म गुल्मी जिल्लाको एक स्वास्थ्य संस्थामा कार्यरत सिनियर अनमी (पाचौँ) हुँ। कोरोनाको कहर भित्रिएसंगै गत चैत्र १३ गतेबाट मैले सदरमुकाम तम्घासको आइसोलेसनमा काम गर्छु। आइसोलेसन वार्ड पहिलेदेखि खाली रहेको महिला तथा बालबालिका विकास कार्यालयको भवनमा निर्माण गरिएको छ।
जुन गुल्मी अस्पताल भन्दा करिव एक डेढ किलोमिटर टाढा पर्छ। नयाँ भवन, नयाँ रोग र नयाँ नै अनुभव भएकाले व्यवस्थापनमा निकै चुनौति थियो। सुरुमा कोरोना शब्दले मान्छे भाग्थे। म पनि त्यही मान्छे नै हो।
ममा पनि डर नहुने कुरै थिएन। तर कर्म स्वास्थ्यकर्मीको भएकाले सामना गर्नुको विकल्प थिएन। नयाँ भवनको आइसोलेसन बाहिरबाट देख्नेलाई चिटिक्क नै थियो। तर वास्तविक अवस्था कि नगरपालिका कि त्यहाँ काम गर्नेले मात्रै थाहा पाए।
तत्कालीन समयमा संक्रमणले च्याप्दै थियो। जनमानसमा रोगभन्दा भ्रम र डर धेरै भयो। अरु डराएर पनि पुग्थ्यो, घरै बसेपनि पुग्थ्यो। तर स्वास्थ्यकर्मी भिड्नुपथ्र्यो। मन्त्रालयले पिपिई र किट प्रशस्तै भएको खवर सुनाउँथ्यो। फिल्डमा देख्न थिएन।
आइसोलेसनमा काम सुरु गरेको ७ औँ दिनमा पहिलो बिरामी र ५ थान पिपिई आए। आइसोलेसनमा ७ जना स्टाफ पिपिई ५ थान मात्रै। एक सिफ्टमा एक जनाले मात्रै लगाए पनि ५ सिफ्टभन्दा बढिलाई पुग्ने स्थिति थिएन।

एकपटक लगाएपछि निर्मलीकरण नगरी पुनः लगाउनुभएन। तर निर्मलीकरण गर्ने अटोक्लेभ एक महिना पछि पाएका थियौँ। ५ सिफ्टमै सकिने पिपिई सेट लगाउनुभन्दा मास्क र ग्लोब्समै ड्युटी गर्ने निधो गर्यौ।
किन भने कोभिडको लक्षण भएको बिरामी आएमा भएका सबै पिपिई सेट एकैपटक सकिने स्थिती रह्यो।
विभिन्न ठाउँमा काममै खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरु संक्रमित भएका खबर सुन्थ्यौँ। आइसोलेसन भन्ने बित्तिकै बिरामी डराउँथे भने बिरामी भन्ने बित्तिकै स्वास्थ्यकर्मीहरु डराउँथे। डरको तह उच्च हुन्थ्यो तर कामको तह घटाउन मिल्ने स्थिती थिएन।
ज्वारोको बिरोमी चैत्र २० गते पहिलो पटक आए। गुल्मी अस्पतालबाट ज्वरोको बिरामी आउँदै छन्, सचेत भएर काम गर्नु भन्ने फोन पनि आयो।
ती व्यक्ति १० दिन अघि चितवनबाट आएका थिए। जुनबेला तराईमा कोरोनाका बिरामी देखिन थालेका थिए। १२ र १२ घण्टाको ड्युटी सिफ्टमा कम्तिमा ४ र ५ पटक त बिरामीसंग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपथ्र्यो।
औषधी दिनैपथ्र्यो, भाइटल साइन हेर्नैपथ्र्यो। कम्तीमा ज्वरो मात्रै भए पनि हेर्नुपथ्यो। परैबाट ज्वरो जाँज गर्ने गन त २ महिनापछि देखेका हौ। त्यो पनि बिग्रेको थियो। यद्यपी त्यो गन टेवलमै छ।
सुरक्षा सामग्रीको अभावको बीचमा काम गर्नुपर्ने बाध्यताले अनेक बिकल्प मनमा आउँथ्यो। सबैले ड्युटीमा बिरामीसँग ग्लोब्स लगाएको हात बाहेक अरु भाग नछोइने गरि काम गर्ने भनेर प्लान गथ्र्यौ। तर जब काम गर्ने अवस्था आउँछ, त्यसपछि त्यो प्लान बिचमै ढिसमिस हुन्थ्यो। बर्षौदेखिको पूरानै बानी अगाडि आइहाल्थ्यो।
