जनवरी १९ तारिख बेलुका साढे ९ बजेतिर मोबाइलमा एउटा म्यासेज आयो–‘जो जहाँ छ त्यही रहनु, आज राती साढे १२ बजेबाट लकडाउन सुरु हुन्छ, कोरोना भाइरसको महामारी फैलिएको छ, सवारी, यातायात सबै बन्द हुन्छ।’
एक्कासी मोबाइलमा म्यासेज आउँदा के कसो हो भन्ने भयो। हामीले होस्टल सुपरभाइजसरसँग बुझ्यौं। हामी डराउँछौं भनेर होला उनले खुलस्त रुपमा भनेनन्।
‘अब केही समयलाई यसरी नै बस्नु’ मात्र भने। होस्टलमा बस्दा बाहिरी कुरामा हाम्रो त्यति धेरै ध्यान पनि गएको थिएन। कोरोना भाइरसबारे सुनेका त थियौं, तर सामान्य फ्लु होला भन्ने लागेको थियो। मोबाइलमा म्यासेज आइसकेपछि समाचारहरु हेर्न थाल्यौं। भित्र–भित्र भुसको आगोजसरी फैलिरहेको रहेछ। मोबाइलको म्यासेज र अरु समाचार हेरेपछि मात्र थाहा भयो कि कोरोना भाइरसका कारण अवस्था गम्भीर भइसकेछ। महामारीको रुप लिइएछ भन्ने थाहा भयो। त्यसपछि मनमा डर त्रास पैदा भयो।
भोलिपल्ट २० जनवरीको बिहान झ्यालबाट चियाएँ। सुनसान थियो। कोही सडकमा देखिएनन्। अरु थप समाचार पनि हेरें। निस्केकालाई पनि भित्र पठाइएको भन्ने खबर थियो । चीनको बुहानबाट ४ सय किलोमिटर पर सियान शहरमा हामी बसेका थियौं। त्यस्तो भिडभाड हुने ठाउँ एक्कासी सुनसान देख्दा झन डर लाग्यो।
मुख्य इपिसेन्टर भएकाले होला बुहानका साथीहरुलाई त झ्याल पनि नखोल्न भनेको थियो रे। सियान शहरमा बसेका हामीले भने झ्याल खोलेका थियौं। बुहानदेखि करीब ४ सय किलोमिटर टाढा हो सियान। हामीहरुलाई कोठाबाट बाहिर ननिस्कनु, केही समस्या भएमा सुपरभाइजरलाई भन्नु भनिएको थियो।
डा दृष्टि पौडेल
सुरुमा लकडाउन लामोसमयसम्म जाला भन्ने लागेको थिएन। एक हप्तापछि सामान्य होला जस्तो लागेको थियो। एक हप्ता जतिलाई खाने कुरा पनि बाँकी नै थियो। त्यसपछि लकडाउन खुल्ला भन्ने सोचेंर त्यतिधेरै आत्तिएका थिएनौं। दिन जतिजति बित्दै जान्छ, अवस्था त्यतित्यति खराब हुँदै गयो। बाहिर बाटोमा ड्रोनबाट एलाउन्सभित्र जानु भन्दै कोही निस्केकालाई भित्र पठाउने गरिएको थियो। नयाँ वर्ष र विन्टर भ्याकेसनका कारण त्यहाँ पसलहरु लगभग बन्द हुन्थे। त्यसैले हामीले एक महिनालाई पुग्ने खानेकुरा किनेर स्टक राखेका थियौं। लकडाउन भएपछि अब एक हप्तालाई मात्र खानेकुरा बाँकी थियो।
नेपालबाट ल्याएको गुन्द्रुक खोज्न थाल्यौं खाना स्टकमा भएकाले सुरुको हप्ता हामीलाई त्यति समस्या भएन। तर जब खाना सकियो, अवस्था झन कठीन भयो। हामीले होष्टलको सुपरभाइजरलाई खबर गर्यौं। उनले निश्चित समयमात्रै खाना आउने र नजिकको डिपार्टमेन्टमा लिन जानुपर्ने बताए। सिमित मात्र खाने कुरा आउने रहेछ। लिन जाँदा हारालुछी हुन्थ्यो। जो पहिला गयो उसले पायो, पछाडि पर्नेले भोकै बस्नुपर्दथ्यो। कतिपटक त मैले पनि खानेकुरा फेला पार्न सकिन।
