बुटवल–रुपन्देहीको गैडहवाका एक व्यक्ति गत मंगलबार घर निर्माणको काम गर्दैगर्दा छतबाट खसेर घाइते भए। उनी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पुगे।
उनलाई कलेजले भर्ना लियो। उनको स्वास्थ्य परीक्षण भयो। उनको टाउकोमा चोट लागेर रगत जमेकाले र उनको शल्यक्रिया गर्नुपर्ने हुनसक्ने चिकित्सकले अनुमान गरे।
कलेजका अरु केही बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएकाले कलेजले घाइतको पीसीआर परीक्षण गर्न स्बाब लिएर प्रयोगशाला पठायो।
बिहीबार स्वाब संकलन भयो। आइतबार रिपोर्ट आयो। रिपोर्ट पोजेटिभ आयो। रिपोर्ट पोजेटिभ आएसँगै थप उपचारका लागि चिकित्सक हच्किए। घाइतेका आफन्तले चिकित्सकसँग आफुहरुसँग धेरै पैसा नभएको भनिरहेका थिए।
‘उहाँहरुको आर्थिक अवस्था कमजोर रहेको र उपचार गर्न केही कठिन हुने कुुरा आएको थियो, गैडहवा गाउँपालिकाका अध्यक्ष बच्छुलाल केवटले भने–हामीले के गर्ने होला भनेर सोंच्दै थियौं।’
गाउँपालिकाले के गर्ने भनेर सोच्दैगर्दा अस्पतालमा घाइते भएका कोरोना संक्रमितलाई औषधि दिएर टाउकोमा जमेको रगत सफा गर्ने भन्दै कलेजका चिकित्सकले औषधि चलाए।
औषधिले उनमा इन्फेक्सन गर्यो। कलेजका चिकित्सक आत्तिए। थप उपचारका लागि अन्यत्र लैजान सुझाव दिए।
‘हामीकहाँ उपचार गर्दा अवस्था सुधार हुँदै गइरहेको थियो, युनिभर्सल मेडिकल कलेज भैरहवाका जनसम्पर्क अधिकृत सुशील गुरुङले भने–हाम्रोमा कोभिडको बिरामीको उपचार गर्ने मापदण्ड नभएकाले हामीले भीममा वा बुटवल लैजान सिफारिश गरेका थियौं।’
खाने औषधि चिकित्सकले चलाएपनि उनको अवस्थामा सुधार आएको थिएन। आफन्तले सोमबार राती भीम अस्पताल भैरहवा ल्याए। भीम अस्पतालले घाइतेको अवस्था हेरेर आइसीयू सञ्चालनमा नरहेको भन्दै अन्यत्र लैजान सुझाव दियो।
त्यतिबेला घाइतेको स्वासप्रश्वासमा समस्या देखिइरहेको थियो। आफन्त आत्तिएर अस्पताललाई दबाब दिए। अस्पतालले जोखिम हुनसक्ने भन्दाभन्दै बिरामी भर्ना गर्यो। बुटवलमा पनि आइसीयू बेड खाली थिएनन्।
तर, बिरामीलाई आइसीयूमा राख्नुपर्ने अवस्था थियो। तर भीममा आइसीयू सञ्चालनमा थिएन। उनको मृत्यु भयो।
‘आइसीयू भएकोे भए उहाँको उपचारमा केही सहज हुन्थ्यो, उहाँको मृत्यु नहुन पनि सक्थ्यो,–भीम अस्पतालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले लुम्बिनी टाइम्ससँग भने।
भीम अस्पतालमा आइसीयू सञ्चालन भएपनि उपकरण र जनशक्ति अभावले अलपत्र छ। कोरोना भाइरसको संक्रमण देखिन थालेपछि प्रदेश ५ सरकारले भीम अस्पताललाई व्यवस्थि तगर्न स्वास्थ्यकै विभागीय मन्त्री सामाजिक विकास मन्त्री सुदर्शन बराललाई दिएको थियो। यो अस्पतालको सुविधा वृद्धि गर्न र क्षमता विस्तार गर्न आफ्नै नेतृत्वमा लागिपरेको मन्त्री आफैले बताइरहेका थिए।
