लकडाउन सुरु हुनभन्दा डेढ दुई हप्ता अघि अस्पतालमा बिरामीहरुको चाप थियो। गर्मी सुरु भइसकेकाले भाइरल ज्वरोका बिरामी धेरै थिए। बिहान साढे ७ देखि ८ बजेको बीचमा म तिलोत्तमा अस्पताल पुगिसकेको हुन्थें। त्यहाँ बिहानैदेखि बिरामीको भीड हुन्थ्यो। तिलोत्तमा अस्पतालमा बिरामी जाँचेर ९ बजे म दीपनगरमा रहेको आम्दा अस्पताल पुग्नुपर्दथ्यो। तिलोत्तमामा टिकट बन्द गराएर बाँकी बिरामी आम्दामा बोलाउन पठाएर त्यहाँबाट निस्कन्थें। हतार हतार १०–१५ जनाको फलोअप हेरेपछि आम्दाका बिरामी हेर्न थाल्थे। यो हाम्रो बाध्यता हो। बिरामीलाई समय पनि दिनुपर्नेछ। अनि जहाँ पनि बसेर जाँच गर्न भएन।
आम्दाको ओपिडीमा भिडभाड उस्तै भिडभाड हुन्छ, इमरजेन्सीमा त एउटा बेडमा दुइटा बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था थियो। अब्जरवेशन वार्डमा पनि एउटा बेडमा दुईवटा बिरामी खचाखच हुन्थे।
पहिले त म नवजात शिशुको सघन उपचार कक्षको राउण्ड लिन्थें। त्यसपछि ओपिडीमा जान्थें। खाना खान फुर्सदसमेत हुँदैन थियो। कहिलेकाही त पौने २ बजेतिर मात्र खाना खाने समय मिल्थ्यो। हतार हतार खाना खायो, त्यसपछि ओपीडीमा रिपोर्ट हेर्न पुग्थेँ। त्यो बीचमा मैले मुटुका बिरामीको एक्सरे गर्नुपर्दथ्यो।
मुटुको भिडियो एक्सरे गर्न दुइतीन जना बच्चाहरु पर्खेर बसेका हुन्थे। मधुमेह भएका बच्चाहरुलाई पनि विशेष गरी मैले हेर्नुपर्ने हुन्थ्यो। चार बजेसम्म आम्दामा भ्याइ नभ्याइ हुन्थ्यो। त्यसपछि साढे ४ बजे फेरि म तिलोत्तमा अस्पताल पुग्थें। राती ८–९ बजेसम्म बिरामी हेरिन्थ्यो। बिहान साढें ७ देखि राती ९ बजेसम्म निरन्तर म व्यस्त हुन्थें।

चैत्र ११ गते भएको लकडाउनले एक्कासी मेरो दैनिकी बदलियो। बिहानसम्म आनन्दले सुत्न थालेँ। कहिलेकाही बिहान ८–९ बजेसम्म पनि निद्रा लाग्थ्यो। केही समय त जिउले एकदम आराम पाएजस्तो लाग्यो। तिलोत्तमा अस्पतालमा ओपिडी बन्द भएकाले जान नपर्ने, आम्दा अस्पतालमा ५ दिनमा एक दिन पुगेर सेवा गर्थें।
तर बिरामीहरुको खासै चाप हुँदैन थियो। अस्पतालबाट घर पनि छिट्टै पुग्न थालेँ। परिवार र बच्चाहरुलाई समय दिन पनि पाइयो। बच्चाहरु पनि स्कुल जान नपर्ने भएपछि उनीहरु खुशी देखिन्थे। यो बीचमा मैले लेख रचनाहरु लेख्न थालें। दुईतीन वटा पत्रिकामा स्वास्थ्य सम्बन्धी लेख लेखें। अनलाईन तथा युट्युबका च्यानलहरुका लागि पनि मैले अन्तरर्वार्ता दिएँ। एक महिना भन्दा बढी मेरो यस्तै दैनिकी चल्यो।
लकडाउनमा आफ्नो नियमित कामबाट फुर्सद भएपनि फोनमा भने निकै व्यस्त भएँ। मेरो बच्चालाई यो समस्या छ, के खुवाउने के नखुवाउने भनेर सोधिराख्नुहुन्थ्यो।
सुरुको हप्ता एकदम धेरै फोन आयो। बिरामीको तर्फबाट एक दिनमा मैले ८२ वटा फोन सम्म उठाएको छु। वैशाख तेस्रो हप्ताबाट मात्र म तिलोत्तमा अस्पतालमा जान सुरु गरें। त्यसपछि बिस्तारै व्यस्तता बढ्यो।
बिरामीले औषधि थप्न पठाएर अतिरिक्त औषधि लिएर गए