नेपालबाट जाँदा गुन्द्रुक सिन्कीहरु लिएर गएकी थिएँ। अरु बेलामा हामीलाई त्यसको ख्यालै हुन्थेन। कता कुनामा राखिन्थ्यो। लकडाउनमा खानेकुराको अभाव भएपछि झोलामा केही छ कि भनेर खोतल्न थाल्यौं। खोज्दाखेरि सानो पोकामा सिन्की फेला पर्यो। कतिदिन त त्यसकै झोल बनाएर खाइयो। कहिले अदुवा, नुन, बेसार हालेर पनि झोल बनाएर खायौं। सामान्य अवस्थामा प्राय क्यान्टिनमै खाना खाइन्थ्यो। फुर्सद हुँदा मात्र कहिलेकाँही कोठामा पकाएर खाने जाँगर चल्थ्यो। नेपालबाट लिएर गएको दाल पनि सकिएको थियो।
फेरि होस्टल सुपरभाइजरलाई सम्पर्क गर्यौ ‘साह्रै समस्या पर्यो’ भनेर। क्यान्टिनकै मान्छेलाई भनेर खानेकुरा उपलब्ध गराए। लडेर खानेकुरा लियौं, कसैले पायौं कसैले पाएनौं। जति पायौं त्यसैलाई व्यवस्थापन गरेर खायौं। पानीको जार आउन बन्द भएकाले होस्टलमा पानीको पनि अभाव भयो। हामीले धाराको पानी उमालेर खान थाल्यौं।
म बसेको होस्टलमा हामी १६–१७ जना नेपालीहरु थियौं। त्यसबाहेक भारतीय, अफ्रिकन, र पाकिस्तानीहरु थिए। लकडाउनको केही दिनमै भारतले आफ्नो देशका विद्यार्थी लिएर गयो। आँखै अगाडि उनीहरुलाई गाडी आएर लिएर गएको देखेपछि हामी झन दुखी भयौं। हामी आफ्नो देश कहिले जान पाइएला जस्तो भयो। त्यति बेलासम्म नेपाल सरकारले हामीलाई देश लैजानेबारे केही तयारी गरेको थिएन।
‘अब कहिलेसम्म हामी यसरी बस्ने। एक महिना हो भनेर निश्चित दिन भएको भए त दिन गनेर बस्नुहुन्थ्यो। त्यो पनि अनिश्चित छ। छिट्टै जान पाइने हो कि महिनौं बस्नुपर्ने हो केही पत्तो थिएन।
घरपरिवारबाट यसरी टाढा कसरी पो बस्ने हो।’ यस्तै यस्तै कुरा मनमा खेल्यो। हामी त यसरी ब्रेकडाउन भयौं। एउटै कोठामा बसेको छ, कोठाभन्दा केही पर भनेको त्यही एटेज ट्वाइलेट थियो। त्यहाँभन्दा बाहिर कहीँ निस्कन पाइएन। समाचार हेर्यो जताततै कोरोना भाइरसकै मात्र छ। यति तनाव भयो कि डिप्रेसनमै गइन्छ कि जस्तो। साथीहरु एक अर्कालाई हेर्यो रुन मात्र मन लाग्थ्यो।
एम.डी. गर्नका लागि चीन गएको ३ वर्ष हुन लागेको थियो। थेसिसहरु सबै सकेर प्रमाणपत्र मात्र पर्खेको थिएँ। मार्चमा सकिने तयारी थियो। त्यो बीचमा विन्टर भ्याकेसन चलिरहेको थियो। विन्टर सकिसकेपछि हामीलाई प्रमाणपत्र दिने कुरा थियो। यही बीचमा कोरोना महामारीका कारण लकडाउन भयो। एम.डी.को कोर्श अन्तिमतिर पुगेकाले पढाइको चिन्ता भने थिएन।
