अस्ती भर्खरजस्तो लाग्छ, प्रहरी सेवामा प्रवेश गरेको। तर, ७ वर्ष बितिसकेछ। २०७० सालमा भर्ना भएर २०७१ सालमा तालिम सकेर पास आउट भएँ। रुपन्देही आएर विभिन्न इकाइमा काम गरें। पहिले इलाका प्रहरी कार्यालय सूर्यपुरामा थिएँ। पछि बेलहियामा बसें। २०७२ सालमा गाडी चलाउन सिकें। लाइसेन्स पनि निकालें।
२०७४ सालयता प्रहरी सेवामा गाडी चलाउने काम गरिरहेको छु। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सवारी चालकको रुपमा कार्यरत छु।
बिदा लिएर एक दिन म आफ्नो घरमा बसिरहेको थिएँ। कार्यालयबाट फोन आयो। ‘सवारी चालकहरुलाई बिदा नदिने भन्ने कुरा आएको छ, कार्यालय आउनुपर्यो’ भनेर सन्देश आयो। साँझपख जिल्ला प्रहरी कार्यालय पुगें। त्यहाँ मलाई बुटवलको धागो कारखानामा पुगेर प्रदेश प्रहरी कार्यालयका एसएसपीलाई भेट्न भनियो।
बुटवल आएर मैले एसएसपी सा’बलाई भेटें। उहाँले अस्पतालको एम्बुलेन्स चलाउनुप¥यो भन्नुभयो। कोराना संक्रमितहरुलाई राख्न धागो कारखानामा कोरोना अस्पताल बनाइएको रहेछ। अस्पतालमा एउटा एम्बुलेन्स स्ट्याण्डवाइ हुने रहेछ। त्यही एम्बुलेन्स चलाउनुपर्ने थियो। एसएसपी सा’बले भनेपछि मैले हुन्छ भन्नै पर्यो।
कोरोना भाईरसका संक्रमितहरुलाई ल्याउने, लैजाने काम रहेछ। शुरुमा त सामान्य जस्तै लागिरहेको थियो। त्यसैले हुन्छ भैहाल्छ भन्ने गरी सामान्य रुपमै भनिहालेँ।
पछि, मनमा कता–कता डर लाग्यो। विदेशमा त्यसरी रोग फैलिएको छ। त्यतिका मान्छे मरिरहेका छन्। यस्तो जोखिमको काम कसरी गर्ने भन्ने भयो। अर्को मनले सोँचे जोखिम पनि मोल्छु भनेर त प्रहरी सेवामा लागेको हुँ। युद्धमा हिंडेको लाहुरे मर्न पनि सक्छ, बाँच्न पनि सक्छ।
म पनि ‘कोरोनाको यो युद्ध लड्नैपर्छ, आखिर कि मरिन्छ कि बाँचिएला’ भनेर मैले युद्धमा होमिन तयार भएँ। आफुले आफैलाई हौसला दिएँ। साहस बटुलेँ। अर्कोतर्फ प्रहरी सेवामा आदेश मान्नैपथ्र्यो। नभए, जागिर छोड्नुपर्दथ्यो। लाचार भएर जागिर छोड्न भन्दा युद्धमा होमिनु नै ठीक भन्ने लाग्यो। मलाई लाचार बन्नुथिएन। पराजयलाई स्वीकार गर्ने मनस्थिति पनि थिएन।
देशका लागि लड्छु भनेर भर्ती भएको सिपाही बलिदान दिन डराउँदैन। कोरोनाले मरिएछ भने पनि मरिएला भन्ने मानसिकता बनाएँ। हिम्मत बटुल्ने कोशिश गरेँ। मर्न नै लेखेको रहेछ भने मरिएला, बाँच्न लेखेको रहेछ भने बाँचिएला भन्ने भयो। मर्ने बेला आएको रहेछ भने घरको दैलोमा ठेस लागेर पनि मरिन्छ भन्ने सुनेका थिएँ। ठूला–ठूला खतरा पार गरेर पनि मान्छे बाँचेकै छन्। यस्तै यस्तै सोंच मनमा आयो।