बिरामीलाई औषधि दिनु र भाइटल हेर्नुभन्दा महत्वपूर्ण काम उनीहरुलाई सकारात्मक हौसला दिनुहुन्थ्यो। स्थिति अरुबेला जस्तो सहज थिएन।
कसैलाई हौसला दिनुभन्दा पहिला मानिस आफै हौसिएको हुनुपर्ने रहेछ।
कोरोना भनेपछि सामाजिक रुपमा बहिस्कार गर्ने स्थिति गाउँमा थियो।
त्यो बेला अरु संक्रमण भएपनि मान्छेले गतिलो सोचेनन्। त्यसैले आइसोलेसनमा आउनुलाई मान्छेले कारागार ठान्थे। रोगसंगै पीडा बोकेर आएका बिरामी र कुरुवालाई सम्झाउन र हौसला दिन निक्कै मुस्किल थियो। तर पहिलेदेखि अहिलेसम्म सकेको गरिरहेका छौ।
त्यो समयमा गाउँगाउँमा भारत लगायत अन्य देशहरुबाट आउने मानिसहरुको लर्को निकै थियो। सरकारले उनीहरुलाई अनिवार्य क्वारेन्टिनहरुमा राख्ने नीति बनायो। हरेक स्थानीय तहलाई उनीहरुको व्यवस्थापन फलामको चिउरा बन्यो।

यसैबिच क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा भएका कमीकमजोरीहरु विभिन्न पत्रिका र फोटोहरु सामाजिक सञ्जालमा लगातार कोरोनाभन्दा भाइरल भइरहेका थिए। जसले सरकार र सम्बन्धित निकायलाई केही हदसम्म सचेत गरायो पनि।
पत्रिकामा आएका तस्विरभन्दा आफु कार्यरत आइसोलेसन अगाडि थुप्रिएको फोहोर कम थिएन। केही बिरामीहरु सानो–सानो कुरामा पनि झर्किन्थे। खाना, पानी, शौचालय र अन्य व्यवस्थापकीय कुराहरुमा झगडा गर्थे।
अर्को मान्छे थिएन, स्वास्थ्यकर्मीले नै फोहोर व्यवस्थापन गर्नुपर्यो। आइसोलेसनको गेटबाट ड्युटीमा खटिएका डाक्टर, नर्स र बिरामी बाहेक अरु कोही छिर्ने हिम्मत गर्दैनथे। आइसोलेसनको फोहोर अरु बेलाको जस्तो थिएन। जहाँ मन लाग्यो त्यहाँ फाल्न हुँदैन्थ्यो। कपडा र फोहोर सफा गर्न नगरपालिकालाई बिन्ती गर्यौं।
नगरपाालिकाको एउटै जवाफ हुन्थ्यो, त्यहाँ आउन कोही मान्दैनन्। कैयन पटक फोहोर हामी आफै उठाएर ट्याक्टरमा राखिदिन्छौँ भन्दा समेत ट्याक्टर पुगेन।
अहिलेसम्म एक पटक फोहोर उठ्यो। नयाँ भवनमा कतिपटक त पानी नै आएन। शौचालय जाम भएर हैरान पर्यौँ। कहिले बल्वहरु बल्दैनन्। बिरामीहरुलाई दिनभर बाल्टीमा पानी भरेर पुरायौँ।
अझै पनि त्यो समस्या समाधान भएको छैन। आइसोलेसनमा २ जना स्टाफले आफ्नो ड्युटीमा मेडिटेसन र नर्सिङ्ग केयर गर्ने बाहेक माथिबाट तलसम्म तीन तलाको भवनमा कुचो लगाउने, पोछा लगाउने, बिरामीहरुलाई खाना पकाएर खान दिने, उनीहरुका गुनासाहरु सुनिदिने सब काम गर्नुपथ्र्यो।
त्यत्तिसम्म त ठिकै थियो। तर कुनै–कुनै दिन त बिरामीले प्रयोग गरेका बेडसिट ब्लाङकेटहरु पनि हामी आफैले धोयौँ। किनकी सफा गर्ने मान्छे आइसोलेसनको गेटबाट भित्र आउनै मान्दैनन्।
