म सामान्य परिवारमा जन्मिएको मान्छे हुँ। मेरो नाम दिनेश केसी हो। दाङको लमही नगरपालिका वडा नं. ६ देउपुर हो मेरो घर। सामान्य किसानको छोरो। १९ वर्ष पुगेँ। कक्षा ७ सम्म पढ्दापढ्दै छाडेर घरखर्च चलाउने उपायको खोजीमा भौतारिईरहेको मान्छे हुँ। ७ मा पढ्दापढ्दै अब पढेर खान पुग्दैन भन्ने लाग्यो। घरमा बाआमा अनि बहिनी र म थियौं। बाले सानो ट्याक्टर चलाउनु हुन्छ।
त्यसैको आम्दानीले घर खर्च चल्छ। त्यसमा पनि बा दमको बिरामी। घरमा बसेर काम छैन, अब काम गर्न टाढै जानुपर्छ भन्ने सोंचे। बाको आम्दानीले घरको खर्च धान्न धौ धौ थियो। अनि झोला बोंके कामको खोजीमा हिड्का लागि। घर बनाउने मिस्त्री काम गर्छु भनेर काठमाडौं गएँ। त्यहाँ काम गर्न सकिन। धेरै गाह्रो हुदो रहेछ घर बनाउने काम।
अनि भारतको दिल्ली गएँ। त्यहाँ एक वर्ष जति बसें। अनि पञ्जाबको लुधियाना गएको पाँच महिनामै कोरोना भाईरसको महामारी आईलाग्यो। दुई महिना त त्यसै कोठा भाडा लिएर बसेँ। सँगै बसेका साथीहरु पनि घर जान थाले। भीडभाड हुने शहर सुनसान मसानघाट जस्तै लाग्न थाल्यो।
कोरोना संक्रमणको डर झनै फैलियो। रोग लागोस् न लागोस् पहिलै कोरोनाको डरले खाईहाल्न थाल्यो। सबै चिनेका साथीहरु घर फर्कन बाटो लागे। अनि मलाई त्यहाँ बस्न मन लागेन। घर फर्कन फेरि झोला बोकेँ। घर फर्किने छोटो र सजिलो नाका कपिलवस्तुको कृष्णनगर थियो। त्यहाँसम्म पुग्न साथीहरु मिलेर बस रिजर्भ गर्यौं।
एकदिनभरि बसले भारतकै सुनसान ठाउँमा रोक्यो। अघि बढ्न मानेन। यात्राको क्रममा जति दुःख भोग्ने हो भारतकै बाटोमा भोगे। एक बोत्तल पानीले भोक मेटाउनु प¥यो। सुनसान जंगल जस्तो ठाउँ थियो। घरहरु नजिक थिएनन्। मान्छे देख्दा डराउनु पर्ने अवस्था थियो।
तर, मान्छे देख्दा माया लाग्थ्यो। कुरा गरौं गरौं लाग्थ्यो। नजिक पुग्न मन लाग्यो। तर, कोरोना भाईरसले मान्छेसँग मान्छे डराउने गरायो। यात्राको क्रममा मान्छेदेखि मान्छे डराएको देंखे। भोगेँ। अर्काे दिन बिहानै बसअघि बढ्यो। कृष्णनगर नाका आउनुभन्दा झण्डै ५ किलोमिटर भारततिरै बस रोक्यो। अब त्यहाँबाट हिड्दै नाकासम्म आउनुपर्ने भयो। मुख्य नाकाबाट जान पाईदैन्थ्यो। नाका शिल थियो। लुकेर गाउँको बाटो हिड्यौं। नयाँ मान्छे गाउँमा देख्नै नहुने, मान्छे भागाभाग गर्थे। कतै पस्नै नदिने अवस्था थियो।
कतै गाउँमा मान्छे छिरेको देख्यो कि ढोकाको चुक्कुल लगाएर बसेको देखें। रातीको समयमा खेतको बाटो हिडेर नाका पार गरियो। राती बाटोमै सुतियो। बिहान प्युठानबाट ब्रोइलर बोक्ने गाडी जस्तै जीप नाकामा पुगेको थियो। त्यही जिपको पछाडि सामान राख्ने ठाउँमा बसेर अघि बढ्यौं। १५–१६ जना थियौं गाडीमा। मान्छेमाथि मान्छे खाँदिएर गाडीमा आयौं। भालुवाङमा गाडी रोकियो। म ओर्लिएँ।