म भन्दा अरु जुनियरहरु पनि होस्टलमा थिए उनीहरुको पढाइ चाँही अलपत्र पर्यो। कसैको २ वर्ष, कसैको साढे २ वर्ष बाँकी नै थियो। तर उनीहरुमा त्यसबेला पढाइ भन्दा सकुशल नेपाल जान पाए हुन्थ्यो भन्ने थियो। नेपाल जान पाए त पढाइ पछि आएरै गरौंला भन्थे। चीनको नेपाली राजदुतावासमा हामीले नेपाल जान पाउँ भनेर पटक–पटक अपिल गर्यौ। हाम्रै पैसाले भएपनि नेपाल जान्छौं भनेर कुरा राख्यौं। तर नेपाल सरकारको निर्णय विना हाम्रो उपाय नै थिएन।
हामी होस्टलमा बसेका मध्ये जो–जसको परिवार काठमाडौमा हुनुहुन्थ्यो उहाँहरु मन्त्रालय धाउनुभयो। दस–पन्ध्र दिन त उहाँहरु मन्त्रालय धाउने गुहार माग्ने काम मात्रै गर्नुभयो। मन्त्रालय पुग्दा घरी यता जा भन्छन् घरी उता। हामीलाई नेपाल फर्काउन अभिभावकहरुले त्यो बेला धेरै नै खट्नुभएको थियो। नेपाल मेडिकल एशोसिएसनबाट पनि हामीलाई केही सान्त्वना दिनुभयो। ग्रुप म्यासेजमा हाम्रो तर्फबाट पनि अपिल गरिरहेका छौं भन्नुहुन्थ्यो।
राजदुताबासबाट म्यासेज आएपछि आशा पलायो चीनको नेपाली राजदुतावाससँग पनि हाम्रो सम्पर्क भइरहन्थ्यो। वी च्याटमा दुताबासले ग्रुप च्याटको व्यवस्था गरेको थियो। कसैलाई केही समस्या भए ग्रुप च्याटमा म्यासेज गर्न भनिएको थियो। एक दिन उहाँहरुले ग्रुप च्याटमा एउटा फारम भर्न पठाउनुभयो। एउटा लिंक दिएर इमेलमा फर्म फिलअप गरेर बुझाऊ भन्नुभएको थियो। नेपाल जान पाइन्छ कि भन्ने आशा पलायो। तर ढुक्क भने भइएन। नेपाल जान पाइन्छ की जस्तो पनि लाग्ने। कता कता नेपाल न हो फाराम भर्न मात्र पठाएको हो, के लैजाला र भनेर ढुक्क थिएनौं। जान पाइयो भन्ने खुशी हुने अन्तिममा भएन भन्ने सूचना आउने हो कि आशंका पनि उत्तिकै लाग्यो।
उता नेपालमा क्वारेन्टाइमा राख्ने भनेको ठाउँमा विरोध गरेका थिए। त्यही विरोधका कारण जान नपाइने हो कि भन्ने चिन्ता थियो। चीनमा त हामी सुरक्षित भएरै बसेका थियौं। नेपालमा आसपासका स्थानीयले क्वारेन्टाइन राख्न दिन्नौ भनेको सुन्दा साह्रै दुख लाग्यो। सायद कोरोना भाइरसबारे जानकारी पनि नभएकाले होला।
नेपाली दुतावासमा फारम भरेर पठाएको दुई दिनसम्म कुनै प्रतिक्रिया आएन। तेस्रो दिन आ–आफ्नो सुपरभाइजरलाई खबर गर्नु, कहाँ लिन आउँदा सहज होला भनेर सोध्नुभयो। सबै ठाउँमा गाडीलाई पिकअप गर्न गाह्रो होला, एकै ठाउँमा आउन सजिलो हुन्छ की भनेर कुरा गर्नुभएको थियो। हुवाइ प्रान्तमा पनि ठाउँ–ठाउँमा नेपाली विद्यार्थी थिए। प्रत्येक ठाउँमा एउटा–एउटा गाडी पठाएर बुहानको एयरपोर्टमा ल्याउने योजना भयो।
चीनबाट नेपाल आउन गाडी चढ्दै गरेका विद्यार्थी । तस्वीर : नेपाली टाइम्सबाट