लकडाउन सुरु हुनुभन्दा हप्ता १० दिन अघिबाटै अस्पतालमा बिरामीको चाप घटिसकेको थियो। कोरोना महामारीका कारण धेरै मान्छेहरु आ–आफ्नो गाउँघर जान थालेका थिए। त्यसरी घर जान लागेकाहरु मसँग आएर थप औषधि लिएर जानुहुन्थ्यो। ज्वरोको सँगै, बान्ता, रुघाखोकीको भनेर मलाई औषधि लेखिदिन भन्नुहुन्थ्यो। मलाई यो–यो भयो के खाने भनेर सोधेर धेरै आमाहरुले मलाई अतिरिक्त औषधि लेख्न पठाउनुहुन्थ्यो।
लकडाउन खुकुलो भएपनि पनि अस्पतालमा बिरामीको चाप कमै छ। सकभर अस्पताल जान नपरे हुन्थ्यो भन्ने उहाँहरुमा मानसिकता छ। उपचारका लागि आउनुहुने बिरामीहरुले ‘डाक्टर सा’ब यस्तो बेलामा अस्पताल आउन त डर लागिरहेको छ। अर्कोपटक आउन नपर्ने गरी औषधि दिनुहोस्’ भन्नुहुन्थ्यो। कोरोनाका कारण उहाँहरुमा डर र मानसिक तनाव बढेको छ। मैले बालबालिकालाई भीडभाडमा नलैजानु, हात धुन पठाइराख्नु आत्तिनुपर्दैन भनेर अभिभावकहरुलाई सम्झाउँथे।
मेडिकल एशोसिएनका तर्फबाट कोरोना भाइरस संक्रमितको व्यवस्थापनमा भूमिका खेलें
म नेपाल मेडिकल एशोसिएसन लुम्बिनी शाखाको महासचिव हुँ। एशोसिएसनमा भएकाले कोरोना अस्पताल निर्माणमा परामर्श दिने, बेलाबेलामा कोरोना अस्पतालमा गएर निरिक्षण पनि गरेँ। कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष नखटेको भएपनि कोरोना अस्पतालको व्यवस्थापनमा मेडिकल एशोसिएसनको तर्फबाट मैले पनि आफ्नो भूमिका निर्वाह गरेको छु।
धागो कारखानामा रहेको कोरोना अस्पतालमा म ५–६ पटक जति पुगें। त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीका समस्याहरु हेरेर त्यसको सुनुवाई गर्न सम्बन्धित पक्षसँग माग गर्दथ्यौं। सुरुमा अस्पतालमा डाक्टरहरुलाई नुहाउने ठाउँ पनि थिएन। हामी गएर झकझकायौं। संगठनबाटै कुरा आयो भनेपछि समस्याको सुनुवाई पनि सहज हुन्थ्यो। स्वास्थ्यकर्मीका अन्य समस्याबारे पनि हामीले झकझक्याइ रहन्थ्यौं। संक्रमितको समस्या पनि सुन्थ्यौं। मलाई देखेपछि एक दिन मुश्लिम समुदायको संक्रमितले भने–‘इद सकिएको यतिका दिन भयो हामीले त माछा नै खान पाएनौं।’ हामीले एउटा लायन्स क्लबलाई भनेर कोरोना अस्पतालमा प्रत्येक शुक्रबार माछा ल्याएर खुवाउने व्यवस्था गर्यो। ६ हप्ता जति प्रत्येक शुक्रबार लायन्स क्लब अफ सयपत्रीको तर्फबाट हामीले माछा दिन्थ्यौं।

मेडिकल एशोसिएसन लुम्बिनी शाखाको महासचिव भएकाले लकडाउनको बीचमा मैले पिपीइ ल्याउने, लायन्स क्लब लगायतका अरु डोनरबाट आएका पिपीइहरु संकलन गरेँ। सुरुसुरुमा एम्बुलेन्सहरुले बिरामी बोक्नै मान्दैनथे। ज्वरो आएको बिरामी बोक्नै नमानेपछि हामीले एम्बुलेन्स चालक संघको अध्यक्षलाई बोलाएर ‘तपाईहरुले बिरामी बोक्नुपर्छ ।
बरु तपाईहरुलाई हामीले पिपीइ दिन्छौं भनेर भन्यौं। २० जना एम्बुलेन्स चालकलाई पिपिइ र माक्स उपलब्ध गरायौं। उनीहरुको नाम र फोन नम्बर लिएर केही पर्यो फोन गर्छौं भन्यौं। एम्बुलेन्स चालकको नाम र नम्बर बिरामीहरुको सुविधाको लागि फेसबुकमा समेत पोष्ट गर्यौ। पिपिइ पाएपछि एम्बुलेन्स चालकले बिरामी बोक्न थाले।