ग्लोब्स लगाएर भरिएका डस्टविनको फोहोरबाट जल्ने र नजल्ने छुट्याउने तथा त्यसको व्यस्थापन गर्ने काम आफै गरिरहेका छौ।
वर्षायाम कहिले जलाउँदा जलाउँदै पानी पर्छ। कहिले फोहोर छुट्याउँदा छुट्याउँदै पानी पर्ने भएकाले त्यत्तिकै छोड्नुपर्छ। पानीले भिजेपछि फोहोर जल्ने कुरै भएन।
कहिलेकाँही सोच्छु, कुनैदिन कुन पत्रकार आएर फोटो खिचे भने गुल्मी जिल्लाको आइसोलेसनको दुर्दशा भनेर हेडिङ बन्छ। त्यसो भए कसैले सुनेर सुधार हुन्थ्यो कि भन्ने लाग्छ। तर त्यसरी पत्रकार पनि आएनन्।
पिपिई लगाएर लामो समय बस्नुको पीडा भने साध्य छैन। एक सिफ्टमा एकजनाले पिपिई लगाएपछि लगभग १२/१२ घण्टा अर्थात ड्युटी अवधिभर खोल्न पाइँदैन। पिपिई लगाएपछि पिसाब आउला भनेर एक डेढ घण्टा अगाडिदेखि पानी नखाएरै बस्छौ।
महिनावारी हुँदा अझै गाह्रो, प्याड फेर्न पनि मिल्दैन। ड्युटीमा २ जना भएपछि ६–६ घण्टा पिपिई लगाएर बस्थ्यौं। त्यसो गर्न हामीसँग प्रशस्त पिपिई उपलब्ध छैन।
जति सक्यो कम खपत गर्नुपर्ने बाध्यता छ। अन्यथा बिना पिपिई बिरामीको केयर गर्नुपर्ने दिन आउन सक्छ। यहाँको आईसोलेसनमा अहिलेसम्म सधैँभरी पिपिई लगाएरै स्याहार गर्नुपर्ने खालको बिरामी कम आएका छन्।
आरडिटी पोजेटिभ र ज्वरोको बिरामीलाई औषधी दिँदा, अरुहरु केयर गर्नुपर्दा मास्क र लुज ग्लोब्सको भरमा काम गरिरहेका छौँ।
अहिले हामी २ र २ जनाले २१/२१ दिनको ड्युटी गरिरहेका छौँ। २१ दिनको ड्युटीमा एक/दुई वटा एन नाइन्टी फाइभ मास्क पाइन्छ। त्यहि मास्क धोएर काम चलाउनुपर्छ।
उच्च मनोवलका साथ काम गरिरहेकै अवस्थामा खेप्नु परेका आरोप र जनप्रतिनिधीका कडा निर्देशनले मन पोल्थ्यो। बिरामीले दाल थप्न नपाएको, भन्ने बित्तिकै तातो पानी नपुराएको, बिरामीले बोलाउने बित्तिकै नगएको आरोप लाग्थे।
जनप्रतिनिधीले बिरामीले बोलाएपछि ५ सेकेन्ड भित्रै उपस्थित भइदिन भन्थे, जुन कुरा हरेक पटक बोलाउँदा सम्भव थिएन। भन्ने बित्तिकै डाक्टर नआएको, भन्ने बित्तिकै पानी नदिएको जस्ता अनेक अनेक कुराहरुमा जनप्रतिनिधिले फोन गरेर नराम्रोसँग निर्देशन दिनुहुन्थ्यो।
जसको कारण हामी निक्कै हतोत्साहित हुन्थ्यौ। धेरै पटक सोच्थ्यौ, अहिले नै राजीनामा पेस गरिदिउँ। तर आफैले आफैलाई र आफुले अर्को साथीलाई सम्झाउनुपथ्र्यो। बिरामी संक्रमितको अवस्था देखेर फेरि मन बदलिन्थ्यो। किनकी अहिले देशलाई हाम्रो खाँचो परिरहेको छ। यही अवस्थामा हामीहरु भाग्नुहुँदैन भन्ने सोंचेर काममै खटिन्थ्यौं।
अब आफ्नै जिल्लाका एक जना मरेपछि डर लाग्यो
जब आफ्नै जिल्लाको मान्छेको मृत्यु कोरोना संक्रमणका कारण भन्ने पुष्टि भयो। त्यसपछि मनमा डरको राँको बल्न थाल्यो। साथीहरुबीच एकअर्काको अनुहार हेरेर कोभिडबारे कुरा गर्नै सकिदैनथ्यो।
घरपरिवार, आफन्तजन र साथीहरुको फोन रिसिभ गरेर फ्रेस मुडमा कुरा गर्नै सकिदैनथ्यो। लकडाउनको समय मेरो घरमा म बाहेक सबै सदस्य घरमै हुनुहुन्थ्यो। म सबैसँग जेनतेन कुरा गर्न सक्थेँ।