नेपाल जाने भनेर झोला प्याक गर्दा हामी कति धेरै खुशी भयौं। त्यसको सीमा नै थिएन। होस्टलमा बस्दा सुपरभाइजरलाई भनेर हामीले केही खानेकुरा किनेका थियौं। त्यसरी किनेर बचेको खानेकुरा र पानी सबै हामीले पाकिस्तानी र अफ्रिकन साथीहरुलाई बाँड्यौ। केही दिन उनीहरुलाई पनि खानेकुरामा सहज होस् भन्ने भयो।
ज्वरो नदेखियोस भनेर एयरर्पोटमा पानीपट्टी गर्यौं चीनको हामी बसेको ठाउँमा यो वर्ष जाडोमा एकदम धेरै हिउँ परेको थियो। हामीहरु बाक्लो बाक्लो जाकेट लगाएर निस्कियौं। एक दिन अगाडि नेपाली राजदुतावासको मान्छेले हामीलाई एउटा सूचना दिएका थिए। ‘युरोपको एक देशले चीनबाट आफ्ना नागरिक लैजादा एक जनाको बाक्लो जाकेट लगाएको हुँदा ज्वरो नआएपनि तापक्रम धेरै देखिएको थियो। त्यसैले उसलाई जान दिइएको थिएन। तपाईहरुले त्यो समयको लागि धेरै बाक्लो कपडा लगाएर नआउनु’–सूचनामा भनेका थिए।
कतै तापक्रम बढी देखिएर नेपाल जान नपाउने त होइन भन्ने चिन्ता पनि लाग्यो। अर्कोतर्फ वुहान हुँदै जानुछ। त्यो त कोरोना भाइरसको इपिसेन्टर हो। कतै माक्स खोलेर पानी पिउँदा पनि कोरोना भाइरस सर्छ कि, अरु कसैबाट छोइने पो हो कि भन्ने चिन्ता र त्रास पनि उस्तै थियो।
हामी होस्टलमा बस्नेलाई त कोरोना भाइरस छैन भन्नेमा ढुक्क थियौं। अन्य शहरबाट आएकाहरुबाट सर्छ कि भन्ने डर थियो। केही नेपालीहरु बाहिर अपार्टमेन्ट लिएर बस्नुभएको थियो। त्यहाँको अपार्टमेन्ट वरपर कोरोना भाइरसको संक्रमण भएको छ भन्ने सुनिन्थ्यो। त्यसैले जहाजमा हाम्रो होस्टलका मात्र एकै ठाउँमा बसौं, अरु शहरका सँग नछोइयौं भन्ने योजना बनायौं। वुहानसम्म बसमा आउँदा बाटोमा ठाउँ–ठाउँमा चेकिङ थियो। ठाउँ–ठाउँमा ज्वरो नापिएको थियो।
वुहानको एयरपोर्टमा पुग्दा हामी नेपाली मात्र थियौं। अरु सबै उडान बन्द थियो। सुनसान थियो। नेपाल एयरलाइन्सको जहाज देख्दा चाँहि मन निकै प्रफुल्ल भयो।
सबैले फोटो खिच्न थाल्यौं। तापक्रम नापेर मात्र हामीलाई भित्र जान दिन्थ्यो। मुटु फेरि काप्न थाल्यो। ज्वरो नाप्दा तापक्रम बढी देखियो भने त नेपाल जान दिँदैन। रोक्यो भने फेरि फर्केर उही ठाउँमा गएर बस्नुपर्छ। भएको खाने कुरा पनि होस्टलमा बसेका अरु देशका साथीहरुलाई दियौं। अब गएर के खाने जस्ता कुरा र चिन्ता मनमा खेले।
नेपाल एयरलाइन्सको यो जहाज छुट्यो भने त नेपाल जाने कुरा त अनिश्चत हुन्छ। यसरी अर्को जहाज लिन पनि आउँदैन। कति महिना यही बस्नुपर्दा हाम्रो अवस्था विजोग हुन्छ। यस्तै यस्तै सोंचेर एयरपोर्टमा ज्वरो नाप्न भन्दा अगाडि हामीले निधारमा पानी पट्टी गर्यौं। लगाएको जाकेट पनि खोल्यौं। ज्वरो त आएको थिएन। तर कुनै हालतमा पनि तापक्रम बढी नदेखियोस् भनेर हामीले त्यसो गरेका थियौं। नेपाल जान पाए त टेन्ट भित्रै सुत्न परेपनि सुतौला। जे खाएपनि खाउँला, जसरी बसेपनि बसौंला भन्ने मनमा थियो।
