबिबले गरेको कुराकानीमा आधारित।)