तर मम्मीसँग बोल्ने हिम्मत हुँदैनथ्यो। जब मम्मी चिन्तित भएको जस्तो कुरा गर्नुहुन्थ्यो तर मैले दरिलो भएको नाटक गर्दै ममीलाई सम्झाउथेँ।
जुनदिन म चिन्तित भएको मम्मीले चाल पाउनुहुन्थ्यो, मलिन स्वरमा मलाई सम्झाउनुहुन्थ्यो। किनकी अहिले मलाई कोरोनासँग लगभग बानी परिसक्यो।
सिफ्ट ड्युटी छोडेर अहिले हामी २/२ जनाले २१/२१ दिनको ड्युटी गर्छौ। २१ दिन ड्युटी, त्यसपछि सेल्फ क्वारेन्टिन र पिसिआर रिपोर्ट आएपछि केहिदिन स्वास्थ्य संस्था र त्यसपछि पुन: आइसोलेसन ड्युटी गरिरहेको छु।
गुल्मीको आइसोलेसनमा पहिलो पिसिआर पोजेटिभ केस ०७७ जेठ १० गते आएको हो। पोजेटिभ केस आउँदैछ भनेर त्यो दिन साँझ जानकारी पाएका थियौ। संयोगले मेरो डियुटी थिएन्। तर सूचना पाउना साथ आइसोलेसनमा ड्युटी गर्ने साथीहरुलाई ढाडस दिँदै कसरी केस रिसिभ गर्ने भन्ने बारे छलफल गरिरहेका थियौँ।
मनमा डरले औडाहा छुटिरहेको थियो। डियुटी गर्ने र नगर्ने दुवै फोनमा संवाद गर्दै रोइरहेका थियौ। म आफ्नै रुममा बसिरहेको थिएँ।
रातीको पौने दस बजेतिर एम्बुलेन्स साइरन बजाउँदै पहिलो कोरोना पोजेटिभ केस लिएर बजार पस्यो।
जब एम्बुलेन्सको आवाज सुने, मनमा धडकन बढ्यो। साथीहरुसंग चलिरहेको छलफल बिचमै छोडेँ। त्यसपछि थचक्क भुईँमा बसेँ। मनले अनेक अनेक सोच्न थाल्यो। साथीहरु र आफन्तहरु पहिलेदेखिनै आइसोलेसनमा ड्युटी गर्नुभन्दा जागिर छोड भन्थे। तर मनले त्यसो कहिल्यै सोचेन।
साथीहरुले पिपिई लगाएर केस आइसोलेसनमा पुराए। पहिलो संक्रमित पिसिआर पोजेटिभ भएपनि कोभिडको कुनैपनि लक्षण नभएकोले साथीहरुले कुनै औषधी दिनु नपरेपछि केहि मत्थर भए।

उनी १४ दिन आइसोलेसन बसेपछि डिस्चार्ज भए। संक्रमित र उपचारमा खटिएकाहरुलाई थप हिम्मत थपियो। कोभिडको दोस्रो केस पहिलो केस आएको तीनदिनपछि आयो हो। जुन पहिलेदेखिनै ठूलो आन्द्राको क्यान्सरबाट पिडित थिए। पहिलोको केसभन्दा दोस्रो केसलाई धेरै ध्यान दिनुपर्ने अवस्था थियो।
उनलाई देखेर डरभन्दा धेरै दया र माया लाग्थ्यो। किनकी क्यान्सरका कारण हालत निक्कै नै खराब भइसकेको थियो। ड्युटीमै हुनुभएको एकजना साथीले उहाँलाई रक्तदान पनि गरिन्।
बिडम्बना आइसोलेसनमा आएको १८ दिनपछि उहाँको निधन भयो। अहिले लगभग कोभिडसँग आम नागरिक र स्वास्थ्यकर्मी धेरै परिचित भएकाले परिस्थीति पहिलेको जस्तो छैन। नियमित काममा खटिएका छौ।
अर्खले स्वास्थ्यचौकीकी सिनियर अनमी इन्दिरा थापा क्षेत्रीसँग टोपलाल अर्यालले गरेको कुरानकानीमा आधारित, उनी अहिले उपल्लो तम्घास आइसोलेशनमा कार्यरत छिन्।
तपाइँका पनि यस्तै कथा र भोगाई छन् या लकडाउनको बीचमा लेखेका डायरीहरु छन् भने हामीलाई पठाउनुहोस्।
[email protected]
9851240274