सँगै आएका साथीहरु प्युठानतिर लागे। म पुलिस विट नजिक बसिरहेँ। एक जना पुलिस दाईले नेपालगञ्ज जाने गाडीमा चढाईदिनुभयो। त्यसपछि लमही चेकपोइन्टमा ओर्लिएँ। म आउन थालेको खबर घर परिवार र मामालाई दिएको थिएँ। घर जानुभन्दा पहिला क्वारेन्टिनमा बस्नुपर्छ भन्ने भयो। मलाई लिन गाडी आउछ भनेर लमहीको चेकपोइन्टमा कुरिरहे। तीन घण्टा कुर्दा पनि गाडी आएन। अनि हिड्दै क्वारेन्टिन भएको ठाउँमा पुगे।
तीन दिन क्वारेन्टिनमा बसें। पिसिआर जाँच गर्नको लागि स्वाब संकलन गरिएको थियो। स्वाब संकलन गरेकाहरु मध्ये ८ जनामा कोरोना पोजेटिभ आएको हल्ला फैलियो। सँगै बसेका अरु साथीहरुलाई पनि कोरोना देंखियो। मेरो पनि पोजेटिभ रिपोर्ट आएको अरुलाई थाहा रहेछ। तर, मलाई जानकारी थिएन।
सबैले उमेश केसी नाम गरेको मान्छेलाई खुबै खोजे। तर, क्वारेन्टिनमा उमेश नाम गरेको मान्छे कोही थिएन। मेरो नाम त दिनेश केसी थियो। क्वारेन्टिनमा प्रवेश गर्ने बेलामा नाम टिपाएको थिएँ। प्रहरी दाजुले दिनेश भनेको उमेश भनेर टिप्नुभएछ। पछि फोन नम्बर चेक गर्दा मेरो भएको पुष्टि भयो।
न मलाई रुघा लागेको थियो, न ज्वरो थियो। तर, लक्षणविनै कोरोना देखियो। म आश्चर्यमा परे। कसरी सर्यो मलाई कोरोना? कहाँ कुन ठाउँबाट कसरी सर्यो?
कुनै कुरा पत्ता लगाउन सकिन। मनमा कुरा खेल्न थाल्यो। बाहिर ठीकठाक छु तर, मनभित्र भूकम्प जान थाल्यो। रिपोर्ट नआउदासम्म ठीकठाक भएको म रिपोर्ट पोजेटिभ आएलगत्तै ‘मनको’ बिरामी जस्तै महशुस हुन थाल्यो। एक मनले त मर्न पाए आनन्द हुन्थ्यो पनि भन्यो।
अर्काे मनले किन मर्ने, मर्दैन भन्छ। अरुको मनमा के खेल्यो त्यो त म भन्न सक्दिन। तर, मेरो मनमा नकारात्मक कुराहरु धेरै आईराख्यो। रिपोर्ट पोजेटिभ आएकाहरु रुन थाले। नेगेटिभ आएकाहरु खुसी हुन थाले। यस्तो परिस्थितिको बीचबाट आइसोलेशनको यात्रा सुरु भयो।
क्वारेन्टिन बाहिर दुई ओटा एम्बुलेन्स खडा थिए। चार–चार जना गरेर बसियो। हामीलाई बेलझुण्डी कोरोना अस्पताल लगियो। त्यहाँ पुगेपछि डाक्टरले सम्झाउने काम गर्नु भयो। केही ढाडस दिनुभयो। पहिले नै त्यो अस्पतालमा कोरोनाका बिरामी उपचारमा थिएँ। हामी थपियौं।
कोरोना संक्रमितको संख्या उकालो लागिरहेको समयमा हाम्रो ईन्ट्री भयो त्यहाँ। स्वास्थ्य त ठीकठाकै थियो। मलाई कोरोना छ र? भन्ने प्रश्न त्यहाँ बस्दा बारम्बार आईरह्यो।
आइशोलेसनमा एक्लै बसेको बेला धेरै मानिस रोएको आवाज सुनेर थाकेँ। मान्छेहरु मरिन्छ कि भन्ने चिन्ताले रोएका, चिच्याएका आवाज आउँथे। सायद उनीहरुमा डर धेरै थियो। डर त मलाई पनि थियो। त्यो भन्दा बढी विरक्त लागेको थियो। मन एकोहोरो भएको थियो।
कहिले यहाँबाट निस्केर घर जान पाइएला भन्ने लागिरह्यो। एक्लोपनको गज्जबको साथी मोवाईल बन्यो । कानमा इयरफोन घुसारेर धेरै रात बिताएँ। बारम्बार घरमा फोन गरेँ। मनलाई सम्हाल्ने कोशिश गरें। आइसोलेट हुँदा खाजा, खानाको दुःख भएन। दाल, भात, तरकारी, अचारसँगको खाना मिठै भयो।