त्यसअघि कोरोना अस्पतालको व्यवस्थापनको लागि भएको सर्वपक्षीय छलफलमा अस्पतालको एम्बुलेन्सको लागि चालकको खोजी भएको रहेछ। नागरिकस्तरबाट कोही आउन मानेनन्। हाम्रो एसपी सा’बले ‘एम्बुलेन्स चलाउनको लागि हाम्रै प्रहरी सेवाबाट चालक राखौंला’ भन्नुभएछ। त्यसरी मेरो नाम गएको रहेछ।
लुम्बिनी प्रादेशिक अस्पतालमा शंकास्पद देखिएका बिरामीहरु धागो कारखानाको कोरोना अस्पतालमा ल्याउनु पर्दथ्यो। त्यसरी दिनहुँजसो बिरामी ओसार्न थाल्यौं। शुरुशुरुमा शंकास्पद बिरामी थिए। सायद उनीहरुमा पछि कोरोना पुष्टि भएन होला। पछि संक्रमण पुष्टि भएकाहरु पनि मैले एम्बुलेन्समा बोकेँ।
काम गर्छु भनेर शुरुमै हिम्मत बटुलेको थिएँ। जसलाई संक्रमण भएको छ, उनीहरु पनि बाँचिरहेकै त छन् भन्ने भयो। उनीहरुको माया लाग्यो। यस्तो संकटमा उनीहरुलाई हामीजस्ता राष्ट्रलाई आवश्यक परे ज्यान पनि दिन तयार छु भनेर हिँडेका मानिसले सहयोग नगरे कसले गर्छ भन्ने भयो।
पीपीई लगाउँदा एकदमै गर्मी भयो
बिरामीका साथै कोरोना अस्पतालका संक्रमितको स्वाब लिएर भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जान परिरहन्थ्यो। त्यसका साथै ल्याबका सरहरुलाई पनि ल्याउने लैजाने गर्नुपर्दथ्यो।
एम्बुलेन्स चलाउँदा जोखिम हुनसक्छ भनेर हामीलाई पनि पीपीई दिने कुरा आयो। देख्दा रेनकोट जस्तो थियो। पीपीई नै होला भन्ने ठानेँ। अलि समय पछि पीपीई भनेर त्यो भन्दा स्तरीय खालको कपडा आयो। खास पीपीइ त पछि दिएको रहेछ। शुरुमा दिएको पानी पर्दा ओढ्ने रेनकोट नै रहेछ। त्यसबेला पीपीई भनेरै लगाइयो। त्यसले पनि म सुरक्षित छु है भन्ने महसुस गराएको थियो। हौसला बढाएको थियो।
एम्बुलेन्स चलाउँदा पीपीई लगाएर चलाउनुपर्छ। त्यो लगाउँदा एकदम गर्मी हुँदो रहेछ। बिरामी बोक्दा पीपीइ त लगाउनै पर्यो। तर स्वाब लिन, छाड्न जाँदा गाउन मात्र लगाएर गाडी चलाउन थालें। डाक्टरले ‘साह्रै गर्मी भयो भने गाउन लगाउँदा हुन्छ’ भन्नुभयो। त्यसपछि गाउनसँगै माक्स, पञ्जा लगाएर एम्बुलेन्स चलाउन थालें।
बिरामी र स्वाब ओसार्दा ओसार्दै बिस्तारै डर लाग्न छोड्दै गयो। यो काम त सामान्य रहेछ भन्ने जस्तै महसुस भयो।

एकदिन, कोरोना अस्पतालको एक जना बिरामी अलि मानसिक अवस्था ठीकठाक नभएका रहेछन्। उनलाई सम्हाल्न पर्दा साह्रै डर लाग्यो। मैले नै सम्हाल्नुपर्ने भयो। सिधै उनलाई समातेँ। त्यसपछि डर लाग्यो। पीपीई, माक्स र पन्जा लगाएर ती संक्रमितलाई समातेको थिएँ। तर एन नाइन्टी फाइभ माक्स नभई सादा माक्स थियो।
साथीहरुले तँ भित्र छिरिस्। कोरोना भएको मन्छे समातिस् भनेर गराउन दिए। एकछिन त डरै लाग्यो। पछि, समातिहालेँ, अब डराएर के गर्नु भन्ने भयो। फेरि सोंचे, युद्धमैदान हो, कोरोना लागे लाग्ला भनेर चित्त बुझाएँ।
लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका कपिलवस्तुका बिरामीलाई मैले नै धागो कारखानाको कोरोना अस्पताल ल्याएको हुँ। उहाँमा कोरोना भाइरसको लक्षण देखिएको थियो। पीपीई लगाएर सुरक्षित भएर म उहाँलाई लिन गएको थिएँ। उहाँ एकदम आत्तिनुभएको थियो।
उहाँका परिवार पनि आत्तिनुभएको थियो। मैले उहाँलाई सम्झाउने कोशिश गरें। ‘एक जना बुढी मान्छे त सञ्चो भएर जानुभयो। तपाई त भर्खरको हुनुहुन्छ, केही हुँदैन भनें। कोरोना अस्पतालमा कुरुवा बस्न पनि नपाइने एक्लै छोड्दा के होला भनेर उहाँका आफन्त आत्तिनुभएको थियो। खाना, औषधि खुवाउन पर्ने होला के गर्ने भन्दै चिन्ता गर्नुभएको थियो। मैले अस्पतालमा सबै व्यवस्था हुन्छ, चिन्ता नगर्नु भनेर उहाँको फोन नम्बर मागेर बिदा गरेँ। संक्रमितलाई अस्पताल ल्याएँ।
चार महिना भयो, घर गएको छैन
मलाई कोरोना भाइरससँग त्यति धेरै डर लाग्न छाडिसक्यो। कोरोना भाइरस लागेपनि पचाउन सक्छु भन्ने लाग्छ। त्यो हिम्मत छ। तर घर परिवारले भने चिन्ता गरिरहनुहुन्छ।
कोरोना अस्पतालमा एम्बुलेन्स चालकको काम थाल्दा शुरु–शुरुमा बुबाआमा र दाइहरुले बिरामी राखेको ठाउँमा नजान भन्नुहुन्थ्यो। श्रीमतीले ‘बिरामी राखेको ठाउँमा तपाई नै किन जानुपर्यो र अरु गएपनि हुन्छ नि’ भन्थिन्।
‘जागिर खाएपछि जाँदिन भन्न त भएन नि, कि त जागिरै छोड्नुपर्यो’ भनेर सम्झाउँथेँ। त्यसपछि घरपरिवार चुप लाग्थे। अचेल त्यसरी त भन्नुहुन्न, तर जोगिएर काम गर्नुपर्छ भनेर सम्झाउनुहुन्छ। ‘एम्बुलेन्समा बिरामी बोकेपनि म सुरक्षित छु, चिन्ता नलिनुहोस्’ भन्छु।
मेरो घर भैरहवा हो। १५ किलोमिटर परको घर पनि चार महिना भयो म गएको छैन। मलाई कोरोना लाग्यो भने त मज्जाले पचाउन सक्छु जस्तो लाग्छ। व्यायाम गरेर पनि निको पार्न सकौंला। तर बुढा हुनुभएका मेरा बाबाआमालाई सर्यो भने गाह्रो हुन्छ। वृद्धवृद्धाहरुलाई रोगले छिटो समात्छ।
बिरामी बोक्ने भनेर घृणा गरे
एम्बुलेन्समा बिरामी बोक्ने भनेपछि कतिपयले घृणा गर्दा रहेछन्। एकपटक इलाका प्रहरी कार्यालय डिएसपीको गाडी कोरोना अस्पतालमा आएको थियो। त्यही गाडीमा मेरै सहव्याची साथी रहेछन्। सँगै तालिम लिएको साथी देखेर निकै खुशी लाग्यो र कुरा गर्न नजिकै गएँ।