उनले अस्पताललाई कोरोना संक्रमित कसैको शल्यक्रिया गर्नुपरेमा पनि सहज हुने गरी सेवासुविधा सम्पन्न बनाउने बताएका थिए।
गत चैतमै ५ बेडको आईसीयु बेड, ३ वटा भेन्टिलेटर र ३० बेडको जनरल आईसोलेसन वार्ड तयार अवस्थामा रहेको बताइएको थियो। जहाँ ६ जना विशेषज्ञ डाक्टर, ८ जना मेडिकल अधिकृत र २५ जना स्टाफ नर्सले कोरोना संक्रमणको आशंका भएका बिरामीलाई आईसोलेसनमा राखेर उपचार गर्नेदेखि कोरोना संक्रमितसम्मको उपचार गर्ने भनिएको थियो। अस्पतालका कर्मचारीलाई कोरोना संक्रमितलाई उपचार गर्ने र आइसीयू सञ्चालन गर्नेबारे तालिम पनि दिइएको थियो।
तर, अस्पतालमा चाहिएको समयमा आइसीयू छैन। कोभिड अस्पताल बनाएर संक्रमण देखिएका व्यक्तिको शल्यक्रिया समेत गर्न सकिने बताउने मन्त्री व्यवहारमै सुधार गर्नमा भने सक्रिय देखिदैनन्। समयमा आइसीयू सञ्चालनमा ध्यान नभएकै कारण टाउकोमा रगत जमेका घाइतेले उपचार नपाएर ज्यान गुमाए।
मन्त्री बरालकै जिम्मामा रहेको अस्पतालमा उपचार नपाएर एकजना घाइतेको मृत्यु भएपछि भने प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आइसीयू सञ्चालनबारे तयारी थालेको छ।
मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले अस्पतालमा आइसीयू सञ्चालनबारे तयारी थालेको बताए।
‘हामीले छिटै नै अस्पतालमा आइसीयू सञ्चालन गर्ने तयारी गरेका छौं, कुन दिनदेखि त भन्न सकिँदैन, छिटै नै सञ्चालनमा आउँछ, उनले भने।
प्रदेश सरकारले सञ्चालन गर्ने भनेपनि अस्पतालमा चाहिएको जनशक्ति नै छैन।
‘हामीलाई आइसीयू चलाउन एकजना एनेस्थेसिया र एकजना कन्सल्ट्यान्ट फिजिसियन चाहिन्छ,–भीम अस्पतालका डा. प्रजापति भन्छन्–यसअघि मन्त्रालयले नै आवश्यकता आह्वान गर्दा कसैले पनि आवदेन दिएन, त्यसपछि यत्तिकै अलमल छ।’ बिरामीलाई बेहोस बनाउने एनेस्थेसियाको जनशक्ति यस क्षेत्रमै कम छ।
त्यतिमात्रै हैन, अस्पतालमा ५ वटा बेडको आइसीयू चलाउनका लागि आवश्यक पर्ने उपकरण पनि बिग्रेका छन्।
‘हामीसँग आइसीयूका ५ वटा बेड छन्, एउटा भेन्टिलेटर छ, यो बिरामी अचेत भएपछि उपचार गर्न काम लाग्छ, त्यसबाहेक दम वा स्वासप्रस्वासको बिरामीलाई स्वास फेर्न सजिलो बनाउने ३ वटा वाईप्याप मेसिन छन्, यिनीहरुको अवस्था के छ हेरेर मात्रै सञ्चालन गर्नुपर्छ–डा प्रजापतिले भने–आइसीयू चलाउँछु भनेर भोलिदेखि नै चल्दैन, त्यसका लागि धेरैे चीजहरुको आवश्यकता पर्छ।’ उनले अन्य बिरामीहरुको चाप नभएमा नर्सिङ क्षेत्रको जनशक्ति भने अस्पतालले नै व्यवस्थापन गर्नसक्ने बताए।