खाना र खाजा खाने तालिका नै थियो। डाक्टरले बारम्बार सम्झाउने काम गर्नुहुन्थ्यो। तातो पानी खान सल्लाह दिनुभयो। दिनमा त्यही ७–८ लिटर तातो पानी खाईन्थ्यो। अनि एउटा पाउडर जस्तो धुलो औषधी र अर्काे भिटामिन भन्नुहुन्थ्यो। दुई खाले औषधी पनि खाईयो। बिहान योगा गथ्र्यौं।
आइसोलेसनमा पहिलो जाँच भयो। रिपोर्ट नेगेटिभ आयो। नकारात्मक सोंच्ने मेरो मन एकाएक सकारात्मक सोंच्ने भैदियो। अब त मर्दिन भन्ने भयो। म अब ठीकठाक नै रहने भएँ भन्ने भयो। मलाई सञ्चो हुन्छ, म निको हुने भएँ, यस्तैयस्तै आशा पलायो। मन फुरुङ्ग भयो। घर आमालाई, मामालाई फोन गरे। खुसी साटेँ। सबै खुसी हुनुभयो। मर्न पाए हुन्थ्यो भन्ने ममा एकाएक बाँच्ने आशा पलायो। फेरि अर्काे जाँच भयो। त्यसमा पनि कोरोना नेगेटिभ आयो। अनि १५ दिनको आइशोलेसन बसाई सकियो। कोरोनालाई जितेर घर फर्कन पाउदा हौसिएको थिएँ। डिस्चार्ज हुँदा धेरै फर्म भराईयो। धेरै प्रश्न थिए। उत्तर दिएँ। होम क्वारेन्टिन बस्नेगरी त्यहाँबाट फेरि एम्बुलेन्स चढेर लमही आएँ।
नगरपालिका गेट नजिक एम्बुलेन्स रोक्यो। चार जना साथीहरु झर्यौं। त्यहाँ कार्यक्रम राखिएको रहेछ। चार ओटा कुर्सी थिए। कुर्सीमा फुल, अविर, गादा राखिएको थियो। सायद कोरोना भाईरसको डरले होला हामीलाई अविर, फुल र खादा लगाईदिन डराए। अस्पतालले निको भएको प्रमाणपत्र दिएर घर पठायो। नगरपालिकाले संक्रमित सरह व्यवहार गरेर आफुलाई आफै सम्मान गर्न लगायो। एक मनले त ठीकै जस्तो लाग्यो।
तर, त्यो सम्मान जीवनमा भुल्न नसक्ने गरी मनमा गडिरह्यो। मेयर सा’ब आउनु भयो। भाषण गर्नुभयो। अनि जानु भयो। त्यहाँबाट हातमा फूल, निधारमा रातो अविरको टिका र गलामा खाँदा बाकेर घर हिडेँ। म घर आउने खबरले सबै खुसी हुनुहुन्थ्यो। म पनि खुसी थिएँ। फेरि १५ दिन होम क्वारेन्टिनमा बसेँ। म घर गएपछि गाउँमा पनि खबर चल्यो। एकदिन, आमा सामान किन्न पसल जानुभयो। तर, पसलले सामान दिन आनकानी गरे। ‘तिम्रो छोरालाई कोरोना लाग्या छ रे, उसले दिएको पैसा लिँदिन, कोरोना फैलिने त होइन’ भनेपछि आमा अर्काे पसलमा पुगेर सामान किन्नुभयो। कोरोनाले थोरै पीडा तर, अनगिन्ती शिक्षा दियो। अझैं कोरोनासँग कति समय लड्नुपर्ने हो हामी?
अहिले म कोरोनाका कारण मर्छु कि भन्ने चिन्ता छैन। म सुरक्षित छु।
तर, मनमा अर्को चिन्ता भने छदैछ। दैनिक जीवनलाई राम्रो बनाउने एउटा सपनाको त्यान्द्रो मनमा पिङ खेलिरहेको छ। म संघर्ष गर्न तयार छु। कोरोना भाईरसलाई जितेँ। म जिन्दगीका अरु धेरै अफ्ठ्यारा जंघारहरु तर्न सक्छु, धेरै ठूला जोखिमपूर्ण यात्राहरु पूरा गर्न सक्छु भन्ने विश्वास जागेको छ। मर्छु भन्ने कुरा त हराएर गैहाल्यो। अब त बाँचेर केही गरेर देखाउनुछ भन्ने कुरा आइरहेको छ।
(दिनेश केसीसँग लुम्बिनी टाइम्सका लागि दशरथ घिमिरेले गरेको कुराकानीमा आधारित)