एयरपोर्ट पुग्दै गर्दा बीचमा एक जना साथीलाई एक्कासी चक्कर लाग्यो। अब नेपाल जान दिन्न कि जस्तो लागेको थियो। पछि ठीक भयो र ऊ पनि नेपाल आउन पायो। एयरपोर्टमा हाम्रो तापक्रम नापियो। ज्वरो नदेखिएपछि हामीलाई जहाज भित्र पस्न दियो। त्यसपछि बल्ल नेपाल जान पाइयो भनेर ढुक्कको सास फेर्यौं। ६ जना जति साथीको तापक्रम बढी देखिएकाले छुट्नुभएछ अलि दुःख लाग्यो। कोही नछुटेर सबै आउन पाएको भए झन राम्रो हुन्थ्यो।
जहाज र क्वारेन्टाइनमा सोँचेभन्दा राम्रो व्यवस्था नेपाल एयरलाइन्सको हवाइजहाजभित्र सबै व्यवस्था राम्रो थियो। सिट सिटमा खानेकुरा र सेनेटाइजरको व्यवस्था थियो। आफ्नो देश फर्किन पाउँदा त नेपाल सरकारप्रति हामी निकै खुशी भयौं। मनमनै धन्यवाद दियौं।
चीनमा हामी लकडाउनमा बसेको बेला भारतीयहरुलाई आफ्नो देशले लैजादा त नेपाललाई धिक्कारेका थियौं। ‘हामी कस्तो देशमा जन्मेका रहेछौं, ठूलै देशमा जन्मनुपर्दो रहेछ’ भन्ने पनि लागेको थियो त्यसबेला।
तर जहाजभित्र बस्दा त्यो सोँच व्यर्थ रहेछ भन्ने भयो। हवाइजहाजभित्र सुरुमा एयरलाइन्सका मान्छे हामीसँग तर्किरहनुभएको थियो। हामीहरुको कुरा सुनेपछि उहाँलाई यिनीहरु सुरक्षित छन भन्ने लाग्यो होला। पछि अलि नजिक आउनुभयो।
लकडाउनमा परेको भण्डै २५ दिनपछि फेब्रुअरी १६ तारिखका दिन बिहान ९ बजे हामी होस्टलको कोठाबाट निस्केका थियौं। बीचमा अरु नेपाली साथीहरुलाई पनि पर्खदै तीन–चार घण्टामा गाडीले हामीलाई वुहान एयरपोर्ट ल्याएको थियो। राती ११ बजे जहाज उड्यो। राती २ बजे हामीलाई काठमाडौ उतार्यो। होष्टलको कोठाबाट काठमाण्डौको क्वारेन्टिनमा नपुग्दा सम्म हाम्रो माक्स मुखमै थियो। जहाजमा खानेकुरा खाँदा मात्र केही समय खोलेका थियौं। अति भोक लागेकाले जहाजमा उपलब्ध भएको सुख्खा खाना खायौं।
हवाइजहाजबाट झरेपछि बाहिर ५ वटा बस लागेको थियो। एउटा बसमा बस्यौं। त्यहाँबाट हामीलाई खरिपाटीस्थित क्वारेन्टिन लगियो। नेपालको क्वारेन्टिन पुग्दा त हामी कति खुशी भयौं कति। पहिले नै हामीले आ–आफ्नो रुम पार्टनरको नाम टिपाएका थियौं। त्यही अनुसार कोठा अगाडि हाम्रो नाम टाँसेको थियो।
चप्पलदेखि बाथरुममा चाहिने सबै सामान तयार थियो। ‘केही चाहिए कल सेन्टरमा फोन गर्नुहोला’ भनेर बेला बेलामा एनाउन्स गर्नुहुन्थ्यो। केही आवश्यक परेमा हामीले फोन गथ्र्यौ, उपलब्ध हुन्थ्यो। बेलाबेलामा त्यहाँ सरसफाइ र सेनिटाइज गर्न आउँदा सबै आफ्नो कोठा भित्र जाने भन्नुहुन्थ्यो।