गल्लीमा डाक्टर देख्दा भागाभाग
कोरोना अस्पतालमा कार्यरत हाम्रो एक जना चिकित्सक साथी क्वारेन्टिनमा बस्नुभएको थियो। उहाँको श्रीमतीले ‘मैले अलिकति चिकन फ्राई बनाएको छु, अस्पतालबाट फर्कने बेलामा यता आउनुहोला गाडीमा ल्याइदिन्छु’ भन्नुभएको थियो। श्रीमतीले बोलाएपछि खानेकुरा लिन जाँदा टोलका मान्छेले आफ्ना बच्चाहरुलाई ‘डाक्टर आयो भित्र जा भित्र जाओ भनेछन्।’
अरु बेला डाक्टर सा’ब नमस्कार भन्ने आफ्नै टोलका मान्छेले बच्चाहरुलाई भित्र पठाएर झ्यापझुप ढोका लगाएछन्। कोरोना अस्पतालबाट आएको भनेपछि देख्ने बित्तिकै गल्लीबाट भागाभाग हुने अवस्था थियो। आफ्नो परिवारले नछोइकन दुरी कायम गरेर खानेकुरा पुर्याइदिन्छु भन्दा पनि त्यस्तो भयो भनेर ती चिकित्सक साथीले मलाई अनुभव सुनाउनुभएको थियो। मान्छेहरुले डाक्टरलाई देख्दा नै कोरोना भाईरस सर्छ जस्तो गरे।
केही डाक्टरले त घरबेटीको अपमान पनि सहनुपर्यो। हाम्रो मेडिकल अफिसर भाइहरु शंकरनगरमा भाडामा बस्नुहुन्थ्यो। उहाँहरुलाई घरबेटीले भित्र छिर्नै दिएनन्। तपाई बहाल खोजेर अन्तै व्यवस्था गर्नुस भने। मेडिकल एशोसिएसनमा पनि उहाँले जानकारी गराउनुभयो। एक जना नर्सलाई पनि त अस्पतालमा काम गर्छेस्, कोठा छोड भनेको हामीले सुन्यौं। यी कुराहरुले एकदमै दुःख लाग्यो। हामीले समाधानको प्रयास गर्यौं।
मैले भने प्रत्यक्ष त्यस्तो दबाब त महसुस गरेको छैन। घर परिवारबाट पनि साथ पाएको छु।
तर कतिपयले मसँग डर लागेको कुरा व्यक्त गर्थे। फेसबुकमा मेरो फोटो देखेर ओहो डाक्टर सा’ब अस्ति तपाई कोरोना अस्पताल जानुभएको रहेछ, आउन पनि डर लाग्यो भनेर एक जनाले मलाई फोन गरे। मैले कोरोना अस्पतालमा व्यवस्थापन हेर्न गएको भनेर सम्झाएँ।
लुम्बिनी प्रादेशिक अस्पतालमा सुरुसुरुमा कोरोनाकै डरले २–३ जना डाक्टर डिउटी गर्न आउनुभएन। कोही व्यक्तिगत कारणले छोड्नुभएको थियो। निकालियो भनेर समाचार आयो । त्यसबारे नेपाल मेडिकल एशोसिएसनमा उजुरी पर्यो। कोरोनाका कारणले एक दुइ जनाले त्यसो गर्नुभयो भने ठीकै छ, तर सबैलाई मुछ्न भएन भनेर हामीले दबाब दिएर प्रादेशिक अस्पतालसँग मध्यस्थकर्ताको काम गर्यौं।

देशका कतिपय ठाउँमा बाहिर किन निस्केको भनेर डाक्टरहरुले पनि कुटाइ खाएका थिए। यहाँ त्यसो नहोस् भनेर हामीले पनि डाक्टरको आइडेन्टी भएको झण्डै ३ सय वटा ज्याकेटहरु बाँड्यौं। कतिपय डाक्टरहरुलाई काठमाडौ जानुपर्ने अवस्था थियो। उहाँहरुको लागि जिल्ला प्रसासन कार्यालयमा गएर पहल गर्यौं।
मेडिकल एशोसिएनकै तर्फबाट हामीले चीनमा लकडाउनमा अलपत्र परेकाहरुलाई नेपाल ल्याउन पनि दबाब दिइराख्यौं। हाम्रै साथीहरु चीनमा काम गर्न जानुभएको थियो। जुनियर भाइबहिनीहरु एम डी गर्न गएका थिए। ‘हामीलाई त होष्टलमा थुनेर राखेको छ, तलबाट खानेकुरा फालिदिन्छ कडा लकडाउन छ, सैनिक शासन लागू भए जस्तो एक जनालाई पनि बाहिर निस्कन दिएको छैन’ भनेर हामीलाई सुनाउथे। उहाँहरुका समस्या हामीले मन्त्रीज्यूसमक्ष पनि कुरा पुर्याउने र त्यसका लागि पहल गर्न दबाब दियौं।