त्यही गाडीमा बसेको अर्को मान्छेले ‘तँ कोरोनाको ड्राइभर यता नआइजा, उता जा भनेर भन्यो, मैले पनि ए ए ल हामीलाई मात्र हो रहेछ कोरोना लाग्ने तपाईहरु चाहिँ चोखो मान्छे भन्दै निराश भएर फर्किए। मेरो सहव्याची साथी पनि मलाई देखेर खुशी भएका थिए। उसको कुरा सुनेर उनी पनि निन्याउरो भए। कोरोनाको ड्राइभर यता नआइज भने पछि साह्रै नरमाइलो लाग्यो। उनले जिस्काएर भनेका थिए या साँच्चिकै भनेका थिए थाहा भएन। तर, सबैले सुन्नेगरी त्यस्तो व्यवहार गरे। मजा लागेन।
कोरोना अस्पतालको एम्बुलेन्स चलाउन पहिले हामी ३ जना चालक थियौं। अहिले २ जना छौं। आइसोलेसनका स्टाफ र हामी एकैठाउँ खाना खान्छौं, यही अस्पतालभित्रै बस्छौं। बिहान उठ्यो कोरोना अस्पतालमै बस्यो। मोबाइल हेर्यो। काम पर्दा बिरामी ल्याउन र स्वाब पु¥याउन गयो। यसरी नै दैनिकी बितेको छ। पहिले कोरोना अस्पतालमा भरिभराउ बिरामी थिए। अहिले त्यस्तो धेरै छैनन्।

रिपोर्ट नेगेटिभ आएपछि ढुक्क
कोरोना अस्पतालमा काम सुरु गरेको २ महिना भइसकेको थियो। यो बेलासम्म मलाई पनि कतै कोरोना पोजेटिभ भयो कि जस्तो लाग्थ्यो। मनमा शंका लाग्यो। तर कुनै लक्षण थिएन, स्वस्थ थिएँ।
जेठ १२ गते पहिलो पटक मेरो पीसीआर परीक्षण भयो। पिसिआर परिक्षणको लागि स्वाब दिएको तीन चार दिनमा रिपोर्ट आयो। रिपोर्ट के भयो होला भन्ने कौतुहलता जाग्यो। पोजेटिभ देखिएकालाई मात्र फोन आउने रहेछ। डाक्टर सा’बलाई सोधें। उहाँले फोन नआएको भए तपाईको नेगेटिभ हो भन्नुभयो। त्यसपछि ढुक्क भएँ। दोस्रोपटक साउनको ७ गते फेरि पीसीआर परीक्षण भयो। कोरोना संक्रमितसँग नजिक हुनेहरुले समयसमयमा परीक्षण गराउनुपर्ने रहेछ। त्यसरी परीक्षण भयो। त्यसमा पनि पोजेटिभ देखिएन।
अहिले काठमाडौको प्रहरी प्रधान कार्यालयमा धेरैलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका अरु ठाउँमा पनि प्रहरीहरुमा पोजेटिभ देखिएको छ। यो सुन्दा मलाई दुख लाग्छ। फिल्डमा खटिने साथीहरुलाई जोखिम छ। कर्तव्य निर्वाहको सिलसिलामा जहाँ पनि हात हाल्न पर्छ। बरु यहाँ म सुरक्षित भएर काम गरिरहेको छु।
म शुरुमा १० दिनको लागि भनेर कोरोना अस्पताल आएको थिएँ।
तर मेरो दैनिकी यहीँ चलिरहेको छ। शुरुमा बिरामी, अस्पताल, यहाँको वातावरण भिन्न थियो। दिक्क लाग्थ्यो। शुरुशुरुमा अर्कै माहोलमा आएको भएर होला। अहिले त यही मेरो दैनिकी बनेको छ। बानी परिसक्यो। कोरोना भाइरसको उपचार गर्ने ठाउँमा बसिरहेको छु। संक्रमितहरुलाई हेर्छु, उनीहरुको व्यवहार हेर्छु, कस्तो अनुभव गरिरहेका होलान् भनेर सोंच्छु।
जिन्दगी यस्तै त रहेछ, समस्या, संकट, सुख, दुःख सबै आउँछन्, जान्छन् भन्ने सोंच्छु फेरि बिरामी लिन जान्छु, स्वाब छोड्न जान्छु। यसैगरी चलिरहेछ, चल्छ।
(सुकनारायण श्रेष्ठसँग लुम्बिनी टाइम्सका लागि सुदीप भण्डारीले गरेको कुराकानीमा आधारित)