सरसफाइ सकेपछि बल्ल हामी बाहिर निस्कन्थ्यौ। अरु विश्वविद्यालयका साथीहरुसँग पनि घुलमिल भएर आइयो। उनीहरुबाट कतै हामीलाई पनि कोरोना भाइरस सर्नेे हो कि हो भन्ने केही चिन्ता लाग्यो। यहाँ बसेकामध्ये एक जनालाई संक्रमण देखियो भने त हामी सबै जोखिममा पर्छौै भन्ने सोँचेर सचेत भयौं।
खरीपाटी क्वारेन्टिनमा बसेको २ दिन जति त हामी खासै बाहिरै निस्केनौं। दुई दिनमा हाम्रो पहिलो पिसिआर परिक्षण भयो। क्वारेन्टिनमा बसेका जति सबैको रिपोर्ट नेगेटिभ आयो। बल्ल ढुक्क भयो। कोठामा मात्र सिमित हामी रिपोर्ट नेगेटिभ आएको थाहा पाएपछि क्वारेन्टिनको कम्पाउण्ड वरिपरि घुम्ने र खेल्ने गर्न थाल्यौ। चीनका अरु विश्वविद्यालयका विद्यार्थीहरुसँग पनि फ्रेडसिप गयौं।
खरिपाटीको कम्पाउण्ड ठूलो थियो। मज्जाले घुम्न सकिने। चीनमा बस्दा एउटै कोठा भित्र सिमित हामीलाई त क्वारेन्टिनमा बस्दा निकै आनन्द र स्वतन्त्रताको अनुभव भयो। क्वारेन्टिनमा बसेको १४ दिनका दिन हाम्रो अर्को पिसिआर परिक्षण भयो। त्यसको रिपोर्ट पनि नेगेटिभ आएपछि १७ औं दिनका दिन हामी खरीपाटी क्वारेन्टिनबाट बिदा भयौं। क्वारेन्टिनमा बसेको भनेपछि बाहिर अरु बस र ट्याक्सीले लिन नमान्ला भनेर काठमाडौ बाहिर बस मार्फत जानेलाई कलंकीसम्म र जहाज मार्फत जानेलाई एयरपोर्ट सम्म पुर्याउने गाडीको व्यवस्था गरिएको थियो। म जहाज मार्फत काठमाडौबाट भैरहवा हुँदै बुटवल आएँ।
यहाँ लकडाउन भएपनि चीनमा जस्तो तनाव लिनुपरेन बुटवल आएको दिन त मलाई केही भएन। अर्को दिन त रुघा लाग्ने घाँटी दुख्ने भयो। ज्वरो भने आएको थिएन। क्वारेन्टिनबाट पिसिआर टेष्ट गराएर सुरक्षित निस्केको थिएँ, कतै काठमाडौबाट जहाजमा आउँदा मलाई संक्रमण त भएन भन्ने डर लाग्यो। परिवारमा कसैलाई केही भनिन एन्टिबायोटिक खाएपछि मात्र मलाई सन्चो भयो। बुटवल आएपछि एक हप्ता घरै बसें भेटघाटका लागि कसैको घरमा पनि गइन। आफू ढुक्क भएपछि बल्ल भेटघाट गर्न थालें। कोरोना भाईरसबारे जति डर चीनमा हुँदा थियो, नेपाल आउँदा त्यो डर हराएर गयो। भिडभाडमा गइएन र घरै बस्यो भने सुरक्षित भइन्छ जस्तो लाग्यो।
म आएको केही समयपछि नेपालमा पनि लकडाउन सुरु भयो। चीनको लकडाउन भोगेका हामीलाई यहाँको लकडाउन त खासै कडा थिएन। मान्छेहरु अलिअलि बाहिर निस्केकै थिए। चीनमा त्यतिको भिडभाड हुने ठाउँमा एक जना मान्छे बाहिर देखिदैनथे। लकडाउनमा रहँदा यहाँ चीनमा जस्तो मानसिक तनाव लिनुपरेन। आफ्नो घरमा तल–माथि गर्न पाइयो । साथमा परिवार भएपछि महिनौं कटाउन सकियो।
(महिला तथा प्रसुति रोग विशेषज्ञ उपाधिका लागि चीन गएकी डा.दृष्टि पौडेलसँग बुटवलमा सुदीप भण्डारी लुम्बिनी टाइम्सका लागि गरेको कुराकानीमा आधारित)