सुरुमा सुनेको कोरोना भाईरस र अहिलेको अवस्था
सुरुमा हामीले पनि मिडिया र सामाजिक सञ्जालबाटै कोरोना भाइरसबारे थाहा पाएका हौं। हामी मेडिकल पर्सनलाई यस्ता कुरामा विशेष चासो रहने नै भयो। कोरोनाबारे थाहा पाएपछि र चीनमा विद्यार्थीहरुको समस्या सुनेपछि हामीले नियमित रुपमा मेडिकल जर्नलहरु हेर्न थाल्यौं। सुरुमा मैले न्यू इग्ल्याण्ड जर्नल अफ मेडिसिन एन.इ.जी.एम. भन्ने पढें।
त्यसमा कोरोना भाईरससम्बन्धी धेरै अध्ययनहरु भएको पाएँ। रोगसँग लड्ने प्रतिरोधी क्षमता कम भएकाहरु र धेरै औषधि सेवन गरेका मान्छेहरुलाई कोरोना संक्रमणले असर गर्ने भनेर लेखिएको थियो। वुहानको आधिकारिक डाटालाई त्यसमा विश्लेषण गरिएको थियो।
त्यो पढ्दा मलाई कोरोना भाईरस त्यति डर लाग्दो होइन भन्ने लागेको थियो। इबोला भाईरस लाग्यो भने धेरै जनालाई सखापै पार्दथ्यो। शुरुमा कोरोना भाईरस त्यस्तो खतरा देखिएको थिएन। लाखौंलाई लाग्दा थोरैको संख्यामा मात्र सिरियस देखिएको थियो। तर कोरोना भाईरस केही होइन भन्ने पनि होइन। यसले स्वास्थ्यकर्मीलाई धेरै असर गरेको छ। जस्तो इटली लगायतका देशमा भयावह अवस्था आयो। नेपालमा कोरोना भित्रिदा सुरुमा त्यस्तो डर पैदा भएको थिएन। मैले अरु साथीसँग कुरा गर्दा पनि यो डराउने रोग होइन तर सतर्क हुनुपर्छ भन्थें।
जुनसुकै अवस्थमा पनि सामाजिक दुरी कायम गरिराख्नुपर्छ। बाहिर निस्कँदा माक्स लगाउनुपर्छ। माक्स लगाउन भन्दा अघि र निकालेपछि सँधै साबुन पानीले हात धुनुपर्छ भन्ने मलाई लागेको थियो।
नेपालमा पनि कोरोना भाईरस संक्रमणको केशहरु बढ्दै गए। तर कोरोनाको लक्षण भने निकै कमलाई छ। कोरोना भाईरसबाट मृत्यु भएका भनिएकाहरुमा पहिल्यैदेखि अरु रोगले च्यापेका मानिसहरुको मृत्युको तथ्यांक धेरै छ हाम्रोमा।

बच्चाहरुमा मानसिक समस्या
कोरोना भाईरसका कारण बच्चाहरुमा पनि हात धुनुपर्छ भन्ने चेतनाको विकास भएको छ। २ तीन वर्षका केटाकेटीले साबुन पानीले हात धुनुपर्छ, सेनेटाइजर लगाउनुपर्छ भन्ने गर्दछन्। कोरोना भाईरसकै कारण कतिपय बच्चाहरुलाई मानसिक असर पनि गरेको छ।
ठूला बच्चाहरुमा स्कुल जान नपाएर घर बसिराख्दा मानसिक तनाब भइरहेको छ। ८–१० वर्षको बच्चामा मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो भयो, घाँटी अड्क्यो जस्तो भयो भन्ने जस्ता समस्या लिएर अभिभावकहरु आउन थालेका छन्।
कोही कोही बच्चाहरुमा छिनछिनमा पिसाब फेर्न जाने समस्या पनि देखिएको छ। हामीले बालबच्चाहरुलाई धेरै डरमा राख्न हुँदैन। मानसिक समस्यासँगै कुपोषणको समस्या पनि बढ्न सक्छ। यतातर्फ पनि ध्यान दिनुपर्छ।
कोरोना महामारीको अन्त नभएसम्म जोखिम उत्तीकै छ। तर डराएर भागेर फाइदा छैन। सतर्क भने हुनैपर्छ।
(नेपाल मेडिकल एशोसिएसन लुम्बिनी शाखाका महासचिवसमेत रहेका बालरोग विशेषज्ञ डा. पोखरेलसँग लुम्बिनी टाइम्सका लागि सुदीप भण्डारीले गरेको कुराकानीमा आधारित।)